अब्दुल्लाह अल्मुताइरी

अल्मुताइरीका केही चर्चित भनाइ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार र मंगलबार दशरथ रंगशालामा अफ्रिकी प्रतिद्वन्द्वी मोरिसससँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।

फुटबल क्रेजीको देश अहिले आहा–रारा गोल्डकपमा रमिरहेको छ । शीर्ष डिभिजनको लिग पनि फिफा ब्रेकको फाइदा उठाउँदै मोफसलका प्रतियोगितालाई समय दिनमात्र विश्राममा छ ।

कोभिड–१९ महामारीबीच पनि कुनै खेल नेपालमा चलिरहेको छ भने त्यो फुटबलमात्र हो । त्यसैले ढुक्कसँग भन्न सकिन्छ, नेपाली खेलकुदमा फुटबलको मौसम चलिरहेको छ । चर्चा यसैको छ । खेलकुदभित्र फुटबल भनेजस्तै फुटबलभित्र कसैको चर्चा छ भने उनै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको हो । कसैको वरिपरि नेपाली फुटबल घुमेको छ भने उनै कुवेती प्रशिक्षक अल्मुताइरीसँग हो ।

अल्मुताइरीकै नेतृत्वमा तीन महिनाअघि माल्दिभ्समा नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलसम्म यात्रा गरेको थियो । जुन अल्मुताइरीलाई चर्चाको शिखरमा पुर्याउन पर्याप्त हुनसक्छ । तर त्यतिले मात्र अल्मुताइरीलाई नेपाली फुटबलको केन्द्र बनाएको होइन ।

अल्मुताइरीकै नेतृत्वमा तीन महिनाअघि माल्दिभ्समा नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलसम्म यात्रा गरेको थियो । जुन अल्मुताइरीलाई चर्चाको शिखरमा पुर्याउन पर्याप्त हुनसक्छ । तर त्यतिले मात्र अल्मुताइरीलाई नेपाली फुटबलको केन्द्र बनाएको होइन ।

समयअनुसार उनले दिने चोटिला र विवादास्पद अभिव्यक्तिका कारण पनि उनी चर्चामा हुन्छन् । अझ भनौं, उनकै नाममा नेपाली समर्थकहरू दुई भागमा स्पष्टसँग विभाजित भएका छन् । अल्मुताइरीको तरिकासँग सहमत र असहमत समर्थक सामाजिक सञ्जालमा खुलेआम भिडिरहेको भेटिन्छ ।

गत वैशाखबाट नेपाली राष्ट्रिय टोलीको नेतृत्व लिएका अल्मुताइरीले विभिन्न समयमा दिएका चर्चित अभिव्यक्तिलाई खेलाडी डटकमले सँगालेको छ ।

प्रस्तुत छ उनका अभिव्यक्ति:

‘नेपालमा काम गर्न पाउँदा मलाई खुसी लागेको छ । नेपालीहरू वास्तवमै दयालु छन् । म यो कामलाई चुनौतीका रूपमा लिन्छु र हाम्रो खेलबाट सबै नेपाली समर्थकलाई खुसी पार्ने आशा गरेको छु । मैले नेपालको खेल थ्री नेसन्स कपमा हेरेको छु । हामीसँग खेलाडीको राम्रो टिम छ । आशा छ कि हामी यस्ता धेरै उपाधिमा खुसी मनाउन सक्ने छौं । नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ,’ गत वर्ष चैत २३ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा पहिलो पटक सञ्चारमाध्यमसँग साक्षात्कार हुँदा ।

‘प्रिय नेपाली समर्थकहरू... म राजीनामा गर्नका लागि एन्फा जाँदै छु । मैले वरिष्ठ उपाध्यक्षका कारण राजीनामा गर्न लागेको हुँ । पछिल्लो तीन सातादेखि हरेक दिन उनले मसँग नाटक गरिरहेका छन् । मैले आशा गरेको छु, तपाईं अहिले खुसी हुनुहुन्छ होला पंकज नेम्वाङ,’ साउन १० गते एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङप्रति आक्रोश पोख्दै फेसबुकमा ।

‘प्रिय खेलाडीहरू, समर्थकहरू, प्रशिक्षकहरू र सम्पूर्ण नेपाली जनता, म यहाँ गत महिना एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्तामा राष्ट्रिय टोलीका पूर्व खेलाडीबारेको अभिव्यक्तिप्रति क्षमा माग्न प्रस्तुत भएको छु । मैले केही विषयमा त्यसरी नबोलेको भए राम्रो हुन्थ्यो । नेपाली राष्ट्रिय टोली र खेलाडीप्रति बोल्दा मेरो उद्देश्य सामान्य रूपमा हाम्रो टिम नेपाल र अन्य एसियाली मुलुकले पछिल्ला तीन दशकमा कसरी फुटबल विकास गरिरहेका छन् भन्नेमात्र थियो । पछिल्ला केही दिनमा मेरो प्यारो र सहयोगी फुटबल परिवारका केही सदस्यसँगको कुराकानीपछि मेरो भनाइले उहाँहरूको मन दुखेको थाहा भयो । त्यसका लागि म गहिरो दुःख व्यक्त गर्छु । म सबै नेपाली जनता र विशेष गरी सबै पूर्व खेलाडी र प्रशिक्षकहरूसँगै मेरो भनाइलाई गलत अर्थमा बुझ्नुहुनेहरूसँग माफी माग्न चाहन्छु । म कसैप्रति तुष राख्दिनँ । मलाई नेपाल र नेपाली फुटबलको यहाँसम्मको यात्राप्रति गर्व छ । नेपाली टिमप्रति मेरो सधै ठूलो सम्मान छ । वान टिम ..जय नेपाल,’ यसअघिका नेपाली टोली जित्नका लागि भन्दा विदेश घुम्नका लागि जाने गरेको भन्दै टिमप्रति उनले दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि साउन १८ मा फेसबुकमा पोस्ट ।

‘म बाहिरिएँ, राजनीतिलाई काम गर्न दिउँ,’ वरिष्ठ उपाध्यक्ष नेम्वाङ तथा दुई पत्रकारसँगको विवादमाथि छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि भदौ ९ गते फेसबुकमा । प्रतिवेदनमा अल्मुताइरीलाई व्यावसायिक आचरण गर्न सुझाइएको थियो ।

‘फाइनल नेपालबाट मेरा लागि अन्तिम खेल हुनेछ । म कहिल्यै पनि नेपाल फर्किन्न । मेरो कार्यकाल सकिइसकेको छ,’ असोज २७ मा बंगलादेशसँग बराबरी गर्दै फाइनल पुगेपछि नेपाली सञ्चारमाध्यमले आफूमाथि खेलमिलेमतोको आरोप लगाएको जिकिर गर्दै खेलपछिको पत्रकार सम्मेलनमा ।

‘हामी साफ च्याम्पियनसिपको फाइनल पुग्यौं । अब अर्को संस्करणको फाइनल जित्ने छौं । सन् २०२३ को एसियन कपमै छनोट हुन्छौं भन्ने वाचा गर्न म सक्दिनँ । तर कुनै समस्या नआए र सकारात्मक सोचले अघि बढेमा सन् २०२७ मा हुने एसियन कपमा नेपाल छनोट हुनेछ,’ साफ च्याम्पियनसिपको फाइनल पुगेपछि पत्रकार सम्मेलनमा उनले दिएको अभिव्यक्ति ।

‘म रंगशाला गएर हेर्दा खेलाडीलाई दबाब हुन्छ भने म जान्न, मसँग एउटा विकल्प छ, म टेलिभिजनमा गेम हेर्छु,’ सहिद स्मारक ए डिभिजन लिगका क्लबका प्रशिक्षकहरूले खेलाडीलाई शतप्रतिशत नखेल्न निर्देशन दिएको आरोपपछि पुस ३० गते फेसबुकमा ।

‘मैले नेपाली समर्थकलाई नाइँ भन्न सकिनँ । आयुश घलान, अञ्जन विष्ट..लाई नाइँ भन्न सकिनँ... नेपाली समर्थकले ममाथि देखाएको मायालाई नकार्न नसकेर नेपाल फर्किएँ,’ साफ च्याम्पियनसिप सकेर नेपाल फर्किएपछि कात्तिक १६ गते योजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ।

‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि मैले समग्रमा तीन वर्षका लागि सम्झौता गरेको छु । म अबको दुई वर्षको योजना म चाँडै सार्वजनिक गर्नेछु । म नेपाली फुटबललाई राम्रो बनाउने वाचा गर्दछु । तर, त्यसका लागि मलाई केही समय दिनुहोला, कात्तिक १० गते फेसबुकमा आफू नेपाल फर्किन तयार रहेको बताउँदै ।