नेपाली खेलकुदको माहोल अहिले फुटबलमय छ । मैदानभित्र र बाहिरका सबैखाले प्रतिस्पर्धामा फुटबल उत्तिकै व्यस्त छ । चितवनको मैदानमा महिला फुटबल लिगको रस्साकस्सी चलिरहँदा पुरुषको राष्ट्रिय टोली पनि एसियन कपको तयारीमा मस्त छ । पुरुषको ए डिभिजन लिग सकिएको धेरै भएको छैन । मोफसलका विभिन्न मैदान गोल्डकपको माहोलमा झुमिरहेका छन् ।
मैदानबाहिरको फुटबल झन चर्को छ । सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) चुनावको मुखमा छ । चार वर्षअघिको चुनाव सकिएलगत्तै नयाँ चुनाव लागिसकेको एन्फा अहिले आन्तरिक शक्ति संघर्षको चरमोत्कर्षमा छ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) विवादमा स्वयं एन्फा, आयोजक र शीर्ष डिभिजनको लिगका क्लबहरू मुछिएका छन् । एनएसएल तत्काललाई नहुने निर्णय भइसकेको छ ।
|
एलिटहरूको प्रत्यक्ष सहभागिता र नेतृत्वमा हुन लागेको एनएसएल विवादको घेरामा भइरहँदा गत साता एकजना गरिब परिवारका पूर्वराष्ट्रिय खेलाडीले देहत्याग गरे । नेपाली फुटबलको एउटा सच्चा सिपाही रामकुमार विश्वासको ‘ब्लड क्यान्सर’का कारण अघिल्लो शुक्रबार मोरङको एउटा गाउँमा मृत्यु भयो ।
त्रिभुवन आर्मी क्लबका अग्ला रक्षक रामकुमार विश्वास २०६० को दशकमा नेपाली घरेलु फुटबलमा निकै चलेको नाम हो । आक्रामक रक्षक भए पनि मिडफिल्ड तथा आवश्यक पर्दा फरवार्डको भूमिकामा पनि उनी उच्च प्रदर्शन गर्ने खेलाडी हुन् । कर्नर वा सेटपिसमा एयर बल आउँदा ओभरल्यापमा गएर रामकुमारले आर्मीका लागि थुप्रै गोल गरेका छन् । राष्ट्रिय टोलीमा विश्वासले कमैमात्र मौका पाए । तर पाएका मौकालाई न्याय गर्न उनी कहिल्यै चुकेनन् ।
२०६२ सालमा काठमाडौंमै भएको सानमिगेल अन्तर्राष्ट्रिय कपमा रातो र नीलो नाममा नेपालका दुई टोली सहभागी थिए । नेपाल नीलोबाट खेलेका विश्वासले प्रतियोगितामा एक गोल गरेका थिए । आर्मीबाट सेवानिवृत्त भएपछि रामकुमार परिवारको आर्थिक संकट टार्ने उद्देश्यमा तीन वर्षअघि वैदेशिक रोजगारका लागि कतार पुगे । तर ‘ब्लड क्यान्सर’ले गाँजिसकेको थाहा पाएपछि उनी केही महिनाअघि घर फर्किएका थिए, मृत्युको प्रतीक्षा गर्न ।
|
नेपाली फुटबलको वास्तविकता उजागर गर्दै देशका लागि खेलेका, गोल गरेका, गोल रक्षा गरेका रामकुमारले चैत ११ को दिन अन्तिम श्वास लिए । वास्तवमा फुटबल भनेको विश्वव्यापी रूपमै गरिबको खेल हो । गाउँघर, पाखापखेरा र झुपडीका बस्तीहरूमा फुटबलको ‘कमल’ फुल्ने गर्छ । त्यसअर्थमा रामकुमार नेपाली फुटबलका साँचो प्रतिनिधिपात्र हुन् । तर, उनको निधनपछिका दृश्यले नेपालमा कम्तीमा फुटबलको त्यो छवि पनि मर्न लागेको संकेत मिलेको छ ।
विस्तारै समाजका ‘एलिट’हरूको कब्जामा जाने तर्खर गरिरहेको फुटबलमा देशका लागि खेलेका एकजना सिपाहीले गुमनाम मृत्युवरण गर्नुपर्यो । पदाधिकारीहरू आफैं वा परिवारका सदस्य बिरामी पर्दा समेत खुल्ने एन्फाको ‘खजाना’ रामकुमारका लागि बन्द रह्यो । उनको उपचारमा एन्फा र फुटबल परिवारको कुनै योगदान रहेन । कम्तीमा देशका लागि योगदान गरेको एउटा गरिब सिपाहीको मृत्युपछि उसको परिवारको सहयोगार्थ त तथाकथित ‘एलिट’हरूको मन रसाउनुपर्ने ! तर त्यो पनि भएन ।
|
यसैबीच मंगलबार ललितपुरको एउटा पार्टी प्यालेसमा एन्फाको विशेष साधारणसभा थियो । साधारणसभाका लागि देशभरबाट फुटबलका पदाधिकारीहरूको जमघट भयो । नेपाली फुटबललाई प्रतिनिधित्व गर्ने सबै तह र तप्काका सरोकारवालाको जमघट हुँदा कम्तीमा मृत्युवरण गरिसकेका रामकुमारको सम्मान र उनको परिवारको सहयोगार्थ केही निर्णय हुने अपेक्षा स्वाभाविक थियो । कम्तीमा लामो समयदेखि फुटबलसँग नजिक रहेर काम गरिरहेकाहरूले त्यतिको आशा गर्नु अस्वाभाविक थिएन ।
तर एन्फाको विशेष साधारणसभा चुनावी एजेन्डामा केन्द्रित थियो । अनि मौका पाए ‘एलिट’हरूको चासो रहेको एनएसएल मुद्दामा केही बोलेर ‘प्रभु’हरूलाई खुसी पार्नु पनि थियो । तर, साधारणसभामा सहभागी कसैलाई फुटबलको भावनासँग मतलब थिएन । उनीहरूलाई सायद लागिरहेको थियो, ‘उसै त गरिब, त्यसमाथि मृत्यु भइसकेको रामकुमारको नाम लिएर त्यो ‘एलिट’ सभालाई किन गरिब बनाउनु !’
साधारणसभामा चार दिनअघि मृत्यु भएका राष्ट्रिय खेलाडीको सम्मानमा मौनधारण गर्नेसम्मको औपचारिकता पनि नुहँदा त्यही कुरा त प्रमाणित भयो । आखिर फुटबल परिवार पनि त ‘ज्युँदोको मलामी’ न हो । त्यहाँ एजेन्डामै समावेश नभए पनि ठूला व्यावसायीहरू सम्मिलित एनएसएलको विषयमा कुरा गर्न समय थियो । आउँदै गरेको निर्वाचनमा मतदातालाई प्रभावित पार्दै नेतृत्व हत्याउने सम्भावनाका लागि बोल्ने माहोल थियो । तर, साँचो अर्थमा गाउँबस्तीहरू, झुपडीहरूमा खेल्दै आफूलाई निखारेर देशका लागि योगदान गर्ने हैसियतसम्म पुगेका रामकुमारहरूका संघर्षका लागि एन्फा साधारणसभामा समय निकाल्न गाह्रो थियो । भयो पनि त्यस्तै ।
|
एन्फाअन्तर्गत भइरहेका ‘बी’ डिभिजन लिगका तीन वटा खेलमा शनिबार रामकुमारको सम्मानमा मौनधारण गरिनुबाहेक फुटबल परिवारले उनलाई सम्झिनु पनि आवश्यक ठानेन । पक्कै पनि यो आश्चर्य लाग्ने विषय हो । किनकि सबै तहका क्लबदेखि जिल्ला हुँदै प्रदेश र एन्फाको केन्द्रमा पनि रामकुमारहरू (राष्ट्रिय खेलाडी) वा रामकुमार बन्न नसकेकाहरू र उनीहरूकै नाम भजाउनेकै बाहुल्य छ ।
आजको मितिमा गरिब भएकै कारण, राजनीतिक वा अन्य खालको पहुँच नभएकै कारण देशका लागि खेलेको खेलाडीको मृत्यु यति गुमनाम हुन्छ भने भविष्यमा अन्य राष्ट्रिय खेलाडीको हविगत के होला ? तथापि वर्तमान राष्ट्रिय टोलीका खेलाडीदेखि सबै पूर्व खेलाडीहरूबीच अचम्मको मौनता अहिले देखिएको छ । मानौं, उनीहरू आफ्ना लागि पनि गुमनाम मृत्युको बाटो खनिरहेका छन् । आफ्ना सन्ततिका लागि अन्धकार भविष्यको रेखा कोरिरहेका छन् ।
फुटबललाई आफ्नो व्यक्तिगत स्वार्थको साधन बनाउने मुद्दामा केन्द्रित सय हाराहारीका मानिसहरूको त्यो ‘एलिट’ सभाले गरिब रामकुमारको योगदान बिर्सिंदैमा समर्थकको मनबाट उनीप्रतिको सम्मान पक्कै कम गर्दैन । रामकुमार विश्वासले नेपाली फुटबलको श्रीवृद्धिका लागि गरेको योगदान इतिहासको पानामा स्वर्णाक्षरले लेखिइसकेको छ । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दै फुटबल उपयोग गरिरहेका कुनै पनि पदाधिकारीले यो इतिहास मेटाउन सक्ने छैनन् । समर्थकको मुटुमा सदैव रामकुमार विश्वासप्रतिको माया र सम्मान उत्तिकै रहिरहने नै छ ।
रामकुमार विश्वास, नेपाली फुटबलमा तपाईंको योगदान सधैं स्मरणीय रहनेछ । तपाईंको वैकुण्ठवास होस् । हार्दिक श्रद्धाञ्जली ।