Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

लिभरपुलको लगातार दोस्रो जित, १० खेलाडीमा सिमित मिलानले एट्लेटिकोलाई नतिजा सुम्पियो

पोर्टो, (खेलाडी)- लिभरपुलले च्याम्पियन्स लिगको नयाँ सिजनमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा मंगलबार राति एफसी पोर्टोमाथि ५-१ को निर्दयी नतिजा निकालेको छ ।

घरेलु एन्फिल्डमा पाँच गोलको वर्षा भएको समूह ‘बी’को पहिलो खेलमा पाँच गोलको वर्षा हुँदा ३-२ ले नतिजा आफ्नो पक्षमा पारेको लिभरपुलले मंगलबार इस्टेडियो डो ग्रागाओमा कुनै संघर्ष गर्नु परेन । 

वर्षौदेखि हराइरहने बानी परेको प्रतिद्वन्द्वीविरुद्ध लिभरपुलका लागि मंगलबार मोहम्म्द सालाह र रोबर्टो फिर्मिन्होले दुई/दुई गोल गरे भने साडियो मानेले पनि गोलकर्ताको सुचिमा नाम लेखाए । पोर्चुगाली टोली पोर्टोविरुद्ध पाँच खेलमा मानेको यो पाँचौं गोल हो । 

योर्गान क्लोपको टोलीले २०१८ र २०१९ मा लगातार फाइनलको यात्रा गर्दा पोर्चुगाली टोलीलाई उसकै मैदानमा ५-० र ४-१ को नतिजामा पराजित गरेको थियो । लिभरपुलविरुद्धका पछिल्ला आठ खेलमा पोर्टोले एउटै जित हासिल गर्न सकेको छैन ।

लिभरपुललाई अपेक्षित जित दिलाउने क्रममा सालाहले १८औं मिनेटमा गोलको खाता खोलेका थिए । पहिलो हाफको इन्जुरी समयमा जेम्स मिल्नरको पासमा मानेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । 

सालाहले कर्टिस जोन्सको पासलाई गोलमा परिणत गर्दै ६०औं मिनेटमा लिभरपुलको अग्रता ३-० ले फराकिलो पारे । ७५औं मिनेटमा मेहदी टारेमीले पोर्टोका लागि एक गोल गरे पनि टोलीलाई खेलमा फर्काउन सकेनन् । 

जोन्सकै पासमा फिर्मिन्होले पहिलो गोल गर्दै ७७औं मिनेटमा लिभरपुलको अग्रता ४-१ ले फराकिलो पारे । फिर्मिन्होले निर्धारित समय सकिन नौं मिनेट बाँकी रहँदा व्यक्तिगत दोस्रो गोल गरेका थिए । 

समूह ‘बी’कै अर्को खेलमा मंगलबार अधिकांस समय १० खेलाडीमा सिमित भएर मैदानमा संघर्ष गरेको इटालियन महारथी एसी मिलानले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २-१ को नतिजा सुम्पियो । 

राफेल लियोको गोलमा १६औं मिनेटमा अग्रता लिएको मिलानले २८औं मिनेटमा फ्रयांक केसीले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेर मैदान छोडेपछि दबाब झेल्नुपर्‍यो । 

१० खेलाडीमा सीमित हुनाका बावजुद डटेर १० को अग्रता जोगाइरहेको मिलानले अन्तिम समयमा दुई गोल खाएपछि टोली घरेलु मैदानमा हार भोग्न बाध्य भयो । 

भ्रमणकारी स्पेनिस टोली एट्लेटिकोका लागि निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा एन्टोनी ग्रिजम्यानले बराबरी गोल गरे भने इन्जुरी समयको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई लुइस स्वारेजले विजयी गोलमा परिणत गरे । 

मंगलबारका नतिजापछि समूह 'बी'मा ६ अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा चार अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । एक अ‌ंकमा सीमित पोर्टो तेस्रो स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको मिलान पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस

\