वीरगंज युनाइटेड

नेपाली फुटबलमा 'एक्स्ट्रा अर्डिनरी' वीरगन्ज युनाइटेड

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी सहिद स्मारक बी डिभिजन लिगमा उपत्यकाबाहिरको एउटा टिम प्रतिस्पर्धा गरिरहेको छ । त्यो टिम हो वीरगन्ज युनाइटेड । उपत्यकाबाहिरको एकमात्र टिम । त्यसमा पनि एउटै समुदायका खेलाडीमात्र । साँच्चै फरक छ, वीरगन्ज युनाइटेड ।

कम मिहिनेत र लगावले बनेको होइन, अहिले बी डिभिजन लिग खेलिरहेको वीरगन्ज युनाइटेड । ०६९/७० सालमा जावलाखेल युथ क्लबबाट ए डिभिजन लिग खेल्थे, मुन्ना खान चौधरी । तर, घुँडाको लिगामेन्ट च्यातिएपछि बाध्य भएर खेलजीवन टुंग्याएका मुन्नाको फुटबल मोह यति कम थिएन कि चटक्कै छाडेर अन्यत्र लाग्न सकुन् ।

गाउँघरमा स्थानीय फुटबलका प्रतियोगिताहरू भइरहन्थे । आफैं खेल्ने इच्छा त थियो नै । तर खुट्टाले साथ नदिएपछि उनको केही सीप चलेन । यही परिस्थितिमा उनको दिमागमा फुटबललाई निरन्तरता दिने सोच आयो । चौधरी गाउँका घर-घर डुल्दै एक-एक जना किशोर बटुलेर फुटबल टिम बनाउन थाले ।

‘सुरुआती दिनमा सहज थिएन, त्यो बेला गाउँमा फुटबल खेलेर पनि पैसा कमाउन सकिन्छ भन्ने थिएन,’ मुन्ना ती दिन सम्झन्छन्, ‘केटाहरू भेला गर्नै गाह्रो हुन्थ्यो । भेला भए पनि उनीहरूलाई फुटबलतर्फ प्रेरित गर्न सकस थियो ।’

तर, अहिले वीरगन्ज युनाइटेडले गर्दा फुटबल पनि किसानी वा मेलापात जस्तै पेसा हो भन्ने विश्वास जाग्न थालेकोमा मुन्ना खान खुसी देखिन्छन् ।

मुन्नाले युवा भेला पार्दै गर्दा वीरगन्जको रोमाञ्चको कथा त्यति छिटो अगाडि पक्कै बढेन । त्यसबीचमा धेरै ‘सब प्लट’ छन् ।

मुन्नाको फुटबल प्यासन

‘म पहिले एन्फा एकेडेमीमा बसेर २०६९/०७० सालमा जावलाखेल युथबाट लिग खेलेको थिएँ । तर लिगामेन्ट गएपछि मैले खेल्न छाडें र बारा-पर्सातिरका चौधरी केटाहरू बटुल्दै टिम बनाएर फुटबल खेलाउन थालें,’ अहिले रातो जर्सीमा एन्फा कम्प्लेक्समा उत्रने र ‘पेस गेम’ पस्किने टोली फक्रँदै गर्दाका दिन मुन्नाले सुनाए ।

गाउँघरमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै गरेको चौधरी-११ क्लबमाथि एककान दुईकान गर्दै फुटबलका सरोकारवालाको नजर पर्दै गयो । र, इटहरीका दिलीप राईले पूर्वमा हुने मोफसलका प्रतियोगितामा चौधरी-११ टिमलाई खेल्ने मौका मिलाइदिए ।

‘सुरुमा आफ्नो क्लब दर्ता थिएन । मैले केही खेलाडीहरू भेला पारेर आफूले जे सिकेको थिएँ, त्यही ट्रेनिङ गराउँदै गएँ,’ जोसिला मुन्ना खान भन्छन्, ‘अरूको नाम लिएर प्रतियोगिता खेलाउँदै गएँ । स्यास्नी-११ भनेर खेलाएँ । त्यसपछि चौधरी-११ नामको क्लब राखेर केही वर्ष गोल्डकपहरू खेल्दै थियौं । त्यसै क्रममा हामी वीरगन्जका दाइहरूको आँखामा पर्यौं ।’

‘चौधरी-११ को खेल कसैले नदेखेको पक्कै थिएन । तर, यसरी सहयोग गर्ने कोही भएन, जसरी वीरगन्ज युनाइटेडले गर्यो,’ मुन्नाले सुनाए ।

मोफसलका गोल्डकपकै दौरान वीरगन्ज युनाइटेडको नजर मुन्नाको त्यो टिममा पर्यो । त्यसपछि चौधरी-११ वीरगन्ज युनाइटडमा परिणत भयो ।

कसरी जन्मियो त वीरगन्ज युनाइटेड ?

आफ्नो उमेरमा जिल्लास्तरमा फुटबल खेलेका अरविन्द्र अमात्य र अरविन्द बराललगायतका केही फुटबलप्रेमीबीच एउटा क्लब खोल्ने विषय निस्कियो । गाउँ-गाउँ डुलेर चौधरी समुदायबाट केटाहरू खोज्न मुन्नालाई जति कठिन थियो, त्यति अरविन्द अमात्यको जमातलाई भएन । त्यसपछि जन्मियो वीरगन्ज युनाइटेड ।

‘हामी सबै फुटबललाई माया गर्ने साथीहरू मिलेर क्लब स्थापना किन नगर्ने भनेर अगाडि बढेका थियौं,’ क्लबका अध्यक्ष अमात्य भन्छन्, ‘त्यसक्रममा हामी सुरुमा स्थानीय स्तरका खेलाडीको भरमा अगाडि बढेका थियौं । एक पटक सिमरा गोल्डकपमा हामीले खेल्ने मौका पायौं । त्यसमा हामीले राष्ट्रिय र नाइजेरियन खेलाडीलाई ल्याएर खेलाएका थियौं ।’

खेलाडीमा राम्रो खर्च गरेको वीरगन्ज युनाइटेड पहिलो प्रयासमै सिमरा गोल्डकपको फाइनल पुग्यो । त्यो करिब २०७२ सालतिरको कुरा हो ।

‘एउटै प्रतियोगितामा यसरी लगानी गर्नुभन्दा किन स्थानीय खेलाडी समेटेर टिम नबनाउने भनेर अगाडि बढ्दा चौधरी-११ भन्ने टिम छ, त्यसका खेलाडीहरू पनि राम्रो खेल्छन् । युवा छन् भन्ने कुरा आयो,’ अमात्यले सुनाए, ‘चौधरी केटाहरू एकदम राम्रो खेल्छन् भनेपछि मुन्नासँग कुरा गर्यौं । कुराकानीमा दुवै पक्षको इन्ट्रेस्ट मिल्यो र अगाडि बढ्यौं ।’

‘हामीले क्लब २०६८ सालमै दर्ता गरेका थियौं,’ क्लबका सचिव अरबिन्द बराल भन्छन्, ‘पछिल्लो समय सहिद स्मारक ए र बी डिभिजनमा लिगमा उपत्यकाबाहिरका क्लबहरू पनि हामीले देखिरहेका थिएनौं । त्यसैले हामी किन प्रयास नगर्ने भनेर सी डिभिजन छनोटका लागि आयौं ।’

बारा जिल्लाको रामकुरुवा भन्ने ठाउँमा एउटा घर लिएर वीरगन्ज युनाइटेडले प्रशिक्षक र खेलाडी सबैलाई राख्यो । ती युवा खेलाडीमा भरिएको फुटबलप्रतिको ‘प्यासन’ देखेर नै वीरगन्जले त्यो व्यवस्था गरेको थियो ।

वीरगन्ज युनाइटेडको लक्ष्य डिभिजन लिग फुटबलमा आउने र शीर्षस्तरसम्म पुग्ने बन्यो । र, मुन्नासँग अमात्यले सल्लाह गरे । त्यतिबेला मुन्नाको प्रश्न थियो, कसरी खेल्ने ? कसरी त्यहाँसम्म पुग्ने ?

वीरगन्जको हौसलाले गदगद बनेका मुन्नासामु ‘क्लब हाम्रो हुन्छ तिमीहरू खेल्ने हौ,’ भनेर अमात्यले सोध्दा उनी अझै हौसिएका थिए । मुन्ना नहौसिउन् पनि किन त ? उनले चौधरी समुदायको घरघरबाट उठाएर ल्याएका फुटबलमा समर्पित किशोरहरूले अभिभावकत्व पाउँदै थिए ।

‘अगाडिको प्रक्रिया सबै हामी गर्छौं, तिमीहरूले तयारीमा मात्र ध्यान दिनु भनेर दाइहरूले ढाडस दिनुभयो । त्यतिमात्र होइन खेलाडीको स्किल डेभलप गर्ने भनेर प्रशिक्षक पनि राखिदिनुभयो । त्यसले एकदमै ऊर्जा थपियो,’ मुन्नाले सुरुआती दिन सम्झिए ।

वीरगन्जको हौसलाले गदगद बनेका मुन्नासामु ‘क्लब हाम्रो हुन्छ तिमीहरू खेल्ने हौ,’ भनेर अमात्यले सोध्दा उनी अझै हौसिएका थिए । मुन्ना नहौसिउन् पनि किन त ? उनले चौधरी समुदायको घरघरबाट उठाएर ल्याएका फुटबलमा समर्पित किशोरहरूले अभिभावकत्व पाउँदै थिए ।

‘चौधरी केटाहरूलाई पनि अगाडि बढाइदिनु, एकदम राम्रो हुन्छ भनेर ०७५ सालमा सी डिभिजन छनोट खेलेको’ क्षण मुन्नाको मस्तिस्कमा ताजै छ । भन्छन्, ‘०७७ सालमा सी खेलेर भर्खर हामी बी डिभिजनमा आएका हौं ।’

‘एक्सपिरियन्स एन्ड एक्सपोजर’ को खाँचो

यसपालि आफ्ना खेलाडीहरूको खेलबाट भने टिम म्यानेजर रहेका मुन्ना खानको चित्त बुझेको छैन । उनले भने, ‘यसपालि मेरा केटाहरूलाई के भइरहेछ बुझ्नै सकेको होइन । किनभने यस्तो गेम हाम्रो होइन । जुन गेम खेल्नुपर्ने हो त्यो सकिरहेका छैनन् ।’

जारी बी डिभिजन लिगमा १० खेल खेलेको वीरगन्ज १० अंक जोडेर ११औं स्थानमा छ । तर दुई जित, चार हार र चार बराबरी खेलेको वीरगन्जको खेल एकदमै राम्रो भएको फुटबलका जानकारहरू बताउँछन् ।

‘अनुभवको कमी भएको देखिन्छ,’ एन्फाको टेक्निकल कमिटीका भीमबहादुर बम वीरगन्ज युनाइटेडबारे भन्छन्, ‘यस्तो पेस गेम खेल्छन्, नहार्नुपर्ने खेलहरू हारिरहेका छन् वा बराबरीमा रोकिएका छन् ।’

क्षमताका बावजुद कडा मिहिनेतले यहाँसम्म आइपुगेको मुन्ना खान बताउँछन् । ‘खेलाडीमा आफैंभित्र पनि केही क्षमता त हुन्छ नै तर निरन्तर अभ्यास र मिहिनेतले यी खेलाडी यो स्तरमा पुगेका हुन्,’ उनी भन्छन्, ‘वीरगन्ज युनाइटेड नभएको भए निरन्तर अभ्यास हुने थिएन र यी खेलाडीले आएर सी डिभिजन छनोट खेल्नसक्ने अवस्था रहँदैनथ्यो  । जेहोस् वीरगन्ज युनाइटेडको देन हो । जसले गर्दा यहाँसम्म आइपुगेका छन् ।’

‘बी डिभिजनका लागि अलिकति अनुभव पनि हुनुपर्ने देखियो,’ अध्यक्ष अमात्य भन्छन्, ‘अन्य क्लबहरूबाट ए डिभिजन लिगमा खेलिसकेका अनुभवी खेलाडी खेलिरहेका छन् । तर हाम्रो टोलीमा प्राय: सबै १७-१८ वर्षका खेलाडी छन् । उनीहरू फ्रेस छन् । त्यसले गर्दा अझै अपेक्षित प्रदर्शन हुन सकेको छैन ।’

वीरगन्जले जारी लिगमा अपेक्षित प्रदर्शन गर्न नसक्नुको कारण ‘एक्सपिरियन्स एन्ड एक्सपोजर’ को पनि अभाव भएको अमात्यको बुझाइ छ ।

‘नयाँ स्थानमा आएर खेल्दा नौलो पनि हुन्छ, वातावरणमा एडजस्ट हुन अलि समस्या पर्छ, त्यसैले गर्दा पनि हुनसक्छ हाम्रा खेलाडीको प्रदर्शन अलि कमजोर देखियो,’ उनी भन्छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एस्ट्रो टर्फ छ । र, सम्भवत त्यसले गर्दा पनि आफ्ना खेलाडीहरूले अपेक्षित प्रदर्शन गर्न अनुमान वीरगन्ज युनाइटेडका सचिव बरालको छ ।

‘अहिले खेलाडीहरूलाई एस्ट्रो टर्फमा खेल्नुपर्दा समस्या भएको छ । किनभने तराईतिर यस्तो ग्राउन्ड कहीं छैन, टर्फमा प्राक्टिस नै भएन,’ उनले सुनाए, ‘अर्को कुरा हाइअल्टिच्युड भएकाले पनि खेलाडीहरूले आफ्नो शतप्रतिशत दिन नसकेका हुन् कि जस्तो लाग्छ । यहाँ हुने खेल दशरथ रंगशालामा खेल्ने हो भने पनि प्रदर्शनको स्तर अर्कै हुन्छ । जति खेल्न सक्नुपर्ने त्यो भइरहेको छैन ।’

आयस्रोतको जोहो

अफ सिजनमा खेलाडीलाई एक दुई महिना किन बिदा नदिने त ? भन्ने विषयमा छलफल चल्यो । तर टिम म्यानेजर मुन्ना खेलाडीलाई बिदा दिन अप्ठ्यारो मानिरहेका थिए । किनभन्दा त खेलाडीलाई बिदा दियो भने कमजोर आर्थिक अवस्थाका उनीहरूलाई खानमै धौधौ हुन्थ्यो । कमाउन अरू कामतिर लाग्छन् अनि फुटबल खेल्न नै छाड्छन् भन्ने पीर थियो, मुन्नालाई ।

त्यो विषयले वीरगन्ज युनाइटेडका सरोकारवालाहरूको मन एकदमै छोयो । र, उनीहरूले फुटबल खेलेरै खेलाडीलाई बाँच्ने अवस्था सिर्जना गरिदिने अठोट लिए ।

‘साथीहरूसँग कुरा गरेर हामीले फर्म्याट नै चेन्ज गर्ने निर्णय गर्यौं । त्यसपछि प्रशिक्षण गराएर स्किल डेभलप गर्ने र उहाँहरूलाई आम्दानी पनि होस् भनेर स्थानीय प्रतियोगिता खेलाउने निर्णय गर्यौं,’ अध्यक्ष अमात्य भन्छन्, ‘कोभिडको महामारी अगाडि खेलाडीहरूले ७० हजारजति त सिक्नेक्रममै जितेका पनि थिए । यसरी जितेको पैसा हामीले खेलाडीलाई नै बाँडिदिने गर्यौं ।’

अर्को वर्ष खेलाडीको आम्दानी अझै बढाउने भन्ने योजनामा क्लब अगाडि बढिरहेको थियो । तर कोभिडले त्यो सम्भव नभएको अमात्य बताउँछन् ।

‘हामीसँग जोडिएपछि खानेबस्ने र खेल्ने हामीले नै व्यवस्था गर्दै आएका छौं,’ सचिव बराल भन्छन्, ‘परिवारलाई गाह्रोसाह्रो परेका बेला हामीले खेलाडीलाई आर्थिक सहयोग पनि गर्ने गरेका छौं । कोभिडका बेलामा पनि हामीले आर्थिक सहायता प्रदान गरेका थियौं ।’

एकदिन मुन्नाको कुरा सुनेपछि अमात्यको मनमा एउटा कुरा खड्कियो । ‘फुटबल मात्रै खेलेर जीविकोपार्जन त होला तर २८-३० वर्षको उमेरमा संन्यास लिएपछि के गर्ने ? त्यतिबेला परिवार हेर्नुपर्ने हुन्छ, अरू पेसा हुँदैन, जिम्मेवारी बढ्छ भनेर हामीले खेलाडीलाई पढ्न पनि प्रोत्साहित गर्यौं । स्कुल भर्ना गर्दा लाग्ने शुल्कलगायत कुरामा पनि हामीले सहयोग गर्यौं,’ उनले सुनाए ।

खेलाडीमा भविष्य देखाइदिँदै

‘हाम्रो मुख्य उद्देश्य भनेको फुटबलबाट पनि अगाडि बढ्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु हो,’ अध्यक्ष अमात्य भन्छन्, ‘त्यसको वातावरण बन्दै आएको छ । सरकारले पर्याप्त भौतिक संरचना बनाउने हो भने त्यो लक्ष्य हासिल गर्न सहज पनि छ ।’

‘समय लाग्छ, त्यो वीरगन्ज युनाइटेडलाई पनि थाहा छ । हामीले स्टेपवाइज डेभलप गरिरहेका छौं । खेलाडीलाई फुटबलमा पनि भविष्य छ है भन्ने स्थिति बनाइरहेका छौं । आफ्नो स्पेस बनाउनुस् भनेर लागिरहेका छौं,’ उनी भन्छन्, ‘हामीसँग अहिले बारा जिल्लामा राखेको क्याम्पमा ३०-३५ खेलाडी बाराकै छन् । टिम ए र टिम बी छ, मोफसलका प्रतियोगिताअनुसार टोली बनाएर पठाउँछौं । कोही खेलाडी ०६८ सालदेखि खेल्दै आएका, रिटायर्ड भएका छन् । उनीलाई पनि जागिरका लागि सहयोग गर्ने गरेका छौं । आयस्रोत बनाइदिन हामीले जागिर दिने पनि गरेका छौं ।’

खेलाडीमा क्षमता विकासका लागि निरन्तर ट्रेनिङ गराइरहेको वीरगन्ज युनाइटेडका पदाधिकारीलाई थाहा छ, ‘यो एकै रातमा हुने होइन,’ अमात्य भन्छन्, ‘तर, हामी यति विश्वस्त छौं कि हाम्रा खेलाडीले नेपाली राष्ट्रिय टोलीमा आफ्नो नाम लेखाउन सक्नेछन् ।’

चौधरी विरासत जोगाउने लक्ष्य

राष्ट्रिय टोलीमा चौधरी विरासतलाई निरन्तरता दिने पनि वीरगन्ज युनाइटेडको ‘मोट्टो’ हो ।

‘अर्को कुरा जुन तरिकाले तराईतिर विशेषतः वीरगन्जतिरका खेलाडीहरू राष्ट्रिय टोलीमा हुनुहुन्थ्यो नि त्यसलाई हामी फेरि इन्स्टिच्युसनालाइज गर्न खोजिरहेका छौं,’ सचिव बराल भन्छन्, ‘हामीले पूर्वराष्ट्रिय खेलाडी पारस माझीलाई प्रशिक्षकका लागि प्रस्ताव गरेका थियौं । तर, उहाँले समय दिन सक्नुभएन ।’

वीरगन्ज युनाइटेड साथीहरूले मिलेर चलाइरहेको क्लब हो । डोनेसन भनेर केही उठाएको वा सहयोग कसैबाट नलिएको बरालले सुनाए ।

‘हाम्रो क्याम्पमा भएका खेलाडीको काम नै ट्रेनिङ गर्ने र खेल्ने मात्रै हो,’ उनी भन्छन्, ‘हाम्रो लक्ष्य नै ए डिभिजनमा जाने हो । हाम्रो मोट्टो नै खेलाडी तयार गरेर राष्ट्रिय टोलीमा पठाउने भन्ने हो ।’

खेलाडी उत्पादन र फुटबलको व्यावसायिकताबाहेक केही स्वार्थ नबोकेको वीरगन्ज युनाइटेडका उत्पादन अहिले पनि अन्य क्लबमा फैलिइसकेका छन् ।

‘सी डिभिजन लिगमा पनि हाम्रोबाट गएका खेलाडीहरू कोही श्रीकुमारी, कोही श्रीभगवतीबाट खेल्दैछन् । तीनजना आरसिटीबाट खेल्दैछन्,’ उनले भने ।

ती सबै खेलाडी भएको भए वीरगन्जसँग यो सिजन नै ए डिभिजनमा जाने सम्भावना प्रवल रहेको लिग निर्देशक सन्जिव मिश्र बताउँछन् ।

‘यो टिमका केही खेलाडी अरूतिर गए,’ निर्देशक मिश्र विश्लेषण गर्छन्, ‘सबै खेलाडी यहीँ भएको भए यो टोलीले शीर्षस्थानका लागि टक्कर दिनसक्ने सामर्थ्य राख्थ्यो ।’