नयाँ पुश्तालाई प्रेरित गर्दै कीर्तिमानी किरण

भारतको राष्ट्रिय टिमबाट फुटबल खेलेर दक्षिण एसियामै कुनै जमानामा तहल्का मच्चाएका नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक श्याम थापा भन्ने गर्थे, ‘हाम्रो फुटबललाई दीर्घकालिन रुपमा उकास्न हामीले रोल मोडल खेलाडी उत्पादन गर्नुपर्छ । यस्तो रोल मोडल नेपाली खेलाडी होस, जसलाई पछ्याएर हजारौं, लाखौं वालवालिकाहरु फुटबलमा समर्पित हुन् । अनिमात्र नेपाली फुटबल साचो ढंगमा माथि उचालिन्छ ।’

१९७० र ८० को दशकमा अन्तर्राष्ट्रिय जगतमा जादुमय फुटबलको प्रभावबाट सनसनी मच्चाएका नेपाली छोरा थापाको दशकौं लामो अनुभव बोलेको थियो, त्यो । एउटा कुनै नेपाली खेलाडीले सुपरस्टारको छवि बनाउन सक्यो भने उसलाई पछ्याउने हजारौं नयाँ पुश्ताको भिडबाट पूरा देशमा फुटबलको संस्कार स्थापित हुन्छ र त्यसले समग्रमा राष्ट्रिय फुटबलको स्तर माथि जान्छ भन्ने थापाको बुझाइ थियो ।

सन २००४ देखि २००७ सम्म विभिन्न भूमिकामा रहेर नेपाली फुटबलको नेतृत्व गर्दा थापाले देखेको सपना आजको दिनमा केही खेलाडी पूरा गर्ने बाटोमा अगाडि बढिरहेका छन् । राष्ट्रिय टिमका भरपर्दा रक्षक÷मिडफिल्डर रोहित चन्दले इन्डोनेसियामा व्यावसायिक फुटबल खेलेर आफूलाई स्थापित गरिरहँदा कप्तान गोलकिपर किरणकुमार लिम्बुले भारत तथा माल्दिभ्समा आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।

भारतको आई लिग नेपाली खेलाडीका लागि छिमेकमै भएर पनि आकासको फलजस्तो बनिरहेको छ । थोरैमात्र नेपाली खेलाडी छन्, जसले एसियाली कोटामा भारतको लिग खेल्ने सफलता प्राप्त गरेका छन् ।

भारतको लिगमा एसियाली कोटामा रहेर तहल्का मच्चाउन सफल पछिल्लो समय एकमात्र नेपालीको नाम हो, राष्ट्रिय टोलीका कप्तान गोलकिपर किरणकुमार लिम्बु । हो मछिन्द्र क्लबबाट शीर्ष स्तरको फुटबलमा डेब्यु गरेका किरण आजको मितिमा नेपालका नम्बर एक खेलाडी हुन् । नेपालकामात्र होइन, उनी दक्षिण एसियाकै नम्बर एक गोलकिपर हुन् ।

नेपाली राष्ट्रिय टोलीका लागि कीर्तिमानी ७९ अन्तर्राष्ट्रिय खेलमा पोस्टको रक्षा गरिसकेका गोलकिपरको प्रशंसा गर्न शब्द पर्याप्त हुँदैन । किरणले खेलेका कुनै त्यस्तो प्रतियोगिता र लिग छैन, जहाँ उनी उत्कृष्ट गोलकिपरको पुरस्कारबाट सम्मानित नभएका हुन् ।

नेपालसहित तीन देशबाट लिग खेलेका उनले तीनवटै देशमा उपाधि चुमेका छन् । नेपालमा थ्री स्टार क्लबबाट लिग र राष्ट्रिय लिग जितेका किरणले आफ्नै प्रभावमा माल्दिभ्सको टिसी स्पोर्टस क्लबलाई २०१८ मा त्यहाँको धिवेही प्रिमियर लिगको उपाधि जिताउँदा उत्कृष्ट गोलकिपरको पुरस्कार पनि पाए । त्यही वर्ष टिसी स्पोर्टसले बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जित्यो । जुन माल्दिभ्सको क्लबले त्यतिबेलासम्म जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो ।

माल्दिभ्समा गरेको उच्च प्रदर्शनपछि किरणले छिमेकी भारतको आई लिगको ध्यान ताने । २०१८ मा मिनर्वा पञ्जाबबाट खेल्ने क्रममा पहिलो सिजनमै टोलीलाई लिग जिताएका किरणले वितेको सिजनमा राउन्डग्लास पञ्जाबको जर्सी लगाए । नयाँ टोलीलाई लिग जिताउन नसके पनि उनको व्यक्तिगत प्रदर्शन भने लोभलाग्दो थियो । राउन्डग्लासको पोस्ट सुरक्षित राखेवापत उनले आइलिगको उत्कृष्ट गोलकिपरको पुरस्कार जिते ।

नेपालमा शुक्रबारबाट बहुप्रतिक्षित सहिद स्मारक लिगको शीर्ष डिभिजन सुरु भएको छ । हाल राउन्डग्लाससँगको सम्झौता सकिइसकेको र नयाँ क्लबसँग सम्झौता नगरेको अवस्थामा किरण स्वतन्त्र छन् । नेपालका सबैजसो ठूला क्लबले उनलाई भित्र्याउन खोजेका पनि थिए । तर जारी लिगमा किरण कुनै पनि नेपाली टोलीको पोस्टमा देखिने छैनन् ।

कारण उनी अझै विदेशी लिगको चुनौती स्विकार्न चाहन्छन् । अझ धेरै कुरा सिकेर नेपाली फुटबलमा थप योगदान गर्न चाहन्छन् ।

‘नेपालको लिग खेल्न मन छ । धेरै अफर पनि आयो । तर म अझै विदेशमै च्यालेन्ज लिन चाहन्छु । बाहिरै खेलेर थप सिक्नुछ । फुटबलमा पनि राम्रो लाइफ छ भन्ने प्रमाणित गर्नुछ । रोहित (रोहित चन्द)ले आठ वर्षदेखि इन्डोनेसियामा निरन्तर खेलेर नयाँ पुश्तालाई प्रेरणा दिइरहेको छ । मैले २०१५ देखि बाहिरै खेलिरहेको छु । अब पनि बाहिरै जाने योजना छ । यसरी हामी नयाँ पुश्तालाई प्रेरित गर्न चाहन्छौं,’ राष्ट्रिय कप्तान भन्छन् ।

रोहितलाई नेपालको लिग खेल्ने इच्छा छ, तर उनी यहाँ बाहिरको जस्तो चुनौती देख्दैनन् । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ, नेपाल सरकार र व्यावसायिक प्रतिष्ठानहरुलाई नेपाली लिगको स्तर सुधार्न उनी आह्वान गर्छन ।

भन्छन्, ‘सबभन्दा पहिला नेपालको लिग लामो बनाउनुपर्छ । नेपालमा सरकार र निजी व्यावसायिक प्रतिष्ठानको सपोर्ट कम छ । एन्फाले लिगको फम्यार्ट राम्रो बनाउनुपर्छ । कम्तिमा सात महिना लिग र तीन महिना नकआउट प्रतियोगितालाई समय दिनुपर्छ । नेपालमा यति राम्रा नकआउट प्रतियोगिताहरु छन् । यो राम्रो पक्ष हो । अरु देशमा यस्तो आधार छैन । त्यसपछि दुई महिना खेलाडीलाई आराम चाहिन्छ ।’

‘एन्फाले लिगका लागि सबभन्दा पहिला राम्रो प्लान बनाउनुपर्छ । त्यो योजनामा निजी व्यावसायिक प्रतिष्ठानहरुको सहभागिता हुनुपर्छ र सरकारको लगानी थपिनुपर्छ । हामीकहाँ खेल्ने ठाउँ समेत छैन । कम्तिमा ३० हजार दर्शक क्षमता भएका रंगशाला सबै प्रदेशमा बनाउनुपर्छ । एन्फा, व्यावसायिक प्रतिष्ठान र सरकारको पहलमा खेल्ने वातावरणमात्र सिर्जना भयो भने हामी माथिल्लो स्तरमा उक्लिन सक्छौं,’ खेलाडीसँगको फुटबल वार्तामा किरणले बाचा गरे ।

खेलाडीले फुटबलवाहेक अरु विषयमा सोच्नु नपर्ने वातावरण सिर्जना भएमा आफ्नै पालामा नेपाललाई एसियाली स्तरमा उचाल्न सकिनेमा उनी विश्वस्त छन् । त्यसका लागि लिग राम्रो हुनुपर्ने प्राथमिक सर्त हो ।

‘अलिकतीमात्र वातावरणमा सुधार गर्ने हो भने साफ च्याम्पियनसिपको फाइनलमा यसपाली भारतसँग भोगेजस्तो हार फेरी हाम्रो नियति भइरहने छैन । विश्वकप म भन्न सक्दिन, तर एसियन कप मैले नेपालको जर्सी लगाएकै बेला हामी खेल्न सक्छौं,’ किरण उत्साहित भए, ‘सपना देख्यो र त्यसलाई प्रतिबद्धताका साथ पछ्यायो भने असम्भव केही छैन ।’

साफ च्याम्पियनसिप समेत अहिलेसम्म जित्न नसकेको नेपालले एसियन कपको सपना देख्नु धेरैका लागि ‘दिवा सपना’ हुन सक्छ । तर किरणका लागि त्यो पूरा गर्न सकिने सपना हो । किनकी मिहिनेत, धैर्य र उतारचढाव अनि सफलता, उनको जीवनका पर्याय हुन् ।

यसो हुँदैनथ्यो भने धनकुटाको एउटा सानो गाउँमा एक्ली आमाले हुर्काएका किरण करियरका थुप्रै बाधा पन्छाउँदै आज राष्ट्रिय नायकको रुपमा स्थापित हुन सक्दैनथे ।

कमजोर आर्थिक अवस्थाको सामान्य परिवारका किरणका लागि जीवनमा कुनै पनि कुरा सहज थिएन । समाजले सामान्य सपना देख्न पनि बन्देज लगाउन खोज्थ्यो । तर किरणले कहिल्यै हार खाएनन् । धैर्यका साथ मिहिनेत जारी राखे ।

सानै देखि फुटबल खेल्ने सपना पाल्ने एउटा किशोरका लागि राष्ट्रिय टोलीमा पर्नु पक्कै पनि उत्कर्षको क्षण हुने गर्छ । किरणका लागि पनि १८ वर्षको उमेरमा त्यो सपना पूरा गर्ने दिन आएको थियो । क्षमता, मिहिनेत र लगाब छँदैथियो । त्यसमा राष्ट्रिय टोलीको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा मैदान उत्रिने सौभाग्य पनि किशोरावस्थामै मिल्यो ।

एएफसी च्यालेन्ज कपको छनोट प्रतियोगिता क्याम्बोडियामा भइरहेको थियो । त्यही प्रतियोगितामा मकाउविरुद्धको खेलमा किरणले राष्ट्रिय टोलीबाट स्वर्णिम ‘डेब्यु’ गरे । तर त्यो स्वर्णिम क्षण धेरैबेर टिकेन । एउटा मुभमा गोल जोगाउन खोज्दा उनी नराम्ररी घाइते भए । च्यापु भाँचियो । करियर नै सकिएजस्तो भयो । ‘अब फेरी खेल्न सक्दिन’ भन्ने सम्झेर धेरै रात किरणले रोएरै बिताए ।

राष्ट्रिय टोलीको जर्सीमा पहिलो आधा घण्टा पनि बिताउन नपाइकन अस्पताल पुग्नुपर्दाको अवस्थालाई जितेर अहिले राष्ट्रिय नायकको रुपमा स्थापित हुनु सहज पक्कै थिएन । त्यसका लागि उनले लामो त्याग र तपस्या गर्नुपरेको थियो ।

किरणको आफ्नै शब्दमा ‘सुपर हार्ड थियो । विगतको कुरा सम्झिँदा, एउटा सानो गाउँबाट गरिव परिवार र एकल आमाबाट आएको मानिसलाई गाह्रो थियो । तर संघर्ष नगरीकन, आफ्नो सपनालाई नपछ्याइकन कुनै पनि क्षेत्रमा सफल भइन्न भन्ने मेरो मान्यता हो । मैले पनि हरेक समय आफ्नो सपनालाई पछ्याइरहेँ । मेहनत र संघर्ष गरिरहेँ । सपना हासिल गर्नका लागि परिवार छोडेर बसेको अनुभव छ । अरु पनि धेरैकुरा त्यागेको छु । त्यही कारण आज यहाँ छु । यति धेरै माया गर्ने समर्थकहरु पाएको छु । देशको कप्तान हुन पाएको छु । मलाई गर्व लाग्छ । यो सब मैले गरेको सेक्रिफाइज र कडा मिहिनेतको कारणमात्र हो । लक्ष्य बनाएर त्यसका लागि लगाबका साथ मिहिनेत गर्ने हो भने जे पनि पाउन सकिन्छ ।’

राष्ट्रिय टिमको ‘डेब्यु’ खेलमै भएको त्यो दूर्भाग्यजनक चोटबाट मुक्त भएर फेरी मैदान फर्किन उनलाई तीन वर्ष लागेको थियो । उनलाई करियर सकिएजस्तो लागेको थियो । तर राष्ट्रिय टोलीका तत्कालिन जर्मन प्रशिक्षक थोमस फ्लाथले गरेको ‘मोटिभेट’ उनी कहिल्यै विर्सन सक्दैनन् ।

‘उहाँले मलाई त्यो बेला धेरै सपोर्ट गर्नुभयो । तिमी चिन्ता नगर, तिमीसँग उमेर । चाँडो ठिक भएर मैदान फर्किनु भन्नुभएको थियो । त्योबेला उहाँको आड भरोसाले मलाई बलियो बनायो । संघर्ष गरिरहनुपर्ने धरातलबाट आएकोले पनि मसँग सानैदेखि फाइटिङ स्पिरिट थियो । जसले मलाई त्यो चोटसँग जुध्दै यहाँसम्म आइपुग्न सहयोग मिल्यो ।’

त्यतिबेला अहिलेजस्तो धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदैनथे । नेपालले खेल्ने भनेको साफ च्याम्पियनसिप, विश्वकप छनोट, च्यालेन्ज कप र नगण्य रुपमा आयोजना हुने मैत्रीपूर्ण खेलमात्र थिए । त्यसैले २००८ मा क्याम्बोडियामा घाइते भएका किरणले फेरी राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान उत्रिन २०११ को च्यालेन्ज कपसम्म कुर्नुपर्यो ।

एउटा व्यावसायिक खेलाडीमा अनुसासन, मेहनत, लगाब र त्याग हुनैपर्छ भन्ने राम्ररी बुझेका कारण किरणलाई त्यो भयानक चोट जित्न सहज भएको थियो । ‘मैले सानैबाट थुप्रै संघर्षहरु फेस गर्दै आएको हो । फुटबलमा पनि करियर नै गुमाउने अवस्थाबाट ब्याक भएँ । व्यावसायिक लिग खेल्न गएको हरेक लिगमा बेस्ट गोलकिपर भएँ । त्यहाँ मैले राम्रो गरिरहँदा देशकै नाम आउँछ । यो अवस्थाले मलाई गर्वको फिल हुन्छ । तर अझै म आफ्नो देशका समर्थकलाई थप गौरवको अनुभूति गर्ने अवस्थामा पुर्याउन चाह्न्छु,’ किरणसँग थप संघर्षको योजना छ ।

घाइते भएपछिको तीन वर्षवाहेक ‘डेब्यु’ गरेदेखि अहिलेसम्म सधै पहिलो रोजाईको गोलकिपरका रुपमा किरणले राष्ट्रिय टोलीको पोस्टमा विपक्षीका लागि पर्खाल बनेर उपस्थिती जनाइरहेका छन् ।

राष्ट्रिय टोलीमा उनको करियरको उत्कर्ष गत महिना माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियनसिप रहयो । जहाँ उनकै कप्तानीमा नेपाल प्रतियोगिताको इतिहासमा पहिलो. पटक फाइनल पुगेको थियो । कप्तानको भूमिकामा रहेका किरणको व्यक्तिगत प्रदर्शन नेपालको यात्राको मुख्य आधार थियो ।

‘राष्ट्रिय टिमको खेलाडी भएर देशलाई प्रतिनिधित्व गर्न पाउँदा गर्व लाग्छ । अझ त्यसमा कप्तान भएपछिको खुसीको त सिमाना नै छैन । २८ वर्षपछि फाइनल पुग्नुको खुसी आफ्नै ठाउँमा छ । फाइनलमा हार्यौं । त्यसको दुख आफ्नै ठाउँमा छ । तर हारले हामीलाई धेरै कुरा सिकाएको छ । फेल भएपछि नै सफलताको भोक झन जाग्छ । यो टिमले आगामी दिनमा अझ धेरै कुरा गर्छ भन्ने विश्वास छ,’ टिमप्रति आशावादी छन् किरण ।

३१ वर्षे किरणले राष्ट्रिय टिमको पोस्ट सम्हाल्न थालेको १३ वर्ष नाघिसकेको छ । फुटबलमा आउटफिल्ड खेलाडी भन्दा गोलकिपरको करियर लामो हुन्छ । अझ किरणजस्ता मिहिनेती र अनुशासित खेलाडीबाट झन लामो योगदान आशा गर्न सकिन्छ । किरण स्वयम पनि लामो करियरका लागि हरेक दिन संघर्ष गरिरहेको बताउँछन् ।

‘भविश्यको बारेमा केही भन्न सकिदैन । म आफ्नो तर्फबाट सधै उत्कृष्ट दिन्छु र लामो भन्दा लामो समय खेल्नका लागि मेहनत गरिरहन्छु । स्वास्थ्य, फिटनेसले साथ दिएसम्म खेलिरहन्छु,’ उनी भन्छन् ।