माघ २९, २०८१ मंगलबार | ०७:३९:३७
न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न
शनिबारको दिन फुटबल

धेरै खेल्ने कीर्तिमानको पर्खाइमा मिल्नर

काठमाडौं । ‘अति भो ! स्थायी रूपमा जेम्स मिल्नरलाई प्रतिस्थापन गर्ने खेलाडी क्लबमा भित्र्याउनुपर्यो,’ लिभरपुलका समर्थकले यसो भन्न थालेको केही वर्ष भयो । समर्थकहरू मिल्नरलाई माया र सम्मान गर्छन् । तर, युवा र जोसिला मिडफिल्डर क्लबका लागि फलदायी हुने भएकाले समर्थकहरू मिल्नरको ठाउँमा नयाँ अनुहार चाहन्छन् ।

तर, प्रशिक्षक योर्गान क्लोपको मनले भने यो कुरा मानिरहेको छैन । प्रायः सबै खेलमा मिल्नरलाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराइएको छ । कम्तीमा पनि १० देखि ३५ मिनेट मिल्नर मैदानमा हुन्छन् । कहिलेकाँही ९० मिनेट पनि ।

यसै कारण मिल्नर इङ्लिस प्रिमियर लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानतर्फ एक कदम अगाडि बढेका छन् । गत साता चेल्सीविरुद्ध ७९औं मिनेटमा मैदान प्रवेश गरेका मिल्नरले आफ्ना पूर्वसहकर्मी फ्रान्क लाम्पार्डलाई पछि पार्दै धेरै खेल खेल्ने खेलाडी सूचीमा तेस्रो स्थानमा उक्लिए । क्लबले साथ दिने हो भने केही वर्षमा एक नम्बरमा पुग्नेछन् ।

मिल्नरभन्दा अगाडि छन्, गारेथ बेरी र रायन गिग्स । यी खेलाडीले खेलाडी जीवनबाट संन्यास लिइसकेका छन् । त्यसैले पनि मिल्नरले यो उपलब्धि भेट्टाउने अनुमान गर्न सकिन्छ ।

प्रिमियर लिगमा मिल्नरको खेल संख्या कति हो । मिल्नर अगाडि र पछाडि को को छन् त ?

गारेथ बेरी: ६५३ खेल

 

मे २, १९९८ मा एस्टन भिल्लाका गारेथ बेरी सेफिल्ड वेनस्डेविरुद्ध ४९औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दा सायदै कसैले १७ वर्षीय ठिटो २० वर्षपछि प्रिमियर लिगकै सर्वाधिक खेल खेल्ने खेलाडी बन्छन् भनेर सोचेका थिए होलान् ।

हाल ४२ वर्ष पुगेका बेरीले तीन वर्षअगाडि मात्र अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिएका हुन् । व्यावसायिक करियरको अन्तिम दुई वर्ष उनले दोस्रो डिभिजनमा बिताए । तर, त्यतिबेलासम्म उनले प्रिमियर लिगमा सबैभन्दा धेरै ६५३ खेल खेल्ने कीर्तिमान कायम गरिसकेका थिए । मैदानमा सबैभन्दा धेरै समय बिताउने कीर्तिमान पनि उनकै नाममा छ । उनले कुल ५४,४३९ मिनेट खेलेका छन् ।

भिल्लासँगै म्यानचेस्टर सिटी, एभर्टन र वेस्टब्रोम अल्बियोन जस्ता क्लबहरूबाट खेलेका इङ्लिस मिडफिल्डर बेरीले राष्ट्रिय टोलीबाट ५३ अन्तर्राष्ट्रिय खेल खेले । सिटीले २०११-१२ मा लिग उपाधि जित्दा उनी टोलीका मुख्य सदस्य थिए ।

रायन गिग्स: ६३२ खेल

वेल्सका अन्तर्राष्ट्रिय विंगर रायन गिग्स प्रिमियर लिग सुरु हुनुभन्दा अगाडि नै म्यानचेस्टर युनाइटेडमा थिए । सबैभन्दा धेरै खेल खेलेका खेलाडी सूचीमा गिग्सको नाम दोस्रो स्थानमा आउनु कुनै आश्चर्यको कुरा होइन ।

वाइड मिडफिल्डर गिग्सले आफ्नो पूरा करियर युनाइटेडमै समर्पित गरे । क्लबमा २४ वर्ष बिताए । गोलका लागि सबैभन्दा धेरै (१६२) अवसर मिलाइने (असिस्ट) खेलाडी हुन् गिग्स । उनी आफैंले पनि क्लबका लागि १०९ गोल गरेका छन् ।

सर्वाधिक १३ पटक लिग उपाधि उचालेका गिग्ससँग सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान छ । गिग्सले ४०७ खेल जितेका छन् । उनले मैदानमा ४६,४३७ मिनेट बिताएका थिए ।

मिल्नर: ६१० खेल

मिल्नर यो सूचीमा पर्ने एकमात्र सक्रिय खेलाडी हुन् । एक साताअगाडि मात्र आफ्ना पूर्वसहकर्मी फ्रान्क लाम्पार्डलाई उछिनेर मिल्नर सबैभन्दा धेरै खेल खेल्ने सूचीको तेस्रो स्थानमा उक्लिएका हुन् ।

मिल्नर, प्रिमियर लिग इतिहासका तीन विशेष क्षणका भागिदार छन् । पहिलो, आफ्नो डेब्यु लिग सिजनमै मिल्नरको टोली लिड्स युनाइटेड दोस्रो डिभिजनमा घटुवा भएको थियो । लिड्सपछि न्युक्यासल युनाइटेड र एस्टन भिल्लाबाट खेलेका मिल्नर सिटीले २०१२ को सिजन लिग जित्दा टोलीका सदस्य थिए । सिटीपछि लिभरपुल आएका मिल्नर ३० वर्षपछि क्लबले लिग जित्दा मुख्य सदस्य रहे ।

मिल्नरसँग एउटा दुर्लभ कीर्तिमान छ । मिल्नर लिगमा सबैभन्दा धेरै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका खेलाडी हुन् । मिल्नरले १९२ पटक खेल चलिरहँदा मैदान प्रवेश गरेका छन् ।

फ्रान्क लाम्पार्ड: ६०९ खेल

हाल चेल्सी फुटबल क्लबको प्रशिक्षकका रूपमा कार्यरत लाम्पार्डले लिगमा जनवरी ३१, १९९६ मा ‘डेब्यु’ गरेका थिए । लाम्पार्ड त्यस दिन वेस्ट ह्यामको जर्सीमा कोभेन्ट्री सिटीविरुद्ध ८०औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

करियरको सुरुमै खुट्टा भाँचिएपछि लाम्पार्ड करिब एक वर्ष मैदान बाहिर रहन बाध्य भए । उक्त घटना नभएको भए लाम्पार्डले ६०९ भन्दा धेरै खेल खेल्थे ।

लाम्पार्डले लिगमा १७७ गोल गरेका छन् । जुन मिडफिल्डरका लागि धेरै ठूलो उपलब्धि हो । वेस्ट ह्याममा ६ सिजन बिताएपछि लाम्पार्डले चेल्सीमा १४ वर्ष बिताए । करियरको अन्तिम वर्षमा लाम्पार्डले सिटीमा एक वर्ष बिताए । लाम्पार्डले अमेरिकाको न्युयोर्क सिटीमा पनि एक सिजन खेले ।

डेविड जेम्स: ५७२ खेल

धेरै खेल खेल्ने खेलाडी सूचीका एकमात्र गोलकिपर हुन्, डेविड जेम्स । जेम्सले वाटफोर्डबाट आफ्नो व्यावसायिक करियर सुरु गरेका थिए । जेम्सले वाटफोर्डमा १९८८ देखि १९९२ सम्म खेले । प्रिमियर लिगमा ‘डेब्यु’ भने लिभरपुलको जर्सीमा गरे । त्यतिबेला लिभरपुल, नटिङ्घम फरेस्टसँग १–० ले पराजित भएको थियो । उक्त खेल प्रिमियर लिगको पहिलो खेल थियो । त्यसैले पनि जेम्सलाई प्रिमियर लिगमा गोल खाने पहिलो गोलकिपर भन्ने गरिन्छ ।

आफ्नो अन्तिम खेलसम्म जेम्सले ६६५ गोल खाएका छन् ।

एक समय जेम्स सबैभन्दा धेरै खेल खेल्ने सूचीको पहिलो स्थानमा थिए । पछि माथि उल्लेखित चार खेलाडीले उनलाई उछिने ।

उता मिल्नरले क्लब फुटबलमा जित्नुपर्ने सबै उपाधि जितिसकेका छन् । अब मिल्नरको लक्ष्य एउटै हुनुपर्छ । त्यो हो बेरीको ६५३ खेलको कीर्तिमान उछिन्ने । यसका लागि मिल्नर व्यक्तिगत रूपमा तयार छन् । जति गर्न सक्नेछन्, त्यति मैदानमा दिनेछन् । अब मिल्नरलाई चाहिएको छ क्लब र समर्थकको साथ । मिल्नर आफैंले केही समय अगाडि भनेका थिए, ‘म अहिले अगाडि दौडिरहेको छु । केही समयपछि मैदानको बीचमा दौडिने छु । म जहिल्यै अगाडि बढ्ने प्रयास गर्छु । यसका लागि एकदमै कडा मिहिनेत गर्दै आएको छु ।’ (एजेन्जीको सहयोगमा)