पल्सर स्पोटर्स अवार्ड

कृतज्ञ पारस, कृतज्ञ अवार्ड

काठमाडौं । पारस खड्का वास्तवमै कृतज्ञ छन् खेल पत्रकारहरूप्रति । उनको लामो क्रिकेट खेल जीवनमा साथ दिने उत्तिकै रहे । त्यसमध्ये महत्वपूर्ण साथ दिनमध्येका एक तिनै खेल पत्रकार हुन् । यो तथ्य कसैले कसैका लागि भनिरहनुपर्दैन स्वयं पारस गर्वले स्वीकार्छन् । भन्छन्, ‘कसैले खेलाडीलाई स्टार बनाउने भनेकै पत्रकारले मात्र हो ।’

उनी त झन नेपाली क्रिकेटले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार । पारसको अहिलेसम्मको यात्रा यति अथाह छ कि त्यसमा सबथोक छ ।

यसकै केही अंशको श्रेय खेल पत्रकारले पाउँछन् भने खुसी र गर्व तिनलाई पनि हुुनुपर्ने हो । त्यसैले नेपाली खेल पत्रकार पनि पारसप्रति कृतज्ञ हुर्नैपर्छ । अब खेल पत्रकार भनेपछि तिनीहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पनि त आउने भयो । पारस थप्छन्, ‘खेल पत्रकारको योगदान भन्नुको अर्थ तिनले प्रदान गर्ने अवार्ड पनि त हो ।’ त्यस अर्थमा भन्नैपर्छ, यो अवार्ड पनि पारसप्रति कृतज्ञ छ ।

यो अवार्डको तीन दशकजति लामो इतिहासमा पारस नै सबैभन्दा सफल खेलाडी हुन्, उनले थापेको अवार्डकै गणना गर्दा पनि । उनले सुरुमा युवा खेलाडीको अवार्ड जिते । त्यसपछि पुरुष वर्ष खेलाडीको अवार्ड तीनपल्ट जिते । अनि अन्तिम पटक एक दशककै उत्कृष्ट खेलाडीको अवार्ड पनि पाए ।   यो अवार्डले ०६० सालयता वास्तविक लय समातेको मान्ने हो भने सुखद संयोग मान्नुपर्छ, तीन थोक सँगसँगै अगाडि बढेको पाइन्छ । पहिलो स्पोर्ट्स अवार्ड स्वयं ।

दोस्रो नेपाली क्रिकेटको सफलताको इतिहास । र, पारसको खेल जीवन । एकातर्फ अवार्ड कार्यक्रम झन झन ठूलो र प्रतिष्ठित हुँदै गयो । नेपाली क्रिकेटले पनि अन्तर्राष्ट्रिय मञ्चमा छलाङ मार्दै ट्वान्टी-ट्वान्टी विश्वकप खेलेको र वान डे अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको यही बेला त हो । सँगै नेपाली क्रिकेटमा सर्वकालीन महान खेलाडीका रूपमा पारसको उदय भयो र उनले त्यस भूमिकामा आफूलाई स्थापित पनि गरे । यही त हो, साँच्चैको सुखद संयोग ।

यहाँनिर एउटा रमाइलो तथ्य के भने पारस आफ्नो खेल जीवनका विभिन्न मोड र त्यससँग जोडिएका तथ्यांकबारे ठ्याक्कै यही हो भनेर भन्न सक्ने खेलाडी नै होइनन् । किन हो, उनलाई यस्ता तथ्यबारे खेल पत्रकारकै भर पर्नुपर्ने हुन्छ । पारसलाई उनले कुन बेला के कस्तो योगदानका लागि आफूले अवार्ड पाएको हो, त्यसबारे यस्तै हो भन्न पनि गाह्रो छ । लामो र सफल खेल जीवन पाएका भाग्यमानी खेलाडीमा हुनुपर्ने यो प्रमुख गुण पनि हो ।

एउटै सफलतामा रम्नेले मात्र त दाबी गरेर भन्ने हो, त्यो बेला त्यसरी ठ्याक्कै त्यही भएको थियो भनेर दाबी गर्ने । त्यसमाथि पारस धेरै बोल्ने खालका खेलाडी नै होइनन्, बरू आफैंमा रमाउन चाहन्छन् । विश्वास नहुन सक्छ, उनी खासै धेरै घुलमिल भइहाल्ने खालका पनि छैनन् । जेहोस् उनी सम्झिन्छन्, सबैभन्दा पहिले उनी युवा खेलाडीको मनोनयनमा परेका थिए । तर जित्न सकेनन् । दोस्रोपल्ट त्यही विधामा मनोनयन पर्दा अवार्ड जिते पनि ।

‘अब अवार्ड पाउँदा स्वाभाविक रूपमा खुसी हुने त भयो नै,’ एक साँझ कफी पिउँदै गफिने क्रममा उनले भनेका थिए । जतिबेला उनले यो अवार्ड पाएका थिए, अवार्ड कार्यक्रम ठीकठाक हुने गर्थ्यो । विस्तारै यसले अन्तर्राष्ट्रिय स्तरको स्वरूप लिन थाल्यो । अझ भने कार्यक्रम भव्य हुन थाल्यो । कार्यक्रम हेर्ने जत्तिले ‘ओहो’ भन्न थाले । अनि त्यही बेला पारसलाई पनि लाग्यो, यो अवार्ड त अब ठूलै भएछ । जतिबेला यस्तै रंगीन कार्यक्रमबीच उनले वर्ष पुरुष खेलाडीको अवार्ड जिते, उनको खुसीको स्वरूप बेग्लै थियो ।

‘एक प्रकारको सनसनी थियो,’ उनले हाँस्दै भने । नेपाली खेलकुदमा खेलाडीले सपना देख्ने अवार्ड कार्यक्रममा परिणत भएको थियो, यो । सबै यो अवार्ड कहिले होला भनेर प्रतीक्षा गर्ने दिन पनि आए । त्यसमाथि विजेताले मोटरसाइकल पनि पाउने भए । खेलाडीका लागि मोटरसाइकल पुरस्कार आफैंमा ठूलो थियो, विशेषतः क्रिकेटमा । पारसले पनि लगभग त्यसै अनुभव गरे । पारस थप्छन्, ‘खेलाडीको प्रदर्शन र योगदानको सबैभन्दा ठूलो मापन नै अवार्ड भएको स्थिति थियो ।’

गत वर्ष तिनै पारसले दशककै उत्कृष्ट खेलाडीको अवार्ड पाए । आफ्नो खेल जीवनबाट संन्यास लिइसकेपछिको यो अवार्ड थियो । अनि उनी मान्छन्, यो अवार्ड उनले जितेको व्यक्तिगत पुरस्कारमात्र थिएन, बरू थियो त उनले बिताएको एक कालखण्डप्रति नै । ‘मैले जति समय खेलें, त्यसबीच जे जस्तो राम्रो भयो, नेपाली क्रिकेटले जहाँसम्मको यात्रा तय गरेको थियो, समग्रमा त्यसकै लागि त्यो अवार्ड थियो, म सायद प्रतिनिधिमात्रै थिएँ ।’

पारस कम बोल्छन् । तर जति बोल्छन्, राम्रो बोल्छन् । यही अवार्डलाई लिएर उनलाई बारम्बार सोधिने एउटा प्रश्न छ, जसले उनलाई पनि रोमाञ्चित तुल्याउँछ । प्रश्न हो, ‘यत्तिको अवार्ड जितेर प्राप्त गरेको मोटरसाइकलचाहिँ के गर्छौं त ?’ हुँदाहुँदा अवार्डकै मुख्य प्रायोजक रहेको हंशराज हुलासचन्द एन्ड कम्पनीका शेखर गोल्छाले पनि एकपल्ट पारसलाई यही सोधेछन् । यसमा पारसको उत्तर प्रायः एकैथरिको मात्र हुने गर्छ र त्यो हो, त्यही लाखौं जाने मन्द मुस्कान ।

र, अन्त्यमा पारसको अझै एकपल्ट फेरि दोहो¥याएर यो अवार्ड जित्ने धोको छ । अचेल पारस पूर्वखेलाडी वा कप्तानमात्र रहेनन् । प्रशिक्षकदेखि व्यवस्थापक पनि भइसके । क्रिकेट एकेडेमी नै चलाइरहेका छन् । उनी कुनै न कुनै रूपमा नेपाली क्रिकेटसँग जोडिरहन चाहन्छन् । भन्छन्, ‘अबको एउटा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समग्र नेपाली क्रिकेटले जितोस्, राम्रो काम गरेको कारणले । धेरै प्रगति गरेको कारण । म आफैं त्यसको एउटा अंश भए पुग्छ ।’