नेपाली भलिबल

राष्ट्रिय भलिबल लिग आजदेखि, विजेताले जित्छन् ६ लाख

काठमाडौं । एक सय ५६ खेलाडीको प्रत्यक्ष सहभागितासँगै सातौं राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आज शनिबार सुरु हुँदै छ । 
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा हुने घरेलु संरचनाको ठूलो भलिबल प्रतियोगितामा पुरुषतर्फ ७ टोली प्रतिस्पर्धी हुने छन् । हरेक टोलीमा समान १२ खेलाडी रहने छन् । महिलातर्फ ६ टोलीमा गरी ७२ खेलाडी कोर्टमा उत्रने छन् । टोलीका प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक अनिवार्य सहभागी हुने नियम छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा विहान ८ बजे हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघविरुद्ध खेल्नेछ । पहिलो दिन ४ खेल हुँदा पुरुषतर्फ तीन खेल हुनेछ ।

असार ३० सम्म हुने प्रतियोगिताको पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, दावाँली मिलन क्लब, गण्डकी प्रदेश भलिबल संघ र रामेछापको शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब प्रतिस्पर्धी छन् । महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, बुटबलको एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघको सहभागिता रहनेछ ।

महिला तथा पुरुषतर्फ शीर्ष चार स्थान प्राप्त गर्नेले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दुवैतर्फका सर्वाेत्कृष्ट खेलाडीले जनही ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउने छन् ।

कस्ता छन् लिग खेल्ने भलिबल टिम ?

त्रिभुवन आर्मी क्लब

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले घरेलु खेलकुदमा सधैं आफ्नो वर्चस्व कायम राख्दै आएको छ । भलिबलमा पनि आर्मीले अन्य टोलीको तुलनामा बलियो टिम बनाउँछ । 

पछिल्लो समय घरेलु प्रतियोगिताहरूमा आर्मीको महिला र पुरुषतर्फ बराबर सहभागिता छ । उपाधि भने पुरुष टोलीले धेरै जितेको छ । लिग होस वा च्याम्पियनसिप आर्मीका दुवै टोली सधै उपाधिको मुख्य दाबेदार मानिन्छ । यद्यपि पछिल्लो समय आर्मीलाई हेल्प नेपालले दबाब दिँदै आएको छ । 

आर्मीको पुरुष टोलीमा आधा दर्जन राष्ट्रिय खेलाडी छन् । मानबहादुर श्रेष्ठ, कप्तान हरिहजुर थापा, राजेन्द्र विष्ट, दुर्गा अधिकारी, शरणसामरी क्षेत्री, सुनिल खड्का र हरि अधिकारी आर्मीको टोलीमा भएका राष्ट्रिय खेलाडी हुन् । 

महिलातर्फ संगम महतो, साफिया पुन, कृपा अधिकारी, शान्ति थारु, सरस्वती जैसी, सृष्टि खड्गीजस्ता खेलाडीको आर्मीलाई साथ छ । आर्मीको पुरुष टोलीमा ईश्वर गुरुङ र महिलामा कृपा अधिकारीले कप्तानको हैसियतमा नेतृत्व गर्छन ।

नेपाल पुलिस क्लब

नेपालको घरेलु भलिबलमा नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबको हैसियत पनि सधै दाबेदारको रहने गर्छ । पुलिसको महिला तथा पुरुष टोली सधैं उपाधिका दाबेदार हुन् । 

पुरुष टोलीले उपाधि जित्न नसकेको अवस्थामा महिला टिमले भने लगातार उपाधि हात पारेको छ । राष्ट्रिय भलिबल टोलीमा पनि पुलिसको बाहुल्य छ । अपोजिटिभ हिटर उषा भण्डारी, पुनम चन्द, हिटर कामना विष्ट र लिबेरो शान्तिकला तामाङ राष्ट्रिय खेलाडी हुन् । पुलिसको टोली कप्तान कमला पुनको नेतृत्वमा हुनेछ । 

साबिक विजेता पुलिस फाइनलमा न्यु डायमन्डलाई हराउँदै ११ वर्षपछि उपाधि जित्न सफल भएको थियो । 

सधै उपाधि दाबेदारको हैसियतमा रहे पनि  पुलिस उपाधि नजिक पुग्न नसकेको धेरै भइसक्यो । पुरुष टोलीमा रविन चन्दले मात्रै राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । पुलिसमा राष्ट्रिय टिमका पूर्व कप्तान इम रानामगरका साथै कुलबहादुर थापा, विशाल विक, रविन चन्द, द्वारिका थापा, तोरणबहादुर चन्द, सफल विक, प्रज्वल मल्ललगायतको साथ छ ।

एपिएफ क्लब

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पनि भलिबलको दुवै विधामा प्रतिस्पर्धा गर्दै आएको छ । आधा दशकअघि महिला टोलीले घरेलु प्रतियोगितामा एकछत्र राज गरेको थियो । 

महिला टोलीले सबै प्रतियोगिता जित्ने गर्दथ्यो । अन्तर्राष्ट्रिय खेलमा एपिएफको वर्चस्व रहन्थ्यो । तर, अहिले अवस्था त्यस्तो छैन । महिला टोली निकै कमजोर बनेको छ । पुरुष टोलीको अवस्था पनि त्यस्तै छ । घरेलु प्रतियोगितामा सधैं दाबेदार रहे पनि उपाधि जित्न सकेको छैन । 

महिला टिममा नेपाली भलिबलका स्टार नामहरु सरस्वती चौधरी, निरुता ठगुन्ना, पूजा चौधरी, कप्तान विनिता बुढाथोकी, रेश्मा घिमिरे, उषाकुमारी विष्ट, मनीषा तामाङ, कविता भट्टर पूजा थारु एपिएफको टोलीमा छन् । सरस्वती, निरुता, पूजा र कविताले राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । 

टेकराज अवस्थी, हेमन्त मल्ल तथा कप्तान महेन्द्र चौधरी, लोकेन्द्र गिरी, बलिराम चौधरी, विजय थापा, रुपेन्द्र नेपालीलगायत खेलाडी एपिएफको पुरुष टिममा छन् । एपिएफका टेकराज र हेमन्तमात्रै राष्ट्रिय टोलीबाट खेल्छन् ।

गण्डकी प्रदेश भलिबल संघ

गण्डकी प्रदेशले महिला तथा पुरुष दुवैतर्फ सहभागिता जनाउँदै छ । यद्यपि गण्डकीको दुवै टोली उपाधि दाबेदार होइनन् । टाइगर कपमा पुरुष टोलीले सधैं उपाधिमाथि दाबेदारी प्रस्तुत गरिहेको छ । 

तर, राष्ट्रिय लिगमा टोलीको सहभागिता सधैं कमजोर बन्दै गएको छ । यसपालि टोलीले दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको छ । रमेश केसीको प्रशिक्षणमा रहेको टोलीलाई कप्तानको हैसियतमा कोर्टमा खेमप्रसाद (हरि) ले नेतृत्व गर्नेछन् । टोलीमा रवि केसी, घनश्याम चौधरी, हिमाल सुनाल, दीपक मल्ल ठकुरी, सुजन चोखाल, राजन दर्लामी मगर लगायत खेलाडी छन् । 

महिलातर्फ राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसँगै लक्ष्मी राना, पवित्रा सिर्पाली, मनीषा तिलिजा, सम्पदा गुरुङलगायत खेलाडीको साथ टोलीलाई हुनेछ ।

न्यु डायमन्ड स्पोर्टस क्लब 

नेपाली भलिबलमा न्यु डायमन्ड स्पोर्टस क्लब महिला खेलाडी उत्पादन कारखाना नै हो । न्यु डायमन्डले विद्यार्थीलाई पढाइसँगै विशेषतः भलिबलमा अगाडि बढाएको छ । उनीहरूले एकेडेमीमा पढ्दै र खेल्दै आफूलाई निखार्ने अवसर पाएका छन् । 

यहींबाट रमिला तण्डुकार, प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा घिमिरे, प्रगति नाथ, कृपा अधिकारीजस्ता खेलाडी निस्किएका छन् । सबैले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । यसपालि प्रगति नाथले राष्ट्रिय टोलीबाट डेब्यू गरिन् ।

प्रशिक्षक कुमार राईको प्रशिक्षणमा न्यु डायमन्डले लिग उपाधिमाथि दाबेदारी प्रस्तुत गर्नेछ । महिला भलिबलमा न्यु डायमन्डले लगातार उपाधि  जित्दा विभागीय टोली संकटमा छन् । साबिक विजेता न्यु डायमन्डले यसपालि पनि उपाधिमा दाबेदारी प्रस्तुत गर्ने प्रशिक्षक राई बताउँछन् । 

न्यु डायमन्डकी नियमित कप्तान ललिता नाथ प्रशिक्षक राईको सहयोगीमा बढुवा भएकी छन् । कप्तानीमा प्रतिभा हुनेछिन् । उनलाई सलिना र प्रगतिका साथै मिडल ब्लकर वाल्मिका आचार्य तथा सुमित्रा रेग्मी, अपोजिटिभ हिटर सलिना बुढामगर, रिमा कुमारी, एन्जिला प्रधानलगायतले साथ दिनेछन् ।

हेल्प नेपाल

हेल्प नेपालको चुनौती विगतमा जस्तै पुरुषतर्फ मात्र हुनेछ । हेल्प नेपालले पछिल्लो प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको थियो । विभागीय टोलीको प्रभुत्वमाथि हेल्प नेपालले चुनौती दिइरहेको छ । 

क्लब च्याम्पियनसिप र लिगमा विदेशी खेलाडी अनुबन्ध गर्दै टोलीले नेपाली घरेलु भलिबलमा आफूलाई बलियो टोलीका रुपमा उभ्याइरहेको छ। साबिक उपविजेता हेल्प नेपालले यस सिजन तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ । उपाधि जित्ने योजनामा हेल्प नेपालले भित्र्याएका पाकिस्तानी खेलाडी एइमल खान, माजहर अली र अदनान खान हुन्। 

कप्तानको रुपमा लिबेरो दीपक थापाले टोलीको नेतृत्व गर्दा सन्जुविक्रम शाह, अमृतबहादुर केसी, धीरजकाजी बस्नेत, सुरेन्द्र बम र सन्तोष महतोजस्ता खेलाडीको समूहले प्रतियोगितामा आफ्नो चुनौती प्रस्तुत गर्नेछन।

दावाँली मिलन क्लब, काठमाडौं

दावाँली मिलन क्लबको एनभिए लिगमा खासै ठूलो उपलब्धि छैन । टोलीको यात्रा पुरुषतर्फ हरेक वर्ष सहभागितामै सीमित बन्ने गरेको छ । मुस्कान लिम्बूको प्रशिक्षणमा रहेको दावाँली मिलन क्लबले रोहित सिवाकोटीको कप्तानीमा खेल्नेछ । 

टोलीमा भरत यादव, रविन गौतम, रोमन बस्नेत, पुकार तामाङ, गणेश कटुवाल, सन्तोष राई, मिलन लिम्बू, बालकुमार रायमाझी, अनिश निरौला, सुमन रानामगर र दमन उदास छन् ।

शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब 

रामेछापको यस क्लबले पनि प्रतियोगितामा पुरुषतर्फ मात्र सहभागिता जनाउने गरेको छ । च्याम्पियनसिपबाट छनोट भएको शैलुङ्ग क्लबले दीपक थापालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । 

भरत घिमिरेको कप्तानीमा टोलीभित्र मन्जिल घिमिरे, नविन महतो, निकेश महतो, दुर्गाबहादुर मगर, चन्द्रबहादुर राना छन् । लिबेरोमा विनोद नेपालीसहित टोलीमा समिप श्रेष्ठ, दिनेश खत्री, चिरन खड्का, ज्ञानेन्द्र गुरुङ र उज्वल बस्नेत छन् ।

एभरेस्ट भलिबल क्लब

बुटबलको एभरेस्ट भलिबल क्लबको पनि प्रतियोगिता यात्रा सहभागितामै सीमित बन्ने गरेको छ । टोलीमा राष्ट्रिय टोलीबाट खेलेका खेलाडी छैनन् । स्थानीय खेलाडीको भरमा लिग खेल्न आएको एभरेस्ट टिम महिलातर्फ मात्र प्रतिस्पर्धी छ । 

अर्जुन घिमिरेको प्रशिक्षणमा एभरेस्टको कप्तानी शान्ता सुनारले गर्नेछिन् । लिबेरोमा मोनिका विष्ट रहँदा निशा चौधरी, आरती चौधरी, अनुशा चौधरी, सपना डाँगी, मीना सुनार, ऋचा थापा, सोनिया सुनार, रुची थापा, अस्मिता थापा र प्रतिभा चौधरी छन् ।