पुस १७, २०८२ शुक्रबार | ०२:१०:४७
एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ
शनिबारको दिन नेपाली फुटबल

गति भुलेको पुलिस

काठमाडौं । खेल चार । तालिकामा अंक शून्य । रेलिगेसन क्षेत्र । नेपाल पुलिस क्लबको हालको अवस्था यही हो । निकै दयनीय छ । २ गोल गर्दा ८ गोल बेहोरेको छ । गोलअन्तर माइनस ६ को स्थितिमा छ ।

यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० मा पुलिसले ४ खेल खेलिसक्यो । तर, कुनै अंक जोड्न सकेको छैन । वर्षभर अभ्यास गरिरहने विभागीय टोली पुलिस अहिले थलिएको छ । पुलिसविरुद्ध खेल्न पाउनु विपक्षीका लागि राहत हुन थालेको छ । त्यो भनेको विपक्षीलाई ३ अंक सहजै आफ्नो पक्षमा पार्नु हो । युवा खेलाडीलाई मौका दिएको पुलिसलाई यसपालि रेलिगेसनको दाबेदारका रुपमा हेर्नुपर्ने अवस्था आएको छ  

कुनै समय थियो । पुलिससँग खेल्नु भनेको हरेक विपक्षीका लागि फलामको च्युरा चपाउनुसरह हुन्थ्यो । देशकै चर्चित र अनुभवी खेलाडी पुलिस क्लबमा हुन्थे । एक प्रकारले राष्ट्रिय टोली नै नेपाल पुलिसबाट बनेको हुन्थ्यो । तर, समय फेरिएको छ । अहिले नेपाल पुलिस क्लबमा राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्ने खेलाडी नै छैनन् । राष्ट्रिय टोलीबाट खेलिसकेका रक्षक अजित भण्डारी र फरवार्ड रविशंकर पासवान मात्रै छन् । तर, उनीहरुले टोलीको यो घाउमा कुनै मलम लगाउन सकेका छैनन् ।

‘युवा टोलीबाट नै नजिता निकाल्ने योजना छ । सोहीअनुसार युवा खेलाडीलाई अवसर दिएका छौं । राम्रो हुन सकिरहेको छैन,’ पहिलो पटक पुलिसको प्रशिक्षण सम्हालेका चेतन घिमिरे भन्छन् । पुलिसकै पूर्वखेलाडी घिमिरेले लिग सुरु हुनु एक साताअघि मात्रै यो जिम्मेवारी पाएका थिए । ‘युवा खेलाडीमा तालमेल अभाव देखिएको छ । अग्रता लिएको खेलसमेत जोगाउन सकेका छैनौं । अनुभवको पनि कम छ । एक त मैले छोटो समयको तयारीमा टोली हेरिरहेको छु,’ घिमिरे सुनाउँछन् ।

मुख्य प्रशिक्षक अनन्तराज थापा महिला राष्ट्रिय टोली हेर्न पुगेपछि ‘ए’ लाइसेन्स गरेका घिमिरेले पुलिसको जिम्मेवारी पाएका हुन् ।  

नेपाल प्रहरीको स्वामित्वमा रहेको पुलिसले ०६० सालबाट शीर्ष डिभिजनको लिग खेल्दै आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को विधान र संरचनाअनुसार कुनै पनि टोली सिधै शीर्ष डिभिजन लिग खेल्न पाउँदैन । तर, सरकारकै पहलमा पुलिसले सिधै शीर्ष डिभिजनको लिग खेल्यो । यसपछि धमाधम राष्ट्रिय खेलाडीलाई अनुबन्ध गर्यो । ०६३, ०६६-६७ र ०६८ सालमा लिग जितेर उपाधिमा ह्याट्रिक गर्यो । ०११ सालबाट लिग सुरु भएको मानिए पनि यसको वास्तविक लेखाजोखा भेटिँदैन । ०३२ सालबाट केही मात्रामा लिगका तथ्यांक र लिगको संरचनाका पत्ता भेटिएका छन् । त्यसअघि शाही शासनमा पुलिसले दुई पटक उपाधि जितेको थियो । ०१२ र ०१३ सालमा पुलिस फोर्सको रुपमा पुलिसले उपाधि हात पारेको इतिहास छ ।

वास्तवमा पुलिसको यो अवस्था कसरी सिर्जना भयो भन्ने प्रशिक्षक घिमिरेले स्वयंले पत्ता लगाउन सकेका छैनन् । ‘हामीले गोल गरेपछि मध्यान्तरसम्म पनि अग्रता जोगाउन सकेका छैनौं,’ उनी टोलीको कमजोरी पक्षतिर घोत्लिछन्, ‘विपक्षीले पनि राम्रो खेलेजस्तो लाग्दैन । आफ्नै गल्तीमा गोल भइरहेका छन्् ।’

लिग सुरु नहुँदा पुलिस क्लबले यो भवितव्य सोचेको थिएन । लिग खेलिरहेका चर्चित र अनुभवी ३० भन्दा बढी खेलाडी विदेश पलायन भएका थिए । सबै टोली १९-२० को अवस्थामा आउँदा युवा खेलाडीले धान्ने घिमिरेसँगै पुलिस व्यवस्थापनको बुझाइ थियो । तर, एन्फा र क्लबबीचको सहमतिमा विदेशी खेलाडीको कोटा थप भएपछि विभागीय टोलीलाई तनाब बढेको छ ।  

मैदानमा चार र बेन्चमा एक गरी पाँच विदेशी खेलाडी राख्न पाइने भयो । त्यसले गर्दा अन्य १२ क्लबको प्रदर्शन उच्च छ । विभागीय टोलीमध्ये सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले मात्रै विदेशी खेलाडी अनुबन्ध गरेको छ । अघिल्लो सिजन रेलिगेसनको संकट परेपछि एपिएफले बाध्य भएर विदेशी खेलाडी अनुबन्ध गरेको थियो र त्यसलाई यसपालि पनि निरन्तरता दिएको छ ।

पुलिस क्लबलाई समेत विदेशी खेलाडी राख्नुपर्ने बाध्यात्मक अवस्थामा आइपुगेको छ । तर, पुलिस व्यवस्थापन भने नेपाली खेलाडीबाटै काम चलाउने सोचमा छ । यद्यपि अहिलेको प्रदर्शन हेर्दा त्यो सम्भव देखिँदैन ।

‘मैले बारम्बार विदेशी खेलाडी राख्नुपर्छ भनेको छु । चार खेल हारिसकेका छौं । युवा खेलाडीले केही गर्छन् कि भन्ने छ । तर, त्यतिले पर्याप्त हुँदैन । व्यवस्थापन टोलीले विदेशी खेलाडीका लागि प्रयास गरिरहेको छ । कहिले हुन्छ टुंगो भने छैन,’ घिमिरे टिमको व्यथा सुनाउँछन् ।

पुलिसले आइजिपी रनिङ सिल्ड फुटबल प्रतियोगिता २०७९ मा खेलेका नयाँ खेलाडीलाई अवसर दिएको छ । तर, दोहोरो लिग खेल्दा युवा खेलाडीको कम अनुभवले काम नगर्ने पूर्वखेलाडीको आँकलन छ । ‘आइजिपी रनिङ सिल्ड खेलेका खेलाडीलाई खेलाउने निर्णय भयो । तर, लामो लिगमा त्यो अनुभवले काम नगरेजस्तो देखिन्छ,’ एक पूर्वखेलाडीले भने ।