चैत्र १६, २०८२ सोमबार | ०७:५८:४६
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा
शनिबारको दिन पल्सर स्पोटर्स अवार्ड

कृतज्ञ पारस, कृतज्ञ अवार्ड

काठमाडौं । पारस खड्का वास्तवमै कृतज्ञ छन् खेल पत्रकारहरूप्रति । उनको लामो क्रिकेट खेल जीवनमा साथ दिने उत्तिकै रहे । त्यसमध्ये महत्वपूर्ण साथ दिनमध्येका एक तिनै खेल पत्रकार हुन् । यो तथ्य कसैले कसैका लागि भनिरहनुपर्दैन स्वयं पारस गर्वले स्वीकार्छन् । भन्छन्, ‘कसैले खेलाडीलाई स्टार बनाउने भनेकै पत्रकारले मात्र हो ।’

उनी त झन नेपाली क्रिकेटले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार । पारसको अहिलेसम्मको यात्रा यति अथाह छ कि त्यसमा सबथोक छ ।

यसकै केही अंशको श्रेय खेल पत्रकारले पाउँछन् भने खुसी र गर्व तिनलाई पनि हुुनुपर्ने हो । त्यसैले नेपाली खेल पत्रकार पनि पारसप्रति कृतज्ञ हुर्नैपर्छ । अब खेल पत्रकार भनेपछि तिनीहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पनि त आउने भयो । पारस थप्छन्, ‘खेल पत्रकारको योगदान भन्नुको अर्थ तिनले प्रदान गर्ने अवार्ड पनि त हो ।’ त्यस अर्थमा भन्नैपर्छ, यो अवार्ड पनि पारसप्रति कृतज्ञ छ ।

यो अवार्डको तीन दशकजति लामो इतिहासमा पारस नै सबैभन्दा सफल खेलाडी हुन्, उनले थापेको अवार्डकै गणना गर्दा पनि । उनले सुरुमा युवा खेलाडीको अवार्ड जिते । त्यसपछि पुरुष वर्ष खेलाडीको अवार्ड तीनपल्ट जिते । अनि अन्तिम पटक एक दशककै उत्कृष्ट खेलाडीको अवार्ड पनि पाए ।   यो अवार्डले ०६० सालयता वास्तविक लय समातेको मान्ने हो भने सुखद संयोग मान्नुपर्छ, तीन थोक सँगसँगै अगाडि बढेको पाइन्छ । पहिलो स्पोर्ट्स अवार्ड स्वयं ।

दोस्रो नेपाली क्रिकेटको सफलताको इतिहास । र, पारसको खेल जीवन । एकातर्फ अवार्ड कार्यक्रम झन झन ठूलो र प्रतिष्ठित हुँदै गयो । नेपाली क्रिकेटले पनि अन्तर्राष्ट्रिय मञ्चमा छलाङ मार्दै ट्वान्टी-ट्वान्टी विश्वकप खेलेको र वान डे अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको यही बेला त हो । सँगै नेपाली क्रिकेटमा सर्वकालीन महान खेलाडीका रूपमा पारसको उदय भयो र उनले त्यस भूमिकामा आफूलाई स्थापित पनि गरे । यही त हो, साँच्चैको सुखद संयोग ।

यहाँनिर एउटा रमाइलो तथ्य के भने पारस आफ्नो खेल जीवनका विभिन्न मोड र त्यससँग जोडिएका तथ्यांकबारे ठ्याक्कै यही हो भनेर भन्न सक्ने खेलाडी नै होइनन् । किन हो, उनलाई यस्ता तथ्यबारे खेल पत्रकारकै भर पर्नुपर्ने हुन्छ । पारसलाई उनले कुन बेला के कस्तो योगदानका लागि आफूले अवार्ड पाएको हो, त्यसबारे यस्तै हो भन्न पनि गाह्रो छ । लामो र सफल खेल जीवन पाएका भाग्यमानी खेलाडीमा हुनुपर्ने यो प्रमुख गुण पनि हो ।

एउटै सफलतामा रम्नेले मात्र त दाबी गरेर भन्ने हो, त्यो बेला त्यसरी ठ्याक्कै त्यही भएको थियो भनेर दाबी गर्ने । त्यसमाथि पारस धेरै बोल्ने खालका खेलाडी नै होइनन्, बरू आफैंमा रमाउन चाहन्छन् । विश्वास नहुन सक्छ, उनी खासै धेरै घुलमिल भइहाल्ने खालका पनि छैनन् । जेहोस् उनी सम्झिन्छन्, सबैभन्दा पहिले उनी युवा खेलाडीको मनोनयनमा परेका थिए । तर जित्न सकेनन् । दोस्रोपल्ट त्यही विधामा मनोनयन पर्दा अवार्ड जिते पनि ।

‘अब अवार्ड पाउँदा स्वाभाविक रूपमा खुसी हुने त भयो नै,’ एक साँझ कफी पिउँदै गफिने क्रममा उनले भनेका थिए । जतिबेला उनले यो अवार्ड पाएका थिए, अवार्ड कार्यक्रम ठीकठाक हुने गर्थ्यो । विस्तारै यसले अन्तर्राष्ट्रिय स्तरको स्वरूप लिन थाल्यो । अझ भने कार्यक्रम भव्य हुन थाल्यो । कार्यक्रम हेर्ने जत्तिले ‘ओहो’ भन्न थाले । अनि त्यही बेला पारसलाई पनि लाग्यो, यो अवार्ड त अब ठूलै भएछ । जतिबेला यस्तै रंगीन कार्यक्रमबीच उनले वर्ष पुरुष खेलाडीको अवार्ड जिते, उनको खुसीको स्वरूप बेग्लै थियो ।

‘एक प्रकारको सनसनी थियो,’ उनले हाँस्दै भने । नेपाली खेलकुदमा खेलाडीले सपना देख्ने अवार्ड कार्यक्रममा परिणत भएको थियो, यो । सबै यो अवार्ड कहिले होला भनेर प्रतीक्षा गर्ने दिन पनि आए । त्यसमाथि विजेताले मोटरसाइकल पनि पाउने भए । खेलाडीका लागि मोटरसाइकल पुरस्कार आफैंमा ठूलो थियो, विशेषतः क्रिकेटमा । पारसले पनि लगभग त्यसै अनुभव गरे । पारस थप्छन्, ‘खेलाडीको प्रदर्शन र योगदानको सबैभन्दा ठूलो मापन नै अवार्ड भएको स्थिति थियो ।’

गत वर्ष तिनै पारसले दशककै उत्कृष्ट खेलाडीको अवार्ड पाए । आफ्नो खेल जीवनबाट संन्यास लिइसकेपछिको यो अवार्ड थियो । अनि उनी मान्छन्, यो अवार्ड उनले जितेको व्यक्तिगत पुरस्कारमात्र थिएन, बरू थियो त उनले बिताएको एक कालखण्डप्रति नै । ‘मैले जति समय खेलें, त्यसबीच जे जस्तो राम्रो भयो, नेपाली क्रिकेटले जहाँसम्मको यात्रा तय गरेको थियो, समग्रमा त्यसकै लागि त्यो अवार्ड थियो, म सायद प्रतिनिधिमात्रै थिएँ ।’

पारस कम बोल्छन् । तर जति बोल्छन्, राम्रो बोल्छन् । यही अवार्डलाई लिएर उनलाई बारम्बार सोधिने एउटा प्रश्न छ, जसले उनलाई पनि रोमाञ्चित तुल्याउँछ । प्रश्न हो, ‘यत्तिको अवार्ड जितेर प्राप्त गरेको मोटरसाइकलचाहिँ के गर्छौं त ?’ हुँदाहुँदा अवार्डकै मुख्य प्रायोजक रहेको हंशराज हुलासचन्द एन्ड कम्पनीका शेखर गोल्छाले पनि एकपल्ट पारसलाई यही सोधेछन् । यसमा पारसको उत्तर प्रायः एकैथरिको मात्र हुने गर्छ र त्यो हो, त्यही लाखौं जाने मन्द मुस्कान ।

र, अन्त्यमा पारसको अझै एकपल्ट फेरि दोहो¥याएर यो अवार्ड जित्ने धोको छ । अचेल पारस पूर्वखेलाडी वा कप्तानमात्र रहेनन् । प्रशिक्षकदेखि व्यवस्थापक पनि भइसके । क्रिकेट एकेडेमी नै चलाइरहेका छन् । उनी कुनै न कुनै रूपमा नेपाली क्रिकेटसँग जोडिरहन चाहन्छन् । भन्छन्, ‘अबको एउटा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समग्र नेपाली क्रिकेटले जितोस्, राम्रो काम गरेको कारणले । धेरै प्रगति गरेको कारण । म आफैं त्यसको एउटा अंश भए पुग्छ ।’