बायर्न म्युनिखको फराकिलो जित

म्युनिख, (खेलाडी)- साविक विजेता बायर्न म्युनिखले नवप्रवेशी बोचुममाथि ७-० को फराकिलो जित हासिल गर्दै शनिबार राति कम्तिमा २४ घन्टाका लागि जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा पकड बनाएको छ । 

घरेलु एलियान्ज एरिनाको मैदानमा पूरा समय खेलमाथि नियन्त्रण कायम राखेको टोलीले १७औं मिनेटमा लेरोए सानेको गोलमा अग्रता लिएको थियो । सानेको पासमा जोसुवा किमिचले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । 

थोमस मुलरको पासमा सेर्गे जिनाब्रीले गोल गरेपछि ३२औं मिनेटमा बायर्नको अग्रता ३-० ले फराकिलो भयो । जहाँ बोचुमका भासिलियोस लाम्ब्रोपोलोसले मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा आत्मघाति गोल गरेपछि बायर्नले पहिलो हाफमा ४-० को अग्रता लियो । 

रोबर्ट लेवान्डोवस्कीले ६१औं मिनेटमा बायर्नका लागि पाँचौं गोल गरे भने किमिचले लियोन गोरेट्ज्काको पासमा गोल गर्दै ६५औं मिनेटमा टोलीको अग्रता ६-० ले फराकिलो पारे । 

बायर्नका लागि इरिक म्याक्सिम चौपो मोटिङको गोलमा बायर्नले अग्रता थप फराकिलो पार्यो । समय सकिन तीन मिनेट बाँकी रहँदा मुलरले बायर्नका लागि आठौं गोल गरेका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)बाट त्यो गोलले मान्यता पाएन । 

जितपछि पाँच खेलमा १३ अंक जोडेको बायर्न उल्फसबर्गलाई उछिन्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लियो । चार खेलमा सतप्रतिसत नतिजाका साथ १२ अंक जोडेको उल्फसबर्गले पाँचौं खेल आइतबार घरेलु मैदानमा इन्ट्रयाक्ट फ्रयांकफर्टसँग खेल्नेछ ।

जर्मन बुन्डेसलिगामा शनिबारै भएका अन्य खेलमा औसबर्गले बोरुसिया मोन्चेनग्लाडबाचलाई १-० को नतिजामा हराउँदा अर्मिनिया बिलेफिल्ड र होफेनहेइम तथा मेइन्ज र फ्रेइबर्गले गोलरहित बराबरी नतिजा निकाले ।