काठमाडौं । दैलेखका लोकबहादुर शाही कुनैबेला नेपाली राष्ट्रिय फुटबल टोलीको गोलपोस्ट सम्हाल्थे । यो कुरा सन् १९८० को दशकको हो । त्यतिबेला फुटबलमा पश्चिम नेपालको प्रतिनिधित्व गर्ने शाही एक्ला खेलाडी थिए । शाहीले एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाले । खेलजीवनबाट शाहीले संन्यास लिएपछि लामै समय पश्चिमका खेलाडीहरु राष्ट्रियस्तरसम्म आउनै सकेनन् ।
सन् २००९ मा काठमाडौंमा भएको एएफसी च्यालेन्ज कप छनोटमा प्यालेस्टाइनविरुद्ध सुर्खेतका रोहित चन्द ठकुरीले अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरे । यसबीच पश्चिमबाट नेपाली फुटबलमा राष्ट्रियस्तरसम्म कुनै पनि खेलाडी आएनन् । आए होलान्, तर छिनमै हराएजस्तो भयो । प्रस्ट रुपमा भन्दा रोहित र शाहीले जसरी उनीहरुले करियरलाई निरन्तरता दिन सकेनन् ।
हाल राष्ट्रिय टोलीको रक्षापंक्ति सम्हालिरहेका रोहितले ‘डेब्यु’पछि पछाडि फर्केर पनि हेर्नुपरेको छैन । क्यापकै कुरा गर्ने हो भने रोहितसँग ७७ अन्तर्राष्ट्रिय क्याप छ । जुन सबैभन्दा धेरै क्याप भएका गोलकिपर किरण चेम्जोङभन्दा ७ खेलमात्र कम हो ।
केही वर्ष भयो नेपाली फुटबलमा एउटा मतभेद चलेको । रोहितपछि पश्चिम नेपालको साख जोगाउने को त ? पश्चिमी फुटबलका लागि यो एउटा गम्भीर विषय हो । विषय तुच्छ भएको भए सायद रोहितले खेलेका १३ वर्षभित्र कम्तीमा पनि एकजना पश्चिमी खेलाडी स्टार पथमा हुन्थे ।
तर, पछिल्लो केही समययता एउटा नाममाथि भने सबैको आस पलाएको छ । ती हुन्, दीपकराज सिंह ठकुरी । जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बुधबार लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका दीपक यतिबेला चर्चाको केन्द्रबिन्दुमा छन् । दीपकलाई नेपाली फुटबलको भविष्यका रुपमा हेरिन थालिएको छ । धेरैले भन्न थालिसकेका छन्, रोहितपछि पश्चिम नेपालको साख जोगाउने दीपक नै हुन् ।
‘खोइ ! सुरुआती रोजाइमा पर्ने नपर्ने कुरा सबै प्रशिक्षकको हातमा हुन्छ । हामीलाई यो बारेमा थाहा नै हुन्न,’ लाओसविरुद्ध खेल्नुभन्दा दुई दिनअघि मात्र बन्द प्रशिक्षणमा रहेका दीपकले सुनाएका थिए ।
पहिलो रोजाइमै खेल्न पाइन्छ भनेर दीपकले सोचेका थिए होलान् । पहिलो रोजाइमै ‘डेब्यु’को सौभाग्य अन्तर्राष्ट्रिय फुटबलमा कमैले मात्र पाउँछन् । दीपक पनि यसको अपवाद बनेनन् । तर, जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ का उच्च गोलकर्ता दीपकको मिहिनेत र लय बेवास्ता गर्न नमिल्ने खालको थियो । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस यसबारे जानकार नै थिए ।
एनेसले लाओसविरुद्ध चार नयाँ अनुहारलाई अन्तर्राष्ट्रिय ‘डेब्यु’को अवसर दिए । सनिश श्रेष्ठ पहिलो रोजाइमै परे । बाँकीले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । एक त दीपक भइहाले । त्यसमा सुमित श्रेष्ठ र मणिकुमार लामा पनि थिए ।
निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा नवयुग श्रेष्ठलाई प्रतिस्थापन गर्दै पाँच हजार एक सय ७० दर्शकसामू दीपकले ‘डेब्यु’ गरे । दीपकको सपना पूरा भयो । करियरकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरे दीपकले । उनले यो उपलब्धि शीर्ष श्रेणीमा दोस्रो अनुभव बटुल्दै गर्दा प्राप्त गरेका हुन् ।
बाँके जिल्लाको खजुरा गाउँपालिकामा आमा दीपा र बुवा भक्तबहादुर सिंह ठकुरीका कान्छा छोरा दीपकले फुटबल खेल्न थालेको धेरै भएको छैन । स्कुले जीवनको उत्तरार्धमा मात्रै उनले फुटबल खेल्न सुरु गरेका थिए ।
२३ वर्षीय दीपक करियरको प्रारम्भिक दिनहरुमा विभिन्न टोलकपहरु खेले । त्यतिबेलासम्म दीपक एउटा साधारण नाममात्र थियो । २०७६ सालमा धनगढीमा भएको चौथो सुदूरपश्चिम खप्तड गोल्डकपपछि भने उनले असाधारण छवि बनाउन थाले । फाइनलमा शीर्ष डिभिजन क्लब थ्री स्टारलाई १-० ले पराजित गर्दै आयोजक सुदूरपश्चिम ११ ले पहिलो पटक सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जित्यो । खेलको निर्णायक गोल दीपकले नै गरेका थिए । दीपकले थ्री स्टारका डिफेन्डरहरुको कमजोर तालमेलको फाइदा उठाएका थिए ।
फाइनलअघि पनि दीपकले क्वाटरफाइनलमा र सेमिफाइनलमा समान दुई गोल गरेका थिए । धनगढीमा दीपक प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ता घोषित भए । एकथान मोटरसाइकल पनि प्राप्त गरे ।
‘धनगढीमा सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि स्थानीयमाझ चिनिन थालें । त्यसपछि पनि अरु मोफसलका गोल्डकप खेलें । त्यहाँ पनि धेरैको माया पाएँ,’ दीपकले विगत सम्झिए ।
जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दीपकले सातदोबाटो युथ क्लबबाट ५ खेलमा ४ गोल गरिसकेका छन् । सातदोबाटोमा दीपकको यो दोस्रो सिजन हो । गत सिजन दीपकले सातदोबाटोबाट शीर्ष डिभिजनमा ‘डेब्यु’ गरेका थिए । यसबीच दीपकले चार वर्ष अगाडि प्लानिङ ब्वाइजबाट ‘सी’ डिभिजनको एक खेल खेले ।
पहिलो सिजन दीपकले घरेलु लिगमा १० खेल खेल्दा एक गोल गरे । त्यतिबेला दीपक प्रायः लेफ्ट विंगरका रुपमा बढी देखिएका थिए । दीपकको मुख्य पोजिसनचाहिँ सेन्ट्रल स्ट्राइकर हो । यसपालि दीपक सबै खेलमा स्ट्राइकरमै खेलिरहेका छन् । आफ्नो गतिले विपक्षी डिफेन्सलाई समस्या दिन सक्ने दीपकको खुबी हो । काउन्टर अट्याकमा उनको जवाफ छैन ।
‘दीपक भाइ मोफसलबाट निस्केका राम्रा खेलाडी हुन् । नेपालगन्ज घर भएर घरेलु लिगमा ढिला आइपुग्यो । उसको खेल कौशल देखेर नै हामीले उसलाई सातदोबाटोमा मौका दिएका हौं,’ गत सिजन सातदोबाटोमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका मेघराज केसीले भने ।
गत सिजन सातदोबाटोले पहिलो अनुभवमै चौथो स्थानमा रहेर लिग टुंग्याएको थियो । जारी सिजन पनि पाँचौं चरण सकिँदासम्म टिम पहिलो स्थानमा छ । यसपालि सातदोबाटोको खेल दीपकप्रेरित भन्दा फरक पर्दैन । तीन पटक त म्यान अफ द म्याच नै घोषित भइसकेका छन् दीपक ।
लिग सुरु हुनुभन्दा एक साताअघि भएको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा पनि दीपकले दुई गोल गर्दै उच्च गोलकर्ताको उपाधि जितेका थिए । उक्त च्याम्पियनसिपमा सातदोबाटोले फाइनलसम्म यात्रा गरेको थियो । फाइनलमा मछिन्द्रले सातदोबाटोलाई टाइब्रेकरमा पराजित गरेको थियो ।
लगातारको स्तरीय प्रदर्शनले दीपक राष्ट्रिय टोलीसम्म पुगे । यसका लागि दीपकले धेरै मिहिनेत गरेका थिए ।
‘शीर्ष श्रेणीको दोस्रो अनुभवमै राष्ट्रिय टोलीमा परिन्छ भनेर सोचेको थिइनँ । तर, मिहिनेत गरिसकेपछि परिन्छ भनेर थाहा थियो । धेरै सिनियर दाइहरु बाहिर जानुभएको थियो । यही हो मौका राष्ट्रिय टोलीमा पर्ने भनेर मिहिनेत गरेको थिएँ,’ दीपकले सुनाए ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएको खबर पाउनासाथ दीपकले आफ्ना बुवा भक्तबहादुरलाई टेलिफोनमार्फत खुसीको खबर सुनाए ।
‘बुवा निकै खुसी हुनुभयो । उहाँको सपना थियो छोरा राष्ट्रिय खेलाडी बनोस् भन्ने,’ दीपकले हाँस्दै भने ।
दीपक पश्चिमी युवा खेलाडीका लागि एउटा रोल मोडेल हुन सक्छन् । चैत १४ गते नेपालले थ्री नेसन्स कपमा भुटानको सामना गर्दै छ । भुटानसँग बराबरीमात्र गरे नेपालले फाइनल खेल्नेछ । यस्तोमा यही थ्री नेसन्स कपमा दीपकले तेस्रो अन्तर्राष्ट्रिय क्याप जित्नेछन् । कडा परिश्रमले गर्दा दीपकले राष्ट्रिय टोलीको गन्तव्य कोरिसकेका छन् । उनको लक्ष्य एउटै हो, रोहित (चन्द) जस्तै निरन्तर टिममा स्थान बनाइराख्ने र पश्चिम नेपालको साख जोगाउने ।
फुटबल करियरमा दीपकको यो बल्ल सुरुआत हो । अहिले नै उनको भविष्यको अनुमान लगाउनु हतार हुनेछ । तर, जेहोस् सफलताको मार्ग नै सुरुआत हो नि ।
|
एक वर्षयता दीपकको यो उपलब्धि प्रत्यक्ष अप्रत्यक्ष रुपमा नियालिरहेका सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रवीन्द्र चन्द ठकुरी पश्चिमको खेलाडी यसरी राष्ट्रियस्तरमा आउँदा गर्व लागेको बताउँछन् ।
लाओसविरुद्धको खेल हेर्दै गर्दा चन्दले दीपकबारे यसरी सुनाए, ‘एक वर्ष भयो, मैले दीपक भाइलाई चिनेको , ऊसँग प्रचुर क्षमता छ । मिहिनेत गरेर आफूलाई अगाडि बढाएको खण्डमा निरन्तर राष्ट्रिय टोलीमा स्थान बनाइराख्ने सम्भावना दीपकमा छ । रोहितपछि अब को त भनेर भनिँदा हामीसँग नामै नआउने अवस्था थियो । अहिले आएर दीपकले राष्ट्रिय टोलीमा रोहित र लोकबहादुर दाइपछि पश्चिमको नाम राख्छ भन्ने विश्वास लागेको छ ।’
पश्चिममा फुटबल प्रतियोगिताहरु एकदमै कम हुने गर्दछ । कम हुँदाहुँदै पनि विभिन्न स्रोतहरु, सुविधाहरु कम रहँदा रहँदै पनि खेलाडीहरु जुन हिसाबले यसरी मिहिनेतका साथ अगाडि बढिरहेका छन्, आफूहरुलाई प्रमाणित गर्न दौडिरहेका छन्, यो देख्दाचाहिँ एकदमै खुसी लाग्छ, गर्व लाग्छ । साँच्चै नै लगनशीलता र संघर्षको फल मीठो हुन्छ भन्ने पाठ हामीले दीपकबाट सिक्न सक्छौं । पश्चिमका अरु भाइहरु पनि दीपकलाई रोल मोडल मानेर अगाडि बढ्न आवश्यक छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति सदस्य रहेका चन्दले थपे ।