पुस १४, २०८२ मंगलबार | १५:१४:२१
क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा
शनिबारको दिन साफ च्याम्पियनसिप

भारतसँग डराउने कि नडराउने ?

काठमाडौं । ‘अब नेपालले डराएर खेल्ने छैन ।’ 

दक्षिण एसियाली फुटबल संघ (साफ) को चौधौं संस्करणको पहिलो खेलमै आमन्त्रित टोली कुवेतसँग ३-१ ले पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले उक्त वाक्य पोस्टम्याच कन्फ्रेन्समा भनेका थिए ।

तर, व्यवहारमा यो सजिलो छैन । भातरको बैंगलुरुमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपालले समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा शनिबार आयोजक भारतको सामना गर्दै छ । भारतसँग खेल्नु अगाडिको इतिहासले भन्छ, ‘नेपाल डराउनुपर्छ ।’

श्री कान्तिरभा रंगशालामा आज भारतको सामना गर्दा नेपाल ‘गर या मर’ को स्थितिमा रहनेछ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । भारतले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४ -० ले पराजित गरेको थियो । भारतसँग हारे नेपाल प्रतियोगिताबाट लगभग बाहिरिने छ ।

भारतसँग नेपालको यो २५ औं अन्तर्राष्ट्रिय खेल हो । सन् १९८५ मा नेपालले भारतसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यतिबेला ढाकामा भएको दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ) प्रतियोगितामा नेपाल २-० ले पराजित भएको थियो । त्यसयता भारत नेपालमाथि सधैं हाबी हुँदै आएको छ । २४ अन्तर्राष्ट्रिय खेलमा १७ खेल भारतको पक्षमा गएको छ भने जम्मा ३ खेल नेपालमा नेपालले बाजी मारेको छ । चार खेल भने बराबरीमा टुंगिएको छ ।

भारतसँग खेल्दा नेपाल जहिल्यै मानसिक रूपमा कमजोर बन्ने गरेको इतिहास छ । साफ च्याम्पियनसिपकै कुरा गर्ने हो भने नेपालले भारतसँगको ८ भेटमा एकमात्र खेल जितेको छ । त्यो पनि घरेलु भूमि नेपालमै । सन् २०१३, काठमाडौंमा भएको १०औं संस्करणमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । १० वर्षपछि उसकै भूमिमा भारतलाई हराउने नेपालसामु दोस्रो अवसर छ ।

तर, नेपाली टोली अहिले आफ्नै स्वाभाविक स्तरभन्दा पनि तल छ । चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका खेलाडी विदेसिएको अवस्थामा टिम छनोटको दायरा निकै साँघुरिएको थियो । त्यसमाथि निकै अस्तव्यस्त पारामा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगका कारण राष्ट्रिय टिमका खेलाडी थकित छन् ।

लिगकै कारण टोलीले एक साताभन्दा कमको तयारी भरमा दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता खेल्दै छ । देशभित्र दुई दिनको सामान्य औपचारिक तयारीको भरमा फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्न मनिला उडेको नेपाली टोली उतैबाट बैंगलुरु पुगेको हो ।

नेपाली टोली दयनीय तयारी, बिर्सनुपर्ने अतीतका साथ बैंगलुरु पुग्दा भारतको फुटबल भने दिनप्रतिदिन प्रगतिपथमा लम्किइरहेको छ । त्यसमाथि आफ्नै घरेलु मैदानको फाइदा पनि भारतसँग हुनेछ ।

यी भए नेपाल भारतसँग डराउनुपर्ने थप कारण । तर फुटबलमा जे पनि सम्भव छ । आखिर दुई देशका बाँकी परिस्थिति जे-जस्तो भए पनि मैदानमा हुने त ११ विरुद्ध ११ न हो । यसबाट आशा गर्ने ठाउँ भने नभएकै होइन । तर, भारतलाई जित्नका लागि नेपाली टोलीले पहिला आफ्नै मानसिकतामाथि जित हासिल गर्नुपर्नेछ, नडराइकन मैदान उत्रनुपर्नेछ ।

यसो त वर्तमान नेपाली फुटबलका स्टार अञ्जन विष्टले भारत जानुअघि भनेका थिए, ‘हामी जितका लागि खेल्नेछौं र कसैसँग पनि डराउने छैनौं ।’

यी त भए व्यवहारिक कुरा । अब चर्चा गरौं खेलाडीको । नेपालका लागि अञ्जन विष्ट नै खेलमा हेर्नलायक खेलाडी रहने छन् । अघिल्लो खेलमा कुवेतविरुद्ध नेपालका लागि गोल गरेका अञ्जनमाथि टोलीलाई प्रतियोगितामा बचाइराख्ने थप जिम्मेवारी रहनेछ । समकालीन अनन्त तामाङको लामो दुरीको बल कुवेती रक्षक अब्दुल्ला अल्ब्लौसीले क्लियर गर्न नसकेको मौकामा फाइदा उठाउँदै अञ्जनले वान भर्सेज वानमा गोलकिपर अब्दुल रहमान मर्जुकलाई बिट गरेर गोल गरेका थिए ।

अञ्जन अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा पूर्वकप्तान हरि खड्का र नीराजन रायमाझीभन्दा मात्र एक गोलले पछाडि छन् । हरि र नीराजनको १३ गोल छ भने अञ्जनको खातामा १२ गोल पुगिसकेको छ । भारतजस्तो विपक्षीविरुद्ध गोल गरेर ऐतिहासिक उपलब्धि हासिल गर्ने सुनौलो अवसर पनि अञ्जनसँग हुनेछ । भारतसँग गोल गरेको अनुभव अञ्जनसँग छ । सन् २०२१ सेप्टेम्बरमा दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भारतविरुद्ध अञ्जनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । अञ्जनसँगै रोहित चन्द र कप्तान किरण चेम्जोङलाई पनि भारतसँग खेलेको थुप्रै अनुभव छ ।

अघिल्लो खेलमा पाकिस्तानविरुद्ध तीन गोल गरेका कप्तान सुनील क्षेत्री भारतको हेर्नलायक खेलाडी रहने छन् । सुनील दक्षिण एसियाकै सबैभन्दा ठूला स्टार हुन् । अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या ९० पुर्याएका सुनीललाई रोक्न सके नेपाललाई केही सहज हुनेछ । भारतीय रक्षक सन्देश झिङ्गनलाई बिट गर्न नेपाली फरवार्डलाई हम्मेहम्मे पर्न सक्छ ।