काठमाडौं । सम्झँदै दिक्क लाग्ने । बितेको वर्ष २०८० मा नेपालले अन्तर्राष्ट्रिय फुटबलमा मात्र दुई खेल जितेको तथ्यांक छ । त्यो पनि तुलनात्मक रूपमा कमजोर राष्ट्र पाकिस्तान र लाओसविरुद्ध ।
कुल १२ अन्तर्राष्ट्रिय खेल भए, जसमध्ये दुई बराबरी खेलेको नेपालले आठमा पराजयको सामना गर्नुपरेको थियो । यी खेलमा नेपालले जम्मा ४ गोल गर्यो । २२ गोल सामना गरेको छ । प्रतिखेल गोलसंख्या दयनीय रूपमा ०.३ औसत रहेको वर्ष २०८० साँच्चिकै पीडादायी रह्यो ।
सुरुमा चर्चा १४औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको । कर्मकाण्डी ‘ए’ डिभिजन लिग २०७९ र ०८० का कारण नेपाली फुटबल टोलीले यसपालि साफ च्याम्पियनसिपको पर्याप्त तयारी नै गर्न पाएन । दिन बिराएर भएका लिगका कारण खेलाडीहरूले फिटनेसमै संघर्ष गरे ।
विगतमा उपाधि दाबेदार रहने गर्दा नेपालको तयारी सधैं विशेष रहने गर्थ्यो । तर, यसपालि टोलीको तयारी विगतको तुलनामा निकै कमजोर रह्यो ।
निकै व्यस्त तालिकाबीच देशभित्र दुई दिनमात्र अभ्यास गरेर राष्ट्रिय टोली अभ्यासका लागि फिलिपिन्स गएको थियो । साफको पूर्वसन्ध्यामा तयारीस्वरुप नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्यो । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिलिपिन्ससँग दुई नयाँ अनुहारलाई पहिलो रोजाइमै मैदान उतारे । ‘डेब्यु’ गर्ने खेलाडी थिए मिडफिल्डर लाकेन लिम्बु र रक्षक विमल पाण्डे । खेलमा नेपाल १–० ले पराजित भयो ।
फिलिपिन्सविरुद्धको त्यो मैत्रीपूर्ण खेलपछि नेपाली टोली सिधै प्रतियोगिता स्थल भारतको बैंगलुरु प्रस्थान गरेको थियो । क्षमतावान खेलाडीको विदेश पलायनका कारण प्रशिक्षक एनेस साफ खेल्ने टोलीमा नयाँ अनुहार राख्न बाध्य भए ।
अन्तिम टोलीमा २३ सदस्यमध्ये १४ जनाका लागि यसपालिको साफ पहिलो अनुभव थियो । औसतमा प्रतिखेलाडी साफको अनुभव ३.८७ खेल थियो । यी खेलाडीहरूसँग साफ मात्र नभएर अन्तर्राष्ट्रिय खेलकै अनुभव पनि पर्याप्त थिएन । टोलीको औसत अनुभव थियो, जम्मा १९.९९ खेल । कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु र उपकप्तान रोहित चन्दको खेललाई हटाउने हो भने त स्थिति दयनीय जस्तै थियो ।
यी सबै कुराले गर्दा नेपाली टोलीप्रति कसैको ठूलो अपेक्षा थिएन । भयो पनि त्यस्तै । समूह ‘ए’ को पहिलो खेलमा नेपालले आगन्तुक टोली कुवेतसँग ३–१ को हार भोग्यो । त्यसपछिको खेलमा आयोजक भारतसँग २–० ले पराजित भएपछि नेपाल समूह चरणबाट एक खेलअगावै बाहिरियो । अन्तिम खेलमा पाकिस्तानमाथि १–० को कठिन जित निकाल्दै नेपालको बैंगलुरु यात्राले विश्राम पायो । नेपालका लागि गोल गर्ने खेलाडी रहे फरवार्ड अञ्जन विष्ट र रक्षक आशिष चौधरी । अञ्जनले कुवेत र आशिषले पाकिस्तानविरुद्ध गोल गरेका हुन् । यसबीच रक्षक सीमान्त थापाले पहिलो पटक नेपालको जर्सी लगाए । उनले यो अवसर भारतविरुद्ध पाएका थिए ।
नेपालमा हुनुपर्ने पहिलो लेग खराब मैदानका कारण बहराइनमा सारिएको थियो । जुन खेलमा नेपालले ५–० को लज्जास्पद हार बेहोर्यो । दोस्रो लेगमा पनि नेपालले गोल गर्न सकेन ।
विगतमा उपाधि दाबेदार रहने गर्दा नेपालको तयारी सधैं विशेष रहने गर्थ्यो । तर, यसपालि टोलीको तयारी विगतको तुलनामा निकै कमजोर रह्यो । यसबीच पहिलो पटक साफको अनुभव लिएका रक्षक विमलले विभिन्न कारण बावजुद खेलाडीहरूले शतप्रतिशत दिएको बताएका थिए, ‘हामीले राम्रो खेलेका हौं । बलिया टोलीसँग राम्रो खेल्दा खेल्दै पनि प्रशिक्षण समय नपाउँदा उनीहरू हामीमाथि हाबी भए ।’
साफलगत्तै केही राम्रा खेलाडीहरू फेरि विदेश भासिए । यीमध्ये नयाँ युगका दीप, नेपाली फुटबलको भविष्य मानिएका फरवार्ड दीपकराज सिंह ठकुरीले अस्ट्रेलियाको बाटो तताउँदा ठूलो चर्चाको विषय बन्यो ।
साफ च्याम्पियनसिप सकिएको दुई महिनापछि नेपाली टोली फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत प्रारम्भिक चरणका लागि बन्द प्रशिक्षणमा व्यस्त भयो । लाओसविरुद्व हुने दुई लेगअघि नेपाली टोलीले तयारीस्वरुप म्यानमारमा दुई मैत्रीपूर्ण खेल खेल्यो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रोमा भने नेपाल १–० गोलले पराजित भयो । म्यानमारमा पनि तीन खेलाडीले ‘डेब्यु’को अवसर पाए । यसपालि फरवार्डद्वय जिलेस्पीजंग कार्की र हिसुब थपलिया तथा मिडफिल्डर दिनेश हेम्जनले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे ।
लाओसविरुद्धको पहिलो लेग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो । फिफा वरीयतामा नेपालभन्दा तल रहेको लाओसले नेपालविरुद्व अग्रता लिएको थियो । पछि, फरवार्ड अञ्जनले बराबरी गोल फर्काउँदै नेपालको इज्जत बचाएका थिए । उक्त गोलसँगै अञ्जन अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा जोडिए । उनीसँगै पूर्व कप्तान हरि खड्का र नीराजन रायमाझीले देशका लागि समान १३ गोल गरेका छन् ।
दोस्रो लेगमा मनीष डाँगीको एकमात्र गोल निर्णायक बन्दा नेपाल दोस्रो चरण पुग्न सफल भयो । लाओसविरुद्ध उदीयमान मिडफिल्डर उत्सव राईले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे । उनी दुवै लेगमा मैदानमा देखिए ।
संयुक्त छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ अन्तर्गत चार खेल खेल्दा एक गोल गर्न सकेको छैन । पहिलो खेलमा संयुक्त अरब इमिरेट्ससँग अवे मैदानमा नेपाल ४–० गोलले पराजित भयो । यसबीच थप चार खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय क्याप जिते । खेलाडीहरू थिए रक्षक छिरिङ लामा, योगेश गुरुङ, अमृत श्रेष्ठ र अञ्जन राई ।
दुई खेलका लागि बहराइन पुगेको नेपाली टोलीमा ८ नयाँ अनुहार थिए । जसमध्ये पाँच खेलाडीले पहिलो पटक राष्ट्रको प्रतिनिधित्व गरे ।
दोस्रो खेल घरेलु मैदानमा यमनविरुद्ध थियो । तर, नेपालले फेरि पनि घरेलु समर्थकको फाइदा लिन सकेन । नतिजामा २–० को हार । यसपालि नयाँ अनुहारका रूपमा आए, फरवार्ड राजेश परियार ।
नेपालले तीन साताअघि मात्र बहराइनविरुद्ध दुई खेल खेल्यो । नेपालमा हुनुपर्ने पहिलो लेग खराब मैदानका कारण बहराइनमा सारिएको थियो । जुन खेलमा नेपालले ५–० को लज्जास्पद हार बेहोर्यो । दोस्रो लेगमा पनि नेपालले गोल गर्न सकेन । यसपालि बहराइनले नेपालको पोस्टमा तीन गोल गर्यो । यो नै यस वर्ष नेपालले खेलेको अन्तिम खेल हो ।
दुई खेलका लागि बहराइन पुगेको नेपाली टोलीमा ८ नयाँ अनुहार थिए । जसमध्ये पाँच खेलाडीले पहिलो पटक राष्ट्रको प्रतिनिधित्व गरे । खेलाडीहरू थिए रक्षकहरू अभिषेक लिम्बु, सौभाग्य राई र विशाल बस्नेत अनि फरवार्डद्वय सन्जिव विष्ट र समीर तामाङ ।
क्रमबद्ध हारका कारण नेपाल फिफा वरीयतामा तीन स्थान तल पनि झरेको छ । नेपाल पछिल्लो वरीयतामा १७८औं स्थानमा छ । आजबाट नयाँ वर्ष सुरु भएको छ । फिफा विश्वकप २०२६ पुग्ने चुनौती समाप्त भइसकेको नेपालका लागि एसियन कप २०२७ को गणितीय आस जीवित छ ।
अब नेपालका लागि आगामी वर्ष कस्तो रहनेछ भन्ने प्रश्न एक हिसाबले चिन्ताजनक पनि छ । संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत नेपालले वर्षको पहिलो खेलमा जेठ २४ गते युएईको सामना गर्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । त्यसको ५ दिनपछि नेपालले यमनको यात्रा गर्नेछ । अन्य अन्तर्राष्ट्रिय फुटबल तालिका एन्फाको क्यालेन्डर के–के हुनेछ, त्यसमा भर पर्नेछ । वर्ष २०८० नेपाली फुटबलका लागि फ्लप वर्ष रह्यो, आशा गरौं आउने वर्ष सुखद रहोस ।