नेपाली फुटबल

रणनीतिक र दूरदर्शी नेम्वाङको एएफसीमा डेब्यू

काठमाडौं । पंकजविक्रम नेम्वाङ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्वाङका छोरा । यहींबाट सुरु हुन्छ उनको परिचय । संघर्षपूर्ण राजनीतिमार्फत बाबुले बनाएको विरासतको ‘प्रिभिलेज’ उनलाई सधैं प्राप्त भइरह्यो । खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि । त्यसअघि बाबु भूमिगत हुँदा चाहिँ पंकजविक्रमको बाल्यकाल कष्टकर नै थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष नेम्वाङको परिचयमा अहिले अर्को एउटा शब्दावली थपिएको छ । उनी एसियाली फुटबल महासंघ (एएफसी)को कार्यकारी सदस्य चुनिएका छन् । एन्फा अध्यक्षको हैसियतमा उम्मेदवारी दिएर एएफसीको ३३औं चुनावी साधारणसभामा भाग लिन बहराइन पुगेका नेम्वाङ कार्यकारी सदस्य बनेर फर्किएका छन् ।

एन्फाका पूर्वअध्यक्ष गणेश थापापछि एसियाली फुटबलको सर्वोच्च निकायमा पुग्ने उनी पहिलो नेपाली हुन् । २०७२ सालमा थापा फिफाको १० वर्षे प्रतिबन्धमा परेपछि सबैखाले फुटबल प्रशासनबाट बाहिर छन् । त्यसयता एएफसी कार्यसमितिमा रहँदै आएको अनुपस्थिति पुर्दै नेम्वाङ निर्वाचित हुनुलाई नेपाली फुटबलको भविष्यसँग जोड्न सकिन्छ ।

‘पक्कै पनि एएफसी कार्यसमितिमा उनको उपस्थितिले नेपाली फुटबलको मुद्दा उठाउन सजिलो हुनेछ । नेपाल अन्तर्राष्ट्रियजगतमा बलियो हुनेछौं । नेपाली फुटबलका लागि नयाँ योजनाहरू ल्याउन यसले अझै सजिलो हुनेछ,’ नेम्वाङको जितपछि नेपाली फुटबलका सरोकारवालाले यस्तै आशा राखेका हुनुपर्छ ।

नेम्वाङको जितबाट नेपाली फुटबल कति लाभान्वित होला ? यो प्रश्नको उत्तर भविष्यको गर्भमा सुरक्षित छ । तर, इमान्दार प्रयास गर्ने हो भने नेपाली फुटबलको मुहार परिवर्तन गर्ने ठाउँमा उनी छन् । नेपाली फुटबलका ‘सुप्रिमो’ नेम्वाङ एसियाली फुटबल नै हाँक्ने ठाउँमा पुगेका छन् ।

झापामा जन्मिएका कारण बाल्यकालमा नेम्वाङले पनि गाउँघरमा समय कटाउन फुटबलको सहारा लिए । त्यसबाहेक खेलाडीका रूपमा उनीसँग कुनै स्मरण छैनन् । खासमा उनले कहिल्यै प्रतिस्पर्धात्मक फुटबल खेलेनन् । तर पदाधिकारीका रूपमा उनको यात्रा निक्कै लोभलाग्दो छ । आठ महिनाअघिसम्म नेम्वाङको औपचारिक हैसियत एन्फामा वरिष्ठ उपाध्यक्ष भए पनि वास्तविकतामा एउटा गनगने प्रतिपक्षीभन्दा बढी थिएन ।  

गत असारमा चार वर्षका लागि भएको निर्वाचनमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गरेपछि भने नेम्वाङले एन्फाको ड्राइभिङ सिट हत्याए । पूर्वअध्यक्ष गणेश थापा र शेर्पाबीचको कटुतापूर्ण सम्बन्धको फाइदा उठाउने क्रममा थापाको आशीर्वाद प्राप्त गरेपछि नेम्वाङ एन्फा अध्यक्ष बन्न सफल भएका थिए ।

२०७५ सालमा अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । पछि कार्यसमितिले चार उपाध्यक्षमध्ये नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

लामो समयसम्म ‘चेन्ज एन्फा’को नारासहित तत्कालीन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै थिए । लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन थाल्यो । एन्फा नेतृत्वमा पुगेको झन्डै डेढ वर्षपछि सुरु भएको दुईबीचको खटपटले गत असारको निर्वाचनमा पूरा प्यानल नै बनाएर एकअर्काविरुद्ध उत्रिने अवस्था सिर्जना गरायो ।

नेम्वाङलगायत हिजो सँगै सहकार्य गरेका पदाधिकारीहरूले शेर्पामाथि आर्थिक अनियमितता गरेको, निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोलगायतका आरोप लगाएर पूर्वअध्यक्ष गणेश थापाको आशीर्वादसहित अलग्गै प्यानल बनाएर चुनावमा होमिएका थिए ।

२०७२ सालमा तत्कालीन अध्यक्ष थापा प्रतिबन्धमा परेपछि भएको निर्वाचनमा शेर्पा भने नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । त्यतिबेला पनि कार्यसमितिमा सदस्य रहेका नेम्वाङ शेर्पाकै पक्षमा खुलेर लागेका थिए ।

नेपाली फुटबलको उर्वरभूमिका रूपमा परिचित झापाको धुलाबारीका स्थायी बासिन्दा नेम्वाङ सानोमा स्थानीयस्तरमा फुटबल खेल्थे । तर, खेलाडीका रूपमा अघि बढ्न नसक्ने देखेपछि विस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका उनी २०५९ सालमा पहिलो पटक एन्फाको केन्द्रीय सदस्य भएका थिए । त्यसपछि उनी लगातार चार कार्यकाल सदस्य तथा पछिल्लो कार्यकाल उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष भएका थिए ।

नेपाली कांग्रेसको राजनीतिमा पिताको विशेष प्रभाव रहेकाले त्यतिबेला पूर्वका थुप्रै हस्तीलाई पाखा लगाउँदै नेम्वाङ एन्फा नेतृत्वको नजरमा परेका थिए । त्यसपछि पनि प्रत्येक पाइलामा नेम्वाङलाई बाबुको राजनीतिक विरासतको फाइदा मिलेको फुटबलकर्मीहरू बताउँछन् ।

‘सुरुमा उहालाई बुवाकै प्रभावका कारण नेतृत्वले केन्द्रीय सदस्य बनाएको थियो । नत्र त्यतिबेला झापामा उहाँभन्दा बढी फुटबलमा लगानी गरेका थुप्रै व्यक्तित्व थिए । तर सधै सत्ताको वरिपरि रहिरहने कांग्रेसलाई ब्यालेन्स गर्ने रणनीतिअनुसार पंकजजीलाई केन्द्रीय सदस्य बनाइएको थियो,’ त्यतिबेलाका एक एन्फा पदाधिकारी सम्झन्छन्, ‘तर, यो २० वर्षमा धेरै कुरा परिवर्तन भइसकेको छ । पंकजजी अहिले नेपाली फुटबलको सुप्रिमो र एएफसीको सदस्य हुनुभएको छ । यसका लागि उहाँको निरन्तरता र लगावचाहिँ प्रशंसनीय छ ।’

ती पदाधिकारीको विचारमा कम बोल्ने नेम्वाङ निकै रणनीतिक र दूरदर्शी छन् । राजनीतिक सुझबुझ र रणनीतिक विरासत पिताबाटै प्राप्त गरेका नेम्वाङ आवश्यकताअनुसार मानिसहरूलाई प्रयोग गर्न सफल भएको उनकै टिमबाट निर्वाचित एक वरिष्ठ एन्फा पदाधिकारी बताउँछन् ।

भन्छन्, ‘उहाँले लामो समय गणेश दाइ (पूर्वअध्यक्ष गणेश थापा)को विश्वासपात्रका रूपमा ज्ञानी भएर एन्फामा बिताउनुभयो । पछि कर्मा दाइ (निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा)सँग लागेर गणेश दाइविरुद्धको आन्दोलनमा होमिनुभयो । कर्मा दाइको प्यानलबाट उपाध्यक्ष जितेपछि वरिष्ठ उपाध्यक्ष नभएसम्म उहाँकै कार्यकर्ताका रूपमा रहनुभयो । वरिष्ठ उपाध्यक्ष भएपछि फेरि कर्मा दाइकै विरोधमा लाग्नुभयो । गएको चुनावमा गणेश दाइको आशीर्वादमा कर्मा दाइलाई हराउनुभयो । चुनाव जितेपछि फेरि उहाँले गणेश दाइको टिम पनि त्याग्नुभयो ।’