भलिबल

भलिबल ‘मिस’ गर्दै सिपोरा

फाइल तस्बिरः सुदर्शन रञ्जित

काठमाडौं । सिपोरा गुरुङ नेपाली भलिबलकी पहिलो सुपरस्टार हुन् । अर्थात सेलिब्रेटी । नेपाली भलिबलले पाएको पहिलो ‘पोस्टर गर्ल’ । जसका कारण भलिबल ब्रान्डिङको अभियान सजिलो बन्यो ।

१३ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट खेल्नु चानचुने उपलब्धि थिएन । प्रतिभाशाली मञ्जु र परिक्षा गुरुङहरूको क्षमता अनि ज्ञानुबाबा र फिस्टेल स्कुलको मिहिनेतले तत्कालीन पश्चिमाञ्चलको राजधानी पोखरामा महिला भलिबलले आकार लिँदै थियो । त्यसमा ‘हिस्सी’ परेकी फुच्ची सिपोराको आगमनले बेग्लै उचाइ दियो ।

मञ्जु, परिक्षा र सिपोरा अनि उनीहरूको पश्चिमाञ्चल महिला भलिबल टोली देशभित्रका सबै प्रतियोगितामा दाबेदार छविका साथ उपस्थित हुन थाल्यो । कुरा हो २०६० सालतिरको । त्यही बेला त हो, यी गुरुङ्सेनी किशोरीहरूको कला हेर्न बालाजु नयाँ बसपार्कमा हुने ढोरपाटन महिला भलिबलमा हजारौं दर्शकको घुइँचो लाग्ने गरेको ।

भलिबल पनि खेल हो भनेर सहरियाले पत्याउन थालेको । पहाडका गाउँघर र पाखापखेरामा सीमित भलिबलले आम समर्थकको नजरमा पनि मूलधारको खेलको मान्यता पाएको । महिला भलिबलमा ग्ल्यामर जोडिएको अनि आजका दिनमा भलिबलले लोकप्रियताकै बलमा राष्ट्रिय खेलको रूपमा स्थापित हुने आधार बनेको । यो सब त्यही समय हो, जुनबेला यिनीहरू कोर्टमा मज्जासँग जमेका थिए ।

फाइल तस्बिरः सुदर्शन रञ्जित

अनि यो खेललाई यति लोकप्रिय बनाएको पनि यिनै खेलाडीहरूले हो । जसको एक झलक पाउनका लागि हजारौं समर्थक कोर्टसम्म धाउने गर्थे । नेपालमा भलिबल मूलधारको सबैभन्दा महत्त्वपूर्ण खेलका रूपमा स्थापित भइसक्यो । राष्ट्रिय खेलको मान्यता पाइसक्यो । तर, दुःखद संयोग सिपोराहरू अहिले कोर्टमा छैनन् । सिपोरा त अहिले अमेरिकाको टेक्सस राज्यस्थित डालासमा अध्ययनरत छिन् । मनचाहिँ अहिले पनि नेपालकै कोर्टहरूबाट हटेको छैन ।

समय बदलिइसक्यो । अहिले पहिलाजस्तो सूचना पाउन गाह्रो छैन । सामाजिक सन्जालले सबथोक तुरुन्तै विश्वभर फैलाइदिन्छ । सामाजिक सन्जालका कारण पूरा विश्व नै एउटा सानो गाउँ जस्तै साँघुरो भइसकेको छ । सिपोरा पनि सामाजिक सन्जालबाटै नेपाली भलिबलका सबै गतिविधिमाथि जानकार छिन् । नेपालमा दिन हुँदा अमेरिकामा रात हुन्छ । अनि यहाँ रात पर्दा त्यहाँ चर्को घाम । यही कारण समय नमिलेर प्रत्यक्ष प्रसारणमा हेर्न नपाए पनि नेपालका खेलहरू पछि युट्युबमा हेरेर भए पनि धित मार्छिन् ।  

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी काभा महिला भलिबल च्यालेन्ज कपका लागि वैशाख २६ गते काठमाडौंबाट नेपाली टिम घोषणा हुँदा सात समुद्रपारकी सिपोरा निकै तनावमा थिइन् । ‘नेपाली भलिबलबारेमा सधैं कौतूहल भइरहन्छ । सबै गतिविधि नियालिरहन्छु । यसपालि टिम घोषणा हुँदा नाम हेरें । धेरै नयाँ बहिनीहरू आएका रहेछन् । तर, त्यहाँ मैले प्रतिभा (माली)को नाम देखिनँ । प्रतिभा किन परिनन भन्ने लाग्यो । सोझै प्रतिभालाई फोन गरेर बहिनी तिमी किन टिममा परिनौं ? भनेर सोध्न पनि अप्ठेरो । अनि धेरै जनाको फेसबुक हेरेपछि उनी घाइते रहिछन् भन्ने थाहा भयो । त्यसपछि फोन गरेर हालचाल सोधें,’ जारी प्रतियोगितामा सिपोरालाई पनि प्रतिभाको अभाव महसुस भइरहेको छ ।

फाइल तस्बिरः सुदर्शन रञ्जित

वर्तमान राष्ट्रिय टोलीका सबै खेलाडी सिपोराका जुनियर हुन् । कप्तान अरुणा शाही र स्टार स्पाइकर सरस्वती चौधरीसँग उनले थोरै समय खेल्ने मौका पाएकी थिइन् । सरस्वती त उनका लागि आफ्नै बहिनीजस्ती हुन् । फिस्टेलले प्रतिभा खोज कार्यक्रमअन्तर्गत सरस्वतीलाई धनगढीबाट ल्याएर पोखरामा प्रशिक्षण गराएको थियो । अग्लो कदका कारण सरस्वतीको सम्भावना देखेर फिस्टेलले उनलाई सानै उमेरमा पोखरा ल्याएको हो ।

‘त्यति बेला सरस्वती सानै थिइन् । उनलाई प्राविधिक ज्ञान थिएन तर पर्याप्त सम्भावनाचाहिँ थियो । हामीले उसलाई धेरै कुरा सिकायौं । ऊ मेरी बहिनीजस्तै हो । यही कारण सरस्वतीसँग विशेष खालको एट्याजमेन्ट छ,’ उनी भन्छिन्, ‘अरुणासँग पनि थोरै समय खेलें । बाँकी सबै नयाँ बहिनीहरू छन् ।’

सिपोराको वर्तमान टिमका प्रतिभा र सरस्वतीसँग बेलाबखत फोनमा कुरा हुने गर्छ । बाँकी धेरै खेलाडी नचिने पनि उनलाई लाग्छ, ‘यी बहिनीहरू घाइते भएर मैले जस्तो भलिबलबाट टाढिनु नपरोस् । प्रतिभावान बहिनीहरूको राम्रो टिम छ । एउटा टिमको रूपमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाइरहुन् ।’

चार वर्षअघि भारतसँग पाँच सेटसम्म प्रतिस्पर्धा गरेको १३औं सागको फाइनल सिपोराले हेरेकी थिइन् । नेपाल च्याम्पियन भएका पछिल्ला दुई एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबारे पनि उनी राम्ररी अपडेट छिन् । यही कारण यसपालि काभामा पनि नेपालले उपाधि जित्ने सम्भावना उनले देखेकी छन् । भारतसँग समूह चरणको खेलमा ३-१ को सेटमा पराजय भोग्नुपरे पनि उनलाई नेपालको प्रदर्शनले लोभ्याएको थियो ।

फाइल तस्बिरः सुदर्शन रञ्जित

‘हामीले भलिबल सुरु गर्दा अन्तर्राष्ट्रियजगतमा नेपाली भलिबलको नामनिसानै थिएन । हामीले त्यतिबेला सागमा तेस्रो स्थान हासिल गर्ने पनि भुटान र बंगलादेशलाई जितेर हो । हामी सहभागिताका लागि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्थ्यौं । भारतसँग निकै नराम्रोसँग हार्थ्यौं । आजका दिनमा अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपालको पनि नामचाहिँ छ,’ उनी भन्छिन्, ‘आजको पुस्ताले भारतसँग जित्नु र प्रतिस्पर्धा गर्नु भनेको धेरै सुधार भएको प्रमाण हो । तर, अन्तर्राष्ट्रिय रूपमा हुनुपर्ने जस्तो छैन ।’

अचेल सिपोरा फुर्सदमा छिन् । तरसमयले गर्दा सबै खेल प्रत्यक्ष हेर्न गाह्रो हुन्छ । भ्याएसम्म हेरिरहेकै छिन् । नेपालले राम्रो गरोस्, जितोस् भन्ने लाग्छ । अनि कतिपय बेला यस्तो पनि लाग्छ, ‘अहिले समग्र नेपाली भलिबल यति उत्कर्षमा हुँदा आफूले पनि कोर्टमा जर्सी लगाएर उत्रन पाएको भए !’ 

तर शुक्रबार पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक सेमिफाइनलमा कजाकस्तानसँग पराजित हुँदा नेपालको प्रतियोगिता यात्रामा पूर्णविराम लाग्यो । जसले सिपोराको उत्साहमा पनि पानी छ्यापिदियो ।

सानै उमेरमा ठूलो सम्भावनाका साथ उदाए पनि सिपोराको खेलजीवन सोचेजस्तो सुखद रहेन । करियर सोझो रेखामा अगाडि बढेन । जतिबेला उनी करियरको उच्च फर्ममा थिइन्, त्यो बेला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुँदै भएनन् । उत्कर्षमा रहँदाको ५/७ वर्ष उनी र उनका सहयात्रीहरूको दायरा घरेलु भलिबलमै सीमित रह्यो ।

फाइल तस्बिरः सुदर्शन रञ्जित

२०६३ सालमा श्रीलंकाको कोलम्बोमा भएको १०औं दक्षिण एसियाली खेलकुद सिपोराले खेलेको एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जतिबेला उनी १३ वर्षको उमेरमा राष्ट्रिय भलिबल टोलीको हिस्सा भएर सागमा कांस्य पदक जित्न सफल भएकी थिइन् ।

‘कोलम्बो सागपछि हामी पिकमा हुँदा ५/६ वर्ष एउटै अन्तर्राष्ट्रिय प्रतियोगिता भएनन् । त्यही भएर एकदमै सम्भावना भए पनि परिक्षाले राष्ट्रिय टिमबाट खेल्न नै पाइनन् । मैले पनि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाइनँ,’ सिपोरा स्मरण गर्छिन्, ‘त्यही बेला नेपालमा महिला भलिबलको क्रेज एकदमै बढ्न थाल्यो । काठमाडौं, पोखरा र खासगरि बाग्लुङ भलिबलमय भएको थियो । हामीले त्यही घरेलु भलिबलमा व्यस्त भएरै चित्त बुझायौं ।’

२०६९ सालमा गुहनगर पोखरामै आयोजित एक प्रतियोगिता दौरान घाइते भएपछि सिपोराले फेरि भलिबल खेल्न सकिनन् । वाइवाइ आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिता चलिरहेको थियो । सिपोरा पुरानो टिम फिस्टेल एकेडेमीबाट खेल्दै थिइन् । पोखरेली भलिबलको चिरप्रतिद्वन्द्वी टोली ज्ञानुबाबा थियो विपक्षी । सिपोरा फिस्टेलबाट खेल्थिन् भने मञ्जु, परिक्षा र आफूभन्दा थोरै जुनियर अरुणा शाही (वर्तमान राष्ट्रिय टोलीकी कप्तान) ज्ञानुबाबाबाट खेल्थे ।

ज्ञानुबाबाविरुद्धको खेलमा एउटा स्पाइकका लागि जम्प गरेर ल्यान्ड गर्नेक्रममा सिपोरा घाइते भइन् । उनको एसियल र मिनिस्कस नराम्ररी चोटग्रस्त भयो । चोट यति गम्भीर थियो कि अपार सम्भावनाकी सिपोरा त्यसपछि फेरि भलिबलको कोर्टमा देखिइनन् । भलिबल खेलाडीका रूपमा उनको यात्रामा पूर्णविराम लाग्यो ।

भलिबल यात्रामा लागेको त्यो तगारोले सिपोराका लागि अर्को बाटो खोल्यो नायिकाका रूपमा । हो, यी भलिबल सुन्दरीले तीनवटा फिल्ममा पनि मुख्य भूमिकामा अभिनय गरिन् । उनले अभिनय गरेकामध्ये यम्फावती रिलिज नै भएन । तर दुई फिल्म भुइँमान्छे र घलेकले भने रिलिज भएर पनि दर्शकमाझ राम्रो छाप छोड्न सकेनन् ।

फाइल तस्बिरः सुदर्शन रञ्जित

उसो त सिपोरा कुनै समय एथलेटिक्स र फुटबल पनि खेल्थिन् । तर चोटपछि आफ्ना लागि सबैभन्दा बढी सम्भावना देखाएको भलिबल नै उनीबाट टाढा भयो । खेलाडीका रूपमा सिपोराका सबै सम्भावनाका ढोकाहरू बन्द भइसकेका थिए । कलाकारको रूपमा पनि स्थापित हुन सकिनन् । त्यसपछि सिपोरा विदेसिएर उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिने टुंगोमा पुगिन् । उनी पाँच वर्षयता अमेरिकामा छन् ।

एउटा खेलाडीका रूपमा उनले देशभित्र थुप्रै समस्या भोग्नुपरेको थियो । खेलाडीलाई कस्तो पौष्टिक आहार चाहिन्छ, फिटनेसको अवस्था कस्तो हुनुपर्छ, प्राविधिक रूपमा कसरी तयार हुनुपर्छ, खेलकुद विज्ञान भनेको के हो ? जस्ता कुरामा नेपाली खेलकुद पूर्ण रूपमा अनभिज्ञ थियो । जसका कारण सिपोराले अमेरिकामा यही विषयमा अध्ययन गर्ने निधो गरिन् । उच्च शिक्षाको अध्ययन सकेपछि उनी अहिले ‘फुड एन्ड न्युट्रेसन’मा पिएचडी गर्ने तयारीमा छिन् । अध्ययन पूरा गरिसकेपछि अमेरिकामै बसेर अनुभव हासिल गरेपछि उनको नेपाल फर्किने योजना छ ।

‘अहिले सिक्ने समय हो, अध्ययन गर्ने समय हो । पढाइ सकेर यहाँ अनुभव लिएपछि नेपाल नै आउने हो । मैले यहाँ पढेको र सिकेका कुराहरू नेपालमा काम लाग्छ,’ अमेरिकाको टेक्सस राज्यस्थित डालासबाट सिपोराले भनिन्, ‘हामी विकसित देशहरूको तुलनामा धेरै कुरामा निकै पछाडि रहेछौं । समग्रमा पूरा देशकै रूपमा पनि कति पछि छौं भन्ने मलाई यहाँ आएपछि फिल भएको छ । अब हामीले पनि सधैं नेपाल पछाडि छ भनेर मात्र हुँदैन । अगाडि ल्याउनका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । म पनि यहाँ सिकेर नेपाल आउने र यहाँ सिकेका कुरा लागू गर्ने योजनामा छु ।’