फाल्गुन २८, २०८१ बुधबार | १०:२३:११
इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित
शनिबारको दिन

लेगेसी धान्दै सिमोन, क्लाइभर्ट र थुराम जुनियर

काठमाडौं । मड्रिडको मेट्रोपोलिटानो रंगशाला । ला लिगाको खेल । घरेलु टिम एट्लेटिको मड्रिडको विपक्षी लास पाल्मास । ३७औँ मिनेटमा एट्लेटिकोले खेलमा पहिलो गोल गर्छ । गोल गर्ने खेलाडी, जुलियानो सिमोनी । २१ वर्षीय राइट विंगर जुलियानोले एट्लेटिकोको सिनियर टिमका लागि गरेको यो पहिलो गोल थियो ।

अर्जेन्टिनाकै अर्का खेलाडी नाहुएल मोलिनाले दिएको लामो पास नियन्त्रणमा लिन जुलियानो बेस्सरी दौडिन्छन् । लास पाल्मासका फुलब्याक एलेक्स मुनोज र सेन्ट्रर ब्याक स्कट म्याकेन्ना हत्तपत्त जुलियानोलाई बल नियन्त्रण गर्नबाट रोक्न आफ्नो क्षेत्रतर्फ दौडिन्छन् । तर उनीहरुको दौडाई जुलियानोको गतिसँग मिल्दो जुल्दो हुँदैन ।

ला लिगा जस्तो ठूलो लिग अनि एट्लेटिको जत्तिको विशाल क्लब । आफ्नै छोरालाई पहिलो श्रेणीको टिममा बढुवा गर्दै खेलाउँदा डिएगोमाथि थुप्रै आरोप लागे । 

बल मैदानमा दुई पटक उफ्रिएपछि हेड गरेर नियन्त्रणमा लिएका जुलियानो लास पाल्मासको बक्समा पुग्छन् । गोलरकिपरलाई छक्क्याउन आवश्यक नठानी सीधैँ प्रहार गर्छन् । उनको प्रहार सटिक गोलमा परिणत हुन्छ ।

जुलियानो सिमोनी ।

जुलियानो एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीका कान्छा छोरा हुन् । एट्लेटिकोको एकेडेमीमा हुर्किएका जुलियानो यसैपाली ‘फर्स्ट टिम’ को पूर्णकालीन सदस्य बनेका हुन् ।

सिमोनी परिवारबाट एट्लेटिकोको जर्सीमा ला लिगा खेल्ने पहिलो खेलाडी होइनन्, जुलियानो । उनका पिता डिएगोले लगभग पाँच वर्ष एट्लेटिकोमा बिताएका थिए । दुई पटक गरि आधा दशक खेल्दा डिएगोले एट्लेटिकोलाई एकपल्ट ला लिगा च्याम्पियन बन्न मद्दत गरेका थिए ।

योभन्दा रोचक तथ्य त अर्को छ । २१औँ शताब्दीमा जम्मा चार टिमले ला लिगा जितेका छन् । ती चार टिममध्ये दुई बार्सिलोना र रियाल मड्रिड भइगए । बाँकी दुई भ्यालेन्सिया र एट्लेटिको हुन् । यी दुईले दुई-दुई पटक स्पेनका दुई ठूला टिमलाई पछि पार्दै ला लिगा जितेका थिए । भ्यालेन्सियालाई ला लिगा विजेता बनाउने राफेल बेनिटेज हुन् । जसले पछि लिभरपुललाई सन् २००५ मा च्याम्पियन्स लिग जिताए । एट्लेटिकोलाई च्याम्पियन बनाउने प्रशिक्षक चाहिँ डिएगो हुन्, त्यो पनि दुवै पटक ।

रक्षापंक्तिमा मात्र होइन मिडफिल्ड र विंगमा खेल्नेलाई पनि रक्षात्मक जिम्मेवारी दिने डिएगोका लागि छोरा जुलियानो ‘पर्फेक्ट फिट’ हुन् । किनभने जुलियानो मेहनत गरेर खेल्छन् । 

ला लिगा जस्तो ठूलो लिग अनि एट्लेटिको जत्तिको विशाल क्लब । आफ्नै छोरालाई पहिलो श्रेणीको टिममा बढुवा गर्दै खेलाउँदा डिएगोमाथि थुप्रै आरोप लागे । आजकलको भाषामा भन्दा, आरोप थिए नेपोटिजमको । तर जुलियानोले त्यस्ता आरोपलाई खारेज गरिदिएका छन्, मैदानमा उच्चतम प्रदर्शन गरेर । यसको प्रमाण हो, च्याम्पियन्स लिगमा साल्जबर्गविरुद्ध गरेका गोल अनि एन्टोनी ग्रिजम्यानलाई गोलका लागि मिलाएको पास । मंगलबार मात्र जुलियानोले कोपा डेल रेको क्वार्टरफाइनलमा गेटाफेविरुद्ध दुई गोल गरे । जसकारण ५-० को जितका साथ एट्लेटिको सेमिफाइनलमा पुगेको छ ।

पिता डिएगोका साथ जुलियानो सिमोनी (अगाडि )। 

ला लिगा र च्याम्पियन्स लिगमा आफ्ना छोराले पहिलो गोल गरेपछि डिएगोको मुहार हेर्नलायकको थियो । युरोपेली क्लब फुटबलमा कडा मिजासका प्रशिक्षकहरुको सूचिमा पर्ने डिएगोलाई त्यतिबेला आँसु थाम्न मुस्किल भएको थियो ।

युरोपेली क्लब फुटबल प्रेमीहरुका लागि डिएगो सिमोनी फेन्सी नाम होइनन् । उनको खेल रणनीति पारम्पारिक छ । आलोचकहरु उनलाई रक्षात्मक प्रशिक्षक मान्छन् । कतिपय खेलमा उनको टिमले पट्यारलाग्दो खेल्छ । उनी हार्न चाहँदैनन्, बरु यसका लागि पट्यारलाग्दो नै खेल्न किन नपरोस् ?

रक्षापंक्तिमा मात्र होइन मिडफिल्ड र विंगमा खेल्नेलाई पनि रक्षात्मक जिम्मेवारी दिने डिएगोका लागि छोरा जुलियानो ‘पर्फेक्ट फिट’ हुन् । किनभने जुलियानो मेहनत गरेर खेल्छन् । हत्तपत्त थाक्दैनन् । ‘मेरो भनाई यत्ति हो, जो मेहनत गरेर खेल्छ, उसले मौका पाउँछ । जो अल्छी गर्छ, उसले मौका पाउँदैन । जुलियानोले मेहनत गरेर खेलिरहेको छ,’ डिएगोले छोरा जुलियानोबारे भनेका छन्, ‘हामीले जुलियानोलाई कतैबाट खोजेर ल्याएको होइन । उ यही थियो । प्रशिक्षकहरुले छानेर उसलाई यो टिममा ल्याएका हुन् । नाममा सिमोनी भएकै कारण उसले खेल्न पाएको होइन ।’

डिएगोका अरु दुई छोरा पनि फुटबलर हुन् । जेठो छोरा जियोभानी यतिबेला इटालियन क्लब नापोलीमा छन् । अर्जेन्टिनाको क्लब रिभर प्लेटको एकेडेमीबाट उदाएका जियोभानी सन् २०१६ मा सिरी ‘ए’ पुगेका थिए । त्यहाँ उनको करियर स्थिर रहन सकेको छैन । सुरुमा जिनुवासँग अनुबन्धित भएका २९ वर्षीय स्ट्राइकर जियोभानीले सन् २०२२ सम्ममा चार फरक क्लबको जर्सी लगाए ।

सानो रंगशाला भएको बर्नमाउथको प्रदर्शन चाहिँ तीन ठूला रंगशाला भएका क्लबहरु म्यानचेस्टर युनाइटेड, टोटनहम र वेस्ट ह्याम युनाइटेडको भन्दा कयौँ गुणा राम्रो छ । 

अगस्ट, २०२२ बाट भने उनी नापोलीमै छन् । नापोलीमा ९३ खेल खेलिसकेका जियोभानी एन्टोनियो कोन्टेका लागि पहिलो रोजाइका खेलाडी भने होइनन् । यद्यपि नापोलीको उपाधि जित्ने अभियानमा उनी महत्त्वपूर्ण सदस्य हुन् । यसो किन पनि भनिएको हो भने, नापोलीले जनवरी सुरुवा बजारमा नयाँ फरवार्ड खरिद गरेन । यसको मतलब यही हो, जियोभानीले मैदान छिर्ने मौका पाइरहनेछन् ।

डिएगोका माइलो छोरा जियानलुका पनि सेन्ट्रल फरवार्ड नै हुन् । गोल गर्ने पोजिसनमा खेल्ने भए पनि उनले आफ्नो करियरमा खासै गोल गर्न सकेका छैनन् । स्पेनको तल्लो श्रेणीमा खेल्ने क्लबहरुमा आफ्नो भाग्य खोज्ने प्रयास गरिरहे पनि २६ वर्षीय जियानलुकाले भाइ वा दाइ जत्तिको नाम बनाउने सम्भावना कम छ ।

गोलको खुसीयाली मनाउँदै जस्टिन क्लाइभर्ट (१९ नम्बर जर्सी)।

इङ्लिस प्रिमियर लिगका २० टिममध्ये सबैभन्दा सानो रंगशाला भएको टिम बर्नमाउथ हो । भिटालिटी रंगशालामा ११ हजार तीन सय दर्शक मात्र अट्छन् । यति सानो रंगशाला भएको बर्नमाउथको प्रदर्शन चाहिँ तीन ठूला रंगशाला भएका क्लबहरु म्यानचेस्टर युनाइटेड, टोटनहम र वेस्ट ह्याम युनाइटेडको भन्दा कयौँ गुणा राम्रो छ । बर्नमाउथ हाल सातौँ स्थानमा छ भने ती तीन टिम क्रमशः १३, १४ र १५ औँ स्थानमा छन् ।

सानो रंगशाला, सानो बजेट र धेरै कोणबाट सानो क्लब मानिने बर्नमाउथले यसपाली जम्मा ६ खेल मात्र हारेको छ । यो साता लिभरपुलसँग पराजित भएको बर्नमाउथ त्यसअघिका ११ खेलमा अपराजित थियो । आर्सनल, युनाइटेड, टोटनहम, म्यानचेस्टर सिटी जस्ता टिमलाई पराजित गरेको बर्नमाउथ प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा निकै बलियो छ ।

बर्नमाउथले हाल जसरी सफलता हात पारिरहेको छ, यसको मुख्य कारण अवश्य पनि प्रशिक्षक इराओला हुन् । किनभने पनि उनले पहिले खासै नाम नसुनिएका वा प्रतिभा भए पनि चम्किन नसकेका खेलाडीलाई बर्नमाउथमा स्टारमा परिणत गरेका छन् । त्यसरी स्टार बनेका खेलाडीमध्येका एक हुन्, जस्टिन क्लाइभर्ट ।

जस्टिनका पिता मात्र होइनन्, हजुरबुवा केनेथ पनि फुटबलर थिए, दक्षिण अमेरिकाको सुरिनाममा केनेथ स्टार थिए।  

अट्याकिङ मिडफिल्डर जस्टिनले २३ खेलमा ११ गोल गरिसकेका छन् । जस्टिन मैदानमा जति गज्जबले खेल्छन् उनको पृष्ठभूमि पनि त्यति नै गज्जबको छ । किनभने उनको पिताको नाम हो, प्याट्रिक क्लाइभर्ट ।

हाल इन्डोनेसियाको राष्ट्रिय टिमका प्रशिक्षक प्याट्रिक त्यस्ता पूर्वफुटबलर हुन् जसको परिचय दिइरहन आवश्यक पर्दैन । उनले खेलेका क्लबको सूची, गोल गरेका प्रतियोगिता, लगाएको जर्सी नम्बर, सँगै खेलेका एकसेएक साथी खेलाडी के-के मात्र उल्लेख गर्ने ?

अभ्यासका दौरान जस्टिन क्लाइभर्ट (दायाँ)।

आफ्नो जमानाका प्रख्यात सेन्टर फरवार्ड प्याट्रिकले करिब १४ वर्ष युरोपका ठूला-ठूला क्लबबाट खेले । आयाक्सबाट सुरु उनको करियर एसी मिलान, बार्सिलोना, न्युक्यासल युनाइटेड र भ्यालेन्सिया हुँदै फ्रान्सको लिल पुगेर टुंगिएको थियो । रोबिन भान पर्सीले उछिन्नुअघि प्याट्रिक लामो समय डच राष्ट्रिय टिमका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीका रुपमा थिए ।

जस्टिनका पिता मात्र होइनन्, हजुरबुवा केनेथ पनि फुटबलर थिए, दक्षिण अमेरिकाको सुरिनाममा केनेथ स्टार थिए।  त्यहाँको सर्वाधिक सफल क्लब रोबिनहुडबाट केनेथले झन्डै ४०० खेल खेलेका थिए । उनले राष्ट्रिय टिमको जर्सी समेत लगाउन भ्याए ।

यसरी सम्बृद्ध फुटबल इतिहास भएको परिवारका जस्टिन आयाक्सका उत्पादन हुन् । युथ फुटबलमा तहल्का मच्चाएपछि तत्काल सिनियर टिममा बढुवा भएका जस्टिनलाई युरोपका ठूला क्लबहरुले आँखा लगाएका थिए । प्रतिभावान् खेलाडी डच लिगमा धेरै टिक्दैनन् । जस्टिन पनि आयाक्सबाट हिँडिहाले । उनलाई एएस रोमाले ठूलो आशसहित अनुबन्धन गरेको थियो । उसो त जस्टिनलाई अनुबन्ध गर्र्न चाहने एक्लो क्लब थिएन रोमा । तर रोमामा निर्देशकको भूमिकामा रहेका फ्रान्सिस्को टोट्टीले जस्टिनका पितालाई टेलिफोन गरेपछि रोमाका लागि सजिलो भयो ।

दुई सिजन रोममा रहँदा जस्टिन खासै जम्न सकेनन् । त्यहाँबाट आरबी लाइपजिग हुँदै उनी निस र भ्यालेन्सिया पुगे । ती दुवै टिममा उनको प्रदर्शन ठिकठाक थियो । गत सिजन तुलानात्मक रुपमा बलियो प्रिमियर लिग पुगेका जस्टिनले पहिलो सिजन सात गोल गरे । यो सिजन भने उनको गोल संख्या उकालो चढेको छ, लिगका २३ खेलमा ११ गोल । यो आर्सनलका स्ट्राइकर काई हाभर्ट्स, चेल्सीका फरवार्ड निकोलस जोन्सन, म्यानचेस्टर सिटीका फिल फोडेन जस्ता नाम चलेका स्टारहरुको भन्दा बढी हो ।

सामान्यतयाः नेदरल्यान्ड्सका आक्रामक खेलाडीहरु कौशलले भरिएका हुन्छन् । जस्टिन पनि ‘स्किलफूल’ छन् । गोल पनि उनले बलिया टिमहरुविरुद्ध नै गरेका छन् । प्रिमियर लिगमा न्युक्यासलसँगको खेलमा त उनले ह्याट्रिक नै गरे । उनले लिगका ठूला मानिने टिमहरु चेल्सी, म्यानचेस्टर युनाइटेड र आर्सनलविरुद्ध पनि गोल गरेका छन् ।

बर्नमाउथ हाल सातौँ स्थानमा छ । यही लय कायम राखिरहे बर्नमाउथ अर्को सिजनका लागि युरोपेली क्लब प्रतियोगितामा छानिन सक्छ । बर्नमाउथ जत्तिको सानो क्लबका लागि युरोपेली प्रतियोगिता खेल्नु उपाधि जिते बराबर हो । र बर्नमाउथ यस्तो ऐतिहासिक सफलताको नजिक पुग्नुमा जस्टिनको भूमिका महत्त्वपूर्ण छ ।

जस्टिन २५ वर्षका भए । यो यस्तो उमेर हो जतिबेला जस्टिन जस्ता प्रतिभाशाली खेलाडीले आफ्नो प्रतिभा सिद्ध गर्नैपर्छ । र उनले त्यसो गरिरहेका पनि छन् । सम्भवत यो लयले उनलाई बर्नमाउथभन्दा ठूलो क्लबमा पुर्याउँछ । उनले जसरी खेलिरहेका छन्, त्यसले उनका पिताले खेलेका क्लबहरुको ध्यान अवश्य पनि तानेको हुनुपर्छ । आधुनिक फुटबलमा ‘नम्बर १०’ को कमी भइरहेको चर्चा चलिरहँदा जस्टिनको उदय भएकाले पनि प्रिमियर लिगकै अन्य क्लब र स्पेनबाट उनलाई प्रस्ताव आउने सम्भावना बलियो छ ।

‘म खेल्दा लिलियन मेरा लागि आइडल थिए । उनीबाट धेरै सिक्ने मौका पाएँ,’ अनरीको भनाइ थियो । अनरीको बोली खस्न नपाउँदै मार्कसले जवाफ दिए, ‘तपाईंका लागि मेरो बुबा आइडल, मेरा लागि तपाँइ आइडल ।’ मार्कस अनरीलाई काका भन्छन् ।

च्याम्पियन्स लिग पछ्याउनेका लागि अमेरिकी टेलिभिजन सिबिएसको ‘सिबिएस स्पोर्टस गोलाजो’ परिचित टेलिभिजन कार्यक्रम हो । च्याम्पियन्स लिगका खेलअघि र पछि यो कार्यक्रममा थिएरी अनरी, जिम्मी कारागर र माइकल रिचार्ड्सले खेलको विश्लेषण गर्छन् । खेलाडीहरुसँग कुराकानी गर्छन् । हाँसो मजाक चल्ने भएकाले पनि यो कार्यक्रम लोकप्रिय छ ।

यही सिजन च्याम्पियन्स लिगको इन्टर मिलान र आर्सनलबीचको खेलपछि मार्कस थुराम सो कार्यक्रसँग जोडिएका थिए । कुराकानी चल्दै थियो, अनरीले लिलियन थुरामको कुरा निकाले । लिलियन थुराम तिनै पूर्वखेलाडी हुन् जोसँग अनरीले फ्रान्सेली राष्ट्रिय टिम, मोनाको र युभेन्टसमा सँगै खेलेका थिए । आफ्नो जमनाका तगडा रक्षक लिलियनका छोरा हुन् मार्कस ।

 मार्कस थुराम ।

‘म खेल्दा लिलियन मेरा लागि आइडल थिए । उनीबाट धेरै सिक्ने मौका पाएँ,’ अनरीको भनाइ थियो । अनरीको बोली खस्न नपाउँदै मार्कसले जवाफ दिए, ‘तपाईंका लागि मेरो बुबा आइडल, मेरा लागि तपाँइ आइडल ।’ मार्कस अनरीलाई काका भन्छन् ।

साथीको छोरा भएकाले मात्र होइन, मार्कस साँच्चै प्रतिभाशाली खेलाडी भएकाले पनि अनरीको प्यारो भएका हुन् । जुलियानो वा जस्टिन जस्तो प्रसिद्ध क्लबका उत्पादन होइनन्, मार्कस । हाल फ्रान्सको तेस्रो श्रेणीको लिग खेल्ने सोचोका उत्पादन मार्कसले लामो समय तल्लो श्रेणीका लिग खेले । उनले सन् २०१७ मा भने फ्रान्सको पहिलो श्रेणीमा पाइला राखेका थिए । २१ वर्षको उमेरमा गुइगाम्पबाट लिग वानको यात्रा थालेका मार्कस दुई वर्षपछि बुन्डेसलिगा पुगे ।

बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडबाचबाट चार सिजन खेल्दा मार्कस युरोपकै प्रतिभाशाली फरवार्डहरुमध्ये एकका रुपमा स्थापित भए । लेफ्ट विंग र सेन्ट्रल फरवार्ड दुवै भूमिकामा खेल्न सक्ने मार्कसले जर्मनीमा १४४ खेल खेल्दा ४४ गोल र २६ असिस्टको योगदान गरेका थिए । गत सिजन इन्टर पुगेपछि उनको गोल गर्ने क्षमतामा अझै अभिवृद्धि भएको छ ।

युरो २०२४ देखि भने उनी फ्रान्सको मुख्य स्ट्राइकरका रुपमा स्थापित छन् । ग्रिजम्यानले संन्यास लिइसकेको र औसमान डेम्बेले फिट हुन संघर्षरत रहने भएकाले पनि फ्रान्सेली टिममा मार्कसको स्थान लगभग सुरक्षित छ ।

सिरी ‘ए’ मा पाइला राखेकै सिजन इन्टरलाई लिग च्याम्पियन बन्न मद्दत गरेका मार्कसले ३५ लिग खेलमा १३ गोल गरेका थिए । इन्टरका प्रशिक्षक फिलिपो इन्जाघीले मार्कसलाई धेरैजसो सेन्ट्रल फरवार्डकै रुपमा प्रयोग गर्ने गरेका छन् । इन्टर धेरैजसो ३-५-२ को संरचनामा खेल्छ । जहाँ मार्कस र कप्तान लाउटारो मार्टिनेजले अग्रपंक्ति सम्हाल्छन् ।

अर्जेन्टाइन स्ट्राइकर मार्टिनेज इन्टरका लागि कयौँ सिजनदेखि गोलको मुख्य स्रोत बन्दै आएका छन् । गत सिजन सिरी ‘ए’ को उच्च गोलकर्ता बनेका मार्टिनेजलाई जारी लिगमा भने मार्कसले उछिनेका छन् । उद्यपि मार्कस इन्टरका लागि ‘स्कोरर’ मात्र होइनन् ‘क्रिएटर’ पनि हुन् । उनको उपस्थितिमा मार्टिनेजले अझ खुलेर खेल्न पाइरहेका छन् ।

पिता लिलियनका साथ  मार्कस थुराम (दायाँ) ।

सन् २०१८ को विश्वकप विजेता फ्रान्सको राष्ट्रिय टिममा एकसेएक खेलाडी छन् । झन् अग्रपंक्तिमा त प्रतिभावान् खेलाडीको संख्या बढी नै छ । किलियान एम्बाप्पे, एन्टोनी ग्रिजम्यान जस्ता स्टार खेलाडीको उपस्थिती रहेको फ्रान्सेली टिममा मार्कसले मौका पाउन धेरै समय पर्खनु पर्यो । गत विश्वकपमा पनि उनी पहिलो एघारमा परिरहने खेलाडी थिएनन् । उनी धेरैजसो समय खेलको अन्तिम क्षणहरुमा मैदान छिरे ।

तर युरो २०२४ देखि भने उनी फ्रान्सको मुख्य स्ट्राइकरका रुपमा स्थापित छन् । ग्रिजम्यानले संन्यास लिइसकेको र औसमान डेम्बेले फिट हुन संघर्षरत रहने भएकाले पनि फ्रान्सेली टिममा मार्कसको स्थान लगभग सुरक्षित छ । त्यसमाथि उनले क्लब फुटबलमा आफ्नो बलियो लयलाई जारी राखेका छन् । यसपाली समेत लिग च्याम्पियन बन्ने धुनमा रहेको इन्टरका लागि मार्कस सम्भ्वतः सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् ।

यस्तोमा फेडेरेसन फुटबल र युरोपेली क्लब फुटबलमा पिता लिलियन थुरामले राखेको नामको चुचुरो नाप्न मार्कस सफल होलान् वा नहोलान् समयले बताउँला । तर यो चाहिँ तथ्य हो, सिमोन र क्लाइभर्ट परिवारले जस्तै थुराम परिवारले पनि विश्व फुटबललाई नयाँ पुस्ताको उपहार दिन भने सफल भएकै छ ।