काठमाडौं । प्रशिक्षक योर्गन क्लोपले दुई साताअघि एमेक्स रंगशाला, ब्राइटनमा लिभरपुल समर्थकसँग माफी माग्नुपरेको थियो । दुई हात जोडेर माफी माग्दै गर्दा क्लोप निकै भावुक देखिए । एमेक्समा लिभरपुलले घरेलु टोलीसँग ३-० को लज्जास्पद हार बेहोरेपछि उनी समर्थकसँग माफी माग्न बाध्य भएका हुन् । नहोस् पनि कसरी । ब्राइटनअघि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डसँग पनि तीन गोल खाएको थियो ।
‘यो मेरो प्रशिक्षण करियरकै खराब नतिजा हो,’ क्लोपले भनेका थिए, ‘यो जस्तो नराम्रो खेल मलाई याद छैन । लिभरपुलको मात्र होइन, सबै अरू क्लबको पनि ।’ लिभरपुलले क्लोपको नेतृत्वमा पहिलो सिजनबाहेक सबै सिजन कम्तीमा पनि चौथो स्थान हासिल गरेको छ । लिभरपुलमा यो क्लोपको आठौं सिजन हो । उनको यो नमीठो अभिव्यक्तिले क्लबको वर्तमान स्थिति झल्काउँछ ।
पछिल्लो सिजन लिभरपुलले सम्भावित सबै प्रतियोगिता खेल्यो । घरेलु प्रतियोगिता लिग कप र एफए कप जितेको लिभरपुलले युरोपियन च्याम्पियन्स लिगको फाइनल पनि खेलेको थियो । लिभरपुल सम्भावित चार उपाधि जित्न एक कदममात्र पछाडि थियो । च्याम्पियन्स लिगमा रियाल मड्रिडसँग १-० को हार भोग्नुअघि लिभरपुल घरेलु लिगमा च्याम्पियन म्यानचेस्टर सिटीभन्दा १ अंकले मात्र पछाडि थियो । दुवैमा भाग्य बाधक बन्दा लिभरपुल ‘क्वाड्रापल’ जित्नबाट वञ्चित भएको थियो ।
तर, जारी सिजन क्लबको प्रदर्शन ठीक उल्टो छ । पछिल्लो खेलमा संघर्षरत अर्को टोली चेल्सीसँग गोलरहित बराबरी खेलेको लिभरपुल १९ खेलमा २९ अंकसहित नवौं स्थानमा छ । जुन शीर्षस्थानको आर्सनलभन्दा २१ अंक कम हो । एक खेल बढी खेलेको चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड १० अंकले अगाडि छ ।
पाँच वर्षदेखि लगातार इङ्ल्यान्डको दोस्रो उत्कृष्ट टोली रहेको लिभरपुलको ओरालो यात्रा के कारणले सुरु भयो त ?
यदि फुटबल साँच्चै सरल खेल भएको भए लिभरपुलले आफ्नो खराब प्रदर्शनका कारणहरू खोजेर त्यसको छिटोभन्दा छिटो समाधान गर्थ्यो होला । तर फुटबल खेल त्यति सजिलो छैन । कारणहरू पत्ता लागे पनि यसको निवारण गर्न समय लाग्छ । लिभरपुलको सन्दर्भमा पनि यस्तै भएको हो । तर, यसो भनिरहँदा एक अर्थमा लिभरपुलले समस्याको निदान नै गर्न नसक्ने भने पक्कै होइन । समस्या खेलाडीको प्रदर्शनमै छ ।
गोलरक्षक एलिसन बेकरलाई छाडेर सबैतिर शंका र चिन्ता छ । कर्नर बलहरूलाई क्लियर गर्न सकिरहेका छैनन् । रक्षक भर्जिल भान डाइक सजिलै बिट भइरहेका छन् । विपक्षी फरवार्डहरूलाई मार्क गर्न सकिरहेका छैनन् लिभरपुलका रक्षकहरू । त्यसैले त हो साना टिमसँग पनि सजिलै ३ गोल खानुपरेको । त्यस्तै अग्रपंक्तिमा पनि रक्षापंक्तिजस्तै हालत छ । अवस्था नाजुक छ । जित्ने आत्मविश्वास हराइसकेको छ । विश्वकपपछि त झन फरवार्डहरूको प्रदर्शन लथालिङ्ग छ । विश्वास नै गर्न नसकिने । लिभरपुलको प्रेसिङलाई ठ्याक्कै के भएको छ भन्न गाह्रो छ ।
लुइस डियाज र डिएगो जोटाले नखेलेको लामो समय भइसक्यो । कहिले फर्कन्छन् ठेगान छैन । रोबर्टो फिर्मिन्होले पिँडुलाको चोट बोकेको एक महिना भइसक्यो । यस्तोमा लिभरपुलले कतार विश्वकपमा ३ गोल गरेका डच विंगर कोडी ग्याक्पोलाई अनुबन्धन गरेको छ । ३ करोड ७० लाख पाउन्ड खर्च गरिएका ग्याक्पोबाट लिभरपुलले विश्वकपको जस्तो स्तरीय प्रदर्शन अपेक्षा राखेको छ ।
लिभरपुलले सिजनको सुरुमा स्ट्राइकर डार्बिन नुनेज भित्र्याएको थियो । तर उनीबाट सोचेअनुरुप गोलहरू निस्केका छैनन् । नुनेजले १४ खेलमा जम्मा ५ गोल गरेका छन् । उता यसै सिजन भित्रिएका इर्लिङ हालान्डले म्यानचेस्टर सिटीका लागि १९ खेलमा २५ गोल गरिसकेका छन् । तटस्थ भएर हेर्दा हालान्डको स्तर नुनेजभन्दा माथि रहेको मान्न सकिएला । तर, लिभरपुल समर्थकलाई यो कुरा मान्य हुँदैन । समर्थकसँग चित्त दुखाउने अधिकार छ ।
दयनीय सिजनको अर्को मुख्य कारण लिभरपुलले जारी सिजन खेलमा नियन्त्रण जमाउन सकिरहेको छैन, जसका लागि लिभरपुल चिनिन्छ । केही साताअघि मात्र क्लोपले मिडफिल्डरद्वय अर्जेन्टिनी इन्जो फर्नान्डेज र एक्वेडोरियन मोइसेस काइसेडोलाई टिममा भित्र्याउन चाहेको हल्ला बजारमा फैलिएको थियो । यो हल्लाले पनि लिभरपुलले खेलमाथि नियन्त्रण राख्न नसकेको कुराको सम्बोधन गर्थ्यो ।
लिभरपुलले पछिल्ला केही वर्षहरूमा जे जति जित्यो, ती सबै ठूलो खर्चविना नै जितेको थियो । खर्च नै नगरेको भने पक्कै होइन । भन्नुको तात्पर्य लिभरपुलले कुनै पनि ठूलो खर्च नगरी स्तरीयतालाई निरन्तरता दिएको धेरै भइसक्यो । तर अब भने लिभरपुलले आफ्नो यो प्रभावशाली विशेषता परिमार्जित गर्न आवश्यक छ । आवश्यक ठाउँमा पैसा खर्च गर्न नसक्नु पनि क्लबको कमजोरी हो ।
अहिलेकै प्रदर्शनले निरन्तरता पाउने हो भने लिभरपुललाई अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुन एकदमै गाह्रो हुनेछ । च्याम्पियन्स लिगमा छनोट हुन नसके क्लबको आम्दानी घट्नेछ । जसले आगामी दिनमा खेलाडी अनुबन्धनमा नकारात्मक असर ल्याउने छ ।
कप्तान जोर्डन हेन्डरसन उमेरले ३२ वर्ष पुगिसकेका छन् । थियागो आल्कान्टारा हेन्डरसनभन्दा एक वर्ष कान्छा छन् । हेन्डरसनको प्रदर्शनमा स्तरीयताको प्रश्न उठेको वर्षौं भइसक्यो । मध्यपंक्ति पनि कोभिड महामारीयता तहसनहस जस्तै छ । जताततै अभावै अभाव छ । क्लबलाई मध्यपंक्तिमा ध्यान नदिएको आरोप लागेको धेरै भइसक्यो । अभाव, आरोप र वैकल्पिक केही खेलाडीको तालमेलमा पनि लिभरपुलले पछिल्ला केही वर्ष राम्रो गरेको थियो । तर अब भने त्यस्तो हुने छैन । साना क्लबहरूले पनि ठूला लगानी गरिरहेका छन् । जसको प्रत्यक्ष प्रभाव टोलीको प्रदर्शनमा देखिएको छ ।
प्रतिस्पर्धी क्लबहरूले दिनहुुँ खर्च बढाइरहँदा क्लोप भने अझै पनि भएका खेलाडीलाई मौका दिने कुरा गर्छन् । जेहोस् क्लोप बोलेको कुरा पूरा गर्ने मान्छे भने हुन् । सायद यो सिजन लिभरपुललाई भाग्यले पनि साथ नदिएको हो । जेसुकै होस् क्लोपले यसको निवारण चाँडै नै गर्नेछन् । हाँस्न बिर्सिसकेका लिभरपुल समर्थकको अनुहारमा मुस्कान ल्याउन क्लोपका लागि अहिले उनीहरूकै साथ आवश्यक छ । जुन क्लोपले पाएका छन् । सदैव पाइरहने छन् । ‘यु विल नेभर वाक अलोन’ भनेर यत्तिकै भनिएको होइन ।