गजबहादुर र नारायणी थापा

ट्र्याकमा गाँसिएको त्यो प्रेमकथा

पोखरा । गण्डकी प्रदेशले ३९ वर्षपछि वृहत राष्ट्रिय खेलकुद आयोजना गर्यो । विभिन्न खेलमा प्रत्येक दिन नयाँ नयाँ राष्ट्रिय कीर्तिमान बने । खेलाडीका लागि राष्ट्रिय खेलकुदमा प्राप्त गरेको पदक सबैभन्दा यादगार क्षण रहने गर्छ । पोखराबाट धेरै खेलाडीले पदक जित्नुको गौरवपूर्ण इतिहास बनाए । कतिले स्वर्ण पदकको गौरवमाथि राष्ट्रिय कीर्तिमानको ताज पनि थपेर पोखराबाट बिदा भए ।

तर, पोखरा रंगशालामा सम्पन्न एथलेटिक्स खेलमा संयोजकको जिम्मेवारी पाएका गजबहादुर गुरुङ र नारायणी थापाका लागि भने नवौं राष्ट्रिय खेलकुदले अर्को भिन्नै अवसर पनि दियो । त्यो थियो चार दशकअघिको प्रेमकथा सम्झिने ।

दुवै जना एक सय मिटर दौडका खेलाडी थिए । एउटै स्पर्धाका खेलाडी भएपछि प्रशिक्षणमा नियमित भेटको अवसर जुर्थ्यो । सधैं भेट्ने, सँगै प्रशिक्षण गर्ने अनि प्रतिस्पर्धामा पनि एउटै टिमबाट सँगै जाने क्रमले निरन्तरता पाउँदा दुईबीच माया पिरती कुन दिन कसरी टुसायो दुवैलाई पत्तो भएन । प्रशिक्षण र प्रतिस्पर्धाका लागि हुने नियमित भेट कहिल्यै नछुट्ने प्रेममा परिणत भयो ।

पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकसँग उनीहरूको विशेष साइनो जोडिएको छ । २०३७ सालमा गजबहादुर र नारायणीको पहिलो भेट यही रंगशालामा भएको थियो । गजबहादुर र नारायणी तत्कालीन समयमा गण्डकी अञ्चलले आयोजना गर्ने विद्यालयस्तरीय प्रतियोगितामा निरन्तर भाग लिइरहन्थे । भाग लिएका स्पर्धामा सधैं अब्बल रहन्थे ।

दुवै जना एक सय मिटर दौडका खेलाडी थिए । एउटै स्पर्धाका खेलाडी भएपछि प्रशिक्षणमा नियमित भेटको अवसर जुर्थ्यो । सधैं भेट्ने, सँगै प्रशिक्षण गर्ने अनि प्रतिस्पर्धामा पनि एउटै टिमबाट सँगै जाने क्रमले निरन्तरता पाउँदा दुईबीच माया पिरती कुन दिन कसरी टुसायो दुवैलाई पत्तो भएन । प्रशिक्षण र प्रतिस्पर्धाका लागि हुने नियमित भेट कहिल्यै नछुट्ने प्रेममा परिणत भयो ।

पोखरालाई केन्द्र बनाएर गण्डकी अञ्चलले २०४० सालमा विशेष तामझामका साथ दोस्रो राष्ट्रिय खेलकुद आयोजना गर्यो । गुरुङ र थापा दुवै सधैं अभ्यास गरिरहेको पोखरा रंगशालाको ट्रयाकमा हुने राष्ट्रिय खेलकुदका लागि गण्डकी अञ्चलको टोलीमा छनोट भए । जहाँ थापाले महिला एक सय मिटर र महिला चार सय मिटर दौडमा स्वर्ण पदक जितिन् । थापाका लागि राष्ट्रिय खेलकुदमा त्यो पहिलो पदक भने थिएन । उनले यसअघि काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय खेलकुदमा पनि महिला एक सय मिटरमै कांस्य पदक जितेकी थिइन् ।

प्रथम राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेकी नारायणीका लागि आफ्नै घरेलु मैदानमा दोस्रो राष्ट्रिय खेलकुदमा स्वर्ण जित्नुको खुुसी बेग्लै थियो ।

‘त्यो समयमा महिलालाई खेलकुदमा लाग्न सहज थिएन । म घरको एक्लो सन्तान थिएँ । त्यसैले मेरो जिद्दी अघि मेरो आमाबुबाको केही लागेन । मैले नियमित एथलेटिक्सको प्रशिक्षण लिन थालें,’ थापाले सम्झिइन्, ‘म नियमित प्रशिक्षणका लागि पोखरा रंगशाला जान थालें । हाम्रो पहिलो पटक त्यहीं भेट भएको थियो । हामी दुवैको विधा एउटै थियो । त्यसैले हामी एकअर्कासँग नजिकियौंं । यो खेलमा लागिरहन र अझ राम्रो प्रदर्शन गर्न उहाँले मलाई सधैं हौसला दिइरहनुहुन्थ्यो ।’

दोस्रो राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी थापाका लागि त्यो नै अन्तिम सहभागिता रह्यो । एथलेटिक्सले जुराएको गुरुङसँगको प्रेमका कारण उनी खेलाडीका रूपमा एथलेटिक्सबाट चाँडै बिदा हुनुपरेको थियो । अन्तरजातीय सम्बन्ध भएकाले परिवारले त्यो प्रेम स्वीकारेन । उनीहरूले भागेर विवाह गर्नुपर्यो ।

‘परिवारले नमानेपछि हामीले भागेर विवाह गर्यौं । त्यसपछि यहाँ बस्न सजिलो भएन । हामी दुवै जना दार्जिलिङ गएर बस्न थाल्यौं । उता गएपछि खेलबाट धेरै वर्ष अलग रह्यौं,’ थापाले स्मरण गरिन्, ‘घरको एक्लो सन्तान भएकाले मेरो जिद्दीलाई मानेर बुवाआमाले एथलेटिक्स खेल्न दिनुभएको थियो । तर यही खेलका कारण उहाँहरूसँग र खेलसँग पनि अलग रहनुपर्ने बाध्यता पनि आइपर्यो । त्यो सम्झँदा चाहिँ अहिले पनि दुःख लाग्छ ।’

श्रीमतीको भनाइमा सही थाप्दै गजबहादुर भन्छन्, ‘उनी त एकदमै राम्रो खेलाडी हो नि । अझ उत्कृष्ट प्रदर्शन गर्ने र राष्ट्रिय खेलकुदभन्दा ठूला पदक जित्ने क्षमता उनीमा थियो । तर परिस्थितिले हामीलाई अर्कै बाटो देखायो ।’

परिवारले नस्वीकारेपछि पोखरा मात्र नभई देश नै छोड्न बाध्य भएका उनीहरूले एथलेटिक्स खेल्न थालेको धेरै भएकै थिएन । नियमित प्रशिक्षण गर्न थालेको चार÷पाँच वर्षमात्र भएको थियो । त्यसैले उनीहरूको सबै सम्भावना प्रस्फुटित हुन भ्याइसकेको थिएन । बीचमै खेलबाट टाढिनुपर्दा दुवैले हकलाग्दो गन्तव्य पाउन नसकेको उनको गुनासो छ ।

‘अब हाम्रो सम्बन्ध हाम्रो घरपरिवारले स्वीकार गरेन । हामी यस खेलमा लागेको चार÷पाँच वर्ष मात्र भएको थियो । नियमित प्रशिक्षणहरू गरिहन्थ्यौं । म त औसत खेलाडी थिएँ, नारायणी भने आफ्नो विधा (एक सय र चार सय मिटर दौड)मा अब्बल थिइन्,’ श्रीमतीको प्रशंसामा गुरुङले थपे, ‘उनले दोस्रो राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदकसहित आफूलाई प्रमाणित गरिसकेकी थिइन् । तर भागी विवाह गरेपछि दुवैजना खेलबाट टाढा भयौं । परिवारले अन्तरजातीय प्रेम स्वीकार गरेको भए हामी अझ धेरै वर्ष खेलाडीको रूपमा सक्रिय हुन पाउँथ्यौं जस्तो अहिले पनि कहिलेकाँही लाग्छ ।’

खेलाडीका रूपमा परिस्थितीले टाढा पुर्याए पनि उनीहरूले एथलेटिक्सलाई माया मार्न सकेका थिएनन् । विशेष सम्बन्ध भएको खेलमा केही वर्षको दार्जिलिङ बसाइपछि फर्किएर फेरि सक्रिय हुन थाले । भूमिका फेरियो, तर एथलेटिक्सप्रतिको भावना उस्तै थियो ।

‘जस्तोसुकै परिस्थिति आए पनि यो खेललाई माया मार्न सकिँदैन । यो खेलप्रति हाम्रो विशेष सम्बन्ध छ । यही कारण ३९ वर्षपछि आफ्नै आँगनमा फर्किएको राष्ट्रिय खेलकुदमा हामी दुवै सक्रिय छौं । यो त हाम्रा लागि आफ्नो प्रेमकथा सम्झने विशेष अवसर पनि हो नि,’ गुरुङ रोमाञ्चित भए ।