Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बने रोनाल्डो

फारो, (खेलाडी)- पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले बिहीबार अन्तर्राष्ट्रिय फुटबलमा १ सय ११औं गोल गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

विश्वकप छनोट चरणअन्तर्गत घरेलु मैदानमा आयरल्यान्डमाथि २-१ को नाटकीय जित निकाल्ने क्रममा रोनाल्डोले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान स्थापित गरेका हुन् । 

रोनाल्डोले हारतर्फ उन्मुख पोर्चुगलको संकट टार्दै इरानी स्ट्राइकर अली दाईको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेे कीर्तिमानलाई पछि पारे । पहिलो हाफमा पेनाल्टीको अवसर गुमाएका रोनाल्डोले दुवै गोल हेडमार्फत गरेका थिए । 

उनले पहिलो गोल ८९औं मिनेटमा गर्दै अली दाईको कीर्तिमान पछि पारेका थिए । उनले यसै वर्ष सम्पन्न युरो २०२० मा फ्रान्सविरुद्ध दुई गोल गर्दै सन् १९९३ देखि २००६ को बीचमा इरानी खेलाडी अली दाईले बनाएको कीर्तिमानसँग बराबरी गरेका थिए ।

रोनाल्डोले अर्को गोल पनि हेर्डमार्फत नै गर्दै नयाँ कीर्तिमानसहित पोर्चुगललाई नाटकीय जित दिलाए । त्यसअघि खेलको १५औं मिनेटमा उनले पेनाल्टीको अवसर सदुपयोग गर्न सकेका थिएनन् । ३६वर्षे रोनाल्डोको प्रहारलाई आइरिस गोलकिपर गाभिन बाजुनुले रोकेका थिए । 

गत मंगलबार मात्र युभेन्टसबाट म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोको यो पोर्चुगलबाट १ सय ८०औं अन्तर्राष्ट्रिय खेल थियो । सन् २००३ मा काजकिस्तानविरुद्धको खेलबाट ‘डेब्यु’ गरेका रोनाल्डोले पहिलो अन्तर्राष्ट्रिय गोलसन् युरो २००४ मा ग्रिसविरुद्ध गरेका थिए । तथापि, त्यो खेलमा पोर्चुगल २-१ ले पराजित भएको थियो । विश्व फुटबलमा दुई खेलाडी अली दाई र रोनाल्डोले मात्र सय गोलको कोसेढुंगा पार गरेका छन् । 

जर्मन क्लब बायर्न म्युनिख र हार्था बर्लिनका तत्कालीन स्टार अली दाईले १ सय ४९ अन्तर्राष्ट्रिय खेलमा यो आँकडा पार गरेका थिए । 

महिलातर्फ भने क्यानाडाकी क्रिस्टिन सिनक्लेरले १ सय ८७ गोलसहित सबभन्दा अगाडि छिन् । उनले गत टोकियो ओलम्पिकमा उक्त आँकडा बनाएकी हुन्, जहाँ क्यानडाले स्वर्ण पदक जितेको थियो । 

सन् २०१६ मा पोर्चुगललाई युरोपियन च्याम्पियनसिप जिताएका रोनाल्डोले यसै वर्ष सम्पन्न युरोपियन च्याम्पियनसिपमा पनि चार खेलबाट सर्वाधिक पाँच गोल गरेका थिए । तथापि, उनको टोली उपाधि रक्षा गर्न असफल रहँदा अन्तिम १६ बाटै बाहिरियो । 

उनी युरोको फरक पाँच संस्करणमा गोल गर्ने खेलाडी पनि हुन् । रोनाल्डो च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् । जहाँ उनले १ सय ३४ गोल गरेका छन् । जुन लियोनल मेसीको भन्दा १४ गोलले बढि हो । 

बिहीबार रोनाल्डोले आफ्नो करियरमा थप अर्को कीर्तिमान जोड्ने क्रममा पोर्चुगललाई जित दिलाउँदै विश्वकप छनोट चरणको समूूह ‘ए’ मा शीर्ष स्थानमा समेत पुर्‍याएका छन् । यस समूहमा सर्वाधिक चार खेल खेलेको पोर्चुगलले १० अंक बटुलेको छ भने सर्बिया तीन खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ । पोर्चुगलसँग जित नजिक पुगेर पनि पराजय बेहोरेको आयरल्यान्डले तीन खेलसम्म जित निकाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

\