काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको बीचमा ब्रेक निकाल्यो ।
यसैबीचमा ‘फिफा डे’ परेकाले राष्ट्रिय टोलीले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मौका पायो र लामो इतिहास बोकेको मोफसलको प्रतियोगिता आहा–रारा गोल्डकपले पनि आफ्नो २०औं संस्करण पूरा गर्यो ।
विगतको तुलनामा यसपालि आहा–राराको आयोजना त्यति सरल रहेन । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण ह्वात्तै बढेकाले त्यसको प्रभाव प्रतियोगितामा पर्यो ।
त्यसमाथि राष्ट्रिय खेलाडीहरू पनि दुई मैत्रीपूर्ण खेलका लागि व्यस्त रहे । यस्तोमा आयोजक सहारा क्लब प्रतियोगिता आयोजना गर्ने कि नगर्ने भन्नेमा दुविधामै परे । १९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता कसरी रोक्ने ? तर नरोकेर पनि गर्ने के ? यस्तै विभिन्न शंका–उपशंकाबीच दर्शकविना आयोजना भयो आहा–रारा गोल्डकपको २०औं संस्करण ।
अभूतपूर्व तरिकाबीच आयोजना सम्पन्न यो संस्करणले नयाँ च्याम्पियन दियो । एपिएफ फुटबल क्लब पहिलोपल्ट पोखरा रंगशालामा च्याम्पियन ताज पहिरिन सफल भयो ।
मंसिरदेखि सुरु शीर्ष डिभिजनको लिगमा रेलिगेसनबाट बच्न संघर्षरत एपिएफले मोफसलमा गजबको प्रदर्शन गर्दै उपाधि जित्यो । र, त्यसक्रममा सदाबहार उपाधि दाबेदारसँगै सर्वाधिक सफल टोलीहरूविरुद्ध अप्रत्याशित नतिजा निकाल्दै कीर्तिमान बनाउन कुमार थापाको एपिएफ सफल भयो । पहिलो पटक विना दर्शक आयोजना भएको आहा–रारामा राष्ट्रिय टोलीका खेलाडी पनि उपस्थित थिएनन् । त्यसो हुँदा आफ्नो टोलीका प्रमुख स्ट्राइकर आशिष लामाविना नै पोखरा पुगेको एपिएफले उनको कमी हुन दिएन ।
एपिएफले गर्ने प्राय: गोल आशिषबाटै हुने गरेको विगत छ । तर, यसपालि उनको अभाव कहिले प्रदीप लामा, कहिले नवीन लामा अनि आभाष लामिछानेले पूरा गरे । जारी लिगका सुरुआती तीन खेलमा पराजित हुँदै खराब सुरुआत गरेको एपिएफले पोखरामा गजबको लय समातेको देखियो ।
मोफसलको निरन्तरता पाइरहेको प्रतिष्ठित आहा–रारा गोल्डकपको च्याम्पियन बन्यो । बन्द रंगशालामा सुरु भएको प्रतियोगिताको सेमिफाइनलदेखि सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्डसहित दर्शक उपस्थिति गराइएको थियो । र, एपिएफले जितको खुसी एक्लै साट्नुपरेन ।
च्याम्पियन एपिएफको लय
सहिद स्मारक लिगको लिडर मछिन्द्र फुटबल क्लब र घरेलु फुटबलको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै एपिएफले यसपालि आहा–राराको उपाधि जित्दा धेरैलाई आश्चर्य लागेको छ । नलागोस् पनि कसरी ? लिगमा तालिकाको पुछारमा संघर्षरत टोलीले लिग लिडर र सदाबहार दाबेदारलाई पो हराएको हो त ।
१० टोली सहभागी प्रतियोगितामा एपिएफले प्रि–क्वाटरफाइनल खेलेको थियो । आभाष र प्रदीपको गोल मदतमा आयोजक सहारा क्लबलाई २–० को नतिजामा पराजित गर्दैै पोखरामा सफल सुरुआत गरेको एपिएफले दोस्रो खेलमा पाहुना टोलीलाई हरायो । उक्त क्वाटरफाइनलमा एपिएफले अमेरिकाबाट आएको भुटानिज युथ स्पोर्ट्स क्लबलाई ३–१ ले पाखा लगाएको थियो । एपिएफको यो जितमा रवि थिङ र फेरि आभाष नायक बने । रविले दुई गोल गर्दा आभाषले एक गोलको योगदान दिएका थिए ।
अमेरिकी टोलीमाथिको सहज जितपछि सेमिफाइनल यात्रा तय गरेको एपिएफले फाइनल पुग्न बलियो प्रतिद्वन्द्वी मछिन्द्र क्लबको सामना गर्ने तय भयो । लिगको शीर्ष टोलीविरुद्ध पनि प्रभावशाली प्रदर्शन गर्दै एपिएफले अप्रत्याशित ३–१ को सफलता प्राप्त गर्यो । प्रतियोगिताको प्रबल दाबेदार मानिएको मछिन्द्रलाई पन्छाउँदा सनिश श्रेष्ठ, प्रदीप र कप्तान नवीनले गोल गरेका थिए । जारी लिगमा नवौं चरणसम्म अपराजित यात्रा तय गरेको मछिन्द्रलाई एपिएफले धेरैपछि हार चखायो ।
आहा–रारामा एकपछि अर्काे कठिन चुनौती पार लगाएकोे एपिएफसामु फाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल टोली मनाङसँगको भेट निश्चित भयो । ६ पटक च्याम्पियन बनिसकेको मनाङ फाइनल पुग्ने सबैको अपेक्षा थियो । र, ‘अन्डर डग’को रूपमा अघि बढेको एपिएफको जोर मनाङसँग चल्दैन होला भन्ने धेरैको आ“कलन पनि थियो । तर, ती सबै तर्कनाविपरीत एपिएफ उपाधिमा बाजी मार्न सफल भयो ।
आम फुटबलप्रेमी र पण्डितहरूको अनुमानलाई एपिएफले गलत साबित गरिदियो । मनाङविरुद्ध फाइनलमा पहिलो हाफको २१औं मिनेटमा चोटबाट फर्किएका युवराज खड्काले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । दोस्रो हाफमा मनाङले खेलमा फर्कंदै २–१ को अग्रता बनायो । टोली सातौंपल्ट च्याम्पियन हुने अवस्थामा पुगिसकेको थियो । तर इन्जुरी टाइम मनाङको अनुकूल रहेन इन्जुरी टाइममा रवि थिङले गोल गर्दै खेललाई नाटकीय ढंगलले २–२ को बराबरीमा टुंग्याइदिए ।यसपछि अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी शुटआउटमा पुगेको थियो ।
मनाङका प्रभावशाली फरवार्ड आफिज ओलावालेको पाँचौं पेनाल्टी प्रहार एपिएफका पहिलो विदेशी खेलाडीका भित्रिएका गोलरक्षक युया कुरियामाले रोक्दा टोली पहिलो पटक उपाधिसामुन्ने पुग्यो ।
अन्तिम पेनाल्टीमा एपिएफका अर्का विदेशी खेलाडी अर्मान्ड बेअडोअमले गोल गरेसँगै एपिएफ आहा–रारा गोल्डकप च्याम्पियन बन्यो । २०६४ मा फाइनल पुगेको एपिएफ त्यतिबेला विभागीय प्रतिद्वन्द्वी पुलिससँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा एपिएफले सेमिफाइनल चार पटक पुगेको भए पनि फाइनलको स्वाद भने त्यही एकपल्ट मात्र चाखेको थियो ।यसपालि मोरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि विभिन्न क्लबका ३४ खेलाडी क्याम्पमा रहेको भरपूर फाइदा एपिएफले उठाएको मान्न सकिन्छ ।
आँकडामा आहा–रारा
आहा–रारामा यसपटक ९ खेलमा २४ गोल भएको छ । औसतमा हेर्ने हो भने प्रत्येक खेलमा २.६६ गोल भए । प्रतियोगितामा एक रातो कार्ड दिँदा ३९ पहेँलो कार्ड देखाइएको छ ।
प्रतियोगितामा संकटा र मछिन्द्रबीचको खेलमा सर्वाधिक ७ पहेँलो तथा एपिएफ र मछिन्द्रबीचकै खेलमा ६ पहँेलोसहित एक रातो कार्ड देखाइएको थियो ।
उत्कृष्ट प्रदर्शन गरेका एपिएफका रक्षक राजन गुरुङले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बने । यसपालिको स्कुटर उनले चढ्ने सौभाग्य पाए । यस्तै ‘फेयर प्ले टिम’ त्रिभुवन आर्मी फुटबल क्लब घोषित हुँदा सर्वाधिक गोलकर्तामा तीन गोल गरेका एपिएफकै रवि थिङ चुनिए ।
विधागततर्फ एपिएफका खेलाडीकै वर्चस्व रह्यो । उत्कृष्ट गोलकिपर जापानी युया कुरियामा हुँदा डिफेन्डरमा राजन गुरुङ र मिडफिल्डर रवि थिङ उत्कृष्ट रहे । उत्कृष्ट फरवार्डमा मनाङका नाइजेरियन खेलाडी ओलावाले चुनिए ।
प्रशिक्षक थापालाई राहत
आहा–राराको उपाधिसँगै एपिएफको अपराजित यात्रा दसौं खेलसम्म पुगेको छ । खेल करियरका सर्वाधिक सफलमध्ये एक खेलाडी कुमार थापा अहिले एपिएफका प्रशिक्षक छन् । घरेलु फुटबलका ‘लिजेन्ड’ थापा १८ वर्षअघि मनाङको कप्तानी गर्दै आहा–रारा च्याम्पियन बनेका थिए । २०६० सालमा खेलाडीको रूपमा आहा–राराको उपाधि चुमेका उनी प्रशिक्षकको रूपमा पनि उपाधि चुम्न सफल भए । भावनात्मक रूपमा त यो उपाधि उनका लागि महत्त्वपूर्ण रह्यो नै । व्यावसायिक हिसाबमा पनि उनलाई यसको महत्व धेरै छ ।
जारी लिगमा खराब सुरुआत गरेर लय समात्ने संकेत देखाएको एपिएफले मोफसलको बहुप्रतिष्ठित उपाधि जितेसँगै प्रशिक्षक थापालाई पक्कै केही राहत मिलेको छ ।
लिगका सुरुआती तीन खेलमा कुनै अंक जोड्न नसक्दा पुछारमा रहेको एपिएफले चौथो खेलमा आएर थ्रीस्टारविरुद्धको खेलबाट अंक बटुलेको थियो ।
त्यसयता क्लबले लिगमा ६ खेल र मोफसलमा ४ खेलमा हार बेहोर्नुपरेको छैन । एएफसी क्लब लाइसेन्स पाएसँगै तीन विदेशी खेलाडीलाई भिœयाएको एपिएफले विस्तारै आफ्नो लय समात्दै छ । मोफसलमा प्राप्त यस उपलब्धिलाई निरन्तरता दिँदै एपिएफको अबको लक्ष्य कम्तीमा ‘ए’ डिभिजन लिगमा टिक्नु नै हुनेछ ।
‘हामीलाई मोफसलको उपाधिले मनोबल बढाएको छ । अबका दिनमा यही टोलीसँग नै हामीले लिगमा प्रतिस्पर्धा गर्ने हो । यहाँ त्यही टिमलाई हराएपछि लिगमा पनि सकिन्छ भन्ने खेलाडीमा मनोबल बढेको छ । हामी यही यात्रालाई निरन्तरता दिँदै शीर्ष डिभिजन लिगमा आफ्नो अस्तित्व बचाइरहन्छौं,’ प्रशिक्षक थापाले भने ।
साबिक विजेताको खराब बहिर्गमन
गत वर्ष १९औं संस्करणको फाइनलमा अफ्रिकन रुट्सलाई पराजित गर्दै च्याम्पियन बनेको संकटा क्लब यसपालि पहिलो खेलमै पराजित हुँदै बाहिरियो । साबिक विजेता पहिलो खेलबाटै बाहिरिनु बिर्सनलायक नतिजा हो । क्वाटरफाइनलमा मछिन्द्रसँग ४–१ गोलको नतिजामा पराजित हुँदै संकटा काठमाडौं फर्किएको थियो ।
संकटाविरुद्ध मछिन्द्रका मेसुके ओलामेउले दुई तथा उत्सव गुरुङ एक÷एक गोल गरेका थिए । संकटाका लागि गणेश हमालले एक गोल फर्काए । तर, टोलीलाई हारबाट जोगाउन त्यो पर्याप्त थिएन ।
१९औं संस्करणको च्याम्पियन संकटाको यसपालिको बहिर्गमन साँच्चै बिर्सनलायक रह्यो ।
तीन पेनाल्टी शुटआउट
नकआउटको मज्जा नै त्यही हो । जसरी पनि जित–हारको नतिजा चाहिन्छ । बराबरीमा खेल सकिँदैन । निर्धारित ९० मिनेटमा बराबरी भए अतिरिक्त समय र त्यसमा पनि बराबरी भए पेनाल्टी शुटआउट । आहा–रारामा पनि यसपालि तीन खेलमा पेनाल्टी सुटआउटबाट नतिजा निस्केको थियो ।
प्रि–क्वाटरफाइनलमा नेपाल पुलिस र हिमालयन शेर्पा क्लबबीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि नतिजा स्पष्ट नआएपछि खेल पेनाल्टी शुटआउट हुँदै सडनडेथसम्म पुग्यो । त्यसमा पुलिसले ६–५ को जित निकाल्दै क्वाटरफाइनलमा पुगेको थियो ।
यस्तै, त्रिभुवन आर्मी फुटबल क्लब र मनाङबीचको सेमिफाइनल खेल पनि पेनाल्टी शुटआउटमा पुगेको थियो । त्यसमा मनाङ ४–३ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो ।
फाइनलको नतिजा पनि पेनाल्टी शुटआउटमा निस्केको थियो । फाइनलमा मनाङमाथि ५–४ को जित निकाल्दै एपिएफले सफलता हात पारेको हो ।