काठमाडौं । फोटो पत्रकार उदीप्तसिंह क्षेत्रीले आइतबार सामाजिक सञ्जालमा २१ वर्षअघिका सात तस्विर सेयर गर्दै लेखे, ‘मेरो २३ वर्षे करियरमा फुटबल लिगको सर्वोत्कृष्ट युग ।’ तस्विरमा २०६२ फागुन ९ गते सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबीचको प्रतिस्पर्धा दौरान दशरथ रंगशालाको दृश्य कैद थियो ।
त्यतिबेला दशरथ रंगशालाको रूप अहिलेजस्तो थिएन । भिआइपी भनिने पश्चिमतिरको प्यारापिटमा ढलाने छानो थियो । बाँकी तीनतिरको प्यारापिटमा न ओत लाग्न छानो थियो न त आसन अढ्याउने कुर्सी । तर उदीप्तसिंह क्षेत्रीको त्यो तस्विरमा रंगशालाको चारैतर्फ समर्थक भरिएको देखिन्छ । खुट्टा राख्ने ठाउँ नै छैन । मनाङ र थ्री स्टारका समर्थकहरू ठुल्ठूला झण्डा बोकेर आफ्नो टिमको हौसला बढाउन पूरा जोसका साथ उपस्थित भएको देखिन्छ । उदीप्त फोटो पत्रकार हुन् । उनी भिडियो पत्रकार हुन्थे र फेसबुकमा उनले त्यो बेलाको भिडियो पोस्ट्याएको भए बाजागाजासहित उपस्थित दुवै टिमका समर्थकले पूरा खेल अवधिभर बजाएका बाजाको धुन पनि सुन्न पाइन्थ्यो ।
नेपाली फुटबलले घरेलु स्पर्धामा त्यस्ता दृश्य देख्न नपाएको धेरै भइसक्यो । अझ उदीप्तको तस्विरमा देखिएको दसौं हजार दर्शकलाई जोसका साथ रंगशालासम्म आकर्षित गर्ने दुई टोली थ्री स्टार र मनाङको रवाफ पनि त्यस्तो रहेन । यसकारण पनि यो प्रसंग धेरै सान्दर्भिक अनुभूत हुन्छ । तीन पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको नेपाली फुटबलको सदाबहार महारथी थ्री स्टार क्लबले अघिल्लो लिगमा शीर्ष डिभिजनको हैसियत गुमाइसक्यो । कीर्तिमानी आठ पटक लिग जितेको मनाङले घरेलु प्रतियोगिता नखेलेको धेरै भइसक्यो । नेपालकै सबैभन्दा सफल र सनसनीपूर्ण क्लबको अवस्था अहिले गुमनाम जस्तै छ ।
बंगलादेशले आफ्नो लिगलाई पुनरस्थापित गर्ने क्रममा गति बढाउँदा बेरोजगार नेपाली खेलाडीले छिमेकी देशमा मौका पाउन थालेका छन् ।
सायद नेपाली फुटबलका दुई ठूला नाम थ्री स्टार र मनाङले देशभित्र यो खेलको वर्तमान अवस्था मज्जाले चित्रण गरेका छन् । घरेलु प्रतियोतिगाको अभावमा फुटबल प्याक-प्याक भइसकेको छ । नेपाली फुटबल पिरामिडको सबभन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग नभएको २६ महिना पूरा भइसक्यो । लिगको पिरामिडअन्तर्गत सबै श्रेणी र छनोट प्रतियोगितासम्म प्रत्येक वर्ष हुनुपर्ने सामान्य कुरासमेत विभिन्न बहानामा हुन सकेका छैनन् । पंकजविक्रम नेम्वाङको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ कार्यसमिति आएको तीन वर्ष दुई महिना बितिसक्दा सबै श्रेणीको लिग एक पटकमात्र सम्पन्न भयो ।

२०७९ असार ६ गतेको निर्वाचनमा कर्माछिरङ शेर्पालाई चार मतले पराजित गरेपछि नेम्वाङको नेतृत्वमा नेपाली फुटबलले ठूलै छलाङ मार्ने अनुमान गरिएको थियो । तर, नेम्वाङ नेतृत्वमा नेपाली फुटबलमा हुनुपर्ने भन्दा हुनै नहुने धेरैथोक हुन थाले । सबै चिज उल्टो हुँदै गयो । अर्काे असारमा चारवर्षे कार्यकाल सम्पन्न हुँदै गर्दा नेम्वाङसामु ‘मेरो नेतृत्वमा नेपाली फुटबलमा यो यो काम गर्यौं’ भन्नका लागि ठोस उपलब्धि केही हुने छैन । बरु बेथिति र बिसंगतिमा रुमल्लिइरहेको फुटबलमा सुरक्षित भविष्य नदेखेर ७० भन्दा बढी राष्ट्रियस्तरका खेलाडी अस्ट्रेलियालगायतका देशमा पलायन हुनुपरेको दुर्दशाका लागि नेम्वाङलाई सम्झिइन सक्छ । किनकि उनको कार्यकालमा देश छाड्ने स्थापित खेलाडीमा ३० भन्दा बढी त राष्ट्रिय टिमकै खेलाडी छन् ।
घरेलु लिग नै नभएपछि नेपाली क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पनि वञ्चित भए । फिफा वरियताका आधारमा नेपाली क्लबले एसियाली फुटबल महासंघ (एएफसी)को तेस्रो श्रेणीको प्रतियोगिता खेल्ने गर्छन् । तर घरेलु लिग नभएका कारण यसपालि नेपाली क्लब एएफसी च्यालेन्ज लिगको छनोट खेल्नबाट वञ्चित भयो । यसअघि नेपालको लिग च्याम्पियनले च्यालेन्ज लिगको छनोट खेल्ने गर्दथे ।
कुनै समय थियो गणेश थापा, कृष्ण थापा, भक्त राजकर्णिकार, धिरेन्द्र प्रधान, बालगोपाल महर्जन, नीराजन रायमाझी जस्ता खेलाडीले बंगलादेशको लिगमा नेपाली फुटबलको गौरवमय छाप छोडेका थिए ।
निरासा नै निरासाको बीचमा नेपाली फुटबलमा एउटा सकारात्मक संकेत देखिएको छ । बंगलादेशले आफ्नो लिगलाई पुनरस्थापित गर्ने क्रममा गति बढाउँदा बेरोजगार नेपाली खेलाडीले छिमेकी देशमा मौका पाउन थालेका छन् । देशभित्र खेल्नै नपाएर खुट्टा कुँजिने अवस्थामा पुगेका नेपाली खेलाडीले बंगलादेशमा खेल्न पाउनुले नेपाली फुटबलमा चाँदीको घेराजस्तै आशाको सञ्चार गराएको छ ।
देशभित्र लगातार लिग नहुने, फुटबलमा अन्य गतिविधि पनि नहुने र विवादको घेराभित्र मात्र सीमित हुन थालेपछि राष्ट्रिय टोलीका चर्चित खेलाडीले बंगलादेशको बाटो तताउन थालेका छन् । यसै सिजन बंगलादेश जाने खेलाडीको सूचीमा ८ नाम पुगिसकेको छ । अरू थुप्रै खेलाडी बंगलादेश जाने सम्भावनाको प्रक्रियामा छन् ।

बंगलादेश जाने टुंगाे लागिसकेका एक खेलाडी भन्छन्, ‘लिग छैन, देशभित्र फुटबलको गतिविधि नै शून्य भएपछि बंगलादेशको लिग हाम्रा लागि एउटा राम्रो अवसर बनेको छ । हामीले पारिश्रमिकको आकर्षणभन्दा पनि फुटबलमै रमाइरहन र आफूलाई फिट राखिरहन यस्तो निर्णय लिएका हौं ।’
१० टोलीले भाग लिने लिगमा नेपाली खेलाडीमाथि बंगलादेशका शीर्ष क्लबहरू अवाहनी लिमिटेड ढाका, मोहम्मडन स्पोर्टिङ र बसुन्धारा किङ्स जस्ता क्लबले अहिलेसम्म चासो देखाइसकेका छैनन् । रेलिगेसन क्षेत्र र मध्यभागमा रहेका क्लबले नेपाली खेलाडीमाथि बढी भर गरिरहेका छन् ।
बंगलादेश प्रिमियर लिगको नयाँ संरचना सन् २००७ देखि सुरु भएको हो ।
बंगलादेश फुटबल संघले यसपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) मा आबद्ध देशका खेलाडीलाई स्थानीय कोटामा राख्ने महत्त्वपूर्ण निर्णय गरेको थियो । यही निर्णयपछि बंगलादेशमा नेपाली खेलाडीका लागि अवसर खुल्न थालेको हो ।
कुनै समय थियो गणेश थापा, कृष्ण थापा, भक्त राजकर्णिकार, धिरेन्द्र प्रधान, बालगोपाल महर्जन, नीराजन रायमाझी जस्ता खेलाडीले बंगलादेशको लिगमा नेपाली फुटबलको गौरवमय छाप छोडेका थिए । सन् १९९० को दशकको अन्त्यतिरबाट बंगलादेशको फुटबल आफै क्रिकेटको छायाँमा खुम्चिन थाल्यो । जसोतसो चलिरहेको फुटबलमा पनि विदेशी कोटाका कारण क्लबहरुको रोजाइमा नेपाली खेलाडीले ठाउँ पाउन सकेनन् । तर बंगलादेश फुटबल संघको पछिल्लो निर्णयले फेरि ढाकाको गल्लीमा नेपाली खेलाडीको चर्चा चल्ने सम्भावना देखिएको छ ।

बंगलादेश प्रिमियर लिगको नयाँ संरचना सन् २००७ देखि सुरु भएको हो । त्यसयता लगातार १७ संस्करण सम्पन्न हुँदा अवाहनी लिमिटेडले सर्वाधिक ६ तथा बसुन्धाराले पाँच पटक उपाधि जितेका छन् । शेख जमल धनमुन्डी क्लबले तीन तथा पछिल्लो सिजनको च्यामिपयन मोहम्मडन र शेख रसेल केसीले एक-एक पटक लिग जितेका छन् ।
को कहाँबाट खेल्दैछन् ?
कप्तान किरण चेम्जोङ र फरवार्ड आयुश घलानले बंगलादेश पुलिसबाट खेल्दैछन् । यो क्लब पछिल्लो सिजन सातौं स्थानमा थियो । रक्षक योगेश गुरुङ, सनिश श्रेष्ठ, मिडफिल्डर एरिक विष्ट र फरवार्ड अञ्जन विष्ट चारै खेलाडी ब्रदर्श युनियनसँग अनुबन्ध भएका छन् । ब्रदर्स पछिल्लो समय पाँचौं स्थानमा छ । रक्षक अनन्त तामाङ जोडिएको फोर्टिस एफसीले गत सिजन छैटौं स्थानमा लिग टुंग्याएको थियो । पछिल्लो पटक चौथो स्थानमा रहेको रहमतगन्जले नेपालका रक्षक अभिषेक लिम्बुलाई भित्र्याएको छ ।