नेपाली फुटबल

कुनैबेलाका ‘प्रदीप्त’ फुटबलर प्रदीप

काठमाडौं । २०६८ फागुन २० गते शनिबारका दिन ललितपुर, सुनाकोठीस्थित बालकुमारी खेल मैदानमा प्रदीप महर्जन एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाबाट पुरस्कार ग्रहण गर्दै थिए ।

२०६० को दशकमा प्रदीपले धेरै व्यक्तिगत उपाधि जिते । जति पनि फुटबल प्रतियोगिताहरू खेल्थे, ती सबैमा प्रदीप प्रायः उत्कृष्ट खेलाडी चुनिन्थे । तर, त्यस दिन सुनाकोठीमा प्रदीपले ग्रहण गरेको उपलब्धि अरूभन्दा भिन्न थियो । यसपालि उत्कृष्ट खेलाडीको पुरस्कार नभई उनले उत्कृष्ट प्रशिक्षकको पुरस्कार लिइरहेका थिए ।

सुनाकोठी डटकमद्वारा आयोजित सुनाकोठी कप फुटबलमा उनको टोलीले उपाधि जितेको थियो । यही कारण प्रदीपलाई सर्वोत्कृष्ट प्रशिक्षक घोषित गरिएको थियो । नखिपोटको एभरिडे फुटबल क्लबलाई फाइनलमा ५-० ले पराजित गर्दै प्रदीपको प्रशिक्षणमा रहेको खुमलटार फुटबल क्लब च्याम्पियन बनेको थियो । यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको खुमलटारको प्रशिक्षण जिम्मेवारी कुनै बेला प्रदिपको काँधमा थियो । त्यतिबेला खुमलटार घरेलु फुटबल संरचनाको सबैभन्दा तल्लो श्रेणी ‘सी’ डिभिजनमा थियो । लक्ष्य ठूलो भए पनि टोली नेपाली फुटबलमा वामे सर्दै थियो ।

सुनाकोठीमा स्थानीय वासिन्दामाझ प्रदीप ‘हिरो’ थिए । क्रेज लोभलाग्दो थियो । यतिसम्म कि खेल हेर्न आउने दर्शकहरू खुमलटारलाई खुमलटारभन्दा पनि प्रदीप महर्जनको टिम भनेर चिन्थे । प्रदीपको टोलीले खेलेको हेर्न समर्थकहरू टाढादेखि आउँथे । प्रदीप त्यतिबेला २६ वर्षका थिए । प्रशिक्षकका लागि यो उमेर निकै कम हो । तर दुर्भाग्यजनक चोटका कारण खेलाडीका रूपमा प्रदीपका लागि भने त्यो फुटबलका अन्तिम वषहरू थिए ।

नेपाली फुटबलले पाएको अहिलेसम्मकै सर्वोत्कृष्ट मिडफिल्डरमध्ये एक हुन् प्रदीप । अहिले प्रदीप गुमनामजस्तै छन् । नयाँ पिँढीमाझ उनी अपरिचित छन् । ज-जसले प्रदीपको खेल प्रत्यक्ष हेर्न पाए, ती सबैका लागि ‘प्रदीप’ बिर्सन नसक्ने नाम हो । ज-जसले हेर्न पाएनन्, ती सबै अभागी ।

एन्फा एकेडेमीको यात्रा

मकवानपुरको टिस्टुङमा जन्मिएका प्रदीप एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । २०५३ सालमा एन्फाले पहिलो पटक एकेडेमी सञ्चालन गर्न देशव्यापी छनोट गर्दा प्रदीप १० वर्षका थिए । सानै उमेरदेखि फुटबलमा रुचि राखेका प्रदीपले बाल्यकालको अधिकांश समय फुटबल खेलेरै बिताए । त्यसैले उनलाई एन्फाको यात्रा त्यति गाह्रो भएन । शारीरिक रूपमा बलिया प्रदीपले राइट ब्याक पोजिसनमा आफूलाई अब्बल साबित गरेर एन्फासम्मको यात्रा गरेका थिए ।

मकवानपुरव्यापी छनोटबाट छानिएका प्रदीप १३ अरू खेलाडीसँगै बाँकी चरणको छनोटका लागि काठमाडौं आएका थिए । १३ जनामा १० फालिए । अन्तिम चरणका लागि छानिने भाग्यशाली खेलाडीमध्ये प्रदीप र रोजित केसीले ४० खेलाडीसम्मिलित पहिलो ब्याचमा स्थान बनाए ।

एन्फा एकेडेमीमा प्रदीपको सुरुआत त्यति सजिलो रहेन । सुरुआती वर्षहरूमा कहिल्यै पनि पहिलो रोजाइमा नपरेका प्रदीप ४० खेलाडीलाई दुई भागमा विभाजन गर्दा सधैं सेट ‘बी’ मा पर्थे । कहिलेकाहीं खेलाडी घाइते भएको खण्डमा भने प्रदीपलाई ‘ए’मा मौका दिइन्थ्यो । सेट ‘बी’को भने जहिल्यै सुरुआती रोजाइमै पर्थे । यो सिलसिला चार वर्षसम्म चल्यो ।

यसबीच एकेडेमीले सन् १९९९ मा भारतको नयाँ दिल्लीमा भएको सुब्रतो मुखर्जी कप जित्यो । त्यस्तै २००० मा एकेडेमीका खेलाडीसम्मिलित ग्यालेक्सी पब्लिक स्कुलले फाइनलसम्म यात्रा तय गर्यो । त्यतिबेला नेपाली टोली विवादास्पद फाइनलको बीचमै मैदान छाडेर घर फर्केको थियो ।

‘हामीले सुब्रतो मुखर्जी कप खेल्दा पनि म डिफेन्समै थिएँ । पहिलो रोजाइमा कहिल्यै परिनँ । २० खेलाडीमा जहिल्यै १२, १३, १४ नम्बरको खेलाडी हुन्थें,’ प्रदीपले एकेडेमीमा रहँदाका सुरुआती दिन सम्झिए ।

एन्फा एकेडेमीलाई डिकेन सुवालले प्रशिक्षण दिन सुरु गरेदेखि भने प्रदीपका दिन फेरिए । उनले हकलाग्दो मौका पाउन थाले । सुवालले नै हो प्रदीपलाई मिडफिल्ड खेल्न सुझाएको । ‘उहाँले मलाई तिमी मिडफिल्डमा एकचोटि प्रयास गर न भनेर सुझाव दिनुभयो । त्यसपछि मैले पोजिसन परिवर्तन गर्ने निर्णय गरें,’ प्रदीप विगत सम्झन्छन् ।

राइट ब्याकबाट मिडफिल्डमा सरेका प्रदीपको परीक्षा राष्ट्रिय टिमविरुद्धको खेलमा भयो । जुन परीक्षामा प्रदीप पास भए । त्यसबेला राष्ट्रिय टिम साफ च्याम्पियनसिप २००३ को तयारी गर्दै थियो । सानो गौचरनमा एन्फा एकेडेमीविरुद्ध मैत्रीपूर्ण खेल राखिएको थियो । एकेडेमीको टिमबाट प्रदीपले पहिलो रोजाइमा मौका पाउने अवस्था बनिसकेको थिएन । तर, प्रशिक्षक सुवालले दोस्रो हाफमा सुरज जोशीको ठाउँमा प्रदीपलाई मैदान उतारे । डिफेन्सिभ मिडफिल्डरको भूमिका प्रदीपले राम्रोसँग निर्वाह गरे । राष्ट्रिय टिमका मिडफिल्डर देवनारायण चौधरीलाई प्रदीपले खुलेर खेल्न दिएनन् । प्रशिक्षक सुवालले प्रदीपलाई त्यो खेलमा दिएको जिम्मेवारी पनि त्यही थियो । खेल हेरिरहेका एन्फाका पदाधिकारीहरू प्रदीपबाट प्रभावित भए । प्रदीपका लागि टिममा पहिलो रोजाइबाट खेल्ने ढोका खुल्यो । त्यस दिनदेखि प्रदीपले डिफेन्सको पोजिसनतिर फर्केर पनि हेर्नुपरेन ।

उमेर समूह

सन् २००३ मा नेपाली युवा टोली एएफसी यु-२० च्याम्पियनसिप २००४ को छनोट खेल्न बंगलादेश गएको थियो । १९ वर्षमुनिको त्यो टिममा प्रदीप पनि थिए । बंगलादेशमा नेपाल समूह विजेता बन्यो र मलेसियामा हुने प्रतियोगिताका लागि छानियो । बंगलादेशमा प्रदीपले पाकिस्तानविरुद्ध एक गोल गरेका थिए ।

एसियाली स्तरको प्रतियोगितामा नेपालको कुनै पनि फुटबल टोली छनोट भएर प्रतिस्पर्धा गर्न लागेको यो पहिलो अवसर थियो । त्यसैले मलेसियाका लागि एन्फाले विशेष तयारी गरेको थियो । त्यसैले एन्फाले युवा टोलीको जिम्मेवारी श्याम थापालाई दियो । नेपाली फुटबललाई नयाँ उचाइ दिने सपना बोकेर आएका थापा युवा टोली लिएर मलेसिया पुगे ।

थापाको प्रेरणादायी नेतृत्वमा उत्साही नेपाली टोलीले मलेसियामा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गरेको थियो । केही महिनाअघि मात्र ग्रिसमा ओलम्पिक खेलेर आएको जापानलाई नेपालले ३-० को नतिजामा रोक्यो । दोस्रो खेलमा बलियो मानिएको भियतनामलाई १-० को अन्तरमा हरायो । समूह चरणको अन्तिम खेलमा आयोजक मलेसियासँग ३-० कै नतिजामा पराजित भयो । प्रतियोगितामा नेपालका लागि एकमात्र गोल पेनाल्टीमार्फत प्रदीपले गरेका थिए ।

सन् २००४ मै भएको दक्षिण एसियाली खेलकुद (साग)मा पनि प्रदीपले खेल्ने अवसर पाएका थिए । २३ वर्षमुनिको त्यो प्रतियोगितामा नेपालले पाकिस्तानको इस्लामाबादमा एक खेल पनि जितेन ।

सिनियर करिअर

मलेसियामा नेपालको यात्रा सकिएपछि प्रशिक्षक थापाले टिमसँगै गएका एन्फा अधिकारीहरू र पत्रकारको बीचमा भनेका थिए, ‘नेपाली फुटबलको नाम प्रदीपले राख्छ । यसमा विश्वभरका नेपालीहरूलाई उत्प्रेरित गर्न सक्ने क्षमता छ ।’

थापाले प्रदीपमा त्यतिबेला नेपाली फुटबलबाटै कम्तीमा दक्षिण एसिया हल्लाउन सक्ने सुपरस्टारको गुण देखेका थिए ।

थापाले गरेको त्यो भविष्यवाणी सही साबित भयो । प्रदीपले कम उमेरमै राष्ट्रिय टिममा नभई नहुने खेलाडीको परिचय बनाइसकेका थिए । नेपाली राष्ट्रिय टिमबाट खेल्ने क्रममा सन् २००८ मा घाइते नभएसम्म प्रदीपले आफूलाई ठूलो सम्भावना बोकेको सुपरस्टारका रूपमा स्थापित गरिसकेका थिए ।

२००५ मा पाकिस्तानको कराँचीमा भएको साफ च्याम्पियनसिपको पाँचौं संस्करणमा भारतविरुद्ध खेल्दै प्रदीपले अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका थिए । त्यस खेलमा नेपाल २-१ ले पराजित भएको थियो । समूहको दोस्रो खेलमा पनि बंगलादेशसँग २-० ले पराजित नेपालले तेस्रो खेलमा भने भुटानलाई ३-१ ले पराजित गरेको थियो । त्यतिबेला अंकतालिकाको तेस्रो स्थानमा रहँदै नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो ।

सन २००६ मा बंगलादेशमा एसियाका १६ टोलीको सहभागिता रहेको एएफसी च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शनसहित पाँच गोल गरेर प्रदीपले आफ्ना सम्मानित गुरु श्याम थापाको सपनामा खोट नरहेको प्रमाण दिए । बंगलादेशमा गरेको प्रदर्शनले प्रदीप एकाएक स्टार बने । टिममा हरि खड्का, सुरेन्द्र तामाङ, वसन्त थापा जस्ता अनुभवी खेलाडी थिए । त्यस्तै उमेर समूहका प्रतियोगिता खेलेका युवा खेलाडीले टिमको मनोबल उच्च थियो । प्रशिक्षक थापाको मुख्य हतियार भने प्रदीप नै थिए । रक्षात्मक र आक्रमक दुवै पक्षमा प्रदीप उत्तिकै प्रभावशाली थिए । डिफेन्सिभ मिडफिल्डमा खेल्ने प्रदीपबाट गोलहरू निस्कन्थे । अन्तर्राष्ट्रिय फुटबलमा डिफेन्सिभ मिडफिल्डबाट गोलहरू विरलै निस्कन्छन् । यसले पनि प्रस्ट बुझ्न सकिन्छ, प्रदीप कस्ता थिए भनेर ।

पहिलो खेलमा नेपालले भुटानविरुद्ध २-० को जित हासिल गर्यो । दुवै गोल प्रदीपले गरेका थिए । दोस्रो खेलमा भने नेपाल ब्रुनाईसँग २-१ ले हार्यो । ब्रुनाईविरुद्ध चोट लाग्दा प्रदीप १० मिनेटमै मैदानबाट बाहिरिएका थिए ।

तेस्रो खेलमा नेपालले श्रीलंकासँग १-१ को बराबरी खेल्यो । एक गोलले पछि रहेको स्थितिमा प्रदीपले ७५औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । त्यो गोलले नेपाललाई क्वाटरफाइनल पुर्यायो  । क्वाटरफाइनलमा २० वर्षमुनिका खेलाडीसम्मिलित भारतीय टिमलाई नेपालले सजिलै हरायो । पहिलो हाफमा प्रदीपले दुई गोल गरे । पहिलो हाफमै वसन्त थापाले एक गोल थपेका थिए । दोस्रो हाफमा गोल भएन ।

सेमिफाइनलमा नेपालको भेट फेरि पनि श्रीलंकासँग भयो । चोटबाट संघर्षरत प्रदीपले त्यतिबेला टिमलाई अग्रता दिलाउने सुनौलो अवसर पाएका थिए । तर उनले हानेको पेनाल्टी पोस्टमा ठोक्कियो । त्यसैको फाइदा उठाउँदै श्रीलंकाले काउन्टर अट्याकमा गोल गर्यो । ८२औं मिनेटमा विजय गुरुङको पासमा कप्तान वसन्त थापाले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेट सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । त्यहाँ पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुग्यो । नेपालबाट अञ्जन केसी, टासी छिरिङ र नवीन न्यौपानेले पहिलो तीन पेनाल्टीलाई गोलको दिशा दिए । चौथो पेनाल्टी प्रहार गर्न पुगे प्रदीप । दुर्भाग्य, प्रदीपको पेनाल्टी मिस भयो । र, नेपालको यात्रा सेमिफाइनलमै सीमित भयो ।

‘त्यतिबेला नेपालमा दोस्रो जनआन्दोलन चलिरहेको थियो । जहाँसम्म मलाई थाहा छ, हामीले भुटानविरुद्ध खेल्दा नेपाल बन्द कार्यक्रम थियो । प्रायः सबैले घरमा बसेर नेपालको खेल हेरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा मैले दुई गोल हानें । सबैले मेरो खेल रुचाए,’  प्रदीपले बंगलादेशका ती दिनहरू सम्झिए, ‘सेमिफाइनलमा म चोटग्रस्त थिएँ । त्यसमाथि पनि पेनाल्टी मिस गरेकाले म नर्भस थिएँ । म पेनाल्टी हान्न भनेर बसिरहेको बेला साथीहरूले हान्नुपर्छ भनेर सम्झाए । अन्त्यमा पेनाल्टी हान्ने कोही नभएपछि म प्रशिक्षक र साथीहरूको आग्रहमा जे होला होला भनेर पेनाल्टी प्रहार गर्न गएको हुँ । त्यसमा असफल भएँ ।’

श्रीलंकाविरुद्धको असफल पेनाल्टीको पछुतो अहिलेसम्म पनि प्रदीपलाई छ । भन्छन्, ‘त्यतिबेला प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाउने अवसर थियो । फाइनल पुगेको भए मैले पाउँथे । सबै अधिकारीहरूदेखि लिएर पत्रकारहरू मैले पाउनेमा विश्वस्त थिए । तर एउटा सानो गल्तीले गर्दा मैले पाइनँ । अहिले सम्झिँदा दुःख लाग्छ ।’

कुनै पनि प्रतियोगितामा नेपाली खेलाडी एक्लैले पाँच गोल गरेको त्यो दोस्रो पटक थियो । प्रदीपअघि गणेश थापाले १९८७ मा भारतमा भएको तेस्रो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ, हालको साग) अन्तर्गत फुटबलमा पाँच गोल गरेका थिए ।

चोटको दुर्भाग्य

नेपाली फुटबलको अपार सम्भावनामा अल्पविराम लगाउँदै प्रदीप मात्र ११ पटक देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भए । मे १८, २००८ मा थाइल्यान्डको बैंकक ग्लास क्लबसँग मैत्रीपूर्ण खेलका दौरान घुँडामा चोट लागेपछि प्रदीप कहिल्यै शीर्षस्तरको फुटबलमा फर्कन सकेनन् । त्यतिबेला नेपाली टोली ‘२००८ एएफसी च्यालेन्ज कप’ छनोट र साफ च्याम्पियनसिपको तयारीका लागि थाइल्यान्ड पुगेको थियो । प्रदीप त्यतिबेला जम्मा २३ वर्षका थिए ।

‘घाइते नभएको भए देशका लागि मैले थप केही गर्थें कि भन्ने सोच अहिले पनि आउँछ । थाइल्यान्डको त्यो चोटपछि पटक पटक शीर्षस्तरको फुटबलमा फर्कन प्रयास गरें । तर टिममा छनोट हुन सकिनँ,’ प्रदीप भावुक भए, ‘चोटपछि लयमा आउन अवश्य पनि गाह्रो हुन्छ । पोलिस प्रशिक्षक ज्याक स्टेफानोस्कीले टिमको नेतृत्व गर्दा म २३ जनामा परेको थिएँ । तर खेल्न पाइनँ । त्यसपछि मैले फुटबल नै नखेल्ने निर्णय लिएँ ।’

थ्री स्टार र मोफसलका हिरो

प्रदीपले २०६० सालमा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ‘डेब्यु’ गरेका हुन् । त्यतिबेला एन्फा एकेडेमीका ४० खेलाडीलाई एनआरटी र फ्रेन्ड्स गरी दुई टिमले अनुबन्ध गरेका थिए । फ्रेन्ड्सले त्यो वर्ष चौथो स्थानमा रहेर लिग टुंग्यायो । प्रदीप फ्रेन्ड्सपछि थ्री स्टारमा गए । यसबीच प्रदीपले २०६० सालमा भएको नगरपालिका कपमा मध्यपुरबाट खेले । प्रतियोगितामा एक्लैले ९ गोल गरे र मध्यपुर च्याम्पियन बन्यो ।

२०६० सालको चैतमा प्रदीप साफका लागि इस्लामाबाद गएका थिए । पाकिस्तानमै हुँदा प्रदीपलाई थ्री स्टारका तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठले टेलिफोनबाट अनुबन्धनको प्रस्ताव राखेका थिए । ‘पाकिस्तानबाट नेपाल फर्किएपछि सबै आफ्नो इच्छाअनुसारको क्लबमा गएँ । मैले पनि यसो हेरें । थ्री स्टारबाट राम्रो प्रस्ताव आएको थियो । त्यतिबेला सुरेन्द्र (तामाङ) दाइ, उपेन्द्र दाइ (राष्ट्रिय टोलीका पूर्वकप्तान गोलकिपर उपेन्द्रमान सिंह) हरू जस्ता राम्रा खेलाडी थ्री स्टारमा थिए । त्यसैले मैले थ्री स्टार रोजें,’ प्रदीप आफ्नो यात्रा स्मरण गर्छन् ।

प्रदीपसँगै एकेडेमीका लोकबन्धु गुरुङ र विजय गुरुङ पनि थ्री स्टारमै अनुबन्ध भए ।

उनीहरू गएकै वर्ष २०६१ सालमा थ्री स्टार लिग विजेता बन्यो । प्रदीप सर्वोत्कृष्ट मिडफिल्डर घोषित भए । प्रदीपले पुरस्कारस्वरुप मोटरसाइकल पनि पाए । त्यो लिगपछि प्रदीप नेपाली फुटबलको नयाँ स्टारका रूपमा स्थापित भए । पाटनका स्थानीयको माया थेगिनसक्नु थियो । ‘पाटनवासीको माया धेरै नै पाएँ । त्यतिबेला मलाई सबैले च्यासलको नेवार भन्ठान्दारहेछन् । त्यही भएर पाटने समर्थकहरू नेवारीमा बोल्न आउँथे । तर आफू परियो उपत्यकाबाहिरको नेवार, नेवारी नै बोल्न नआउने ! अहिले ललितपुर बसेको २५ वर्ष भइसक्यो । मैले सबैभन्दा धेरै माया थ्री स्टारबाटै पाएँ, ’ प्रदीप सम्झन्छन् ।

२०६१ मा थ्री स्टारले हिमालयन बैंक कप, धरानको बुढासुब्बा गोल्डकप, पोखराको आहा गोल्डकप र ब्रिटिस गोर्खा कप पनि जितेको थियो । सबैमा प्रदीपले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जिते । २०६२ र २०६३ को लिगमा थ्री स्टार क्रमशः दोस्रो र तेस्रो भयो । २०६५ को जेठमा थाइल्यान्डमा घाइते भएका प्रदीप २०६६ मा मैदान फर्के । तर प्रदीपको खेल पहिला जस्तो रहेन । प्रदीपले आफ्नो करियरका अन्तिम वर्षहरू जावलाखेलमा बिताए । २०६८ र २०६९ को लिगमा प्रदीपले जावलाखेलको कप्तानी सम्हालेका थिए ।

प्रशिक्षकको भूमिका

जावलाखेलबाट व्यावसायिक फुटबल खेल्दै गर्दा २०६७ सालमा प्रदीपले खुमलटारको प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए । यो अवसर प्रदीपलाई थ्री स्टारका अध्यक्ष एवं एन्फाका तत्कालीन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ (स्वर्गीय) ले दिलाएका थिए । ‘पहिला खुमलटारका अध्यक्षमा सहदेव राउत र महासचिवमा श्याम राउत हुनुहुन्थ्यो । त्यतिबेला थ्री स्टारका अध्यक्ष ललित सरसँग उहाँहरूले भेट्नुभएछ । त्यहाँ कसलाई प्रशिक्षकको जिम्मेवारी दिने भन्ने कुरा भएछ । त्यही क्रममा ललित सरले प्रदीप खाली छ, प्रदीपलाई यो जिम्मेवारी दिनु राम्रो हुन्छ भन्नुभएछ । ललित सरले भनेपछि खुमलटारको जिम्मेवारी मैले पाएको हुँ,’ प्रदीप आफ्ना अभिभावक रहेका स्वर्गीय ललितकृष्ण श्रेष्ठ सम्झँदै भावुक भए ।

प्रदीपले खुमलटार सम्हाल्दा क्लब ‘सी’ डिभिजनमा थियो । प्रदीपभन्दा अगाडि खुमलटारको जिम्मेवारीमा राष्ट्रिय टोली तथा थ्री स्टारबाट सँगै खेलेका जनक सिंह थिए । सिंहले खुमलटारलाई ‘सी’ डिभिजन सम्म पुर्याएका थिए । प्रदीपले दुई वर्ष खुमलटारमा प्रशिक्षकको भूमिका निर्वाह गरे । ‘बी’ डिभिजनमा पुर्याउन दुइचोटी प्रयास गरे । तर थोरैले असफल भए । यसबीच खुमलटारले सुनाकोठी कप र अर्को एउटा राष्ट्रिय स्तरको प्रतियोगिता जित्यो । सुनाकोठीमा प्रदीपका मुख्य हतियार थिए, रञ्जन विष्ट । रञ्जन त्यो प्रतियोगितामा फाइनलमा दुईसहित कुल ७ गोल गरेर उच्च गोलकर्ता घोषित भएका थिए  । पछि रञ्जनले नेपाली राष्ट्रिय टोलीबाट पनि खेले । नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर अञ्जन विष्टका दाजु रञ्जन पनि मकवानपुरकै हुन् । उनलाई प्रदीपले सुनाकोठी कपकै लागि भनेर खुमलटार ल्याएका थिए ।

‘प्रदीप दाइले हामीलाई त्यतिबेला प्रशिक्षकभन्दा पनि साथीजस्तो व्यवहार गर्नुहुन्थ्यो । हामीसँगै रमाइलो गर्नुहुन्थ्यो । खेलाडीहरूलाई धेरै कुरामा स्वतन्त्र छोड्नुहुन्थ्यो । हामीसँग एकदमै नजिक हुनुहुन्थ्यो,’ नेपाली फुटबलमा भविष्य नदेखेर केही साताअघि मात्र भविष्य सुरक्षित गर्न अस्ट्रेलियाको बाटो तताएका रञ्जनले टेलिफोनमार्फत प्रदीपबारे सुनाए ।

‘हामीले धेरै संघर्ष गर्यौं । खेलाडी खोज्न हामी धेरै ठाउँ गयौं । गाउँ-गाउँ डुल्यौं । खेलाडीहरू छनोट गरिसकेपछि पनि सुख छैन । सबैको कलेज हुने, कसैको काम । कोही एक दिन प्रशिक्षणमा आएर पाँच दिन नआउने । धेरै कठिनाइहरू भोग्यौं,’ खुमलटारको प्रशिक्षकका रूपमा गरेका मिहिनेत सम्झँदै प्रदीप भन्छन्, ‘आज खुमलटार यहाँसम्म पुग्दा ओहो ! पुगेछ है भन्ने महसुस हुन्छ र मनमा आनन्द आउँछ ।’

२०६९ सालमा खुमलटारको जिम्मेवारी छोडेका प्रदीपले त्यसपछि सिमरा गोल्डकप खेले । त्यो नै प्रदीपको फुटबल जीवनको अन्तिम प्रतियोगिता हो । २०७० मा थ्री स्टार र जावलाखेलका खेलाडीलाई मिश्रण गरेर प्रदीपको नेतृत्वमा आयोजक सिमरा फुटबल क्लबले सिमरा गोल्डकपको उपाधि जितेको थियो ।

२०७० सालयता प्रदीप फुटबलबाट गुमनामजस्तै छन् । उनी अहिले पनि एन्फा धाइरहन्छन्, तर व्यावसायिक कामका लागि । सात वर्ष भयो प्रदीपले पानीको व्यवसाय गर्न थालेको । एन्फामा उनकै कम्पनीले पानीको आपूर्ति गर्दै आएको छ ।

पछिल्लो समय भने प्रदीप ठैबको स्थानीय क्लब गोदावरी युनाइटेडमा उपाध्यक्षका रूपमा सक्रिय छन् । क्लबले केही महिनाअघि मात्र ‘सी’ डिभिजन छनोट प्रतियोगिता खेलेको थियो । जसमा क्लब गोलअन्तरले मात्र पछि परेको थियो ।

२०६१ सालमा स्थापना भएको खुमलटारले अहिले १८ वर्षपछि ‘ए’ डिभिजन लिग खेल्दै छ । २०६४ सालमा ‘सी’ डिभिजन छनोट खेल्दै डिभिजन फुटबलको पहिलो सिँढी चढेको खुमलटारले ‘बी’ डिभिजनमा उक्लन ६ वर्ष लगायो । २०७० मा ‘सी’ डिभिजन च्याम्पियन बन्दै खुमलटार बढुवा भएको थियो । त्यसपछि चौथो प्रयासमा टोलीले शीर्ष डिभिजनमा स्थान बनायो ।

एन्फाले तोकेकै मितिमा लिग भए फागुन १९ गते फ्रेन्ड्सविरुद्ध खेल्दै खुमलटारले शीर्ष डिभिजनमा ‘डेब्यु’ गर्नेछ । व्यावसायिक फुटबलको पहिलो क्लब फ्रेन्ड्स र प्रशिक्षकका रूपमा पहिलो क्लब खुमलटारबीचको खेल हेर्न प्रदीप पक्कै पनि दशरथ रंगशाला जानेछन् । खेल चलिरहँदा आफ्ना पुराना दिनहरू सम्झनेछन् अनि गर्व गर्नेछन् आफ्नो करिअरप्रति ।