काठमाडौं । पछिल्लो दशक नेपाली फुटबलले पाएका राम्रा मिडफिल्डरमा नछुट्ने नाम हो, विक्रम लामा । लामो समय नेपाली फुटबलको सेवा गरेका विक्रमले खेल जीवनमा खेलाडीको अध्यायमा पूर्णविराम लगाएका छन् ।
रक्षापंक्तिबाट सुरु गरेको फुटबल करियर स्वभावअनुसार मिडफिल्डमा स्थापित गराउँदै विक्रमले झन्डै डेढ दशक नेपाली फुटबलमा बिताए । टोलीको आवश्यकताअनुसार जुनसुकै भूमिकामा पनि खुसीसाथ उत्रिने तत्परताले विक्रमलाई मिडफिल्डर बनाएको थियो । यही भूमिकाले उनलाई नेपाली फुटबलमा परिचय दियो ।
विक्रमका लागि सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत गत साता जावलाखेल युथ क्लबविरुद्धको खेल करियरकै अन्तिम रह्यो । त्यही खेलपछि उनले एउटा विरासत इतिहासको पानामा सुरक्षित गर्दै बुट थन्क्याउने निर्णय लिए ।
खेलाडीका रूपमा करियरको अन्तिम खेल विक्रमका लागि स्मरणीय रह्यो । कुनै बेलाको महारथी थ्री स्टार क्लब शीर्ष डिभिजनमा फगत हैसियत जोगाउनकै लागि संघर्ष गरिरहेको थियो । अनि विक्रम पाटने टोलीको हैसियत जोगाउने अभियानका मुख्य हतियारमध्ये एक थिए ।
अन्तिम खेलसम्म पनि थ्री स्टारको रेलिगेसन खतरा उस्तै थियो । अन्तिम खेलको नतिजा तलमाथि भए थ्री स्टारले ‘बी’ डिभिजन स्वीकार्नुपर्थ्यो । तर, त्यही खेलमा विक्रमले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । शीर्ष डिभिजनमा टिकाइराखे ।
यस अर्थमा उनको बिदाइ सुखद रह्यो । यही कारण हो, लिगको पुरस्कार वितरण समारोहमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले एन्फाको ब्लेजर लगाएर बिदा गरिरहँदा भावुक विक्रमको मुहारमा आफ्नो करियरप्रति कुनै गुनासो देखिँदैनथ्यो । देखिन्थ्यो त एउटा गर्विलो विरासतको सुरक्षित दस्तावेजीकरणको सन्तुष्टि मात्र ।
एन्फा एकेडेमीको उत्पादन हुन् विक्रम । उनी सन् २००४ देखि २००६ सम्म एन्फा एकेडेमीमा थिए । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ, पूर्व रक्षक विराज महर्जन, रविन श्रेष्ठ र फरवार्ड भरत खवास विक्रमका ब्याजी हुन् ।
सन् २००३ मा ललितपुर जिल्लाको प्रतिनिधित्व गर्दै जिल्ला विकास समिति अध्यक्ष कप यु-१४ फुटबल प्रतियोगितामा उच्च प्रदर्शन गरेपछि उनी एन्फा एकेडेमीमा छनोट भएका थिए ।
एकेडेमीको टोलीबाट रक्षकको भूमिकामा खेल्ने विक्रमले सुब्रोतो कप, एएफसी यु-१६ र १७ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
सन् २००६ मा एन्फा एकेडेमीबाट बाहिरिएपछि उनले जावलाखेल युथ क्लबसँग सम्झौता गरे । त्यसपछि विभिन्न क्लब डुल्दै उनी सन् २०११ मा थ्रीस्टारसँग आवद्ध भएका हुन् । त्यसपछिको व्यावसायिक फुटबल थ्री स्टारबाट मात्रै खेल्ने क्रममा उनले नेपाली घरेलु फुटबलमा प्रायः सबै प्रतियोगिता जितेका छन् ।
थ्री स्टार क्लबले २०१७ मा एएफसी कप छनोटमा दोस्रो चरणको यात्रा गर्दा टोलीका कप्तान थिए । उनको कप्तानीमा थ्री स्टारले सन् २०१६ मा मंगेलियामा भएको प्लेअफ छनोटमा मंगोलियाको इर्चिम एफसी र कम्बोडियाको नागावर्ल्ड एफसीलाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
अघिल्लो वर्ष विक्रमकै कप्तानीमा थ्री स्टारले भारतमा भएको बोर्दोलोई ट्रफीको उपाधि जितेको थियो ।
सन् २०१२ मा राष्ट्रिय टोलीका लागि ‘डेब्यु’ गरेका विक्रम सन् २०१६ मा बंगबन्धु कप, दक्षिण एसियाली खेलकुद र एएफसी सोलिडारिटी कप गरी लगातार तीन उपाधि जित्ने टोलीका प्रमुख खेलाडी थिए ।
विक्रमले पूर्वयोजनाअनुसार नै आफ्नो खेलजीवनलाई पूर्णविराम दिने निर्णय गरेको बताएका छन् ।
‘राम्रो लयमा रहँदै आराम गर्नुपर्छ भन्ने सोचेको थिएँ । यसबीचमा क्लब तथा राष्ट्रिय टोलीका लागि आफूले सकेजति दिएँजस्तो लाग्छ । अब नयाँ खेलाडीलाई मौका दिनुपर्छ, यो नै उपयुक्त समय हो भन्ने लागेर संन्यास घोषणा गरेको हुँ,’ विक्रम सुनाउँछन् ।
सामान्यतया सुरुआत र अन्त्य सधैं भावुक बन्ने गर्छ । तर, विक्रमको हकमा भने खेलजीवनको अन्त्य त्यो सामान्यभन्दा धेरै विशेष रह्यो । निकै भावुक ।
‘अन्तिम खेलका बारेमा बयान गर्ने कुनै शब्द नै छैन । सायद मेरो यति लामो करिअरमा सबैभन्दा दबाबपूर्ण खेल यही थियो । टोलीलाई रेलिगेसनबाट जोगाउनुपर्ने अवस्था थियो । म यो मैदान, यी दर्शकबाट टाढा हुँदै छु अब कहिल्यै बलको पछि कुद्ने छैन भन्ने कुराले दिमाग हल्लाइरहन्थ्यो । यसरी बिदा हुँदा आफ्नो क्लबलाई घटुवा गराएर जानुपर्यो भने के होला भन्ने सोचेर मलाई निकै गाह्रो भएको थियो । यसअघि यस्तो महसुस भएको थिएन,’ विक्रमले करियरको अन्तिम खेल सम्झिए ।
जावलाखेलविरुद्धको त्यो खेलमा समय सकिन सात मिनेट बाँकी रहँदा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी बक्समा विक्रमलाई नै लडाएपछि थ्री स्टारले पेनाल्टी अवसर पाएको थियो । सुरुमा विक्रम आफैं पेनाल्टी प्रहार गर्ने योजनामा थिएनन् । तर, खेलको माहोलले उनकै माग गर्यो ।
‘पेनाल्टी पाउँदा मैले नै हान्ने भन्ने थिएन । अघिल्ला खेलहरूमा पनि जुनियरलाई अवसर दिने गरेका थियौं । तर त्यतिबेलाको दबाबपूर्ण माहोलमा युवा खेलाडीभन्दा मैले आफ्नो अनुभवको फाइदा उठाउनुपर्छ भन्ने लाग्यो । मलाई पनि अलि अलि डर त लागेको थियो । आफ्नो इमोसनलाई कन्ट्रोल गरेर पेनाल्टी हानें । गोल पनि भयो । मेरो क्लब जोगियो,’ यति सुनाइरहँदा विक्रमले लामो श्वास ताने ।
टिम बनाउँदा नै चुकेका कारण थ्री स्टारले यति चर्को दबाब झेल्नुपरेको विक्रमको बुझाइ छ । तथापि थ्री स्टारले लिगमा संघर्ष गर्नुपरे पनि नेपाली फुटबललाई लामो समयसम्म योगदान गर्न सक्ने खेलाडी उत्पादन गरेकामा भने विक्रम सन्तुष्टि लिन्छन् ।
‘लिग सुरु हुनुभन्दा अगाडि टोलीमा २-३ जनामात्र नाम चलेका र अनुभवी खेलाडी थिए । लिग सकिँदा ४-५ जना नयाँ खेलाडीले आफूलाई स्थापित गरे,’ विक्रमले भने, ‘उनीहरूले नेपाली फुटबललाई १०औं वर्षसम्म योगदान गर्न सक्छन् । टोलीको प्रदर्शन राम्रो हुन नसके पनि नयाँ खेलाडी उत्पादन गर्न सकेकामा भने खुसी छु ।’
पूरा करियरमा गुनासो गर्ने ठाउँ नभए पनि उनलाई नियतिसँग भने कहिलेकाँही केही भन्न मनलाग्छ । चोटका कारण पटक-पटक राष्ट्रिय टोलीबाट बहिरिनुपरेको पीडा सम्झेर रून मनलाग्छ । हुन पनि एउटा खेलाडीका लागि चोटका कारण मैदान बाहिर रहनुभन्दा पीडादायी अरू के हुन सक्छ र !
‘बरू अहिले संन्यास लिएपछि मलाई फुटबलबाट टाँढिदै छु भनेर त्यति पीडा नहोला,’ विक्रम एक्कासि भावुक देखिए, ‘घाइते भएर मैदान बाहिर हुँदा खेल्ने भोक अझै जाग्ने रहेछ । साथीहरू खेलिरहेको देख्दा कहिले मैदान उत्रिउँला जस्तो लाग्दो रहेछ । त्यो स्थानमा म भइदिएको भए अझै राम्रो गर्न सक्थें कि । म बलको पछिपछि कहिले कुद्ने होला ? दर्शकको हुटिङ कहिले सुन्ने होलाजस्ता सोचाइहरू आउँदो रहेछ ।’
विक्रमले अहिले नै भविष्यका बारेमा ठोस योजना बनाइसकेका छैनन् । तर कम्ती पढाइमा निरन्तरता दिँदै भविष्यमा आफूले सिकेका कुराहरू पछिल्ला पुस्तालाई सिकाउने अठोट भने बनिसकेको छ ।