बेल्जियमको राष्ट्रिय टिममा अन्‍रीकाे पुनरागमन

ब्रसेल्स, (खेलाडी)- फ्रान्सेली विश्वकप विजेता स्ट्राइकर थिएरी अन्‍रीले प्रशिक्षकका रुपमा कतारमा अर्को वर्ष हुने विश्वकप २०२२ सम्म बेल्जियन टिम सम्हाल्ने भएका छन् । 

पाँच वर्षअघि राबर्टो मार्टिनेजको सहायकका रुपमा पनि उनले बेल्जियन टोलीमा प्रशिक्षक टिममा रहेर काम गरिसकेका थिए । रुसमा सम्पन्न विश्वकप २०१८ मा बेल्जियमको सेमिफाइनल यात्रामा अन्‍रीको महत्वपूर्ण सहयोग थियो । त्यसलगत्तै अन्‍री मोनाको सरुवा भएका थिए । 

आर्सनलका हस्ती अन्‍री फ्रान्सेली लिग वानको क्लबबाट बर्खास्त भएपछि २०१९ मा मोन्ट्रियल इम्प्याक्टको नेतृत्व लिन अमेरिकी मेजर लिग सकर (एमएलएस) पुगेका थिए ।

गत वर्ष फेब्रुअरीमा मुख्य प्रशिक्षकका रुपमा इम्प्याक्टसँगको सहकार्यमा पूर्णविराम लगाउँदै उनी युरो २०२० का लागि टिम पुर्नजागृत गर्न बेल्जियम फर्किएका थिए । 

बेल्जियन फुटबल संघले पहिलो पटक कुनै मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित कतार जाने लक्ष्यमा रहँदा ४४ वर्षे अन्‍रीले मार्टिनेजको सहायकका रुपमा राष्ट्रिय टोलीमा काम गर्ने जनाएको छ ।

विश्वकप छनोट अन्तर्गत युरोपेली प्रतियोगिताको समूह ‘इ’ मा बेल्जियम तीन खेलमा दुई जित हासिल गर्दै शीर्ष स्थानमा छ ।