रंगशाला काण्ड

यस्ता छन् विश्व फुटबलका दु:खद घटना

विश्वभर फुटबलले खुसीका धेरै क्षण दिएको छ । र, केही पीडादायी क्षणको कारण पनि बनेको छ फुटबल । नेपालमा २०४४ साल फागुन २९ मा भएको ‘रंगशाला काण्ड’ पनि तिनै घटनामध्ये एक हो । त्रिभुवन च्यालेन्ज सिल्डको फाइनलमा बंगलादेशको मुक्तिजोद्धा क्लब र नेपालको जनकपुर चुरोट कारखानाबीचको खेलका दौरान भएको घटना पनि दुःखद रह्यो । नेपालको घटनाजस्तै विश्व फुटबलका केही दु:खद घटना:

१. सन् १९०२ अप्रिल ५ (स्कटल्यान्ड)

सन् १९०२ मा स्कटल्यान्डको ग्लास्गोमा रहेका इब्रोक्स रंगशाला भत्किँदा २५ जनाको मृत्यु र ५ सय १७ जना घाइते भएका थिए । यो घटना इङ्ल्यान्ड र स्कटल्यान्डबीचको अन्तर्राष्ट्रिय खेलका क्रममा भएको थियो । खेल १–१ को बराबरीमा टुंगिए पनि पछि यसलाई आधिकारिक खेलको सूचीबाट हटाइयो ।

२. सन् १९४६ मार्च ९ (इङ्ल्यान्ड)

सन् १९४६ मा इङ्ल्यान्डको बोल्टनस्थित बर्डेन पार्कको पर्खाल भत्किएर ३३ जनाको मृत्यु हुँदा ४ सय समर्थक घाइते भएका थिए । यो घटना एफए कपअन्तर्गत बोल्टन वन्डरर्स र स्टोक सिटीबीचको खेलअघि भएको थियो । पर्खाल भत्किँदा समर्थकको भागदौडका कारण ३३ जनालाई मृत्युको मुखमा पुर्याएको थियो ।

३. सन् १९६४ मे २४ (पेरु)

पेरुको लिमामा भएको यो घटनाबाट ३ सय मानिसले ज्यान गुमाएका थिए । भने ५ सयभन्दा धेरै मानिस घाइते भएका थिए । पेरुको रियोट्स रंगशालामा घरेलु टोलीले ओलम्पिक छनोटका लागि अर्जेन्टिनाविरुद्ध खेलिरहँदा यो घटना भएको थियो । खेलका क्रममा घरेलु टोलीले खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछिको मानव भीडको खैलाबैलाका कारण ३ सय हताहत भएका थिए ।

४. सन् २९६८ जुन २३ (अर्जेन्टिना)

अर्जेन्टिनाको ब्युनस आयर्समा भएको यो घटनाले ७४ समर्थकको ज्यान लिएको थियो भने १ सय ५० घाइते भएका थिए । अर्जेन्टिनाको शीर्ष डिभिजन लिगअन्तर्गत चर्चित दुई क्लब रिभर प्लेट र बोका जुनियर्सबीच प्रतिस्पर्धा भइरहँदा समर्थक मैदानबाट बाहिरिन खोजेका थिए । तर, बाहिर निस्कन गलत बाटोतर्फ अघि बढेपछि भीड अनियन्त्रित बन्दा च्यापिएर र कुल्चिएर ७४ समर्थकले ज्यान गुमाएका थिए ।

५. सन् १९८२ अक्टोबर २० (रुस)

रुसको राजधानी मस्कोस्थित युइएफए कपअन्तर्गत रुसको राजधानी मस्कोस्थित लुजिनिक रंगशालामा स्र्पाटक मस्को र नेदरल्यान्ड्सको क्लब हार्लेमबीचको खेल भइरहँदा चलेको भागदौडका कारण ६६ समर्थकले ज्यान गुमाएका थिए ।

६. सन् १९८५ मे २९ (बेल्जियम)

सन् १९८५ को युरोपियन कपको फाइलनमा इङ्लिस क्लब लिभरपुल र युभेन्ट्सबीचको खेल चलिहरँदा बेल्जियमको राजधानीमा रहेको हेसेल रंगशालामा दुई क्लबका समर्थकबीचको हिंसामा ३९ समर्थकले ज्यान गुमाएका थिए ।

७. सन् १९८९ अप्रिल १५ (इङ्ल्यान्ड)

सन् १९८९ अप्रिल १५ मा इङ्ल्यान्डको सेफिल्डमा रहेको हिल्स बोरफ रंगशालामा समर्थकबीच भागदौड मच्चिँदा ९७ को मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । यस घटनाका अन्तिम घाइतेको गत जुनमा निधन भएको थियो ।

८. सन् १९९१ जनवरी १३ (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाको ओर्कने भएको घटनामा कम्तीमा ४० मानिसले ज्यान गुमाएका छन् । यीमध्ये धेरैजसोले मैदानमा रहेको दंगा नियन्त्रण बारमा च्यापिएर ज्यान गुमाएका थिए । यसबाट तर्सिएका अरू दर्शक पनि बाहिर निस्कन खोज्दा भीडका कारण मृत्यु हुनेको संख्या अझ बढेको थियो ।

९. सन् १९९६ अक्टोबर १६ (ग्वाटेमाला)

ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा भएको यस घटनामा परेर ८४ जनाको मृत्यु भएको थियो भने एक सय ४७ जना घाइते भएका थिए । विश्वकप छनोटअन्तर्गत घरेलु टोली र कोस्टारिकाबीचको खेलका दौरान भएको हुलदंगाका कारण भागदौड मच्चिँदा ८४ समर्थकले ज्यान गुमाएका थिए ।

१०. सन् २००१ अप्रिल ११ (दक्षिण अफ्रिका)  

दक्षिण अफ्रिकाको राजधानी जोहानेसबर्गस्थित एलिस पार्कमा एक फुटबल खेलका दौरान भएको भागदौडका कारण कम्तीमा ४३ समर्थकले ज्यान गुमाएका थिए ।

११. सन् २०१२ फेब्रुअरी १ (इजिप्ट)

इजिप्टको पोर्ट सेडमा चिरप्रतिद्वन्द्वी अलमर्सी र अल अह्लीबीचको खेलका सकिएपछि मैदानमै ओर्लिएका अल मर्सीका समर्थकले पाहुना टोलीका समर्थकलाई आक्रमण गर्दा भएको झडपमा परी ७४ समर्थकको मृत्यु भएको थियो भने ५ सयभन्दा धेरै घाइते भएका थिए । यस घटनाका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इजिप्सियन लिगलाई दुई वर्ष प्रतिबन्ध लगाएको थियो ।

(एजेन्सीको सहयोगमा)