काठमाडौं । नेपाल फुटबल खेलाडी संघसँग सम्झौता गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सहिद स्मारक ए डिभिजन लिग चैत ३० देखि आयोजना गर्ने घोषणा गर्यो । एन्फा र खेलाडी संघबीचको यो सम्झौतापछि दुई दिनदेखि एन्फा मुख्यालय सातदोबाटोमा लगाइएको ताला खोलिएको थियो ।
४८ घण्टाअघि मात्रै लगाइएको ताला सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने पक्का भएपछि खोलेको फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले पत्रकार सम्मेलनमै जानकारी गराएका थिए । एन्फाले पनि ताला खोलेको घोषणा गर्न पत्रकार सम्मेलन नै आयोजना गर्यो ।
सम्झौतामा एन्फा महासचिव किरण राई रहेको भनिए पनि मिडियालाई जवाफ दिन उनी तयार भएनन् । खेलाडी संघका अध्यक्ष विक्रम लामा, एन्फा प्रवक्ता सुरेश साह र प्रतियोगिता आयोजक समितिका संयोजक सन्जिव मिश्र मात्र पत्रकार सम्मेलनमा उपस्थित थिए । अध्यक्ष पंकजविक्रम नेम्वाङ त ०७९ असार ६ गते निर्वाचित भएयता पत्रकार सम्मेलनहरूमा कमै मात्र उपस्थित हुन्छन् ।

दुईपक्षीय सम्झौतापछि के आउँदो चैत ३० देखि ए डिभिजन लिग सुरु हुन्छ त ? आम फुटबलकर्मीको मनबाट उब्जिरहेको प्रश्न हो यो । स्वभाविक छ, लिग हुनेमा अझै पनि न आयोजक एन्फा न त खेल्ने खेलाडी वा सहभागी हुने क्लब नै विश्वस्त हुन सकिराखेका छैनन् ।
‘हामी यो सम्झौताअनुसार जसरी पनि ए डिभिजन लिग आयोजना गर्छाै,’ प्रवक्ता साहको जिकिर छ । तर, उनको यो जवाफसँग सहमत हुने आधार नै छैन । सम्झौताप्रति कुनै पनि ए डिभिजन लिग क्लबहरूका प्रतिनिधि सहमत छैनन् । उनीहरू अझै पनि लिग हुन्छ भन्ने कुरामा ढुक्क हुन सकेका छैनन् ।
ए डिभिजन क्लब र एन्फाबीच लफडाको अर्काे पाटो छ । क्लबहरूसँगको सम्झौता बारम्बार तोडेको आरोप पनि एन्फामाथि छ । ‘ए’ डिभिजन लिग गर्न एन्फा र क्लबहरूबीच १४ बुँदाको सम्झौता भएको थियो । त्यो अझै कार्यान्वयन भएको छैन ।

फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाह एन्फाले ए डिभिजन गर्ने भनेर झुटो बोलेको आरोप लगाउँछन् । ‘दुःखलाग्दो कुरा धेरै छ । एन्फा पेलेरै जाने, छलफल नगर्ने मुडमा अघि बढेको छ । झुक्याएर पनि लिग हुन्छ र ? सम्झौता एउटा गर्ने, काम अर्काे ?,’ उनको प्रश्न छ, ‘सम्झौताअनुसार लिग आयोजना गरिए हामी ६ महिनासम्म खेल्न तयार छौं ।’
यता, हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा पनि सम्झौताअनुसार लिग भए खेल्न तयार हुने बताउँछन् । ‘क्लबसँगको सम्झौताअनुसार लिग हुनुपर्यो । हामी खेल्न तयार छौं,’ एन्फा पूर्वअध्यक्षसमेत रहेका शेर्पा भन्छन्, ‘होम एन्ड अवे लिग भए हामी सुदूरपश्चिममा पुगेर पनि खेल्न तयार छौं ।’
अर्काे क्लब र एन्फाको सधैंको समस्या आर्थिक पाटो हो । दुवै पक्ष, आर्थिक स्रोत कमजोर भएको भनेर सधैं पन्छिने गरेका छन् । कम्तीमा पनि ए डिभिजन लिग खेल्न सामान्यतः ६० लाखदेखि २ करोडसम्म लाग्ने क्लबहरूको अनुमान छ ।

यही भनेरै लिग नभएको एक हजार दिन कटिसकेको छ । एन्फाले ०७९-८० जेठमा लिग सम्पन्न गरेपछि हालसम्म ए डिभिजन लिग गर्न सकेको छैन । पटक पटक मिति नै घोषणा गरिसकेको छ । यतिमात्रै हैन, पछिल्लो पटक धुलिखेलमा भएको एन्फा साधारणसभाबाट त डिभिजन लिग आयोजना गर्न बजेट नै पारित भएको थियो । तर, पनि एन्फा नेतृत्वले बजेट अभावको कारण देखाउँदै सहिद स्मारक लिग नै गरेन ।
अन्त्यमा एन्फाले डिभिजन लिगको झारा टार्न राष्ट्रिय लिग ल्याएको छ । यो अहिले निरस रूपमा सञ्चालन भइरहेको छ । सुरुमा १० क्लब सहभागी हुने भनिएको थियो । अन्तिममा खुला प्रतिस्पर्धा जस्तै सहिद स्मारक ए डिभिजन लिगका सबै टिमलाई सहभागी हुने अनुरोध गरियो । हिमालयन शेर्पाबाहेक १३ क्लब नै सहभागी भए । १७ क्लब राष्ट्रिय लिगमा प्रतिस्पर्धा छन् । तर आधा खेल सकिँदा लिगको कुनै रौनक छैन । प्रतियोगितामा औसतमा एक सय पनि दर्शक उपस्थित हुँदैनन् ।
दुई पटक सहिद स्मारक ए डिभिजन लिग जितेको मछिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठ लिग हुनेमा ढुक्क छैनन् । उनी भन्छन्, ‘खेलाडीले ताला लगाएपछि मात्रै यो एजेन्डा आएको हो । ए डिभिजन लिग गराउन एन्फा तयार नै छैन,’ उनले भने, ‘एन्फा क्लबलाई दोष दिएर आफू बच्न चाहन्छ ।’

सहिद स्मारक डिभिजन लिग भएन भन्दै गर्दा, के लिग खेल्न खेलाडी तयार छन्, के डिभिजन लिगलाई चाहिने खेलाडीको स्तर पुग्छ त ? यी यावत् प्रश्नहरू छन् । राष्ट्रिय लिग खेलिरहँदा खेलाडीहरू अस्ट्रेलिया पलायन हुने क्रम रोकिएको छैन । अहिलेको जटिल समस्या भएको नै यही हो ।
अर्काे, राष्ट्रिय लिग खेलिरहेका खेलाडीको प्रदर्शन नै अल्छीलाग्दो रहेको आरोप लाग्दै आएको छ । एक त चर्चित खेलाडी नहुनु, सबै पलायन हुनु, भएकाबाट पनि आसलाग्दो प्रदर्शन नहुँदा राष्ट्रिय लिगको रौनक छैन । दर्शक मैदानसम्म पुग्नै चाहँदैनन् । यही कारण पनि लिग खेल्ने क्लबहरू झस्किँदै आएका छन् ।
अर्काे ठूलो समस्या त खेलअघि नै रिजल्ट तयार हुनु हो । यो सामान्य विषय हैन । प्रमाणित गर्न पनि कठिन छ । तर, नियामक निकायले यही विषयमा आँखा चिम्लिन्छ ।

रंगशालामा अधिकांश खेल सुरु हुनअघि नै त्यसको नतिजाको अनुमान हुन्छ । पत्याउन कठिन तर नतिजा सँधै त्यहीअनुसार आउँछ । प्रमाण देखाउन सकिँदैन । नियामक निकायले प्रमाण देखाउन उपयुक्त देख्दैन, चाहँदैन पनि । अधिकांश टिमका पदाधिकारीबाट आउने गुनासो हो यो । त्यसैले पनि क्लबका पदाधिकारी लगानी गर्न डराइरहेका छन् ।
अर्काे समस्या रेलिगेसन प्रकरणको छ । एन्फाले दुई वर्षपछि निर्णय गर्दै थ्रीस्टारलाई रेलिगेसनमा झारेको थियो । एपिएफ क्लबले भने शीर्ष डिभिजन लिगको हैसियत कायम राख्यो । तर, फेरि एक वर्षपछि अदालतबाट थ्रीस्टारले ए डिभिजनको हैसियत फर्काएको छ । अब के एन्फाले गर्छ ? हेर्नलायक विषय भएको छ ।