अस्ट्रेलियन ओपन

जोसिला जोकोभिच, सबल साबालेन्का

मेलबर्न । १११औं अस्ट्रेलियन ओपनको म्याच प्वाइन्टका लागि सर्भिस गर्दै थिए २१ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच । प्रतिद्वन्दी थिए ग्रिसका स्टेफानोस सिसिपास । रड लेभर एरिनामा सर्बियाली स्टार जोकोभिचले ६-३ ७-६ (७-४), ७-६ (७-५) को नतिजा निकाल्दै कीर्तिमानी २२औं ग्रान्डस्लाम उपाधि जिते ।

खेल सकिएपछि जोकोभिच एकैछिन रमाए । आफ्नो परिवार र टिमसँग खुसी साटे । लगत्तै भक्कानिए । आँसु थाम्न सकेनन् । जोकोभिच रोएपछि केही सर्बियाली समर्थक पनि उनलाई देखेर रुन थाले । त्यसपछि फेरि जोकोभिचले आफूलाई सम्हाल्न सकेनन् । रुमालले अनुहार छोपेर फेरि भक्कानिए ।

‘खेललगत्तै बक्समा पुगेपछि म भावुक भएँ । आमा र भाइलाई अँगालो हालेर आँसु झारें,’ जोकोभिकले भने, ‘किनभने त्यो क्षणसम्म मैले आफूलाई मैदान बाहिरका कुराले विचलित हुन दिएको थिइनँ ।’

जोकोभिचका लागि अस्ट्रेलियन ओपन जित्नु कुनै नौलो कुरा थिएन । तर जोकोभिचका लागि यो वर्षको अस्ट्रेलियन ओपन एकदमै महत्त्वपूर्ण थियो । गत वर्ष प्रतियोगिता अगाडि कोभिड-१९ को खोप लगाउन अस्वीकार गरेका कारण उनले अस्ट्रेलियाको प्रवेशाज्ञा पाएका थिएनन् । भिसा नभएकै कारण उनलाई विमानस्थलबाटै फर्काइएको थियो । जसले गर्दा उनले गत वर्ष अस्ट्रेलियन ओपन खेल्न पाएनन् ।

गत वर्ष जोकोभिचले खेल्न पाएको भए सायद उनीसँग अहिले अस्ट्रेलियन ओपनको ११औं उपाधि हुन्थ्यो होला । स्पेनका राफेल नाडालसँगको सर्वाधिक ग्रान्डस्लाम दौडमा जोकोभिच २१-२३ ले अगाडि हुन्थे होला । यो कुराले किन पनि अर्थ राख्छ भने सन् २०२१ मा चारवटै ग्रान्डस्लाम फाइनल खेलेका जोकोभिचले तीन उपाधि जितेका थिए । उनी त्यतिबेला करियरकै उच्च लयमा थिए । फेरि अस्ट्रेलिया उनको मनपर्ने ठाउँ भइहाल्यो । तर, यो इतिहास बनिसक्यो । एउटा सत्य के हो भने जोकोभिच जस्तो खेलाडीका लागि यो एउटा ठूलो मुद्दा थियो ।

‘टेनिसमा ध्यान केन्द्रित गर्न, प्रत्येक दिन आइलाग्ने विभिन्नखाले झमेला भोग्न र त्यसबाट टाढा जाने प्रयासका लागि ठूलो उर्जा चाहिन्छ,’ जोकोभिकले जितपछि आफ्नो व्यथा सुनाए, ‘अस्ट्रेलिया आउनु अगाडि साँच्चै म नर्भस थिएँ ।’

जोकोभिचलाई अस्ट्रेलियामा ग्रान्डस्लाम जित्ने बानी परेको धेरै भइसक्यो । पछिल्लो समय पुरुष एकल टेनिसमा रोजर फेडेरर, नाडाल र जोकोभिचबाहेक अरू खेलाडीले ग्रान्डस्लाम उपाधि बिरलै जित्छन् । स्विस खेलाडी फेडेररले टेनिसबाट संन्यास लिइसकेको अवस्थामा यसपालि अस्ट्रेलियन ओपन जोकोभिच र नाडालमध्ये एकले जित्ने लगभग पक्का नै थियो । कारण, गत वर्ष चारमध्ये तीन ग्रान्डस्लाम यी दुई खेलाडीले नै जितेका थिए ।

महिला टेनिसको अवस्था पनि केही वर्ष अगाडिसम्म उस्तै थियो । महिला एकलमा सेरेना विलियम्सको एकलौटी राज थियो । गत सेप्टेम्बरमा व्यावसायिक टेनिसबाट संन्यास लिएकी सेरेनाले करियरमा २३ ग्रान्डस्लाम उपाधि जितेकी छन् । अस्ट्रेलियामा मात्र उनको नाममा सात उपाधि छ । सेरेनाले जितेको पछिल्लो ग्रान्डस्लाम पनि अस्ट्रेलियन ओपन नै हो । जुन उनले ६ वर्षअघि जितेकी थिइन् । त्यसयता महिला टेनिसमा पुरुषजस्तो सीमित खेलाडीको राज छैन ।

यसपालि महिला एकलको उपाधि जितेकी आर्यना साबालेन्काले यसअघि कुनै पनि ग्रान्डस्लाम जितेकी थिइनन् । बेलारुसकी साबालेन्काले फाइनलमा काजकिस्तानकी इलिना रेबकिनालाई २-१ को सेटमा पराजित गरेकी थिइन् । पहिलो सेट ४-६ ले गुमाए पनि साबालेन्काले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट ६-३, ६-४ ले आफ्नो पक्षमा पारिन् र पहिलो ग्रान्ड स्लाम जितिन् ।

साबालेन्काले यसअघि महिला युगलमा भने सन् २०१९ मा युएस ओपन तथा २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । २४ वर्षीया साबालेन्काले एकलतर्फ पछिल्लो दुई वर्षमा तीनपटक सेमिफाइनलसम्म यात्रा गरेकी थिइन् । पछिल्लो अस्ट्रेलियन ओपनमा साबालेन्का दोस्रो वरीयता हुनुका बावजुद प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएकी थिइन् ।

‘ग्रान्डस्लाम उपाधिले मलाई एकदमै राहत मिलेको छ । ग्रान्डस्लाम मेरा लागि ड्रग्स हो । जुन म अझै पनि सेवन गर्न चाहन्छु,’ साबालेन्काले भनिन्, ‘यसअघि समर्थकहरू अटोग्राफ माग्न आउँदा मलाई अप्ठ्यारो हुन्थ्यो । म उनीहरूलाई अहिलेसम्म ग्रान्डस्लाम नजितेको हुनाले आफू कोही नभएको कुरा सम्झाउँथे । अब त्यस्तो हुने छैन ।’

भलै, पुरुष एकलमा पुरानै अनुहारले उपलब्धि हासिल गरेको होस्, वर्षको पहिलो ग्रान्डस्लामले एउटा नयाँ युगको संकेत दिएको छ । फाइनलमा जोकोभिचलाई कडा चुनौती दिएका सिसिपासले सम्पूर्ण विश्वको माया कमाए । जोकोभिचको कीर्तिमानी जितमा सिसिपास छायाँमा त परे तर उनको यो यात्रालाई सबैले स्मरण गर्नेछन् ।

पूर्वविजेता नाडाल दोस्रो चरणबाटै बाहिरिँदा धेरै नयाँ अनुहार माथि उक्लिए । नाडाल बाहिरिएका मात्र के थिए, धेरैले यसपालि नयाँ अनुहारले उपाधि जित्ने आँकलन गरे । तर पछिल्ला चरणहरू पुगे पनि जोकोभिचको अनुभव उनीहरूमाथि हाबी भयो ।

तर यसपालिको अस्ट्रेलियन ओपनबाट एउटा कुरा चाहिँ प्रस्ट भएको छ, अब आउने दिनमा जोकोभिचलाई सहज हुने छैन । तीन महिनापछि जोकोभिच ३६ वर्षका हुनेछन् । उनको शरीरले उनलाई विस्तारै ऊर्जा दिन छोड्ने छ । प्रस्ट रूपमा भन्दा नयाँ अनुहारहरूलाई हराउन जोकोभिचलाई पहिला जस्तो सजिलो हुने छैन । उता इच्छाशक्ति बलियो भएका जोकोभिच र क्ले कोर्टका राजा नाडालसँग उपाधि खोस्न नयाँ अनुहारलाई पनि अझै केही वर्ष गाह्रो हुनसक्छ । यो कुरा नयाँ स्टारहरूले पनि बुझेका छन् ।

महिलातर्फ पछिल्लो समय कोर्टमा छाप छाड्दै आएकी इगा स्वाटेकले चाँडै आफ्नो प्रतिस्पर्धी भेट्ने छनक यसपालिको अस्ट्रेलियन ओपनले देखाएको छ । तथ्यांकका हिसाबले हेर्ने हो भने स्वाटेक अरू खेलाडीभन्दा उत्कृष्ट नै छिन् । तर अब भने साबालेन्का र रेबकिनाले उनलाई राम्रो चुनौती दिनेछन् । त्यसमा थपौं च्याम्पियन खेलाडीद्वय अस्ट्रेलियाकी एश्लेघ बार्टी र जापानकी नाओमी ओसाका । यी खेलाडीहरूले अबका दिनमा महिला टेनिसलाई अझ सुन्दर बनाउने छन् । थप उचाइमा लैजाने छन् ।