मंसिर २७, २०८२ शनिबार | ०२:२४:२९
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत
शनिबारको दिन

प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य !

काठमाडौं । विश्व फुटबलमा प्रशिक्षकहरुको एउटा पूरै पुस्ता प्रेसिङ रणनीतिबाट प्रभावित रह्यो। तर अहिले आएर भने परिस्थिति फेरिँदो छ । यसको कारण हो, डाइरेक्ट फुटबललाई मुख्य रणनीतिका रुपमा अंगिकार गर्ने चलन बढ्नु ।

इङ्लिस प्रिमियर लिगकै टिमहरु पनि यसपालि कम प्रेस गरिरहेका छन् । उनीहरु गएको सिजनको दाँजोमा कम प्रेस गरिरहेका मात्र गरिरहेका छैनन्, प्रेसिङको समग्र अवस्था नै पछिल्ला चार सिजनयता निरन्तर ओरालोमा छ ।  

ठ्याक्कै यहीबेला लामो पास खेल्ने चलन भने बढेको छ । प्रिमियर लिगको तथ्यांक अनुसार  आठ सिजन यता पहिलो पटक इङ्ल्यान्डको सबैभन्दा ठूलो लिगमा लामो पासको संख्यामा वृद्धि भएको हो । यति मात्र होइन, यसपालि गोलकिपरले पहिलेभन्दा धेरैभन्दा लङ् बल प्रहार गरिरहेका छन् । उसो त गोलकिपरबाट हुने लामो दूरीको प्रहार संख्यामा गएका तीन सिजनदेखि लगातार वृद्धि भइरहेकै थियो ।

दुई तथ्यांक (प्रेसिङ र लामो पास) एकआपसमा जोडिन्छन् । किनभने प्रेसिङको काम विपक्षीबाट बल खोसाउने हो। तर यदि विपक्षीले प्रेसिङको चुनौति समाप्त गर्न लामो पास खेल्ने हो भने, ऊबाट बल खोस्ने अवसरको अन्त्य हुन्छ ।

यसपालि प्रिमियर लिगका टिमहरुले औसत रुपमा १२.९ पटक विपक्षीको फाइनल थर्डबाट बल खोसिरहेका छन् । विपक्षीको गोलपोस्ट नजिकको क्षेत्रलाई फाइनल थर्ड मानिन्छ । फाइनल थर्डबाट बल खोस्ने कार्यलाई फुटबलको प्राविधिक भाषामा टर्नओभर भनिन्छ । गएको सिजनभन्दा यसपालि कम टर्नओभर देखिँदैछ । यसरी विपक्षीको फाइनल थर्डमा बल खोसेर प्रहार गर्ने वा गोल गर्ने क्रम घटिरहँदा टिमहरुको आक्रमणको सहारा सेटपिस बनिरहेका छन् ।

यसरी देखिँदै गरेका तथ्यांकको सन्देश हो, फुटबल रणनीतिमा लामो समय दबदबा राखेको ह्युगो डे पोसिसियोन स्कुल अफ थट (जसलाई पोजिस्नल प्ले पनि भनिन्छ) मर्कामा परिरहेको छ । कुनैबेला बार्सिलोनामा पेप ग्वार्डिओलाको उदयसँगै पोजिसनल प्लेले फुटबल रणनीतिको दुनियाँमा जरा गाडेको थियो । ग्वार्डिओलाले स्पेनी क्लबमा लागू गरेको पोजिस्नल प्ले विश्वभरका युवा प्रशिक्षकका लागि एउटा टेम्प्लेट नै बन्न पुग्यो ।

पोजिसनल प्ले अवधारणाको जग बल पोसेसन हो । बढीभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राख्ने मात्र होइन मैदानी संरचनामा एकरुपता, र बल आफ्नो साथमा हुँदा कसरी आक्रमण बुन्ने भन्ने स्पष्टता नै पोजिस्नल प्लेको बलिया पक्ष हुन् । पोजिस्नल प्लेलाई चुनौति दिने अर्को रणनीति थियो, प्रेसिङ । बल आफ्नो पक्षमा नहुँदा वा बल गुमाएपछिको अवस्थामा विपक्षीको आक्रमणबाट बच्न प्रेसिङको भूमिका अहम हुनेगर्यो । अहिले आएर प्रेसिङलाई काउन्टर दिने रणनीति बनेको छ, लङ् डाइरेक्ट फुटबल ।

फुटबलमा प्रेसिङले रक्षात्मक र आक्रामक दुवै पक्षलाई सम्बोधन गर्छ । आफ्नो फाइनल थर्डमा आएको वा आउँदै गरेको विपक्षीमाथि प्रेस गर्दा गोलको खतरा टार्न सकिन्छ । अनि उसकै क्षेत्रमा गएर प्रेस गर्दा बल खोसेर आक्रमण बुन्न सकिन्छ ।

अर्जेन्टिनामा प्रख्यात फुटबल प्रशिक्षक (कतिले त उनलाई दार्शनिक नै मान्छन्) मार्सेलो बिएल्साका चेला माउरिसयो पोचेटिनो साउथह्याम्पटनबाट टोटनहम पुगेसँगै उनले लागू गरेको रणनीतिले प्रिमियर लिगलाई नै छक्क पार्यो । त्यसपछि प्रिमियर लिगलाई छक्क पार्ने काम गरे योर्गन क्लपले। बिएल्सा जस्तै फुटबल रणनीतिको दर्शनको कुरा गर्ने राल्फ राग्नकिबाट प्रभावित क्लप राग्निकले प्रतिपादन गरेको गेगनप्रेसिङ बोकेर प्रिमियर प्रिमियर लिग पुगेका थिए। बल गुमाउना साथ विपक्षीमाथि गरिने काउन्टर प्रेसिङ नै गेगेनप्रेसिङ हो ।

समय यस्तो पनि थियो, जब प्रशिक्षकहरुको भिन्नताको कुरा गरिँदा प्रेसिङलाई उल्लेख गरिन्थ्यो । अहिले भने प्रशिक्षकहरु फगत प्रेसिङलाई मात्र मूल मन्त्र मान्ने परिस्थितिमा छैनन् ।

ग्वार्डिओला र पोजिसनल प्लेका अन्य हिमायतिहरुले आफ्नो रणनीतिमा निरन्तर परिवर्तन ल्याइरहेका छन् । यसमा उनीहरुले काउन्टर प्रेसिङलाई स्थान त दिएका छन् नै, म्यान टु म्यान प्रेसिङलाई पनि महत्व दिइरहेका छन् । विशेषगरि इङ्लिस क्लब बर्नमाउथका एन्डोनी इराओला ती प्रशिक्षक हुन्, जसले म्यान टु म्यान प्रेसिङको सर्वाधिक कुशल प्रयोग गरिरहेका छन् ।

प्रेसिङमा आएको विकासक्रमले खेलाडीसामू पहिलेभन्दा बढी दौडिन माग गर्छ । खेलाडी उच्च वेगमा दौडिन सके प्रेसिङको प्रभावकारिता झन् बढ्छ । जसकारण यस्तो टिमविरुद्ध खेल्न विपक्षीलाई अवश्य पनि कठिन हुन्छ ।

गत सिजन गोलकिपरहरुले पहिलेका सिजनहरुमा भन्दा बढी गल्ती गरेको तथ्यांक छ । यस्तो गल्ती जसलाई विपक्षी टिमले गोल गर्ने अवसरका रुपमा उपयोग गर्छन । तथ्यांक अनुसार गोलकिपरले प्रत्येक ९० मिनेटमा औसत रुपमा ०.१२ पटक गल्ती गरेका थिए । गल्तीको यो दर त्यसअघिको सिजनभन्दा दोब्बर हो । गोलकिपरले त्यत्तिको संख्यामा किन गल्ती गरे ? यसको कारण हो, प्रशिक्षकले उनीहरुलाई साथी खेलाडीहरुसँग बढीभन्दा बढी पास खेल्न निर्देश गर्नु । डिफेन्स क्षेत्रमा अन्य खेलाडीसँग छोटा छोटा पास खेल्दा गोलपिकर विपक्षी खेलाडीको प्रेसिङको सिकार बन्न पुग्छन्, जसकारण गोल खाने सम्भावना ह्वात्तै बढ्छ ।

गोलकिपरबाट यसरी गोलै खाने गल्ती हुन थालेपछि प्रशिक्षकहरुले आफ्ना रणनीतिमाथि प्रश्न गरे ? गोलकिपरले आफ्नै क्षेत्रमा छोटा पास खेलेर खतरा मोल्नुभन्दा विपक्षीको क्षेत्रसम्म बल पुर्याउन लामो बल प्रहार गर्नु उचित हुने ठम्मयाई प्रशिक्षकहरुले गरे । यो सिजन ‘डिफेन्सिभ हाफ’ मा हुने पासको संख्यामा १९.७ प्रति ९० मिनेटले गिरावट आएको छ । डिफेन्डरहरुले आफ्नो क्षेत्रमा पास खेलिरहनुको सट्टा लामो लामो पास मिडफिल्डतिर दिनेभएपछि विक्षीले पाउने प्रेसिङ अवसर पनि स्वतः कम हुने नै भयो ।

यस्तोमा प्रेसिङलाई आफ्नो मुख्य हतियार बनाएका प्रशिक्षक र टिमहरुका लागि समस्या सिर्जना हुन पुगेको छ । प्रेसिङ गर्ने अवसर नभएपछि विपक्षीमाथि कसरी दबाब सिर्जना गर्ने ? प्रिमियर लिगमा बर्नमाउथ यही समस्याले घेरिन पुगेको छ। बर्नमाउथले यसअघिका सिजनहरुमा भन्दा कम प्रेस गरिरहेको छ । बर्नमाउथसँग विपक्षीहरु लामो पास खेल्ने रणनीतिका साथ भिडिरहेका छन् । यस सिजन बर्नमाउथविरुद्ध प्रत्येक खेलमा औसत रुपमा ५५.६ वटा लामा पास खेलिएका छन् । यो तथ्यांकले बर्नमाउथलाई प्रिमियर लिगमा तेस्रो धेरै लामो पास सामना गरिरहेको टिम बनाउँछ ।

इराओला अझैँ पनि आफ्ना खेलाडीलाई प्रेसिङ गरेरै खेल्न लगाइरहेका छन् । यद्यपि प्रेसिङले पहिलेको जस्तो नतिजा दिइरहेको छैन । जारी सिजन बर्नमाउथले औसत रुपमा एक खेलमा ७.४७ पटक विपक्षीबाट उसकै डिफेन्सिभ क्षेत्रमा बल खोस्ने र त्यसरी बल खोसेपछि १.२७ पटक आक्रमण बुनिरहेको छ। बल खोस्ने र आक्रमण बुन्ने तथ्यांक गत सिजन क्रमशः ८.८७ र १.७९ थियो ।

प्रेसिङलाई आफ्नो रणनीतिको केन्द्र बनाएका अर्का प्रशिक्षक हुन्, ओलिभर ग्लास्नर ।  उनको टिम क्रिस्टल प्यालेसले यो सिजन विपक्षीको क्षेत्रमा प्रेस गरेर बल खोस्ने दरमा निकै कमी आएको छ । अनि यो टिमविरुद्ध लिगभरमै छैटौँ धेरै लामा पास खेलिएका छन् ।

‘प्रिमियर लिगमा हरेक टिमसँग राम्रा प्रशिक्षक छन् । उनीहरु विपक्षी टिमको प्रदर्शन विश्लेषण गर्छन्,’ प्यालेसले यसपालि किन पहिलेभन्दा थोरै प्रेस गर्न सकिरहेको भन्ने प्रश्नमा ग्लास्नरको जवाफ थियो, ‘हामीले प्रेस गर्दा विपक्षी टिमका खेलाडीले तुरुन्त रक्षात्मक लाइन बनाइहाल्छन् । म्यान टु म्यान प्रेसलाई चुनौति दिन सम्भवतः यो सही उपाय हो ।’

‘एकछिनलाई मान्नुस्, विपक्षी टिमका सात खेलाडी हाम्रो क्षेत्रमा आएर प्रेस गरिरहेका छन् । त्यसबेला हामीसँग ३०–३५ यार्डभित्रको डिफेन्सिभ लाइनमा गोलकिपरसहित आठ खेलाडी विपक्षीलाई रोक्ने प्रयासमा हुन्छन् । जबकि हाम्रा बाँकी तीन खेलाडी मौका पाउनसाथ विपक्षीको क्षेत्रतर्फ दौडिन मैदानको मध्यभागमा तयार भएर बसेका हुन्छन् । अब भन्नुस् यस्तोमा आफ्नै क्षेत्रमा सातविरुद्ध आठ खेलाडी भिड्नु ठिक कि विपक्षीको क्षेत्रमा तीनविरुद्ध तीनको लडाइँ सजिलो ?’ ग्लास्नर रणनीतिक प्रश्न गर्छन् ।

‘हो, यही कारणले धेरै जसो टिम आजकल दुई–तीन पास खेलेर फरवार्डलाई विपक्षीको क्षेत्रमा पुर्याउन चाहन्छन् । एफए कपको फाइनलमा म्यानचेस्टर सिटीले हामीलाई हाई प्रेस गर्यो। हामीले त्यहीबेला लामो पास खेल्यौँ, उनीहरुको क्षेत्रमा बल पुर्यायौँ र गोल गर्यौँ। विपक्षीको प्रेस छेक्ने यो गतिलो उपाय हो ।’

ग्लास्नर के पनि मान्छन् भने, लामो पास खेल्दा उनका फरवार्डहरुले विपक्षीको क्षेत्रमा दबाब सिर्जना गर्न सक्छन् । किनभने विपक्षी खेलाडीहरु प्रेसिङमा ध्यान दिइरहँदा आफ्ना फरवार्डले उनीहरुको क्षेत्रमा दौडिन स्पेस बनाउन सक्ने उनको ठम्मयाई छ । प्रिमियर लिगमा आएको यो रणनीतिक बद्लाबको विषय ग्लास्नर मात्र उठाइरहेका छैनन्, लिभरपुलका प्रशिक्षक आर्ने स्लट पनि यसमा आफ्ना विचार राखिरहेका छन्  ।

स्लट त अझ आफ्नो टिमविरुद्ध विपक्षीले खाली लामो पास मात्र खेल्ने गरेको भन्दै गनगन गरिरहेका छन् । तथ्यांकले पनि यही भन्छ, लिभरपुलविरुद्ध सर्वाधिक बढी लामा पास खेलिएका छन् । प्रिमियर लिगमा यो सिजन एक टिमले सबैभन्दा बढी लामा पास खेलेको पाँच खेलमध्ये चार लिभरपुलविरुद्ध हो । म्यानचेस्टर युनाइटेड, सन्डरल्यान्ड, प्यालेस र बर्नमाउथले लिभरपुलसँगको खेलमा क्रमशः ७५, ७३, ७१ र ७० वटा लामा पास खेलेका थिए ।

प्रिमियर लिगमा लिभरपुलविरुद्ध भिड्दा यो सिजन विपक्षी टिमहरुले आ–आफ्ना डिफेन्सिभ क्षेत्रमा कम पास खेलिरहेका छन् । उनीहरुले यसपालि गएको सिजनभन्दा २९ प्रतिशत कम पास आफ्ना डिफेन्सिभ क्षेत्रमा खेलेको तथ्यांक छ ।

प्रिमियर लिगमा प्रेसिङ घट्नुको अर्को कारण हो, म्याच क्यालेन्डर । ‘प्रेस गर्न फगत हलुका दौडिएर मात्र हुँदैन। पूरै तेज गतिमा दौडिनु पर्छ । तर खेलाडी हर समय स्प्रिन्टर बन्न सक्दैनन् । क्यालेन्डर नै यस्तो छ कि, जसले हामीलाई कम समयमा धेरै खेल खेल्न बाध्य बनाउँछ। यसकारण खेलाडी सबै खेलमा तेज गतिमा दौडिएर खेल्न सक्दैनन्,’ ग्लास्नरको भनाई छ । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा प्रेसिङ दीगो रणनीति हुन नसक्ने बताउँछन्। ‘एउटा बिन्दूमा पुगेपछि यो सम्भव हुँदैन । आखिरमा खेलाडी पनि त मेसिन होइनन्,’ आर्टेटा भन्छन् ।

आर्टेटाले आफ्नो टिम यसरी निर्माण गरेका छन्, ताकि लामो बल खेल्ने विपक्षीसँग सजिलै भिड्न सकियोस् । आफ्नो क्षेत्रमा आइपुग्ने विपक्षीको पहिलोे लामो बल नियन्त्रणमा लिन नसके ‘सेकेन्ड बल’ का लागि भिडिहाल्ने, बल खोसिहाल्ने खेलाडी आर्सनलसँग छन् । तर प्रिमियर लिगका अरु टिम यत्तिका बलिया छैनन् ।

वेस्ट ह्याम युनाइटेड र सन्डरल्यान्डविरुद्धका आफ्ना पछिल्ला खेलहरुमा लिभरपुलले प्रेस नै गरेन । विपक्षी खेलाडीहरुलाई बल खेलिरहन दियो । बरु आफ्नो रक्षापंक्ति बलियो बनाउन ‘ब्लक’ निर्माण गरेका लिभरपुलका खेलाडी आफ्ना क्षेत्रमा टसमस भएनन् । लिभरपुलको यो रणनीतिले वेस्ट ह्यामका प्रशिक्षक नुनो स्प्रिटो सान्टो र सन्डरल्यान्डका प्रशिक्षक रेगिस ले ब्रिस छक्क परे । ‘एनफिल्डमा यत्तिको स्पेस र समय पाइयो। मलाई अचम्म लाग्यो,’ स्प्रिसको भनाई थियो ।

त्यसोभए के त ? अब प्रेसिङको समय सकिएको हो? फुटबलमा फेरि पहिले जस्तै अजंगका खेलाडीको खोजी सुरु भएको हो ? जवाफ सजिलो छैन। तर प्रेसिङको युग पूर्णरुपमा अन्त्य भयो भनिहाल्न सकिँदैन । हालका लागि प्रेसिङले केवल विश्राम लिएको मात्र पनि हुनसक्छ ।

उसो त हालको यो परिवर्तनले क्लबहरुको खेलाडी खरिद रणनीतिमा पनि असर पुग्ने निश्चित छ । केही क्लबहरुले प्रेसिङ युगको अन्त्य भएको निर्क्योल निकालेरै प्राविधिक रुपमा निपूर्ण खेलाडी खरिदमा ध्यान दिइरहेका छन् ।

फुटबलमा आफूलाई सफल बनाएका रणनीति त्याग्न प्रशिक्षकहरु तत्काल तयार हुँदैनन् । कुनै एउटा रणनीति वा सिद्धान्तमै विश्वास गर्नुको पनि त कारण हुन्छ । तर फुटबलमा रणनीति वा सिद्धान्त परिमार्जन भइरहने विषय हुन् । जसरी प्रेसिङलाई समाहित गरेर पोजिस्नल प्ले परिमार्जित गरियो, त्यसैगरि अबको नयाँ फुटबल रणनीतिमा सम्भवतः डाइरेक्ट फुटबल केन्द्रमा हुनेछ ।  

बेलायती अखबार द टाइम्सबाट