लन्डन । स्पेनिस टोनी नाडालले एकदिन आफ्ना तीन वर्षे एक बालकतर्पm बल फ्याँके । टेनिस कोर्टमा अर्को छेउबाट शट फर्काउने ती बालक (भतिज) मा केही विशेषता थियो । टोनी आफैं भने राष्ट्रिय च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने शीर्ष खेलाडी थिए । उनको प्रशिक्षणमा सयौं बालबालिका हुन्थे ।
टोनीको गृहजिल्ला टापुमा रहेको मालोर्कास्थित मानेकोर टेनिस क्लबमा ती बालबालिका टेनिस सिक्थे । ती बालबालिकामध्ये एक थिए, राफेल नाडाल । अहिले तिनै नाडाल विश्वस्तरीय टेनिस स्टार बनेका छन् । त्यही मानेकोर टेनिस कोर्टबाट माथि उठेका उनी पुरुषतर्पm सर्वाधिक २१ ग्रान्ड स्लाम जित्ने टेनिस स्टार बन्न सफल भएका छन् ।
‘जब मैले राफेलतर्पm बल फ्याँकें । उनी छिट्टै बलका लागि दौडिए । उनी बलको फर्काइमा नै बसेनन्,’ टोनीले बिबिसिसँगको कुराकानी ती क्षण सुनाए, ‘सामान्यतया जब कुनै बच्चाहरूतर्पm बल फ्याँकिन्थ्यो, उनीहरू बललाई कुरेर बस्ने गर्थे । तर, मेरो भतिजमा भने अर्को विशेषता देखियो । उनी त बलतर्पm आउँथे, जुन पक्ष मेरा लागि विशेष थियो ।’
टोनीको त्यो मूल्यांकन सही साबित भयो । नाडालमा विशेष प्रतिभा थियो, जसलाई टोनीले थप आकार दिए । पछि उनी राम्रो खेलाडी बनेर निस्किए । उनै नाडालले धेरै मिहिनत गर्दै विश्व टेनिसमा आफूलाई प्रमाणित गरिसकेका छन् ।
कुनै पनि पुरुष खेलाडीले नाडाल जतिको ग्रान्ड स्लाम जितेका छैनन् । विश्व टेनिसमा वर्षमा हुन चार प्रतियोगिता (अस्टेलियन, फ्रेन्च, यूएस ओपन र विम्बल्डन) लाई ग्रान्ड स्लामको मान्यता छ ।
नाडाल अहिले सर्वाधिक ग्रान्ड स्लाम विजेता पुरुष खेलाडी भएका छन् । सन् २०२० को फ्रेन्च ओपन जितेर नाडालले स्विट्जरल्यान्डका रोजर फेडेररको नाममा रहेका सर्वाधिक २० ग्रान्ड स्लामको कीर्तिमानलाई भेट्टाएका थिए । पछि सर्बियन स्टार नोभाक जोकोभिचले पनि सोही वर्ष विम्बल्डन जित्दै त्यो सूचीमा आफूलाई पनि प्रवेश गराएका थिए ।
अघिल्लो सातामा नाडालले विश्व टेनिसको स्वर्णिम युगका दुई समकालीनलाई पछि पारेका छन् । वर्षको पहिलो अस्ट्रेलियन ओपन जितेर नाडालले ग्रान्ड स्लामको कीर्तिमान रचेका हुन् ।
दोस्रो पटक मेलबर्नमा उपाधिमा सफलता पाएपछि उनले फेडेरर र जोकोभिचलाई पछि पारेका हुन् । नाडालले आफ्नो यो सफलताको पछाडि अंकल (टोनी) को हात रहेको पनि बेलाबेलामा बताउने गर्छन् । यस सफलता पछाडि विश्व टेनिसमा अंकल टोनीको हात रहेको नाडाल स्वीकार्छन् ।
टेराकोटा कोर्टबाहेक मानेकोर कोर्ट र रोलान्ड गारोसबीच धेरै समनता भेट्टाउन कठिन नै हुने गर्दछ । मानेकोर एक मालोर्कन गाउँ र टेनिस क्लब हो, जहाँ धेरै क्ले कोर्ट छन् । ती कोर्ट रहेको त्यहाँको टापुमा धेरै रेस्टुरेन्ट पनि छन् । टोनी यही फेब्रुअरीबाट ६१ वर्षका भए ।
टोनी ३० वर्षको छँदा आफूले चलाएको प्रशिक्षण क्याम्पमा नाडाल थिए । उनले बालबालिकालाई टेनिस सिकाउँथे । सुरुमा टोनीले नाडाललाई त्यही समूहमा नै सिकाउँथे । तर, जब उनमा केही परिवर्तनमा आयो, त्यसपछि नाडालका लागि अर्कै प्रशिक्षण हुन्थ्यो । तथापि त्यो नातावादको कारणले भने चाहिँ थिएन ।
नाडालमा देखिएको विशेष प्रतिभाका कारण नै टोनीले उनको टेनिस भविष्य देखे । टोनीलाई त्यो उमेरमै नाडाल शान्त र नम्र स्वभावको लाग्थ्यो । ‘मैले उनलाई धेरै राम्रोसँग हेरेका कारण उनीबाट धेरै आशा थियो,’ टोनीले भनेका छन् । नाडालकी आमा छोराले आँसु खसाल्दै घर फर्किएको दिन अझै सम्झन्छिन् । तथापि के कुराले उनी रोएका थिए भन्ने चाहिँ कहिल्यै नाडालले खुलाएनन् । एकदिन नाडालले आमालाई टोनीले आफूलाई ‘आमाको केटो’ भनेको भनेर कुरा लगाए । त्यसपछि उनकी आमा पनि नाताले देवर टोनीको सामना गर्न चाहिन्थिन् । तर, नाडालले त्यो हुन दिएनन् ।
आफ्नी आमालाई कुनै पनि कुरा बिगार्नु हुँदैन भनेर नाडाले सम्झाए, अहिले चुप बस्न भने । कुनै दिन अंकल नाडाललाई कराउँथे । कहिले एक्लै टेनिस कोर्टमा छाड्ने गर्थे । टोनीले नाडालको ध्यान केन्द्रित गर्न कहिले उनीतर्पm बल फ्याँक्थे । प्रशिक्षणको अन्त्यमा सबै बालबालिका घर जान्थे । तर, नाडाललाई भने सबै बल संकलन गरेर बास्केटमा राख्नुपर्ने जिम्मेवारी हुन्थ्यो । यदि नाडालले घरबाट पानीको बोतल ल्याउन बिर्सिए भने त्यस दिन मालोर्कनको घाममा नै उनले प्रशिक्षण गर्नुपथ्र्यो । यी सबै कुरा सन् २०११ मा सार्वजनिक भएको नाडालको आत्मकथामा समावेश छ । जसलाई टोनीले पनि सत्य हो भनेका थिए ।
‘म काममा विश्वास गर्थें । जो खेलाडी छिटो छिटो काम गर्न सक्छन्, ती खेलाडीप्रति मलाई विश्वास थियो र भविष्य पनि देख्थें । त्यसैले नाडाललाई काम लगाउँथें । मैले जीवनको अर्को काम गर्ने शैली देखेको थिइनँ । मेरो विचारमा जहिल्यै पनि तिमीले आफ्नो भविष्यका बारेमा जानकारी राख्नुपर्छ । मैले राफेललाई राम्रोसँग बुझेको थिएँ र उनमा क्षमता पनि देखेको थिएँ,’ टोनीले खुलस्त भनेका छन् । जब नाडाल ११ वर्षका थिए, त्यतिबेला उनले यू–१२ को राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितिदिए । जहाँबाट टोनीको विश्वासले केही सार्थकता पायो । नाडालको साना–साना सफलतामा पनि टोनीले राम्रो उत्सव मनाए । १४ वर्षको उमेरमा नाडाल दक्षिण अफ्रिकामा भएको एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सहभागी भए, जहाँ उनी सुखद नतिजासाथ फर्किए ।
उनले आफ्नो आत्मकथामा जितपछि घर फर्कंदा आमाले ब्यानरसहित एक पार्टीको आयोजना गर्दै विजयोत्सव मनाएको कुरा उल्लेख गरेका छन् । तर, त्यसप्रति उनको अंकल निकै रिसाएका थिए । टोनीले त्यो ब्यानर फ्याँकिदिए, भोलिपल्ट बिहानै ९ बजे प्रशिक्षणमा बोलाए । ‘यो उमेरमा उनले जे प्राप्त गरेका छन्, त्यो महत्त्वपूर्ण होइन भन्ने सिकाउन चाहन्थें,’ टोनीले भने, ‘म उनमा परिवर्तन चाहन्थें । सफलता प्राप्त गर्नका लागि धेरै यात्रा गर्न बाँकी छ भन्ने मेरो लक्ष्य थियो । जब प्रगति गर्न उनले लगातार कडा मिहिनत गर्नुपर्दथ्यो ।’
नाडालका पिता सेबास्टियन पनि आफ्ना भाइ टोनीको छोराप्रतिको व्यवहारले चिन्तित थिए । किनकि उनी आफ्नो छोरालाई धेरै नै परिश्रम गर्न लगाएको उनको बुझाइ थियो । जहाँ उनकी पत्नीको पनि समर्थन थियो ।
धेरै मानिस पनि टोनीको प्रशिक्षण शैलीप्रति प्रश्न उठाउने गर्थे । नाडालले पनि आफ्नो किताबमा अंकलले असुरक्षित महसुस गराएको उल्लेख गरेका छन् । तथापि, यसबारे टोनीले उनी जसरी पनि आफ्ना भतिजलाई उत्कृष्ट बनाउन चाहन्थे । जसका कारण उनी कडा मिहिनेत गराउन लगाउँथे । ‘मैले कडा मिहिनत गर्न लगाएको हुँ । तर, धेरै कुरामा बन्देज त गरेको थिइनँ,’ टोनीले स्मरण गराए, ‘म निकै कडा थिएँ, किनकि उनको भविष्य राम्रो भएको चाहन्थें ।’ तथापि पारिवारिक रूपमा टोनीको कदमप्रति धेरै असन्तुष्टि भने भइरहेन । आफ्नो छोरालाई प्रोफेसनल खेलाडी बनाउन टोनी कति महत्त्वपूर्ण छन् भन्ने सेवास्टियन र आमा मारियालाई राम्रोसँग थाहा थियो ।
१४ वर्षको उमेरमा नाडाललाई बार्सिलोनामा छात्रवृत्ति मिलेको थियो । तर, टोनीले यो अस्वीकार गरिदिए । ‘नाडाल र टोनीबीचको सम्बन्ध निकै राम्रो थियो । नाडाल निकै सानै थिए । नाडाल आफैले पनि बार्सिलोना जाने मन गरेनन्,’ सन् २०११ को पुस्तकमा उल्लेख छ । उनको आत्मकथालाई ब्रिटिस लेखक जोन कार्लिनले लेखेका थिए ।
उनको परिवारले पनि नाडालप्रति मजाक गर्दै भनेका छन् । उनी सानैदेखि अँध्यारो मन पराउँदैनथे । अहिले ३६ वर्षका हुँदा पनि नाडाल बत्ती बालेर या टिभी खुला नै गरेर सुत्छन् । नाडाललाई उनको प्रशिक्षक एवं अंकल टोनीले विशेष तरिकाले बनाएका थिए । सोही प्रेरणामा उनले २१ ग्रान्ड स्लाम र ३७ मास्टर्स उपाधि जिते । टोनीले उनलाई सानै उमेरमा चिनेकाले नै अहिले यो सम्भव भयो । दबाबमा पनि खेल्नसक्ने क्षमता उनका काकाबाट नाडालले पाएका थिए, जुन अहिले पनि नाडालमा देखिएको छ । उनी हरेक खेलपछि नाडालसँग बसेर छलफल गर्थे ।
सन् २००८ मा नै नाडालसँग दबाबमा पनि खेल्न सक्ने विशेषता देखिएको थियो, जतिबेला उनले रोजर फेडेररसँग ५ सेटसम्म संघर्ष गरेर विम्बल्डनको उपाधि उचाले । सन् २०१९ को यूएस ओपनको फाइनलमा पनि नाडालले डानियल मेदभेदेभसँग ५ सेटको संघर्षपश्चात् उपाधि उचाले । सोही किसिमको शैली उनले गत आइतबार अस्ट्रेलियन ओपनको फाइनलमा पनि दोहोर्याए । उनै रुसी मेदभेटेभविरुद्ध दुई सेटले पछि परेको स्थितिमा नाडालले उत्कृष्ट पुनरागमन गर्दै वर्षको पहिलो ग्रान्ड स्लाम उचालेका थिए । ३६ वर्षको उमेरमा पनि उनी युवाजस्तै कडा संघर्ष गर्छन् । २० वर्षको उमेरमा जस्तै शारीरिक परिश्रम गर्छन् ।
सर्भिसका साथै ब्रेक गर्ने शैली पनि उनमा अद्भूत छ, जुन पक्ष उनले सानैदेखि सिके । तथापि, टोनी यसबारे जस लिन चाहँदैनन् । ‘मैले उनलाई खेलप्रतिको प्रतिज्ञामात्र सिकाएको थिएँ । जहिल्यै पनि आफ्नो मस्तिष्कलाई ताजा र सतर्क राख भनेको थिएँ । सबैभन्दा महत्त्वपूर्ण सधैं आफ्नो खेललाई सुधार गर्दै लैजाउँ भन्ने गर्थें,’ टोनीले भने ।
टोनीले जहिल्यै पनि मजाक गर्दै भन्थें, ‘मलाई निकाल्न दुई कुराले गाह्रो छ । पहिलो त म नाडालको अंकल हुँ । अरूलाई जसरी आफन्तलाई जागिरबाट निकाल्न गाह्रो हुन्छ । दोस्रो कुरा, म निकै सस्तो प्रशिक्षक हुँ ।’ नाडालले आफ्ना २१ ग्रान्ड स्लाममध्ये १६ वटा ग्रान्ड स्लाम आफ्ना अंकल टोनीको आँखाअगाडि उचालेका छन् । सन् २०१७ मा टोनीले विश्व भ्रमण गर्न नसक्ने निधो गरे र नाडालको हेड कोचको रूपमा संन्यास लिने घोषणा पनि गरे । (बिबिसी)