नेपाल भलिबल संघ

एसियाली खेलकुद : वरीयता सुधार्ने लक्ष्यमा भलिबल

काठमाडौं । नेपाली पुरुष भलिबल टोलीको स्थापना भएको पाँच दशक पार गरे पनि अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । सन् २०१७ मा ‘एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल’ कांस्य पदक जित्नु नै नेपाली पुरुष भलिबलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि हो ।

नेपालले एभिसी सेन्ट्रल जोनमा सन् २०१५ देखि लगातार छैटौंपल्ट सहभागिता जनाएको छ । दक्षिण एसियाली खेलकुद (साग)मा सन् २०१०, २०१६ र २०१९ मा सहभागी भए पनि चौथो स्थान नै उच्च प्रदर्शन हो ।

आसन्न १९औं एसियाड नेपालका लागि पाँचौं सहभागिता हुनेछ । जुन चीनको हाङझाउमा सेप्टेम्बरमा हुँदै छ ।

भलिबल टोलीले सहभागिता जनाउने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै एसियाली खेलकुद हो । आसन्न १९औं एसियाड नेपालका लागि पाँचौं सहभागिता हुनेछ । जुन चीनको हाङझाउमा सेप्टेम्बरमा हुँदै छ ।

नेपालले पहिलो पटक थाइल्यान्डको बैंंकक १९७८ मा भएको एसियाडमा भाग लिएको थियो । नयाँ दिल्ली १९८२, सोल १९८६ र जकार्ता २०१८ को एसियाडमा नेपालले पुरुष भलिबलमा प्रतिस्पर्धा गरेको थियो । 

चार पटक संस्करणमा प्रतिस्पर्धा गर्दा नेपालले सहभागितालाई नै ठूलो अवसरका रूपमा लिँदै आएको छ । पछिल्लो पटक इन्डोनेसियाको जर्कातामा सम्पन्न १८ औं संस्करणमा नेपालको तीन दशकपछिको सहभागिता थियो । २० टोली सहभागी हुँदा नेपाली टोली १५औं स्थानमा रहेको थियो ।  

यसपालिको एसियाडमा पनि नेपालको कुनै पदक योजना छैन । सहभागिता र वरीयता सुधारलाई नै मुख्य लक्ष्य बनाएको छ । नेपाल भलिबल संघ (एनभिए)का अध्यक्ष जितेन्द्रबहादुर चन्द वरीयता सुधारमा केन्द्रित हुने बताउँछन् । ‘विश्वका ठूला राष्ट्रसमक्ष अहिले हामीले पदक जित्नु निकै कठिन हुन्छ । राम्रो प्रदर्शन गरेर वरीयता सुधारमै केन्द्रित हुन्छौं,’ अध्यक्ष चन्दले नेपालको एसियाड लक्ष्यबारे सुनाए ।

नेपालको पदक जित्ने सम्भावना पनि छैन । नेपाल समूह ‘बी’ मा एसियाका बलिया टोली इरान र बहराइनसँग खेल्नेछ । इरान पछिल्लो दुई संस्करणको स्वर्ण विजेता टोली हो ।

उनले टोलीको प्रशिक्षणमा भने कुनै कमी हुन नदिने बताएका छन् । ‘वरीयता सुधार नै भए पनि टोलीको प्रशिक्षणमा कुनै कमजोरी हुने छैन । राम्रो प्रदर्शन गर्ने हो । हामी नयाँ प्रतिभाको खोजीमा पनि छौं,’ अध्यक्ष चन्दले भने ।

नेपालको पदक जित्ने सम्भावना पनि छैन । नेपाल समूह ‘बी’ मा एसियाका बलिया टोली इरान र बहराइनसँग खेल्नेछ । इरान पछिल्लो दुई संस्करणको स्वर्ण विजेता टोली हो । विश्व वरीयतामा इरान १०औं र बहराइन ७६औं स्थानमा छन् । नेपालको आधिकारिक वरीयता नै छैन ।

एसियाली खेलकुदमा नेपाली टोलीको कप्तानी स्पाइकर मानबहादुर श्रेष्ठले गर्नेछन् । त्रिभुवन आर्मी क्लबका मानबहादुरले हरिहजुर थापाको स्थान लिएका हुन् । राष्ट्रिय क्लब लिगमा अनुशासन उल्लंघन गरेका कारण हरिहजुरलाई भलिबल संघले कप्तानबाट बर्खास्त गरेको थियो ।

कप्तान मानबहादुरले पनि अध्यक्ष चन्दले जस्तै वरीयता सुधारमै केन्द्रित रहने लक्ष्य रहेको बताए ।

कप्तानबाट बर्खास्त गरिएपछि हरिहजुरले एसियाडमा आफू सहभागी नहुने बताएका छन् । कप्तान मानबहादुरले पनि अध्यक्ष चन्दले जस्तै वरीयता सुधारमै केन्द्रित रहने लक्ष्य रहेको बताए ।

नेपाली टोलीमा मानबहादुरसहित विशाल बिक, सफल बिक, मनीष मानन्धर, सम्राट भण्डारी, रविन चन्द, धिरोज बस्नेत, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, हेमन्त मल्ल र विनोद चन्द छन् । अघिल्लो संस्करणको एसियाड खेलेका केही खेलाडीमात्र यो टोलीमा छन् । प्रशिक्षकमा बेल्जियमका ब्रान्ट ली र जगदीश भट्ट छन् ।

एसियाडमा नेपालको इतिहास

पहिलो सहभागिता– १९७८, बैंकक
थाइल्यान्डको बैंककमा भएको आठौं एसियाली खेलकुदमा नेपाली पुरुष भलिबल टोली पहिलो पटक सहभागी भएको थियो । डिसेम्बर ९ देखि २० सम्म भएकोमा २१ खेलमा प्रतिस्पर्धा भएको थियो । ३ हजार ८ सय ४२ खेलाडीसमक्ष नेपाली भलिबल टोलीको प्रदर्शन भने कमजोर रह्यो । जापान, कुवेत, बंगलादेश, संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध सोझो सेटमा पराजित भयो । पाँच राष्ट्र रहेको समूह ‘बी’ मा नेपाल पुछारमा रहँदै बाहिरियो ।


दोस्रो सहभागिता– १९८२, नयाँ दिल्ली

भारतको नयाँ दिल्लीमा भएको नवौं संस्करणमा पनि नेपाली टोली सहभागी भयो । कुल २३ खेलमा प्रतिस्पर्धा भएको थियो । १५ टोली सहभागी रहेको भलिबलमा नेपालले १२औं स्थान प्राप्त गरेको हो । समूह ‘बी’ मा नेपाल दक्षिण कोरिया र कुवेतसँग सोझो सेटमा पराजित भयो । ९ देखि १२औं वरीयताका लागि प्रतिस्पर्धा हुँदा साउदी अरेबिया, दक्षिणी यमन र उत्तरी यमनसँग सोझो सेटमै पराजित भयो । नेपालले १२औं स्थान पाएको हो । नेपालभन्दा बंगलादेश, हङकङ र माल्दिभ्स पुछारमा रहेका थिए ।

तेस्रो सहभागिता– १९८६, सोल

दक्षिण कोरियाको सोलमा सेप्टेम्बर २० देखि अक्टोबर ५ सम्म आयोजित १०औं एसियाली खेलकुदमा २५ खेल प्रतिस्पर्धी थियो । भलिबलमा चीनसहित १२ टोलीको सहभागिता रहँदा नेपाल पुछारमै अडियो । खेलेका ८ खेलमै पराजित भयो । १०औं संस्करणमा भने २ सय ७० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

चौथो सहभागिता– २०१८, जकार्ता

सन् १९८६ को दसौं एसियाली खेलकुदमा सहभागी भएपछि नेपाली भलिबल टोलीले सन् २०१८ जकार्तामा भएको १८औं संस्करणमा मात्र भाग लिएको हो । यसबीच नेपाल सरकारको ध्यान भलिबलमा परेन । कुल ४५ देशका खेलाडीले विभिन्न ४८ खेलमा प्रतिस्पर्धा गरेका थिए । 

१५औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । 

२० देशको टोली सहभागी भलिबलमा नेपालले १५औं स्थान प्राप्त गरेको थियो । इम रानाको कप्तानीमा रहेको नेपाली टोलीमा हरि अधिकारी, कुलबहादुर थापा, विशाल बिक, दीपकराज जोशी, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, दुर्गाप्रसाद महतो, नरेन्द्र गिरी, राजु शेरचन र ईश्वर थापा थिए ।

समूह ‘डी’ मा रहेको नेपाली टोली दक्षिण कोरिया र चाइनिज ताईपेसँग सोझो सेटमै पराजित भयो । १३ देखि १८ औं वरीयताको खेलमा मंगोलियासँग ३–१ को सेटमा पराजित हुँदा अर्काे चरणमा श्रीलंकासम्म पनि सोही नतिजामा पराजित भयो । १५औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।