साफ च्याम्पियनसिप

भारतको बढ्दो महत्त्वाकांक्षा र साफ भविष्य

काठमाडौं । एउटा तथ्य निश्चित छ, भारतको फुटबल महत्त्वाकांक्षा दिनानुदिन बढ्दै छ । भारत जति ठूलो देश छ, फुटबलमा धेरै पछाडि नै छ । यसले भारतीय फुटबलका सरोकारवालालाई सधैं पीडा दिइरहन्छ । त्यसैले भारत ढिलोचाँडो अन्तर्राष्ट्रिय फुटबलमा केही गर्न चाहन्छ ।

कम्तीमा एसियाली फुटबलमा त भारत आफ्नो पुरानो वर्चस्व फर्काउन चाहन्छ । सबैलाई थाहा छ, कुनै समय भारत एसियाली फुटबलको महाशक्ति थियो । तर, यो यसरी कमजोर हुँदै गयो कि यसमा अपसोच गर्नेबाहेक अरू कुनै विकल्प नै बाँकी रहेन । ठ्याक्कैभन्दा अहिले भारतीय फुटबलको चेत खुलेको छ ।

त्यसैले फुटबल पण्डितहरूले भन्न थालेका छन्, भारतीय फुटबलको स्तर नजानिँदो तरिकाले अगाडि बढिरहेको छ । भारतीय घरेलु फुटबल संरचनाले पनि यसमा ठूलो भूमिका खेलेको छ । विशेषतः इन्डियन सुपर लिग (आईएसएल) ले । फुटबल खेलेर नै भारतीय खेलाडीले पनि राम्रै कमाइ गर्न थालेका छन् । भारतीय टिमको पछिल्लो प्रदर्शनको तथ्यांकले पनि भन्छ, यसको प्रदर्शनमा व्यापक सुधार आएको छ । साफ च्याम्पियनसिपको ठीक अगाडि मात्रै भारतमै इन्टरकन्टिनेन्टल कप भएको थियो । त्यसमा भारत उपाधि जित्नसफल रहयो । फाइनलमा लेवनानलाई हराएर त्यो सफलता मिलेको थियो ।

भारतले यो प्रतियोगितालाई खुबै जोड दिएर आयोजना गरेको थियो । आयोजनाको प्रश्नमा भारतले कुनै कमी गर्न चाहेन । तर, यही कुरा भने साफ च्याम्पियनसिपमा देखिएन । बेलुरुमा भइरहेको यसपल्टको प्रतियोगितामा आयोजकको दृष्टिकोणले धेरै कमजोरी रहे । एक प्रकारले अल इन्डिया फुटबल एसोसिएसनले साफ च्याम्पियनसिपलाई बेवास्ता नै गरेको देखियो । फेरि बेलुरु सहरमै पनि प्रतियोगिताको कुनै रौनक देखिएन । तर, एउटा तथ्य के अर्को निश्चित छ भने स्वयं भारतीय राष्ट्रिय टिम भने केही राम्रो गर्न आतुर देखियो ।

यस प्रतियोगितामा दुई आमन्त्रित टिमलाई बोलाउँदा कोही एक अर्को टिमलाई बढी फाइदा भएको छ भने त्यो भारतलाई मात्रै हो । फेरि यसमा कुनै फरक तर्क गर्न आवश्यक नै छैन । कुवेत र लेवनान आएर दक्षिण एसियाकै अन्य टिमले पनि फाइदा लिन सक्नुपर्छ र यी दुई टिम आएपछि प्रतियोगिताको स्तर बढेको छ ।

आज साफ च्याम्पियनसिपको दुवै सेमिफाइनल हुँदै छ । सेमिफाइनल खेल्ने दुई टिममध्ये कुवेत र लेवनान नै भइहाल्यो । अर्को भनेको भारत र बंगलादेश हुन् । सेमिफाइनलपछि फाइनलको समीकरण कस्तो बन्छ, त्यसमा भारतको सम्भावित प्रदर्शन कस्तो हुनेछ ? त्यसले प्रतियोगिता स्वयंको भविष्य निर्धारण गर्न सक्छ ।

मुख्य कुरा कुनै समय साफ च्याम्पियनसिपको एक संस्करण भारत र अर्को संस्करण कुनै एक अर्को देशमा हुने निर्णय भएको थियो । त्यो केही हदसम्म लागू भएको छ र छैन पनि । यसपल्टको संस्करण पनि भारतबाहिर गर्ने सम्भावना थियो । तर, प्रायोजक चाहन्छ, यो प्रतियोगिता भारतीय भूमिमै होस् । प्रतियोगिता सुरु भएयता मुख्य प्रायोजकका रूपमा बंगलादेशको बसुन्धारा समूह अगाडि आयो र प्रतियोगिताअघि बंगबन्धु पनि जोडियो । एउटा एक अर्को तथ्य के छ भने विश्व फुटबलले भारतीय बजार पनि ताकिरहेको छ । यसलाई फुटबल बजारको ठूलो स्रोत मानेको छ ।

पक्कै पनि भारतीय फुटबल आफैंमा ठूलो हुँदै छ । आकार फैलिँदो छ । दक्षिण एसियाका लागि भारतीय फुटबल अगाडि बढ्नु राम्रो हो । तर, अपेक्षा के पनि छ भने भारतले दक्षिण एसियाली फुटबललाई बेवास्ता गर्न मिल्दैन र नगरेको राम्रो । भारतीय फुटबलले यो क्षेत्रको नेतृत्व गरेको राम्रो हुनेछ । आफूसँगै दक्षिण एसियाली फुटबलकै विकासमा ध्यान दिए राम्रो । के यसका लागि भारत तयार छ त ? मुख्य प्रश्न यही हो । अबका दिनमा साफ च्याम्पियनसिपले कस्तो स्वरूप लिने हो र यसलाई भारतले कति महत्व दिने हो । त्यो यस क्षेत्रमा सबैका लागि चासो र महत्वको विषय हुनेछ ।