नेपाली राष्ट्रिय फुटबल टोली

रंगशालामा ‘डेब्यु’ पाएका तीन स्टार

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्ने हरेक खेलाडीको सपना हुन्छ । र, सबैभन्दा ठूलो लक्ष्य पनि । त्यसमा पनि कुनै राष्ट्रिय टोलीको सफलताको हिस्सा बन्न पाउनु खेलाडीका लागि सायद सबैभन्दा आनन्दको क्षण हुन्छ ।

यद्यपि पहिलो पटक देशको प्रतिनिधित्व गर्न पाउनु र जितको हिस्सेदार बन्नु धेरै खेलाडीको भाग्यमा लेखिएको हुँदैन । सीमित खेलाडीले मात्रै त्यो सौभाग्य पाउँछन् । यसपालि त्यस्तै सौभाग्य तीन नेपाली फुटबलर सुदीप गुरुङ, नवीन गुरुङ, आकाश बुढामगरले पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अफ्रिकी मुलुक मोरिससलाई दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आतिथ्यता दियो । त्यसका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई टोली तयार गरेका थिए ।

कोभिड–१९ को जोखिम र ‘स्क्वाड डेप्थ’का लागि प्रशिक्षकले दुई टोली तयार गर्दा धेरै नयाँ खेलाडी राष्ट्रिय टोलीको जर्सी लगाउने मौका नजिक पुगे । तर, तीन खेलाडीले मात्रै ‘डेब्यु’ गर्ने मौका पाए । डेब्यु गरेकामध्ये एक नवीनले मात्रै सुरुआती–११ मा स्थान बनाउँदा अन्य दुई खेलाडीले सब्स्टिच्युटको रूपमा दशरथ रंगशालामा उत्रने मौका पाए ।

नेपाली फुटबलको ‘होम’ ग्राउन्ड हो दशरथ रंगशाला । र, प्रत्येक फुटबलरको पक्कै यही सपना हुन्छ, दशरथ रंगशालामा डेब्यु गर्ने र त्यहीं खेलेर संन्यास लिने । धेरै खेलाडीलाई त्यो सौभाग्य प्राप्त हुँदैन । सुदीप, नवीन र आकाशले जसरी दशरथ रंगशालामै डेब्यु गर्ने ।

यसपालि दुई मैत्रीपूर्ण खेलका लागि दुई टोलीमा ३४ खेलाडी थिए । त्यसमध्ये १० खेलाडी राष्ट्रिय टोलीमा एकदमै नयाँ थिए । त्यसमा तीन खेलाडीले राष्ट्रिय टोलीबाट उदाइसकेका पुराना अनुहार बन्ने मौका पाए । पहिलो मौका मिडफिल्डर सुदीपले पाए । त्यसपछि आकाश र नवीनले त्यो अवसर जुराए ।

सुदीपको डेब्यु

पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बेन्च हुँदै मैदान उत्रने मौका पाएका सुदीपले सुरुआती खेलमै मौका पाए । मोरिससविरुद्धको पहिलो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यद्यपि दोस्रो हाफको सुरुआती १० मिनेटमै नेपालले अग्रता लियो ।

पुनरागमन गरेका युवा स्टार विमल घर्तीमगरले गरेको गोलसँगै नेपालले ५५औं मिनेटमा अग्रता लिएको हो । नेपाल १–० को स्थितिमा अगाडि रहेका बेला मुख्य प्रशिक्षक अल्मुताइरीले निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा सुदीपलाई मैदान पठाएका थिए ।

मिडफिल्डर सुरजज्यु ठकुरीको स्थानमा मैदान छिरेका सुदीपका लागि त्यो करियरकै अविस्मरणीय क्षण बन्यो । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नयाँ खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन दिने खेलाडीमध्ये एक हुन् सुदीप ।

सातदोबाटो युवा क्लबले शीर्ष डिभिजनमा पहिलो पटक अनुभव बटुलेझै सुदीपले समेत पहिलोपल्ट ए डिभिजन लिगको अनुभव बटुलिरहेका थिए । नवप्रवेशी टोली र नयाँ खेलाडी भए पनि उनको प्रदर्शन कुनै अनुभवी खेलाडीको भन्दा कम छैन । मध्यभागमा बल होल्ड गर्ने, ड्रिब्लिङ गर्ने, लामा शट प्रहार गर्न माहिर सुदीपले धेरै समय नपाए पनि राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान उत्रिँदाको स्वर्णिम अनुभव बटुलिसके ।

आफ्नै खेलकौशलले पहिलो पटक प्रशिक्षक अल्मुताइरीको नजरमा पर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेटिएका सुदीप सातदोबाटोका महत्त्वपूर्ण खेलाडी हुन् । जारी लिगमा उनले ९ खेलमा ९० मिनेट बिताउँदै एक गोल पनि गरेका छन् ।

आकाशको डेब्यु

मोरिससविरुद्धको पहिलो खेलमै डेब्यु गर्ने दोस्रो खेलाडी बनेका छन् १९ वर्षे आकाश बुढामगर । निर्धारित ९० मिनेटपछि इन्जुरी समयको पहिलो मिनेटमा आकाशले मिडफिल्डर तेज तामाङको स्थान लिएका थिए । करिब खेलको अन्तिम समयमा मैदान उत्रने मौका पाएका आकाशले बिरलै बल छुन पाए ।

तर, राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रने उनको सपना भने पूरा भएको छ । नेपालले एक गोलको मात्रै नभएर ‘कम्फोर्टेबल’ लिड लिएको भए उनले धेरै समय पाउने थिए । प्रशिक्षक अल्मुताइरीले पनि मोरिससले दबाब दिइरहेकाले आकाशले थोरै समय पाएको खेलपछि प्रेस ब्रिफिङमा बताएका थिए ।

एन्फा एकेडेमीका आकाशले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए । बन्द प्रशिक्षणबाट अन्तिम टोली हुँदै उनले घरेलु भूमिमै डेब्युको पनि मौका पाए । उनले पहिलो पटक नवप्रवेशी सातदोबाटो युथबाट शीर्ष डिभिजनको लिग खेलिरहेका छन् ।

नेपालको यू–१५, यू–१८, यू–१९ टोलीबाट खेलिसकेका आकाशले सिनियर टोलीबाट पनि आफ्नो अध्याय सुरु गरेका छन् । एकेडेमीपछि यू–१८ ललित स्मृति फुटबल भने एपीएफ क्लबबाट खेलेका थिए ।

मध्यभागमा बल होल्ड गर्दै काउन्टर अट्याकमा विपक्षीलाई दबाब बनाउन माहिर आकाशले जारी लिगमा ९ खेलमा दुई पटक परिवर्तन हुँदा ६९२ मिनेट मैदानमा बिताइसकेका छन् । नेपाली फुटबलको शीर्ष लिगमा पहिलो पटक स्थान बनाएको टोलीबाट राष्ट्रिय टोलीसम्मको यात्रा गर्ने सीमित खेलाडीमा पर्छन् उनी ।

पहिलो रोजाइमा नवीन

मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा मौका पाएका नवीन गुरुङले आशा गरेजस्तै डेब्युको मौका पाए । प्रायः खेलाडीको डेब्यु सब्स्टिच्युट खेलाडीको रूपमा हुन्छ । विश्व फुटबलमा पनि नयाँ खेलाडीले पहिलो रोजाइमा बिरलै मौका पाएको देखिन्छ । तर, प्रशिक्षक अल्मुताइरीले नवीनप्रति विश्वास देखाउँदै पहिलो रोजाइमै मौका दिए । आफ्नो कार्यकालमा अल्मुताइरीबाटै स्थापित भएका राइट ब्याक गौतम श्रेष्ठको स्थान नवीनलाई दिएका थिए ।

दोस्रो खेलको १० औं मिनेटमा सुजल श्रेष्ठको गोलमा नेपालले अग्रता लिँदाको हिस्सा बनेका नवीनले पहिलो हाफ पूरा खेल्न पाए । मोरिससविरुद्धको मैत्रीपूर्ण खेलको शृंखलामा सबैभन्दा सानदार डेब्यु गर्ने र सर्वाधिक समय मैदानमा बिताउने खेलाडी बने, नवीन ।

उनले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । पहिलो पटकमै आफूलाई पहिलो रोजाइमा पारेर डेब्युसम्म पुग्न सफल भए उनी । प्रशिक्षक अल्मुताइरी एनआरटीबाट खेलिरहेका नवीनलाई आफ्नो रणनीतिसँग अभ्यस्त बनाउने प्रयासमा थिए । उनले पहिलो रोजाइमा समावेश गरेको देख्दा त्यसमा नवीनले एक हदको सफलता पाएको मान्न सकिन्छ ।

युवा खेलाडी नवीनको जारी लिगमा पनि ‘राइट ब्याक’मा उल्लेख्य उपस्थिति हुने गरेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ९ खेल खेलेका नवीनले ७२० मिनेट मैदानमा बिताएका छन् । यसपालि टोलीको औसत वा खराब प्रदर्शन हुँदा पनि उनले व्यक्तिगत प्रदर्शनबाट मुख्य प्रशिक्षकको नजरमा परे ।

नवीन फिल्डमा छरितो खेल प्रदर्शन गर्न अब्बल छन् । यद्यपि राष्ट्रिय टोलीबाट पहिलो खेल खेल्नु उनका लागि एकदमै चुनौतीपूर्ण थियो । तर, त्यसमा उनी सफल भएको प्रशिक्षक अल्मुताइरीले पत्रकार सम्मेलनमै भनिसकेका छन् ।