पोर्चुगलको सहज जित

बाकु, (खेलाडी)- नियमीत कप्तान क्रिस्टियानो रोनाल्डोविना उत्रिएको पोर्चुगले गएराति अजरबैजानमाथि ३-० को सहज जित हासिल गरेको छ । 

कतारमा अर्को वर्ष हुने विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह ‘ए’को खेलमा पोर्चुगलले सहज जित निकाल्दा बर्नार्डो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटाले गोल गरे ।

अघिल्लो खेलमा पाएको पहेलो कार्डका कारण रोनाल्डो एक खेलका लागि प्रतिबन्धित भएपछि पोर्चुगलले उनलाई रिलिज गरेको थियो । राष्ट्रिय टोलीबाट रिलिज भएपछि रोनाल्डो हालै पुनरागमन जनाएको इङ्लिस टोली म्यानचेस्टर युनाइटेडको अभ्यासमा पुगिसकेका छन् ।

अजरबैजानको बाकु रंगशालामा बर्नोडो सिल्भाले २०औं मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । बर्नोडोले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । 

३१औं मिनेटमा आन्द्रे सिल्भाले जोटाको पासलाई गोलमा परिणत गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर पारे । समय सकिन १५ मिनेट बाँकी रहँदा जोटाले गोल गर्दै टोलीको जित थप फराकिलो पारे । 

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको पोर्चुगल तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै पाँच खेलबाट एक अंक मात्रै जोडेको अजरबैजान भने तालिकाको पुछारमा छ । 

गए राति नै ढिलोगरी सम्पन्न खेलमा आयरल्यान्डसँग १-१ को बराबरी नतिजा निकालेको सर्बिया ११ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । चार खेलमा ६ अंक जोडेको लक्जेम्बर्ग तेस्रो स्थानमा रहँदा पाँच खेल खेलेको आयरल्यान्ड दुई अंकका साथ चौथो स्थानमा छ ।