काठमाडौं । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको आग्रहसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानको अन्तर्राष्ट्रिय खेल नियमित समयभन्दा साढे एक घण्टा ढिला सुरु गरायो ।
सन्दर्भ, फिफा विश्वकप र एएफसी एसियन कप प्रारम्भिक छनोटको दोस्रो चरणमा नेपालले यमनविरुद्ध खेल्दा हो । एन्फा यो निर्णयमा पुग्नुअघि एनेस एउटै अडान लिएर बसेका थिए । उनी भन्थे, ‘७ बजे गर्दा टोलीलाई धेरै फाइदा पुग्छ ।’
एक त जाडो मौसम अनि त्यसमाथि ढिला भएपछि दर्शकलाई घर फर्कन सवारी साधन नपाउने पीडा हुन्थ्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यति ठूलो खेलमा समर्थकको महत्व नजरअन्दाज गर्ने विषय थिएन ।
त्यसैले एन्फाले घर फर्कन सजिलो होस् भनेर यसपालि दर्शकका लागि बस सुविधा उपलब्ध गराएको थियो । लोकप्रिय खेल फुटबल, त्यसमाथि घरमै हुन गइरहेको विश्वकप छनोट खेल । बाक्लो संख्यामा समर्थक रंगशाला ओइरिए । रंगशाला धेरै पछि दर्शकले भरिभराउ भयो । उनीहरूले घर फर्कन बस सुविधा त पाए तर, आफ्नो राष्ट्र जितेको हेर्न पाएनन् ।
खेलमा नेपाली टोली सबै पक्षमा चुक्यो । प्रदर्शन एकदमै खराब रह्यो । करिब १३ हजार ७ सय समर्थकलाई निरास बनाउँदै यमनले २–० को सहज जित हासिल निकाल्यो । सँगै महत्त्वपूर्ण ३ अंक । दोस्रो हाफमा दुई वैकल्पिक खेलाडीको गोलमा यमनले दोहोरो अग्रता लिएको थियो ।
खेलपछि पोस्टम्याचको सुरुआती केही क्षण एनेसको मुखबाट केही शब्द नै निस्केन । भनौं, उनी कसरी आफ्नो प्रतिक्रिया दिने भन्नेमै सोचमग्न थिए । तर जब मुख खोले, लामै बोले ।
‘म मेरो खेलाडीबाट यस्तो प्रदर्शनको अपेक्षा गर्दिनँ । हामीले एकदमै नराम्रो खेल्यौं । खेलाडीबाट बल पोसेसनको अपेक्षा गरेको थिएँ, बलसँग खेलोस् भन्ने चाहना थियो तर, त्यस्तो भएन । हारको सबै जिम्मेवारी म लिन चाहन्छु अनि नेपाली समर्थकसँग माफी माग्न चाहन्छु,’ एनेस भट्भटाए ।
नेपाली खेलाडी शारीरिक पक्षमा कमजोर रहनु हारको मुख्य कारण रहेको बताउँदै उनले थपे, ‘यमनका खेलाडी शारीरिक रूपमा हाम्रा खेलाडीभन्दा बलिया थिए । आधुनिक फुटबलमा शारीरिक पक्षले एकदमै महत्त्व राख्छ ।’
नेपालको प्रशिक्षण सम्हालेयता एनेसले अहिलेसम्मकै लामो गुनासो पोखे । हारको जिम्मेवारी आफूले लिन्छु भनिरहँदा उनले नेपालले हार्नुका एकपछि अर्को कारण सुनाउँदै गए ।
दोस्रो चरणको पहिलो खेल युएईविरुद्ध थियो । जसले एक पटक विश्वकप खेलिसकेको छ । एसियामा युएई वरीयताका हिसाबले शीर्ष १० भित्र पर्छ । त्यसैले युएईविरुद्ध मात्र सम्मानजनक प्रदर्शन अपेक्षा गरिएको थियो । पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा कुनै गोल हुन दिएन ।
तर, यमन नेपालभन्दा मात्र १७ स्थान माथि छ । यमनसँग प्रतिस्पर्धा गरिरहँदा सबैको अपेक्षा सम्मानजनक प्रदर्शनमात्र नभइकन स्पष्ट ३ अंक हासिल गरोस् भन्ने थियो । तर, अपेक्षाअनुसार प्रदर्शन भएन । एकदमै खराब खेल्यो नेपालले ।
खेलाडीको प्रदर्शनप्रति गुनासो गर्दै एनेसले भनेका थिए, ‘हामीले सुरुआती ४५ मिनेट लामो बलमात्र खेल्यौं, पछाडिबाट कहिल्यै खेलेनौं ।’
यमनसँगको खेलमा नेपाललाई खेलाडीको चोटले पनि सतायो नै । युएईविरुद्ध खेल्दा घाइते युवा मिडफिल्डर लाकेन लिम्बू यमनविरुद्ध खेल्दा अनुपस्थित रहे । सोही खेलमा सामान्य चोट बोकेका फरवार्ड मनीष डाँगी समय सकिन १० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका थिए । युएईसँगको खेल गुमाएका अनन्त तामाङ दोस्रो हाफको अन्त्यतिर पुनः घाइते हुँदै मैदान छाड्न बाध्य भए ।
स्तरका हिसाबले पनि यमनका खेलाडी नेपाली खेलाडीभन्दा माथि नै थिए । त्यसैले त खेलमा दुई स्तरीय गोल निस्केको थियो । यमनले गरेका गोल वास्तवमै विश्वस्तरीय थिए । पेनाल्टी बक्सबाहिरबाट तीन नेपाली रक्षकलाई बिट गर्दै ओमार अब्दुल्ला अल–दाहीले टप राइट कर्नर उत्कृष्ट गोल गर्दा यमनले अग्रता लिएको थियो । दोस्रो गोल मिडफिल्डर मोहम्मद अब्दुल्ला अल–दाहीले गरेका हुन् । करिब ३५ यार्डबाट लेफ्ट विंग्स हुँदै एक्लै बल अगाडि बढाएका मोहम्मदले बक्सभित्र फ्लिक गरे । जुन फ्लिकले किरण लिम्बूलाई कुनै मौका नदिई दोस्रो बारको जाली भत्काएको थियो ।
एकाएक खेलाडीको फेरबदलले पनि टोलीमा नकारात्मक असर परेको देखिन्छ । युएईविरुद्धको खेलका लागि छनोट गरिएको अन्तिम टोलीमा ८ नयाँ अनुहार थिए, जो डेब्यूको प्रतीक्षामा थिए । सोही खेलमा तीन रक्षक छिरिङ गुरुङ, योगेश गुरुङ र अन्जन राईले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाए । यमनविरुद्ध डेब्यु गर्ने खेलाडी थिए फरवार्ड राजेश परियार ।
प्रत्येक खेलमा खेलाडी फेरबदल भएर पनि नेपाली टोलीले सकारात्मक नतिजा दिन गाह्रो भइरहेको मान्न सकिन्छ । यो विषयमा पनि प्रशिक्षक एनेसले मुख फोरेका थिए ।
‘मैले सम्हालेका भारतीय क्लबहरूको स्थिति पहिला कस्तो थियो, अहिले पनि त्यस्तै छ । खेलाडी सबै पुराना छन् । तर नेपालको स्थिति भने ठ्याक्कै उल्टो छ,’ एनेसले सुनाए ।
राजेशपछि अब को ?
यमनविरुद्ध समय सकिन ११ मिनेट बाँकी छँदा अञ्जन विष्टलाई प्रतिस्थापन गरेका राजेश एन्फा एकेडेमीका उत्पादन हुन् । यमनविरुद्ध राजेशका ब्याचमेट एरिक विष्ट, सेसेहाङ आङदङ्बे, दिनेश हेन्जन सुरुआती रोजाइमै थिए । राजेशका अन्य ब्याचमेट हुन् अभिषेक रिजाल, विकास खवास, सुमन अर्याल, रेजिन सुब्बा आदि । सबैले देशका लागि खेलिसकेका छन् । कोही सुरक्षित भविष्यका लागि अस्ट्रेलिया पलायन पनि भइसके । ६ वर्ष अगाडि भुटानमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो । भुटानमा नेपालको प्रतिनिधित्व यिनै खेलाडीले गरेका हुन् । २०१९ मा घरमै भएको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणमा नेपालले भुटानलाई हराएर स्वर्ण जितेको थियो । त्यतिबेला पनि उनीहरु टोलीमा थिए ।
अब प्रश्न आउँछ, आउने दिनमा हामीसँग ग्रासरुटबाट आएका खेलाडी होलान् ? जसले भोलिको दिनमा देशको प्रतिनिधित्व गरोस् । राजेशको ब्याचपछि एन्फासँग बाकी रह्यो दर्शन गुरुङको ब्याच । दर्शनले डेब्यू गरिसके तर उनी अहिले अस्ट्रेलियामा छन् । उनका ब्याचका विशाल सुनार, रन्दीप पौडेललगायत केही नाम कहलिएका खेलाडी नेपालमै छन् ।
देशको प्रतिनिधित्व गर्न एकेडेमीकै खेलाडी चाहिने भन्ने पटक्कै होइन । आयुष घलान, मनीष, हिसुब थपलिया, यी कहाँ एकेडेमीका कहाँ हुन् र । तर, एउटा कुरा राजेशको डेब्यूले एन्फा एकेडेमीको महत्त्व छर्लङ्ग पारिदिएको छ । राजेश नहुँदो हो त को ? उनीसँग क्षमता थियो उनी टोलीमा परे । अब पालो कस्को त ?
नेपालमै बस्न चाहेका एनेस
एनेसको कार्यकाल यही फागुनमा सकिँदै छ । एन्फाले इटालियन प्रशिक्षक एनेसलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
एनेसको सम्झौता नवीकरणका विषयमा एन्फाको योजना के छ भन्ने प्रश्न तेर्सिएको छ । नेपाली फुटबलमा एनेसको भविष्य के होला त ?
समर्थक चाहन्छन् नेपालले फुटबलमा उन्नति गरेको । सम्झौता नवीकरण गरे एनेससँग नेपाली फुटबल उकास्ने कस्ता योजना छन् ?, के नेपालको भविष्य एनेसको हातमा सुरक्षित छ त ?
अहिले उनी भन्छन्, ‘म नेपालमै बस्न चाहन्छु । मलाई नेपाली जनता मनपर्छ र उहाँहरूको साथ चाहिन्छ ।’