ब्रेथह्वाइटको घुँडाको शल्यक्रिया गर्नुपर्ने, यो वर्ष खेल्न नसक्ने

बार्सिलोना, (खेलाडी)- बार्सिलोनाले डेनमार्कका फरवार्ड मार्टिन ब्रेथह्वाइटको वायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने र उनी वर्ष २०२१ भरी मैदान उत्रिन नसक्ने पुष्टी गरेको छ । 

गत महिना गेटाफेमाथि २-१ को जित हासिल गरेको खेलमा ३० वर्षे फरवार्डले वायाँ घुँडामा पीडा भएपछि आफूलाई स्थानान्तरण गर्न अनुरोध गरेका थिए । सोही चोटका कारण उनले अन्तर्राष्ट्रिय ब्रेक दौरान डेनमार्कका लागि कुनै पनि खेल खेल्न सकेनन् । 

ब्रेथह्वाइटले सुरुमा शल्यक्रियाको विकल्प खोज्ने प्रयासस्वरुप उपचारका परम्परागत विधिमा जोड दिएका थिए । तर बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै उनको शल्यक्रिया गर्नुपर्ने पुष्टी गरेको छ । 

‘मार्टिन ब्रेथह्वाइटको चोट परम्परागत उपचारबाट निको भएन । त्यसैले केही दिनमा उनको शल्यक्रिया हुनेछ,’ क्लबद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

लियोनेल मेसी र एन्टोनी ग्रिजम्यानले हालैमात्र क्याम्प नोउ छोडेको अवस्थामा ब्रेथह्वाइट पनि लामो समय मैदान बाहिर रहँदा बार्सिलोना समस्यामा पर्न सक्नेछ । ब्रेथह्वाइटले सबैखाले प्रतियोगितामा गरी गत सिजनमा ४२ खेल खेल्दै सात गोल गरेका थिए । जारी सिजनमा भने रियाल सोसिडाडविरुद्ध खेल्दै ला लिगाको सुरुआत गर्दा उनले दुई गोल गरेका थिए ।