पुस २९, २०८१ सोमबार | २२:१५:४१
पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ
शनिबारको दिन नेपाली फुटबल

लिगको छैटौं चरण चैत २० देखिः ब्रेकले उर्जावान भए होलान् क्लबहरु ?

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग ‘फिफा ब्रेक’का लागि पहिलो विश्राममा जाँदै थियो । जितविहीन एनआरटी आफ्नो पाँचौं खेलमा अर्को जितविहीन विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्दै थियो । खेल सकिएपछि पत्रकार सम्मेलनमा एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले झर्कंदै भनेका थिए, ‘खेलाडीहरु ओभर कन्फिडेन्स भए । कुनै तालमेल देखिएन । खेलेको चित्तै बुझेन ।’

पहिलो फिफा ब्रेकअघि लिगको सारांश सायद यही नै हुनुपर्छ ।

गत संस्करण लिग अवधिभर एनआरटीले जम्मा २ खेलमा हार बेहोरेको थियो । ६ खेल जितेको टोलीले ५ बराबरी खेल्दै तेस्रो स्थानमा रहेर लिग टुंग्याएको थियो । दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबभन्दा गोलभिन्नताका आधारमा मात्र पछि परेको थियो एनआरटी । तर, यसपालि पाँचौं चरणको खेल सकिँदा एनआरटी २ अंक लिएर १३औं स्थानमा छ ।

पुलिसविरुद्ध एनआरटीले सुरुआती अग्रता लिएको थियो । वाह ! भन्नुपर्ने त्यस्तो प्रदर्शन केही थिएन । पुलिसका गोलकिपर सन्जित श्रेष्ठको गल्तीमा एनआरटीले गोल गर्ने मौका पाएको थियो । पछि पुलिसले गोल फर्कायो र खेल बराबरीमा टुंगियो । अग्रता लिएर पनि स्पष्ट ३ अंक लिन नसकेको एनआरटीका लागि जारी लिगमा यो दोस्रो खेल थियो । यसअघि आर्मीसँग ३-१ ले अगाडि रहेर पनि एनआरटीले अन्तिममा बराबरीमा खेल टुग्याएको थियो ।

‘त्यत्रो खेल खेलिसक्यौं । तर, अहिलेसम्म पनि को खेलाडी कस्तो छ भनेर थाहा पाउन सकिराखेका छैनौं । त्यसले गर्दा हामीलाई निकै गाह्रो भइरहेको छ । कमजोर टिम छ भनेर ओभर कन्फिडेन्स बनेका हुन् कि ? मलाई त साँच्चै चित्तै बुझेको छैन, किनभने आज हाम्रो एकदमै महत्त्वपूर्ण खेल थियो,’ उक्त खेलपछि प्रशिक्षक शाक्यले भनेका थिए, ‘गलत पास धेरै भए । खेलाडीहरु आत्तिए, रातो जर्सी र सेतो जर्सी नै छुट्याउन सकेनन् ।’

शाक्यलाई मात्र होइन, लिगको प्रारम्भिक चरणका खेलहरुबाट धेरैलाई चित्त बुझेको छैन । अन्य क्लबका प्रशिक्षक, स्वयं मैदानमा दौडिइरहेका खेलाडी, समर्थक, प्रायोजक, कसैलाई पनि यसपालिको लिगले फुटबलको धित मार्न सकिरहेको छैन ।

विपक्षी पुलिसको हालत पनि त्यस्तै छ । तीन पटकको विजेता पुलिससँग जम्मा १ अंक छ । सुरुका ४ खेलमा हार बेहोरेको पुलिस रेलिगेसन पर्ने सबैको अनुमान छ । टिममा अनुभवी खेलाडीको कमी प्रस्ट रुपमा झल्कन्छ ।

उसो त मुख्य प्रशिक्षक चेतन घिमिरे प्रत्येक खेलपछि टोलीले उत्कृष्ट प्रदर्शनका साथ पुनरागमन जनाउने बताउँछन् । साथै विदेशी खेलाडीहरु भित्र्याउन क्लबसँग कुरा भइरहेकाले आउने दिन सकारात्मक रहने आशामा छन् उनी ।

एनआरटीसँगको खेलपछि उनले भनेका थिए, ‘हाम्रो लक्ष्य शीर्ष ८ नै हो ।’

पुछारमा थन्किएका चारमध्ये अरु दुई टोली हुन् साबिक विजेता मछिन्द्र र फ्रेन्ड्स क्लब । मछिन्द्रको ५ अंक छ भने फ्रेन्ड्ससँग ४ अंक । फ्रेन्ड्सले एक जित र एक बराबरी खेल्दा तीन खेल हारेको छ । मछिन्द्रले पनि मात्र एक खेल जितेको छ । त्यो पनि कमजोर पुलिसविरुद्ध हो । सुरुआती दुई खेल हारेको मछिन्द्रले त्यसपछि एकमा जित र दुईमा बराबरी नतिजा निकालेको थियो । तथापि मुख्य प्रशिक्षक प्रवेश कटुवाल यसपालि पनि उपाधि उचाल्नेमा अझै आशावादी देखिन्छन् ।

लगातार तीन पटक उपाधि उचाल्ने लक्ष्य राखेको मछिन्द्रलाई आउने दिनमा कप्तान सुजल श्रेष्ठ र अनुभवी रक्षक रन्जित धिमालको अभाव खड्किने छ । दुवैले गत सातामात्र आफ्नो भविष्य सुनिश्चित गर्न अस्ट्रेलियाको बाटो तताएका थिए । यस्तोमा उपाधि रक्षा गर्न क्लबलाई पक्कै पनि सहज हुने छैन । मुख्य प्रशिक्षक कटुवाल राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको स्वार्थ बाझिने काममा व्यस्त हुँदाको फाइदा/बेफाइदा पनि टोलीलाई हुन सक्छ ।

टोलीलाई मजबुत बनाउने क्रममा क्लबले केही दिन अगाडि मात्र भुटानी राष्ट्रिय टोलीका कप्तान चेन्चो ग्याल्सेनलाई अनुबन्ध गरेको छ । ५ खेलमा ४ गोल गरेको मछिन्द्रले तीन खेलमा गोल गर्न सकेको छैन । मछिन्द्रको अबको आस चेन्चोमै निर्भर हुनेछ । चेन्चो प्रधानमन्त्री कप त्रिदेशीय शृंखला खेल्न नेपाल आएका हुन् ।

अब चर्चा गरौं शीर्ष चारको । सातदोबाटो युथ क्लब ४ जित र एक हारका साथ १२ अंक जोड्दै शीर्षस्थानमा छ । सातदोबाटोलाई पछ्याइरहेका छन् मनाङ मर्स्याङ्दी क्लब र नवप्रवेशी चर्च ब्वाइज युनाइटेड । दुवैको समान ११ अंक छ । १० अंक जोड्दै चौथो स्थानमा छ जावलाखेल युथ क्लब ।

स्ट्राइकर दीपकराज सिंह ठकुरीप्रेरित सातदोबाटोले जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । दीपकले ४ गोल गरिसकेका छन् । उनले तीन पटक ‘म्यान अफ द म्याच’ अवार्ड प्राप्त गरिसकेका छन् । सनोज श्रेष्ठको नेतृत्वमा रहेको सातदोबाटोले थ्री स्टारसँग मात्र १-० को हार बेहोरेको थियो ।

जारी लिगमा सबैभन्दा लोभलाग्दो प्रदर्शन गरिरहेको क्लब हो मनाङ । किरण श्रेष्ठ मुख्य प्रशिक्षक रहेको मनाङमा अधिकांश युवा खेलाडी छन् । खेलाडीहरुमा अनुभवको कमी भए पनि मनाङको खेलशैली एकदमै लोभलाग्दो छ । त्यसैले त मनाङ अपराजित दुई टोलीमध्ये एक हो । युवा खेलाडीद्वय सुमित श्रेष्ठ र कमल थापाको प्रदर्शन हेर्नलायक छ ।

स्टार खेलाडीको बाहुल्य रहेको चर्च ब्वाइज अर्को अपराजित टोली हो । टोलीको नेतृत्व प्रदीप हुमागाईंले गरेका थिए । यिनै हुमागाईं अबका दिनमा भने क्लबसँग आवद्ध हुने छैनन् । श्रम स्वीकृतिको प्रक्रिया नमिल्दा हुमागाईं क्लब छाड्न बाध्य भएका हुन् ।

जावलाखेलले ३ खेल जितेको छ । पहिलो खेलमै मछिन्द्रमाथि ३-१ को पुनरागमन जित निकालेको जावलाखेलले दर्शनीय खेल प्रस्तुत गरिरहेको छ । यसबीच जावलाखेलले अर्को बलियो टोली थ्री स्टारलाई पनि पराजित गर्यो । फरवार्डद्वय हिसुब थपलिया र एनकोटो मासोबीको जोडी विपक्षीमाथि हाबी भएको छ ।

मध्यतालिकामा छन् आर्मी, नेपाल एपीएफ क्लब, थ्री स्टार, संकटा क्लब, अर्को नवप्रवेशी खुमलटार युथ र हिमालयन शेर्पा । आर्मी, एपीएफ, थ्री स्टार र खुमलटारले दुई जित हासिल गर्दा बाँकीले एक जित दर्ता गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले छैटौं चरणदेखिको तालिका सार्वजनिक गरिसकेको छ । लिग यही चैत २० गतेदेखि सुचारु हुनेछ । सहभागी सबै क्लब अहिले अन्तर्राष्ट्रिय ब्रेकमा मोफसलमा भइरहेका नकआउट प्रतियोगिता खेल्नमा व्यस्त छन् । यसबीच क्लबले नयाँ अनुहारलाई मौका दिएका छन् । आउने दिनमा यी नयाँ अनुहारलाई लिगमा अवसर दिने हेतु सबै क्लबको छ । नयाँ अनुहार, नयाँ रणनीति, नयाँ उर्जाका साथ क्लबहरु लिगमा फर्कने अनुमान छ ।

‘हामीले प्रि-सिजनमा गर्न बाँकी कुराहरु अब यो १५ दिनको ब्रेकमा गर्नेछौैं । नयाँ अनुहार परिपक्व भइसकेका छैनन् । उनीहरुलाई परिपक्व गर्ने काम हामीले यो ब्रेकमा गर्नेछौं । मोफसलका प्रतियोगितामा नयाँलाई मौका दिनेछौं । ताकि छैटौं चरणदेखि यी खेलाडीलाई प्रयोग गर्न सकौं,’ पाँचौं चरणको खेल सकिएपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भनेका थिए ।