हाल्यान्ड परिवारमा एर्लिङ एक्लो स्टार होइनन् । उनका बुवा एल्फीले नर्वेको राष्ट्रिय फुटबल टिमबाट करिब ६ वर्ष खेलेका थिए । उनकी आमा मारिता हेप्टाथलनकी राष्ट्रिय च्याम्पियन थिइन् । एर्लिङ हालान्ड खेलकुदीय वातावरणमै हुर्किए । यसो भएपछि उनमा खेलकुदप्रतिको रुचि स्वतः जागृत हुने नै भयो । करियरका रूपमा भने उनले बुवाले खेलेको खेललाई छाने ।
हालान्ड परिवारका कान्छा सन्तान हुन् एर्लिङ । सानैबाट उनी दाजु एस्टार र दिदी गाब्रियलसँग फुटबल खेल्थे । आफूभन्दा ठूलासँग खेल्दा जो कोही बालकलाई पनि सजिलो हुँदैन । यसकारण एर्लिङका लागि दाजु र दिदीविरुद्ध खेल्न शारीरिक रूपमा कठिन थियो । फलतः उनले स्किलको सहयोग लिनुपथ्र्यो । यो उनका लागि आफूलाई कौशलले निपुण खेलाडी बनाउने अभियानको सुरुआती बिन्दु थियो ।
हुर्कंदै गर्दा हाल्यान्ड फुटबलमा मात्रै सीमित थिएनन् । उसो त अरूतिर जस्तै नर्वेमा पनि बालबालिका एकभन्दा बढी खेलमा रमाउँथे । हाल्यान्डले पनि फुटबलबाहेक अरू पनि खेल खेले । कालान्तरमा यसले हाल्यान्डलाई सहयोग पुर्याएको विश्वास गरिन्छ । खेलकुद विज्ञानमा गरिएका कयौं शोधले के देखाएको छ भने सानो छँदा एकभन्दा बढी खेल खेलेका खेलाडीले पछि गएर आफ्नो करियरमा राम्रो गरेका छन् । बेलायतमा विभिन्न खेलमा च्याम्पियन बनेकाहरूमाथि शोध गर्दा उनीहरूले किशोरावस्था वा त्योभन्दा अगाडि एकभन्दा बढी खेल खेल्ने गरेको पाइएको थियो ।
हाल्यान्ड तीन वर्षको हुँदा उनको परिवार ब्रायन नाम गरेको सानो नगरमा सरेको थियो । जहाँको जनसंख्या मुस्किलले १२ हजार थियो । नर्वेको दक्षिण पश्चिमी तटमा रहेको यो नगरमा बालबालिकाका लागि खेल्ने ठाउँ प्रशस्त थियो । त्यहाँ हुर्किंदै गर्दा हाल्यान्डले विभिन्न खेल खेले । ‘म ह्यान्डबल पनि खेल्थें । म त्यतिबेला सायद ९ वर्षको थिएँ । ह्यान्डबलबाहेक म ट्र्याक एन्ड फिल्डका खेलहरूमा पनि संलग्न थिएँ अनि गल्फमा पनि मलाई रुचि थियो,’ हाल्यान्डले भनेका छन् ।
धेरैलाई थाहा नहुन सक्छ, हाल्यान्डले लङजम्पमा विश्व कीर्तिमान राखेका छन् । पाँच वर्षको हुँदा हाल्यान्डले जनवरी, २००६ मा १६३ सेन्टिमिटर जम्पको कीर्तिमान राखेका थिए । यो कीर्तिमान आजको दिनमा पनि कायम छ । पछि उनले लङजम्पलाई निरन्तरता दिएनन् । तर उनी अरू खेलमा सक्रिय थिए । १४ वर्षको हुँदा उनी ह्यान्डबल, एथलेटिक्स र क्रसकन्ट्री स्कीका परिपक्व खेलाडी बनिसकेका थिए ।
सन् २००५ मा ब्रायन नगरको क्लब ब्रायन एफकेले इन्डोर मैदान निर्माण गर्यो । यो मैदानको निर्माण भएसँगै हाल्यान्ड र उनका साथीहरूले १२ महिना नै फुटबल खेल्न मौका पाउने भए । नभए त त्यहाँ जाडो महिनामा फुटबल मैदान हिउँले ढाकिएको हुन्थ्यो । त्यस्तोमा फुटबल खेल्न सम्भव हुँदैनथ्यो । नयाँ इन्डोर मैदानमा हाल्यान्ड र उनका साथीहरू नियमित खेल्थे । हाल्यान्ड र उनका साथीहरू कुनै टिममा थिएनन् । यसो भएपछि उनीहरू बिना प्रशिक्षण खेल्थे ।
|
औपचारिक प्रशिक्षणबिना खेल्दा साना उमेरका खेलाडीहरू बढी क्रिएटिभ हुने बताइन्छ । सन् २०१४ को विश्वकप जितेको जर्मन टिमका खेलाडीबारे अध्ययन गर्दा सानो हुँदा अधिकांशले औपचारिक तालिमबिना खेल्ने गरेको तथ्य पत्ता लागेको थियो । हाल्यान्ड आठ वर्षको उमेरमा ब्रायन एफकेसँग आबद्ध भए । अब भने उनको औपचारिक तालिमको चरण सुरु भयो । नर्वेजियन फुटबलको नियमअनुसार उनले १२ वर्ष नपुग्दासम्म इलेभेन ए साइड भने खेल्न पाएनन् । नर्वेमा १२ वर्षमुनिका खेलाडीलाई स–सानो समूहमा राखेर अभ्यास गराइन्छ । त्यसरी नै खेल खेलाइन्छ । यसो गर्दा खेलाडीले धेरै समय बल आफ्नो नियन्त्रणमा राख्न सक्ने विश्वास गरिन्छ । जसले गर्दा उसको खेलकौशल पनि बढ्छ ।
हाल्यान्ड ६ फिट ४ इन्च अग्ला छन् । किशोर अवस्थामा उनी खासै अग्ला थिएनन् । पछि उनी ह्वात्तै बढेका हुन् । उचाइ ढिलो बढ्दा हाल्यान्डलाई फाइदा भएको छ । किनभने किशोर हुँदा होचा रहेका हाल्यान्ड अरू अग्ला खेलाडीसँग भिड्दा शारीरिक होइन, प्राविधिक खेल देखाउने प्रयास गर्थे । यो उनको बाध्यता थियो । त्यही बाध्यताले उनलाई अहिले स्किलफुल स्ट्राइकर बनाएको छ । उनीसँग अहिले बलियो शरीर र कौशल दुवै छ ।
‘हाल्यान्ड ११–१३ वर्षको हुँदा चलाख थिए । शारीरिक रूपमा उति धेरै बलियो नभएपछि उनी छरितो खेल देखाउने प्रयास गर्थे । सानैमा सिकेको कौशलले उनलाई अहिले फाइदा भएको छ,’ हाल्यान्डलाई ब्रायन एफकेको एकेडेमीमा तालिम दिएका प्रशिक्षक आल्फ इन्गिभ बे्रनस्टेन सुनाउँछन् ।
हाल्यान्ड सिनियर आफ्ना पालाका नाम चलेका खेलाडी थिए । उनी लिग खेल्न इंग्ल्यान्डसम्म पुगेका थिए । लिड्स युनाइटेड, नटिङ्घम फरेस्ट हुँदै म्यानचेस्टर सिटीसम्मको जर्सी लगाए । युरोपियन क्लब फुटबलको पर्याप्त अनुभव बोकेका एल्फीले छोराको तालिममा भने कहिले पनि दख्खल दिएनन् । न त उनले आफ्नो छोरा यस्तो खेलाडी बनोस् भनेर नै सोचे । ‘एल्फीले हामीलाई कहिले पनि दबाब दिएनन् । हामीलाई आफ्नै तरिकाले उनका छोरालाई अभ्यास गरायौं,’ बे्रनस्टेन सम्झिन्छन् ।
|
खेल मनोविज्ञका रूपमा प्रख्यात रहेका डेभ कोलिन्सले गरेको शोधअनुसार स्थापित खेलाडीका बुवाआमाले एल्फीले जस्तै छोराछोरीको तालिममा दख्खल नदिने गरेको पाइएको छ । जबकि तालिममा दख्खल दिने, क्लब र प्रशिक्षक परिवर्तन गरिरहनेका छोराछोरीको करियर चाँडै अन्त्य हुने गरेको उक्त शोधको निचोड छ ।
एल्फीले छोराको करियरमा कहिले पनि हैकम नजमाएको बताइन्छ । उनले जुनियर हाल्यान्डलाई आफ्नो रोजाइको क्लब जान दिने गरेका छन् । उसो त छोरा हाल्यान्डका लागि आफ्ना पिताभन्दा ठूलो आइडल अरू कोही छैनन् । ‘मैले सधैं ठूला क्लबबाट ठूला लिगमा खेल्ने सपना बोकेको छु । यसो गर्न कत्तिको मिहिनेत गर्नुपर्छ भन्ने थाहा छ । म स्थापित खेलाडीहरूको प्रदर्शनबाट सिक्ने प्रयास गर्छु । सधैं उनीहरूको करियरलाई पछ्याएको छु । मेरा लागि आइडल खेलाडी धेरै छन् । तर, कोही पनि मेरो बुवाभन्दा ठूलो आइडल छैनन्,’ हाल्यान्डले सन् २०२० मा भनेका थिए ।
एउटा युवा खेलाडी स्टारमा परिणत हुन के के आवश्यक पर्छ त ? मिहिनेत, कौशल, तालिम, सायद जिन पनि । हाल्यान्डसँग यी सबै तत्व छन् । उनी अहिलेबाटै क्रिस्टियानो रोनाल्डोको खानपिन शैली पछ्याइरहेका छन् । मैदानबाहिर र भित्र उत्तिकै मिहिनेती छन्, अनुशासित छन् । हालै उनले टिम पनि नयाँ छानेका छन् । अर्को सिजन उनी आफ्नै बुवाले कुनै समय खेलेको सिटी जाँदै छन् । यो उनको करियरमा नयाँ खुड्किलो हुनेछ । र, विश्वकै उत्कृष्ट खेलाडीमा परिणत हुने मौका पनि ।