लन्डन । सन् १९६६ को विश्वकप फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी थिए, उसेबियो । पोर्चुगाली जर्सी लगाएर विश्वकपमा तहल्का मच्चाउँदै गर्दा उसेबियोले मोजाम्बिकलाई पनि विश्वमाझ चिनाए । किनभने उनको आफ्नो देश अफ्रिकाको मोजाम्बिक थियो । त्यसबेला मोजाम्बिक पोर्चुगलको अधीनमा भएकाले उनले पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका हुन ।
पोर्चुगलबाट स्वतन्त्रता पाएसँगै मोजाम्बिक फिफाको १२५औं सदस्य बन्यो । र, अहिले आएर मोजाम्बिक इङ्लिस प्रिमियर लिगमा खेलाडी आपूर्ति गर्ने १२७औं देश बनेको छ । यो तथ्य गत साता स्थापित भएको हो, जब रेइनिल्डोले सन्डरल्यान्डका लागि वेस्टह्याम युनाइटेडविरुद्ध खेले ।
सन् १९९२ मा इङ्ल्यान्डको सर्वोच्च लिगले प्रिमियर लिगको रूप धारण गर्नुअघि पनि त्यहाँ विदेशी खेलाडी थिए । तर प्रिमियर लिगको जन्मपछि चाहिँ इङ्ल्यान्ड पुग्ने विदेशी खेलाडीको संख्यामा उल्लेखनीय वृद्धि भएको हो । अर्को तथ्य के भने सन् १९९२ अघि प्रिमियर लिगलाई खेलाडी आपूर्ति गरिरहेका देशले त्यसपछि खेलाडीको संख्या झन् बढाए ।
माथि उल्लेख गरिएझैं आजको दिनमा प्रिमियर लिगमा १२७ देशका खेलाडी छन् । युरोपेली फुटबल महासंघ (युइएफए) सँग आबद्ध ५५ देशमध्ये सात देशका खेलाडीले मात्र प्रिमियर लिगका क्लबबाट खेलेका छैनन् । ती सात देश हुन् एन्डोरा, अजरबैजान, काजकिस्तान, लिचटेन्टस्टाइन, लक्जेम्बर्ग, मल्दोभा र सान मारिनो ।
एसियाका ४६ फिफा सदस्य देशमध्ये १३ देशका खेलाडीले मात्र प्रिमियर लिग खेल्न पाएका छन् ।
हिसाब सिधा छ, ४८ युइएफए सदस्यका खेलाडीले प्रिमियर लिग खेलेका छन् । उता अफ्रिकी देशहरुको कुरा गर्ने हो भने मोजाम्बिक ३४औं देश हो, जसको प्रतिनिधित्व प्रिमियर लिगमा भएको छ । अफ्रिकामा ५४ फिफा सदस्य देश छन् । दक्षिण अमेरिकामा रहेका १० फिफा सदस्यबाटै प्रिमियर लिगमा खेलाडी पठाइएको छ । बाँकी अमेरिकी क्षेत्रबाट पनि प्रिमियर लिग खेल्न खेलाडी इङ्ल्यान्ड पुगेका छन् ।

अब फिफाका दुई क्षेत्रले मात्र प्रिमियर लिगमा आफ्नो गहिरो प्रभाव सिर्जना गर्न बाँकी छ । ती क्षेत्र हुन् एसिया र ओसिनिया । एसियाका ४६ फिफा सदस्य देशमध्ये १३ देशका खेलाडीले मात्र प्रिमियर लिग खेल्न पाएका छन् । ओसिनियाका ११ देशमध्ये न्युजिल्यान्ड प्रिमियर लिगमा प्रतिनिधि खेलाडी पठाउने एकल देश हो । यस्तोमा कुल २११ फिफा सदस्य देशमध्ये १२५ देशले प्रिमियर लिगमा खेलाडी पठाएका छन् । त्यसबाहेक क्यारेबियन क्षेत्रका दुई दीप ग्वाडेलुप र मार्टिनिक फिफाका पूर्ण सदस्य नभए पनि यो सूचीमा जोडिन्छन् ।
सन् १९९२, अगस्टको पहिलो सप्ताहन्तमा प्रिमियर लिग सुरु हुँदा बेलायतभित्रका पाँच दीप र अन्य १२ देशका खेलाडीले खेलेका थिए । तीमध्ये थिए रोब्बी इर्ल र रुइल फक्स । इङ्ल्यान्डमा जन्मिएको भए पनि उनीहरूले अन्तर्राष्ट्रिय फुटबल जमैका र मोन्ट्सेराटबाट खेले । यसरी धेरै खेलाडीले प्रतिनिधित्व गर्ने देश बदलिएका छन्, जब उनीहरूले जन्म देशभन्दा अन्यत्रबाट अन्तर्राष्ट्रिय खेल खेल्न थाले ।
प्रिमियर लिगको इतिहासमा यस्तो पनि भएको छ, जब एकै टिमले दुई फरक देशका खेलाडीलाई डेब्यु गराएका छन् । सन् १९९४–९५ सिजनको पहिलो दिन न्युकासल युनाइटेडले बेल्जियमका फिलिप अल्बर्ट र स्विटजरल्यान्डका मार्क होटिगरलाई एकैपटक मैदान उतारेको थियो । यी दुईले विश्वकप ९४ मा कमालको खेल देखाएका थिए ।
विश्वका थुप्रै देशका खेलाडीले प्रिमियर लिग खेल्न पाएका छैनन् । यस्तोमा पूर्वी अफ्रिकाका रेइनिल्डोले गत साता प्रिमियर लिगमा डेब्यु गर्नु सानोतिनो सफलता होइन ।
अप्रिल १९९७ मा च्याम्पियन म्यानचेस्टर युनाइटेडको सामना गरेको डर्बी काउन्टीले पाउलो वान्चोपेलाई खेलाएसँगै प्रिमियर लिगमा कोस्टारिकाको झन्डा गाडिएको थियो । त्यही खेलबाट मार्ट पुम प्रिमियर लिग खेल्ने पहिलो इस्टोनियाली बन्न पुगे । अन्ततः ओल्ड ट्राफोर्डको त्यो खेल डर्बीले आफ्नो पक्षमा पारेको थियो ।

यसको लगभग २१ वर्षपछि प्रिमियर लिगमा दुई देशको प्रतिनिधित्व थप्ने काम कार्डिफ सिटीले गर्यो । कार्डिफले फिलिपिन्सका गोलकिपर निल इथ्रिज्ज र ग्वाटेमालाका फरवार्ड नाथनियल मेन्डेज लाइङलाई लिगमा उतारेको थियो ।
बार्नस्लीले अहिलेसम्म एक सिजन मात्र प्रिमियर लिग खेल्न पाएको छ । त्यो पनि, सन् १९९७-९८ मा । जम्मा एक सिजनका लागि मात्र प्रिमियर लिगमा उपस्थित भए पनि बार्नस्लीले दुई देश स्लोभेनिया र उत्तर म्यासिडोनियालाई प्रिमियर लिगमा पुर्यायो । स्लोभेनियाका एलेस क्रिजन र म्यासिडोनियाका जर्जी ह्रिस्टोभले त्यस सिजन बार्नस्लीको जर्सीमा प्रिमियर लिग खेल्न पाएका थिए । सन् २००८-०९ मा प्रिमियर लिगको अंक तालिकामा सबैभन्दा पुछारमा रहेको वेस्टबु्रमबाट सोही सिजन सुरिनाम, कापे भार्डे र कुराकाओका खेलाडीले पहिलो पटक इङ्गल्यान्डको सबैभन्दा ठूलो लिग खेलेका थिए ।
प्रिमियर लिगमा सेनेगलका ४८ खेलाडीले खेलिसकेका छन् । अली डिया प्रिमियर लिग खेल्ने पहिलो सेनेगाली हुन् । सन् १९९६ मा साउथह्याम्पटनबाट प्रिमियर लिग खेल्दा उनलाई जम्मा एक महिनाको करार दिइएको थियो । प्रिमियर लिग खेल्नमा अवसर पाउने खालको प्रतिभा नभएका उनले त्यसबेला साउथह्याम्पटनका प्रशिक्षक ग्राएम सुनसलाई आफू महान् अफ्रिकी खेलाडी जर्ज वेको नातेदार भाइ भएको भनेर झुक्याउँदै टिममा स्थान बनाएको बताइन्छ । यद्यपि उनलाई १४ दिनपछि नै साउथह्याम्पटनले टिमबाट हटाएको थियो ।
दक्षिणपूर्वी एसियाका ११ देशबाट कोही खेलाडी प्रिमियर लिगमा पुग्न सकेका छैनन् ।
विश्वका थुप्रै देशका खेलाडीले प्रिमियर लिग खेल्न पाएका छैनन् । यस्तोमा पूर्वी अफ्रिकाका रेइनिल्डोले गत साता प्रिमियर लिगमा डेब्यु गर्नु सानोतिनो सफलता होइन । पूर्वी अफ्रिकाका केन्या र तान्जानियाले हालसम्म एक-एक खेलाडीलाई मात्र प्रिमियर लिगमा पठाउन सकेका छन् । रवान्डा, मलावी, युगान्डा, सुडान, दक्षिण सुडान, इथियोपिया, इरिट्रिया, जिबुटी र सोमालियाबाट प्रिमियर लिगमा प्रतिनिधित्व हुन बाँकी छ ।
उता दक्षिणपूर्वी एसियाका ११ देशबाट कोही खेलाडी प्रिमियर लिगमा पुग्न सकेका छैनन् । इन्डोनेसिया र फिलिपिन्सका एक-एक खेलाडीले भने यो लिग खेलेका छन् । एसियाका दुई यस्ता महत्त्वपूर्ण देश छन्, जसले हालसम्म प्रिमियर लिगलाई खेलाडी दिन नसक्नु आश्चर्य छ । पहिलो, साउदी अरेबिया । जसले सन् २०३४ को विश्वकप आयोजना गर्दैछ । विश्व फुटबलमा ठूलो लगानी गरिरहेको साउदीबाहेक प्रिमियर लिगमा प्रतिनिधि नभएको अर्को महत्त्वपूर्ण देश हो, भारत । जोसँग विश्वको सर्वाधिक ठूलो जनसंख्या छ । के यीमध्ये एक प्रिमियर लिगमा खेलाडी पठाउने १२८औं देश बन्ला ?(बेलायती अखबार द टाइम्सबाट)