केनको ह्याट्रिकमा टोटनहमको प्रभावशाली जित

लन्डन, (खेलाडी)- बैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ह्यारी केनले ह्याट्रिक गरेपछि इङलिस प्रिमियर लिगको टोली टोटनहमले गए राति युरोपा कन्फरेन्स लिगको खेलमा मुरामाथि ५-१ को प्रभावशाली जित हासिल गरेको छ ।

डेले अलीको पेनाल्टी गोलमा चौथो मिनेटमा अग्रता लिएको नुनो इस्पिरिटो सान्टोको टोलीले त्यसको चार मिनेटपछि जियोभानी लो सेल्सोको गोलमा अग्रता दोब्बर पारेको थियो । 

यसै वर्षबाट मात्र सुरु गरिएको युरोपेली क्लब फुटबलमा तेस्रो श्रेणीको प्रतियोगितामा टोटनहमले सुरुमै प्रभाव कायम गरे पनि ५३औं मिनेटमा जिगा काउसले सनसनीपूर्ण भलीमार्फत गोल गरेपछि स्लोभेनियाको टोली मुराले खेलमा फर्कने संकेत गरेको थियो । 

त्यसपछि ५९औं मिनेटमा मैदान प्रवेश गरेका केनले तीन गोल गर्दै घरेलु मैदानमा टोटनहमलाई प्रभावशाली जित दिलाए । लुकास मौराको पासलाई ६८औं मिनेटमा गोलमा परिणत गरेका इङ्ल्यान्डका कप्तान केनले ह्युङ मिन सनको पासमा ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । 

समय सकिन तीन मिनेट बाँकी रहँदा लो सोल्सोको पासमा गोल गर्दै उनले व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए । 

समूह ‘जी’मा बिहीबार टोटनहमले सहज जित हासिल गर्दा अर्को खेलमा रेनेसले भिटेसेमाथि २-१ को विजयी नतिजा निकाल्यो । 

यसैगरी समूह ‘सी’ अन्तर्गतको खेलमा बिहीबार इटालियन महारथी एएस रोमाले जोर्यालाई ३-० को नतिजामा हरायाे ।