सहिद स्मारक लिग

चोटले थलिएको मछिन्द्र

काठमाडौं । प्रशिक्षक प्रवेश कटुवाल व्यक्तिगत र क्लबको नाममा गर्विलो इतिहास कोर्न चाहन्थे । मछिन्द्र फुटबल क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिमा ह्याट्रिक गराउने योजना बुनेका थिए ।

कटुवालको चाहना थियो, स्तरीय खेलाडीबाट लगातार शीर्ष डिभिजनको लिगमा उपाधिको ह्याट्रिक गर्ने । त्यसका लागि उनले स्टार खेलाडीहरुको बलियो टिम पनि बनाएका थिए । राजधानी काठमाडौंको रैथाने क्लबलाई २०७६ सालमा लिगको पहिलो उपाधि देशको फुटबल राजधानी मानिने झापाका उनै कटुवालले जिताएका हुन् ।

२०७६ सालमा स्टार खेलाडीकै बलमा उपाधि जितेका उनले २०७८ मा पनि त्यही सुत्र लागु गरे । यसपाली पनि लिग जित्नका लागि कटुवालले बनाएको योजना फरक थिएन । स्टार नेपाली खेलाडीलाई राम्रा विदेशीको साथ मिलाएर लगातार तेस्रो लिग उपाधि जित्ने योजना थियो । तर, अस्तव्यस्त लिगमा लगातार खेलाडी घाइते हुने समस्या झेल्नुपरेपछि कटुवालको योजना संकटमा परेको छ । गणितीय सम्भावना कायम छ । तर पछिल्ला खेलका नतिजा हेर्दा मछिन्द्रलाई लिग जित्न सानो संघर्षले पुग्ने देखिँदैन ।

खेलाडीमा चोटको समस्याकै कारण साबिक विजेताको सुरुआत जारी लिगमा अपेक्षित हुन सकेन । लगातारको खराव प्रदर्शनपछि पाँचौ चरण सम्पन्न भएसँगै उनले पदबाट राजीनामा दिइसकेका थिए । तर त्यो राजीनामा व्यावसायिक भन्दा पनि बढि रणनीतिक र औपचारिक थियो । राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको नियुक्ति पाएका कारण उनले औपचारिकताका लागि मात्र मछिन्द्रबाट राजीनामा दिएका थिए । व्यवहारिक रुपमा उनी अझै पनि मछिन्द्रको टोलीमा कतै न कतै छन् ।

सातौं चरणपछि मछिन्द्रले अनुभवी प्रशिक्षक किशोरकुमार केसीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दियो । थुप्रै पटक जावलाखेल युथ क्लबलाई नेतृत्व प्रदान गरेका केसीको पनि मछिन्द्रको जिम्मेवारी लिएपछि योजना उस्तै थियो, छ ।

कटुवालले बीचमै छाडेको सपना पूरा गर्ने केसीको अभियानले पनि अपेक्षित नतिजा हासिल गर्न सकिरहेको छैन । कारण पनि उही छ, खेलाडीको चोट । त्यसैले हो, मछिन्द्र क्लब स्वभाविक लयमा छैन । मछिन्द्रलाई खेलाडीको चोट र अस्वस्थताले जति सताएको छ, उत्तिनै खेलाडी विदेश पलायन भएको कारण पनि लक्ष्य टाढिँदै गएको छ ।

लिग सुरु हुनुभन्दा अघि कागजी रुपमा कमजोर मानिएका दुई ललितपुरे टोली जावलाखेल युथ र थ्री स्टारले अप्रत्यासित रुपमा सनसनी मच्चाइरहँदा नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले पनि लिगमा प्रभाव जमाइरहेको छ । ठिक विपरित मछिन्द्रलाई भने अनुपस्थित खेलाडीको सुचि तयार गर्ने चटारो छ ।

बुधबार चर्च ब्वाइजविरुद्ध मछिन्द्र पहिलो रोजाईका तीन खेलाडीको अनुपस्थितीमा मैदान उत्रियो । त्यसको प्रभाव नतिजामा पर्नु स्वभाविक थियो । नियमित रुपमा पोष्ट सम्हाल्दै आएका गोलकिपर विशाल श्रेष्ठ, सेन्ट्रल रक्षक देवेन्द्र तामाङ र विमल घर्ती मगरविनाको चर्च ब्वाइजले पहिलो पटक शीर्ष डिभिजनमा खेल्दै गरेको चर्च ब्वाइजलाई २-१ को नतिजा सुम्पियो । टोलीको कमजोर नतिजाको कारण यत्तिमात्र थिएन । रक्षात्मक मिड्फिल्डर पुजन उपरकोटीको प्रदर्शन पनि पूर्ण रुपमा फिट नहुँदा स्वभाविक थिएन ।

कप्तान विशाल उच्च ज्वरोका कारण बुधबार खेल्न असमर्थ भएका थिए । देवेन्द्र पूर्ण रुपमा फिट छैनन् । घुँडाकै समस्याका कारण विमल तीन साता मैदान बाहिर रहने पक्का भइसकेको छ ।

‘कोही खेलाडी घाइते छन्, कोही विरामी,’ केसी चिन्तित छन्, ‘पहिलो रोजाइका खेलाडी उपलब्ध नभएपछि जुनियरलाई मौका दिएको, तर उनीहरुले खेल जित्न निर्णायक प्रदर्शन गर्न सकेनन् ।’

लिग सुरु भइरहँदा पनि मछिन्द्रलाई चोटकै समस्या थियो । केही हदसम्म त्यो लिगअघिको ‘मोफसल सिजन’मा विना योजना अन्दाधुन्द खेल्नुको परिणम थियो । मछिन्द्रले एकै समयमा भएका भद्रपुर झापा गोल्डकप र केपी ओली कपमा ७२ घण्टाभित्र लगातार चार खेल खेलेको थियो । त्यो पनि सेमिफाइलन र फाइलनजस्ता निकै प्रतिस्पर्धात्मक भिडन्त थिए ।

नकआउट प्रतियोगितामा मोलेको त्यही जोखिमका कारण लिग अगाडि नै मछिन्द्रका खेलाडी थकित थिए । लिगकै लागि भनेर अनुबन्ध गरिएका भारतीय खेलाडी दयानन्दलाई पनि प्रतियोगिता सुरु नहुँदै टोलीले गुमायो । मिडफिल्डर आन्द्रेस् निया घाइते भएर पहिलो ६ खेलमा मैदान बाहिर रहे । चौथो खेलबाट मैदानमा देखिन थालेका विमल फेरि घाइते भए । खेल दौरान मैदानमा अचेत भएर ढलेपछि रक्षक छिरिङ गुरुङले दुई खेल गुमाए ।

मछिन्द्रका घाइते खेलाडीको सुचीमा थपिएको अर्को ठूलो नाम हो, चेन्चो ग्याल्त्सेन । पछिल्लो समय दक्षिण एसियाली फुटबलमै बलियो प्रभाव छोड्न सफल भुटानी स्ट्राइकर चेन्चो मछिन्द्रको महत्वाकांक्षी अनुबन्धन थिए । तर उनले टोलीका लागि लिगमा सात खेलमात्र खेल्न सके । पाँचौं खेलबाट मैदानमा देखिएका चेन्चो ११औं चरणअन्तर्गत थ्री स्टारविरुद्धको खेलमा घाइते भएपछि पूरा सिजन खेल्न नसक्ने भए । पूरा लिग नै खेल्न नसक्ने भएपछि उनी अहिले घर फर्किइसकेका छन् ।

समयमा श्रम स्विकृती लिन नसक्दा नाइजेरियाका आलोवाले आफिज ओलादिपो र जापानका याया सुजुकी चौथो खेलबाट मात्र मैदान छिर्न पाए । नाइजेरियन रक्षक ओमोलाजा नुरैन करिम पहिलो खेलमा मैदान बाहिर रहेका थिए ।

चोट मात्रै हैन, यसपटक मछिन्द्रलाई खेलाडी विदेश पलायनले समेत समस्या पार्यो । कप्तान सुजल श्रेष्ठ र उपकप्तान रन्जित धिमालले पाँचौं चरणपछि अस्ट्रेलियाको बाटो तताए । ०७८ को सिजन क्लबमा रहेका अभिषेक रिजाल, विशाल राई, सुनिल बल, रेजिन सुब्बा, मनिष डांगीजस्ता प्रतिभावान खेलाडीले पनि अन्य क्लब वा विदेशलाई गन्तव्य बनाउँदा मछिन्द्रको साथ छाडे ।

खेलाडीजन्य यिनै समस्याबाट गुज्रिइरहेको मछिन्द्र १७औं चरण जारी रहँदा २४ अंकसहित चौथो स्थानमा छ । १६ खेल खेल्दा समान ६ खेलमा जित र बराबर नतिजा निकालेको छ । चार खेल हारेको छ । २२ गोल गर्दा १८ गोल बेहोरेको छ ।

मछिन्द्रलाई खेलाडीको चोटले पीडा दिएको छ । विदेश पलायनले सताएको छ । खेलाडीले क्लब छोड्दा तागत कम भएको छ । कागजात समयमा नमिल्दा भएको हतियार दापमै थन्काउनुपर्दाको थकथकी छ । समग्रमा यसपाली मछिन्द्रलाई भाग्यको साथ कम मिलेको छ ।

टोलीको अग्रपंक्ति जत्तिको बलियो छ । रक्षापंक्ति उत्तिकै कमजोर । किन भने २२ गोल गर्दा १८ गोल बेहोरेको छ । अघिल्ला दुई सिजन उपाधि जित्दा मछिन्द्रको प्रदर्शन यस्तो थिएन ।

०७८ सिजनमा मछिन्द्रले दोस्रो पटक लिग जित्दा १३ मध्ये ११ खेल जितेको थियो । गोल पनि २० का विरुद्ध २ मात्र । ०७६ मा पहिलो पटक लिग उपाधि जित्दा १३ मध्ये १० जित निकाल्दा टोलीले दुई बराबर र एक खेलमा हार बेहोरेको थियो । त्यसक्रममा २५ गोल गर्दा आठ गोल विपक्षीलाई सुम्पिएको थियो । तथ्यले पनि यसपटक मछिन्द्रलाई अघिल्ला दुई सिजन जस्तो बलियो देखाएको छैन ।

सहभागी टोलीको प्रदर्शन र दर्शक उपस्थितिले लिगको रौनक छैन । तर, अंकतालिकाको प्रतिस्पर्धा निक्कै रोमाञ्चक बनिरहेको छ । एउटा हार वा जितले शीर्ष स्थानदेखि रेलिगेसन क्षेत्रसम्म पूरा समिकरण फरक पार्छ । यस्तोमा खेलाडीको फिट्नेस सबभन्दा महत्वपूर्ण हुने गर्छ । प्रशिक्षक केसी यसै भन्छन् ।

‘आज खेल्यो । भोली एकदिन आराम गर्न पनि समय छैन । भोलीपल्ट सामान्य अभ्यास गरेर पर्सीपल्टै खेल्नुपर्छ । तालिका एकदमै कसिलो छ । फुटबलमा, त्यसमाथि पनि लिगमा यस्तो कहीँ हुँदैन र हुनु पनि हुँदैन । यसले गर्दा धेरै खेलाडी घाइते र थकित छन् । योजनाअनुसार कुनै पनि क्लबले खेल्न सकिरहेका छैनन्,’ केसी दुःखेसो गर्छन ।

लगातारको खेल । आराम गर्न समय नहुनु । दुई खेलको बीचमा रणनीतिक र प्राविधिक अभ्यास गर्न नपाउनु । त्यसवापत खेलाडी घाइते हुने । जारी लिगमा यी मछिन्द्रको मात्र समस्या होइन । सहभागी सबै १४ क्लबको हालत उस्तै छ । मछिन्द्रले यस्ता समस्या अली बढि भोग्नुपरेको चाँही साँचो हो ।

केही खेलाडीले क्लब छोडे । केहीले देशै छोडे । चोटका कारण कतिले लिग छोडे । कतिपयले केही खेल छोडे, छोड्ने अवस्थामा छन् । तथापि मछिन्द्रको टिममा उपाधि रक्षा गर्ने क्षमता चाँही छ । अंकतालिकामा टोलीको अवस्थाले पनि यही भन्छ । अझै १० खेल खेल्न बाँकी छ । शीर्ष स्थानसँगको दुरी चार अंकमात्र रहँदा ३० अंकको खेल बाँकी छ । यही भएर त हो, केसीको टोलीले उपाधिमा ह्याट्रिकको लक्ष्यलाई अझै पनि उत्तिकै सकारात्मक सोचका साथ अंगालिरहेको ।