Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

नेदरल्यान्ड्सको फराकिलो जित

एम्सटरडम, (खेलाडी)- मेम्फिस डिपेले दुई गोल गरेको विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह ‘जी’ खेलमा नेदरल्यान्ड्सले गए राति मोन्टेनेग्रोमाथि ४-० को जित हासिल गरेको छ । 

नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकका रुपमा लुइस भान हालले तेस्रो कार्यकालको सुरुआत गर्दा टोली बुधबार नर्वेसँग १-१ को बराबरी नतिजामा सिमित भएको थियो । तर शनिबार फिलिप्स रंगशालामा उनको टोलीले सुधारिएको प्रदर्शनसहित प्रभावशाली जित हासिल गर्‍यो । 

डिपेले पेनाल्टीमा गोल गर्दै मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सलाई हकलाग्दो अग्रता दिलाएका थिए । ६२औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै उनले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । 

७०औं मिनेटमा जर्जिनियो विज्नाल्डमले नेदरल्यान्ड्सका लागि तेस्रो गोल गरे भने त्यसको ६ मिनेटपछि कोडी गाक्पोले गोल गर्दै लुइस भान हालको टोलीको विजयअन्तर थप फराकिलो पारे । 

जितपछि नेदरल्यान्ड्स समूहको अंकतालिकामा नर्वेसँग बराबरी गर्दै शीर्ष स्थानका टर्कीसँगको दुरी एक अंकमा झार्न सफल भयो । टोलीले छनोटको आगामी खेलमा टर्कीसँग खेल्नेछ । 

गएरातिका नतिजापछि पाँच खेलको समाप्तीमा समूह ‘जी’मा ११ अंकका साथ टर्की शीर्ष स्थानमा रहँदा समान १० अंक जोडेका नेदरल्यान्ड्स र नर्वे दोस्रो तथा तेस्रो स्थानमा छन् । सात अंकमा सिमित मोन्टेनेग्रो चौथो स्थानमा छ । चार अंक बटुलेको लाट्भिया पाँचौं स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको जिब्रल्टार पुछारमा छ । 

शीर्ष टोली टर्कीले गए रातिकै खेलमा जिब्रल्टारमाथि ३-० को विजय हासिल गरेको थियो भने नर्वेले अर्को खेलमा लाट्भियालाई २-० ले हराएको थियो । 

प्रतिक्रिया दिनुहोस

\