राष्ट्रिय यु २० फुटबल टिम

अबका ‘राइजिङ स्टार’ फुटबलर

नेपालको यु–२० राष्ट्रिय फुटबल टिम बिहीबार साफ यु–२० च्याम्पियनसिप खेलेर फर्किसकेको छ । सुरुआती दुई संस्करण उपाधि जितेको नेपालले त्यसपछि भने समूहबाट माथि उठ्न सकेको छैन । दुई पटक उपाधि जित्दा एन्फा एकेडेमीको ‘सेट’ टिम पाएको नेपालले त्यसपछिका दुई संस्करणमा भने सोहीअनुसार न टिम पायो न त रिजल्ट । अघिल्लो संस्करण सन् २०१९ मा त नेपालले एक खेल पनि जित्न सकेको थिएन ।

यसपालि भुटान र पाकिस्तानले सहभागिता जनाउँदा साफमा पाँच राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदा बंगलादेश र भारत उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा शुक्रबार राति ब‌ंगलादेशलाई ५-२ ले हराउँदै भारतले उपाधि जित्यो ।

पहिलो पटक यु–२० उमेर समूहका आधारमा आयोजना भएको प्रतियोगितामा नेपाल उपाधिविहीन भए पनि केही खेलाडीको प्रदर्शन भने उच्च रह्यो । करिब ७ सयको खुला छनोटबाट २३ खेलाडीभित्र स्थान बनाएका केही खेलाडी पहिलो पटक उच्चस्तरीय प्रतियोगितामा अनुभवसँगै आफूलाई प्रमाणित गर्न सफल भएका छन् ।

फाइनल पुग्न असफल नेपालले प्रतियोगितामा औसत प्रदर्शन गरेको थियो । दुई खेलमा जित निकाल्दा एक खेलमा बराबरी तथा अर्काे खेलमा हार बहोरेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गर्दा दोस्रो खेलमा श्रीलंकामाथि ३–० को विजेता नतिजा निकालेको नेपालले तेस्रो खेल भारतलाई ८–० ले सुम्पिएको थियो । अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै अंक बाँडनुपरेको थियो ।

पहिलो पटक यु–२० उमेर समूहका आधारमा आयोजना भएको प्रतियोगितामा नेपाल उपाधिविहीन भए पनि केही खेलाडीको प्रदर्शन भने उच्च रह्यो । करिब ७ सयको खुला छनोटबाट २३ खेलाडीभित्र स्थान बनाएका केही खेलाडी पहिलो पटक उच्चस्तरीय प्रतियोगितामा अनुभवसँगै आफूलाई प्रमाणित गर्न सफल भएका छन् ।

प्रशिक्षक मेघराज केसीले कप्तान आयुश घलान, कृतिशरत्न छुन्जु, आशिष राई, सुगम सुवालजस्ता अनुभवी खेलाडी टोलीमा पाएका थिए । सुगमले डेनमार्कमा आफूलाई व्यस्त राख्दा, आयुशले राष्ट्रिय टिमबाट समेत आफुलाई प्रमाणित गरिसकेका छन् । यता कृतिश र आशिषले भने ए डिभिजन लिगमा समेत राम्रो स्थान पाएका थिए । आशिष भने राष्ट्रिय टोलीमा स्थान बनाएर पनि डेब्युको पर्खाइमा छन् ।  

यी त भए अनुभवीका कुरा । 

प्रतियोगितामा सोनित दाहाल, सृजन धामी, रोहित सुब्बा, उनेश चौधरीले बेन्चमै समय बिताए । त्यसबाहेक मैदानमा रहेर आफूलाई प्रमाणित गरेका ६ खेलाडीलाई खेलाडी डटकमले ‘राइजिङ प्लेयर’का रूपमा लिएको छ । जसले भविष्यमा राष्ट्रिय टिम होस् या घरेलु प्रतियोगितामा राम्रो प्रदर्शनको छाप छोड्न सक्छन् ।

१.आशिष राई

माल्दिभ्स र श्रीलंकाविरुद्ध जित निकाल्दा होस् या बंगलादेशविरुद्ध बराबरी खेल्दा आशिष पूरा मैदानमा छाएको देखियो । डिफेन्स होस् या अट्याकमा जाँदा आशिषले पूरा टिमलाई सहयोग गरिरहे । पूर्वका यी अट्याकिङ मिडफिल्डर घरेलु प्रतियोगितामा समेत आफूलाई चर्चामा राख्न सफल भएका थिए । त्यही अनुभव उनले कालिङ्गा रंगशालामा साटे । आशिषले अन्तिम पटक च्यासल युथ क्लबबाट ए डिभिजन लिग र काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेलेका छन् । भारतविरुद्ध ८–० को हारमा ६७औं मिनेट मैदान बिताउनुबाहेक माल्दिभ्स, श्रीलंका र बंगलादेशविरुद्ध पूरा समय मैदानमा बिताएका थिए ।

२.सुमित श्रेष्ठ

युवा खेलाडी सुमित यु–२० साफ च्याम्पियनसिपका सफल खेलाडीमा रहे । यसअघि राष्ट्रिय स्तरका प्रतियोगितामा गुमनाम देखिएका सुमितले भारतमा भने टोलीका लागि महत्त्वपूर्ण प्रदर्शन गर्दै चर्चा बटुले । प्रशिक्षक केसीले सुमितलाई तालिकाका चारै खेलमा ९० मिनेट नै अवसर दिलाए । फुटसल नेसनल टिमबाट खेलिसकेका सुमितले ‘बी’ डिभिजन लिगमा भने बाँसबारी क्लबको प्रतिनिधित्व गरेका थिए । गण्डकी प्रदेशका विंग्सब्याक सुमितले लामा शट हान्न र पास निकाल्न सफल देखिए । साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सुमितलाई उच्चस्तरीय प्रतियोगिता खेल्न ढोका खोलेको छ ।  

३. अभिषेक वाइबा

राइटब्याक अभिषेकले यु–२० साफ च्याम्पियनसिपमा आफूलाई प्रमाणित गरेका छन् । यसअघि नै नेपालको युथ–१५ र यु–१६ टिमबाट खेलिसकेका अभिषेकले भारतमा समेत प्रशिक्षक केसीको मन जित्न सफल भए । अन्तिम खेलमा बंगलादेशविरुद्ध ६९औं मिनेट मैदान बिताउनुबाहेक, माल्दिभ्स, श्रीलंका र भारतविरुद्ध ९० मिनेट (इन्जुरी समय बाहेक) बिताएका छन् । घरेलु प्रतियोगितामा भने अभिषेकको नाम खासै चर्चामा आएको छैन । ‘सी’ डिभिजन छनोट वागमती युवा क्लबबाट खेलेका सर्लाहीका १८ वर्र्षीय अभिषेकले भारतमा आयोजित यु–१५ साफ र जोर्डनमा आयोजित यु–१६ एएफसी कप छनोट खेलेका छन् ।

४. दीपेश गुरुङ

सहिद स्मारक ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका दीपेशले साफ च्याम्पियनसिपमा गजबको प्रदर्शन गरे । उद्घाटन खेल त्यहाँमाथि प्रतियोगिताको पहिलो गोल दीपेशकै नाममा रह्यो । बक्सबाहिरबाट उनले गरेको आकर्षक गोलले निकै चर्चा पायो । ए डिभिजन लिग २०७८ मा रेलिगेसन परेको ब्रिगेड ब्वाइज क्लबबाट १३ मध्ये ७  खेलमा ३४६ मिनेट (इन्जुरी बाहेक) मैदान बिताएका दीपेशले साफमा जबरजस्त प्रदर्शन गरे । भुवनेश्वरमा अट्याकिङ मिडफिल्डर सम्हालेका दीपेशले नेपालको यु–१४ टिमबाट समेत खेलेका छन् । सुरुआती तीन खेलमा ९० मिनेट नै मैदानमा बिताएका उनी अन्तिम खेलमा भने बंगलादेशविरुद्ध रातो कार्ड सामना गर्दै ६९ मिनेटमा मैदान छाड्नु दुखद पक्ष रह्यो ।

५. अजय चौधरी

बारा सिमराका अजयले साफमा नेपालको डिफेन्सलाइन सम्हालेका थिए । जर्सी नम्बर २ लगाएर सिनियर टोलीका अनन्त तामाङको झझल्को दिने अजयले आफूलाई प्रमाणित गरेका छन् । घरेलु लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) बाट बी डिभिजन लिग खेलेका अजयले यु–१५ र यु–१६ टिमबाट देशको प्रतिनिधित्व गरिसकेका छन् । अजयले साफमा भारतविरुद्ध ५७ मिनेट मैदानमा बिताउनुबाहेक अन्य तीन राष्ट्रविरुद्ध पूरा समय मैदानमा बिताएका थिए ।

६. ईश्वर गुरुङ

गोलरक्षक ईश्वरले चारै खेलमा नेपालको गोलपोस्टको जिम्मेवारी पाएका थिए । पहिलो खेलमा माल्दिभ्सविरुद्ध ३–० को अग्रता लिएसँगै प्रशिक्षक केसीले ईश्वरको स्थानमा दोस्रो रोजाइका जियारत शेखलाई ८२औं मिनेटमा मौका दिएका थिए । भारतसँग ३२औं मिनेटमा बेहोरेको गोल बिर्सने हो भने ईश्वरको प्रदर्शन साफमा दमदार रह्यो । अन्य खेलमा पूरा समय मैदान बिताएका ईश्वरले कम अनुभव भए पनि साफमा आफूलाई प्रमाणित गरेका छन् । गत ए डिभिजन लिग २०७८ मा जावलाखेल युथबाट अन्तिम खेलमा संकटाविरुद्ध १–१ गोलको बराबरी खेल्दा उनले शीर्ष डिभिजनमा डेब्यु गरेका थिए । विभिन्न मोफसल प्रतियोगितामा जावलाखेलबाट खेलेका ईश्वर युथ टिममा खेल्ने धादिङ जिल्लाका पहिलो फुटबलर हुन् ।