- सरगत
अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव असार ६ गते हुँदै छ । त्यसले नेतृत्वबारे निर्णय गर्नेछ । अध्यक्षमा कि त कर्माछिरिङ शेर्पा दोहोरिने छन्, होइन भने पंकज नेम्बाङ नयाँ अध्यक्षका रूपमा चुनिने छन् । यसमा नयाँ के नै रह्यो र ?
नयाँ त्यतिबेला हुनेछ, जतिबेला नेतृत्वमा आउनेले दाबी गर्नेछ, ‘म एन्फाको यति औं अध्यक्ष हुँ ।’ यस्तो घोषणा गरे त यो नयाँ र नौलोमात्र होइन, यो त आश्चर्यजनक नै हुनेछ । तर, तय छ यस्तो हुने छैन । किनभने नेपाली फुटबलको सर्वोच्च संस्थालाई आफ्नै इतिहासबारे धेरै थाहा छैन ।
खासमा अध्यक्षकै इतिहासबारे एन्फा बेखबर छ । अझ अनभिज्ञ नै छ भन्दा हुन्छ । अब त यो तथ्य नयाँ रहेन । नेपालमा सहिद स्मारक लिग सुरु भएको २०११ सालतिर हो । धेरैलाई लाग्दो हो, एन्फा पनि यत्तिकै पुरानो हो । केहीले यस्तै दाबी पनि गर्छन् । खासमा एन्फाको अस्तित्व आएको धेरै पछि मात्र हो, लगभग ०३० सालपछि । त्यसअगाडि नेपाली फुटबलको सर्वोच्च निकाय थियो, नेपाल फुटबल संघ । नेपाली खेलकुद न हो । विवादै विवादबीच यो संस्था सधैंका लागि हराएर गइसकेको छ ।
यसको अस्तित्व समाप्त भएपछि नै जन्म भएको हो एन्फाको । एउटा तथ्य के पनि निश्चित छ भने एन्फाको पहिलो अध्यक्ष हुन्, कमल थापा । खेलाडी छँदै उनी एन्फाको अध्यक्ष भइसकेका थिए । त्यसैले भनिन्छ, रामै्र खेलाडी भएर पनि उनको खेलजीवन लामो चलेन । जेहोस्, यो ऐतिहासिक तथ्य रह्यो, उनी नै एन्फाको पहिलो अधयक्ष हुन् । त्यसपछि पालो आउँछ चन्द्रबहादुर गुरुङको । यी दुई पूर्ण अध्यक्ष रहे । झन् त्यसपछि तीन कार्यबाहक अध्यक्षको पालो आउँछ ।
यी हुन्, रवि शम्शेर जबरा, धु्रवबहादुर प्रधान र पदमकृष्ण श्रेष्ठ । यो क्रमपछि एन्फाले फेरि पूर्ण अध्यक्ष पायो, आदित्यध्वज जोशीको रूपमा । त्यसपछि फेरि केही समय पुरुषोत्तम श्रेष्ठ कार्यबाहक अध्यक्ष भए । उनको कार्यकाल लामो रहेन । रुक्म शम्शेर राणा अध्यक्षमा रूपमा अगाडि आए । उनी कार्यबाहक अध्यक्ष थिए कि पूर्ण अध्यक्ष थिए । कोहीसँग पनि ठ्याक्कै जानकारी वा जवाफ छैन । यतिमात्र भन्न सकिन्छ, उनी नेपाली खेलकुदमा ठुल्ठूला पदमा पुग्नेमध्ये एक भाग्यमानी हुन् ।
उनीपछि गणेश थापाको युग सुरु हुन्छ । उनी सबैभन्दा लामो समय एन्फाको नेतृत्वमा रहे । उनी आफैं पनि विवादबाट टाढा रहन सकेनन्, आफ्नो कार्यकालको अन्त्यतिर त अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को प्रतिबन्धमै परे । त्यसपछि एन्फाले एक अर्को कार्यबाहक अध्यक्ष पाए, ललितकृष्ण श्रेष्ठ । उनीपछि एन्फाले पहिलो चुनावबाट निर्वाचित अध्यक्ष पायो, नरेन्द्र श्रेष्ठ । त्यसो त थापा पनि प्रत्येकपल्ट चुनावबाट चुनिएका थिए । तर, उनले कुनै पनि समय प्रतिद्वन्द्वीको चुनौती सामना गर्नुपरेन । निर्विरोध रहेर नै नेतृत्व गरे ।
त्यसपछिका अध्यक्ष त कर्मा छिरिङ शेर्पा नै भए । प्रश्न के पनि बाँकी छ भने यो सूची ठीक छ त ? यसको जवाफ यस लेखकसँग पनि छैन । झन् यी अध्यक्ष र कार्यबाहक अध्यक्षको कार्यकाल के कस्तो थियो, कति समयको त्यसबारे त भन्न केही पनि सकिन्न । यति त भन्न सकिन्न भने यी अध्यक्ष र कार्यबाहक अध्यक्षको नेतृत्वमा रहेको कार्यसमितिमा को–को थिए त झन पो भन्न सकिन्न । सायद असम्भव नै छ यसबारे केही भन्न । डर छ, कतै यी सबै तथ्य इतिहाससँग हराएर जाने त होइन ।
होइन, हराएर जान त दिनै हुन्न । नेपाली खेलकुदको दस्ताबेजीकरणको अभियानले पनि हराएर जान दिने छैन । खेलाडी डटकमले थालेको यो अभियानले फुटबलको प्रशासनिकमात्र होइन, मैदानभित्रको इतिहास खोतल्ने क्रमलाई निरन्तरता दिइनैरहनेछ । अन्य खेलका प्रशासनिक तथा प्राविधिक इतिहाससँगै राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र युवा तथा खेलकुद मन्त्रालयको विकासक्रम पनि खोज्ने क्रम जारी राखिनेछ ।
इतिहासमै फर्कने हो भने नेपाल फुटबल संघका पहिलो अध्यक्ष हुन्, नर शम्शेर राणा । यसका अन्तिम दुई अध्यक्ष हुन्, आदित्यध्वज जोशी र अमिरकृष्ण श्रेष्ठ । त्यस अर्थमा जोशी नेपाल फुटबल संघ र एन्फा दुवैका अध्यक्ष हुने एकमात्र भाग्यमानी व्यक्ति हुन् । अन्त्यमा फेरि असार ६ को चुनावमै फर्कने हो भने नयाँ निर्वाचित हुनेले के आफूभन्दा अगाडिका अध्यक्षबारे खोजी गर्ने प्रयास गर्नेछन् त ? गरे धेरै राम्रो । आखिरमा शेर्पा होस् वा नेम्वाङ । उनीहरू यहाँसम्म पुग्न आधार तयार पार्ने त तिनै पुराना अध्यक्षहरू नै हुन् ।