आश्विन १, २०८२ बिहीबार | ०६:४३:५१
साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध
शनिबारको दिन बितेका खेलकर्मी

खेलकुदले थुप्रै नक्षत्र गुमाएको वर्ष

कोभिड–१९ को महामारीले नेपाली खेलकुदका केही नक्षत्रलाई चुँडेर लैजाँदा वर्ष २०७८ खेलक्षेत्रका लागि पीडादायक रह्यो । कोरोनासँगै अन्य कारणबाट पनि केही खेलकर्मी अवसान भएको छ ।

वैशाखमै क्योकुसिन करातेको पहिलो पुस्ताका खेलाडी रामजीप्रसाद वज्राचार्यलाई चुँडेको महामारीले लगत्तै सहारा क्लब हङकङका उपाध्यक्ष बिल तामाङलाई डोर्यायो । यसैगरी भदौमा करातेका आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (हालको साग)का स्वर्ण पदकधारी खेलाडी कृष्णबहादुर राईको ज्यान गयो ।

क्योकुसिन करातेका ब्रान्च चिफ रहेका वज्राचार्यको वैसाख २१ गते ६६ वर्षको उमेरमा कोभिड–१९ संक्रमणबाट निधन भयो । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका उनको पाँच दिनको उपचारपछि निधन भएको थियो ।

उनले सन् १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए ।

यसैगरी कोभिड–१९ संक्रमणकै कारण पूर्व राष्ट्रिय फुटबल खेलाडी बिल तामाङको जेठ ४ मा पोखरामा निधन भयो । संक्रमण पुष्टि भएपछि वैशाख २६ देखि अस्पताल भर्ना भएका उनको ४६ वर्षको उमेरमा ज्यान गुमाउनुपरेको थियो ।

लामो समयदेखि हङकङ बसोबास गर्दै आएका तामाङ गत वर्षको आहा–रारा गोल्डकपका लागि नेपाल आएका थिए । भारतको पटियालाबाट प्रशिक्षक तालिम लिएर फर्केका बिल सहाराका पूर्वप्रशिक्षक पनि हुन् ।

जेठकै तेस्रो साता कुस्तीका भीष्म पितामह मानिने पूर्वप्रमुख प्रशिक्षक विद्यासागर पोखरेलको निधन भयो । राष्ट्रिय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभागका पूर्वसहनिर्देशक पोखरेलको जेठ २१ गते ६३ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो ।

फुटबल खेलाडीको रूपमा खेलजीवन अघि बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको कोर्स गरेका थिए । त्यसपछि परिषदमा कुस्ती प्रशिक्षककै रूपमा जागिरे जीवन सुरु गरे । कुस्ती संघमा निरन्तर २६ वर्ष महासचिवको रूपमा कार्यरत उनी उमेरहदका कारण परिषदबाट सेवानिवृत्त भइसकेका थिए ।

त्यस्तै नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं विश्व बुद्धिचाल महासंघका कार्यकारिणी सदस्य तथा अनुशासन कमिटी सदस्य राजेशहरि जोशीको जेठ ३० गते हृदयघातका कारण ललितपुरको बी एन्ड बी अस्पतालमा निधन भयो । जोशीले दुई कार्यकाल अध्यक्षको रूपमा बुद्धिचाल संघको नेतृत्व गरेका थिए ।

सन् १९९९ मा नेपालमा सम्पन्न आठौं साफमा करातेको टिम कातामा स्वर्ण जितेका कृष्णबहादुर राईको भदौ २ मा ५३ वर्षको उमेरमा निधन भएको हो । राईको पनि कोभिड– १९ संक्रमणका कारण निधन भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशम्शेर राणाको भदौ २५ गते मृगौलाको समस्याका कारण ८५ वर्षको उमेरमा मृत्यु भएको थियो ।

परिषद र एनओसीमा प्रमुखको हैसियतमा दुई दुई कार्यकाल नेतृत्व गरेका राणा अखिल नेपाल फुटबल संघ, नेपाल तेक्वान्दो संघ, नेपाल एमेच्योर एथलेटिक्स संघ र नेपाल स्की संघका पनि पूर्वअध्यक्ष हुन् । भारतका लागि नेपालका राजदूतका रुपमा कूटनीतिक क्षेत्रमा पनि सेवा गरेका राणा ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष थिए ।

यसैगरी फिफा रेफ्री लव खत्रीको असोज १८ गते आश्चर्यजनक रूपमा निधन भयो । नेपाली फुटबलका निर्विवाद रेफ्री खत्रीलाई मर्निङ वाक गरेर घर फर्किएलगत्तै बिहान नुवाईधुवाई सकेपछि आफ्नै कोठामा लडेको अवस्थामा पाइएको थियो ।

खत्रीलाई तत्काल मेडिसिटी अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । २०४६ सालबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका उनले जावलाखेल, थ्री स्टार र देशबन्धु क्लबबाट खेलेका थिए । २०५५ सालमा खेलाडीको रूपमा संन्यास लिएपछि उनले २०५७ सालबाट रेफ्रीको भूमिकामा पुनरागमन जनाए । १८ वर्ष रेफ्रीको भूमिका निर्वाह गर्ने क्रममा उनी अत्यन्तै शान्त, हसिलो र मृदुभाषी निर्णायकका रूपमा चिनिन्थे ।

त्यस्तै नेपाल ओलम्पिक कमिटीका महासचिव एवं राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाले नसासम्बन्धी समस्याका कारण मंसिर ८ गते ५० वर्षको उमेरमा ज्यान गुमाए ।

तीन वर्षदेखि नसासम्बन्धी अत्यन्तै दुर्लभ रोगबाट पीडित बास्केटबल संघका निवर्तमान अध्यक्ष शेर्पाले त्यसबीचमा अमेरिका, भारत र चीनमा उपचार गराएका थिए ।

त्रिभुवन आर्मी क्लब तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी रामकुमार विश्वासको चैत ११ गते मोरङमा ४३ वर्षको अल्पायुमै निधन भयो । २०६० को दशकमा आर्मी तथा राष्ट्रिय टोलीका लागि खेलेका विश्वास आर्मीबाट सेवानिवृत्त भएपछि पारिवारिक आर्थिक दायित्व पूरा गर्न कतार वैदेशिक रोजगारीमा गएका थिए । तर त्यहाँ ब्लड क्यान्सर भएको थाहा भएपछि उनी केही महिनाअघि घर फर्किएका थिए ।

यसैगरी वर्ष २०७८ मा एथलेटिक्सका प्रशिक्षक नरबहादुर शाही, भलिबलका प्रशिक्षक ज्ञानेन्द्र विष्ट र आइटिएफ तेक्वान्दोका पूर्वप्रमुख प्रशिक्षक अञ्जुनाथ श्रेष्ठले पनि ज्यान गुमाए । नेपाली खेलकुदलाई आफ्नो समयमा महत्त्वपूर्ण योगदान गरेर बितेको वर्ष देहत्याग गर्नेमा जर्मन नागरिक होल्गर ओभरमन पनि रहे । 

सन् १९९० को दशकमा उनैले सञ्चालन गरेको युवा विकास परियोजनाबाट उत्पादित खेलाडीको पुस्ताले लामो समय नेपाली फुटबलमा राज गर्यो । नेपाली राष्ट्रिय टोलीका पूर्व स्टारहरू उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरि खड्कालगायतका खेलाडीको प्रतिभा प्रस्फुटन गराउन होल्गरको योगदान महत्त्वपूर्ण थियो । नेपाल वुद्धिचाल संघका  पूर्व वरिष्ठ उपाध्यक्ष सान्तेषमान सिंह प्रधानले पनि ज्यान गुमाए । नेपाली खेलकुदमा चेसलाई आफ्नो अस्तित्व दिलाउन उनको भूमिका साँच्चै अतुलनीय रह्यो ।

आफ्नो जीवनकालमा नेपाली खेलकुदको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान गरेका सबै दिवंगत खेलकर्मीप्रति खेलाडी डटकमको तर्फबाट हार्दिक श्रद्धाञ्जली !