श्रावण ३, २०८२ शनिबार | ०५:५३:३४
हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने भारत जाने कबड्डी टोलीको बिदाइ मिना सुनार पोखरा निन्जाजमा अनुबन्ध आरति सुवेदीले मधेश युनाइटेडबाट खेल्ने हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने भारत जाने कबड्डी टोलीको बिदाइ मिना सुनार पोखरा निन्जाजमा अनुबन्ध आरति सुवेदीले मधेश युनाइटेडबाट खेल्ने
शनिबारको दिन भोला सिलवाल

मैदानमा भोलाका भोगाइ

काठमाडौं । नेपाली फुटबलमा एउटा युगको अन्त्य भएको छ । जुमानु राई, भोला सिलवाल र विक्रम लामाजस्ता खेलाडीको युग सकिएको छ । आ-आफ्नो क्लबसँगै राष्ट्रिय टोलीका लागि लामो समय योगदान गरेका तीनै खेलाडीले यसै सिजनबाट बुट थन्क्याउने निर्णय गरेका छन् ।

झन्डै दुई दशकअघि नेपाली फुटबलमा पाइला सुरु गर्दै गर्दा नै भोला सिलवाललाई लाग्थ्यो, ‘कुनै दिन बिदा पनि हुनुपर्छ । नेपाली फुटबलबाट मेरो बिदाइ कस्तो होला ?’

खासमा उनको किशोर मनलाई त्यतिबेला अग्रज राष्ट्रिय खेलाडीहरूले संन्यासको घोषणा गर्दा पाएको सम्मानजनक बिदाइले लोभ्याउने गर्थ्यो । आफू पनि कुनै दिन सक्रिय खेल जीवनबाट टाढिँदा त्यस्तै बिदाइ पाउन पाए भन्ने लाग्थ्यो ।

लामो करियरमा भोलाले नेपाल पुलिस क्लब र नेपाली राष्ट्रिय टोलीबाट थुप्रै गौरवमय क्षणहरूसँग साक्षात्कार गरे । पुलिसलाई तीन पटक घरेलु फुटबलमा च्याम्पियन बनाए । उनले एएफसी प्रेसिडेन्टस कपमा पुलिसले फाइनलसम्म सफल यात्रा गर्दा नायकको भूमिका निर्वाह गरे ।

राष्ट्रिय टोलीका लागि पनि मैदानको दायाँ छेउबाट बल दौडाउने यी मिडफिल्डरको योगदान उल्लेख्य रह्यो । तर बिट मार्ने सवालमा उनको करियरले त्यो सौभाग्य पाएन । नेपाली फुटबलका लागि गरेको योगदानको कदर भएन । किशोरावस्थामा उनले देखेको अग्रजहरूले पाएजस्तो बिदाइ उनले पाएनन् ।

‘सक्रिय खेलजीवनबाट अलग हुँदा त्यस्तै बिदाइको आस हुँदोरहेछ । मैले पाइनँ,’ भोला चुक्चुकाए, ‘खेल्न सुरु गर्दा अग्रज खेलाडीहरूले बिदाइमा पाएको सम्मानको साक्षी बन्दा मलाई आफू पनि एकदिन त्यसको हकदार हुन्छु जस्तो लाग्थ्यो । तर सबैको भाग्यमा सबथोक नहुने रहेछ ।’

२०६१ सालमा नेपाल प्रहरीमा भर्ती भएका भोलाले २०६२ सालबाट नेपाल पुलिस क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्न सुरु गरेका थिए । त्यो यात्रा धेरै सफलता र थोरै निराशाका शृंखलासँगै १८ वर्ष कायम रह्यो । सन् २००८ बाट नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रहेका भोलाका लागि २०१५ मा पुनेमा सम्पन्न भारतविरुद्धको मैत्रीपूर्ण खेल अन्तर्राष्ट्रिय करियरको अन्तिम बन्यो । त्यसक्रममा उनले नेपालका लागि २६ खेलमा २ गोल गरेका छन् ।

भोलाको चाहना थियो, ‘घरेलु दशरथ रंगशालामा खचाखच दशर्कबीच नेपालको जर्सी लगाएर खेल्न पाउँ । त्यही खेल सकिएपछि तिनै दर्शकसँग बिदा माग्न पाइयोस् ।’

सन् २०१५ पछि पनि नेपालले विभिन्न विपक्षीसँग दशरथ रंगशालामा खेल्यो । तर भोलाले सम्मानजनक बिदाइका लागि राखेको आशा पूरा गर्ने अवसर भने जुरेन । प्रत्येक पटक घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय खेलमा उनमा आशा हुन्थ्यो, ‘राष्ट्रिय टोलीमा पुनरागमन र सुखद बिदाइ ।’ तर उनीसामु निराश हुनुको विकल्प कहिल्यै मिलेन ।

गृहनगर विराटनगरबाट फुटबल यात्रा सुरु गरेका भोलालाई नेपाल पुलिस क्लबले नै विशेष चिनारी दिएको थियो । प्रशिक्षक योगम्बर सुवालको नजरमा परेसँगै उनले पुलिस क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने अवसर पाएका थिए । जहाँ उनले आफूलाई अब्बल खेलाडीको रूपमा प्रमाणित गरे । जुन यात्रा यस सिजनको लिगसम्म कायम रह्यो ।

त्यसो त भोलाले पछिल्लो लिगमा नै सक्रिय खेलजीवनबाट बिदाइ लिन्छन् भन्ने हल्ला नचलेको होइन । गत सिजनबाट सुमन सुवेदीले सक्रिय खेलजीवनबाट बिदाइ लिए । तर, भोला भने नेपालपुलिस क्लबको खस्कँदो साख जोगाउन थप एक सिजन क्लबमा रहे । उनी र जुमानु राई टोलीका अनुभवी खेलाडी थिए । आफूहरूको उपस्थिति युवा खेलाडीका लागि मनोबल हुने भन्दै उनीहरू टोलीमा बसेका थिए ।

च्यासल रंगशालामा सहिद स्मारक लिगको सातदोबाटो युथ क्लबविरुद्धको खेलसँगै भोलाले सक्रिय खेलजीवनबाट अलग भएको घोषणा गरे । यससँगै उनको सम्मानपूर्वक बिदाइको सपना अपूर्ण रह्यो ।

‘हामीले देशका लागि खेलेका हौं नि । तर सम्बन्धित निकायले त्यसलाई गम्भीरतापूर्वक लिएन । हामीलाई समर्थकको बीचबाट बिदा हुने अधिकारबाट वञ्चित गराइयो,’ भोलाले दुखेसो गरे, ‘धेरै समय पर्खियो । हामीले यस पटक एन्फालाई जानकारी दिएर भन्दा पनि पुलिस क्लबलाई जानकारी दिएर सक्रिय खेलजीवनबाट बिदाइ लिएका हौं । यो निकै कठिन क्षण हो ।’

खेलाडीका रूपमा संन्यास लिए पनि भोलाले प्रशिक्षक बनेर फुटबलसँग जोडिइरहने योजना बनाएका छन् । प्रशिक्षण यात्रा तत्काल सुरु गर्ने उनको लक्ष्य छ । साउनमा हुने यु-१६ लिगमार्फत उनको प्रशिक्षण करियरले औपचारिक सुरुआत पाउने सम्भावना छ । प्रशिक्षणका लागि ‘सी’ र ‘बी’ लाइसेन्स प्राप्त गरिसकेका भोला ‘ए’ लाइसेन्स तयारीमा जुट्ने बताउँछन् ।

‘पूरा जीवन फुटबलमा बिताएपछि यो खेलबाट अगल हुन नसकिँदो रहेछ । अब प्रशिक्षण यात्रा सुरु गर्नेछु । नेपाल पुलिस क्लबमै फरक भूमिकामा रहनेछु,’ भोला योजना सुनाउँछन्, ‘यस पटक क्लबले गरेको प्रदर्शनबाट हामी आगामी सिजन उपाधि दाबेदारको रूपमा उभिन्छौं भन्नेमा विश्वस्त छौं । क्लब पनि यसप्रति गम्भीर छ । यही क्लबले चिनारी दियो । अब खेलाडी नभई फरक भूमिकामा योगदान दिने अवसर जुरेको छ ।’