फिफा विश्वकप

विश्वकपकमा चम्किएका खेलाडी

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप कतारमा जारी रहँदा खेलाडी विशेषको प्रदर्शनका आधारमा विभिन्न टिमको भाग्य निर्धारण भइरहेको छ ।

नोभेम्बर २० बाट सुरु भएको यो प्रतियोगिता डिसेम्बर १८ मा समापन हुनेछ । जहाँबाट आगामी चार वर्षका लागि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ । अनि थुप्रै खेलाडीले अन्तर्राष्ट्रिय फुटबल मञ्चबाट विदा लिनेछन् । साथमा आगामी दिनको विश्व फुटबललाई नेतृत्व दिने केही नयाँ र केही स्थापित सुपरस्टारहरुको आगमन पनि हुनेछ ।

विश्वकप धेरै खेलाडीका लागि आफ्नो प्रतिभा विश्वसामू देखाउने एक उत्कृष्ट थलो हो । जारी प्रतियोगितामा स्टार मानिएका धेरै खेलाडीले आफ्नो स्वभाविक प्रदर्शन गर्न नसक्दा केही युवा खेलाडीले भने राम्रो प्रभाव छाड्न सफल भएका छन ।

जारी विश्वकपमा धेरै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन । तर केही यस्ता छन्, जसको चर्चा नगरि विश्वकप बहस पूर्ण हुनै सक्दैन ।

किलियन एमबाप्पे

विश्वकपमा उत्कृष्ट लयमा देखिएका २३ वर्षीय फ्रेन्च स्ट्राइकर किलियन एमबाप्पले पाँच गोल गर्दै गोल्डेन बुट दौडमा एकल अग्रता बनाएका छन् ।

समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक र डेनमार्कविरुद्ध दुई गोल गरेका एमबाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरे । पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट व्यवसायिक फुटबल खेल्ने उनले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन ।

एमबाप्पेले समुह चरणमा अस्ट्रेलियाविरुद्ध तथा अन्तिम १६ मा पोल्यान्डविरुद्ध ओलिभर जिरौउडको गोलका लागि अवसर सिर्जना गरेका थिए । एमबाप्पेले फ्रान्सका लागि ६३ खेलमा ३३ गोल गरेका छन ।

लियोनेल मेसी

अर्जेन्टिनालाई क्वार्टरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका कप्तान लियोनल मेसीले तीन गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेका छन् ।

३५ वर्षीय मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको तथा अन्तिम १६ मा अस्ट्रेलियाविरुद्ध गोल गरेका हुन । उनले समूह चरणमा मेक्सिोविरुद्ध इन्जो फर्नान्डेजको गोलका लागि अवसर सिर्जना गरेका थिए ।

पेरिस सेन्ट जर्मन (पिएजी) बाट व्यवसायिक फुटबल खेल्ने मेसीले अर्जेन्टिनाका लागि एक सय ६९ खेलमा ९४ गोल गरेका छन् । ६ पटकका बालिन डी’अर विजेता मेसीले आफ्नो चम्किलो करियरमा जित्न नसकेको एउटै उपाधि भनेको विश्वकप हो ।

करियरको उत्तरार्र्धमा भए पनि उनीबाट यसपाली विश्वकपको उपाधि आशा गरिएको छ र मेसीले त्यहीअनुसारको प्रदर्शन पनि गर्दै आएका छन् । जुनसुकै परिस्थितिमा पनि मेसीको एउटा जादुमय क्षणले खेलको नतिजा परिवर्तन गर्न सक्ने खुवी जारी विश्वकपमा पनि भरपूर देखिएको छ ।

ब्रुनो फर्नान्डेज

मिडफिल्डमा प्रभाशाली देखिएका पोर्चुगलका ब्रुनो फर्नान्डेजले दुई गोल गर्नुका साथै तीन गोलका लागि अवसर सिर्जना गरेका छन् ।

म्याचेस्टर युनाइटेडका फर्नान्डेजले समुह चरणमा उरुग्वेविरुद्ध दुई गोल गरेका थिए । उनले समुह चरणमा घानविरुद्ध जोआवो फेलिक्स र राफेल लियो तथा अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध गोन्सालो रामोसको गोलका लागि अवसर सिर्जना गरेका थिए ।

२८ वर्षीय पmर्नान्डेजले पोर्चुगलका लागि ५२ खेलमा १३ गोल गरेका छन । 

बुकायो साका

इङ्ल्यान्डका युवा मडिफिल्डर बुकायो साकाले जारी विश्वपमा तीन गोल गरिसकेका छन । उनले समूह चरणमा इरानविरुद्ध दुई तथ अन्तिम १६ मा सेनेगलविरुद्ध एक गोल गरेका थिए ।

आर्सनलबाट व्यवसायिक फुटबल खेल्ने २१ वर्षीय साकाले इङ्ल्यान्डका लागि २३ खेलमा सात गोल गरेका छन । विपक्षीको पोष्टमा निक्कै छरितोपना र तिब्र गतिका साथ खेल्न सक्ने साकाको विशेषताबाट इङ्ल्यान्डले जारी विश्वकपमा भरपूर फाइदा उठाइरहेको छ ।

यासिन बोनोउ

मोरक्कोले इतिहासमै पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाउँदा गोलकिपर यासिन बोनोउले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन ।

अहिलेसम्म खेलेका चारमध्ये तीन खेलमा क्लिन सिट राख्न सफल भएका ३१ वर्षीय बोनोउले एक गोल मात्र बेहोरेका छन, त्यो पनि आत्मधाती ।  

समूह चरणमा क्यानाडाविरुद्ध मोरक्कोका नायफ अग्वार्डले आत्मघाती गोल गरेका थिए । सेभियाका बोनोउले अन्तिम १६ मा पूर्व विजेता स्पेनको दुई पेनाल्टी रोक्दै टोलीलाई ऐतिहासिक सफलता दिलाउन मद्दत गरेका थिए । उनले मेक्सिकोका लागि ४९ खेल खेलेका छन ।

रिचार्लिसन

उत्कृष्ट लयमा देखिएका स्ट्राइकर रिचार्लिसन ब्राजिलको कीर्तिमानी छैटौं पटक विश्वकप जित्ने अभियानका मुख्य हतियार हुन् । उनले ब्राजिलका लागि जारी विश्वकपमा तीन गोल गरिसकेका छन ।

रिचार्लिसनले समूह चरणमा सर्बियाविरुद्ध दुई तथा अन्तिम १६ मा दक्षिण कोरियाविरुद्ध एक गोल गरेका थिए ।

टोटनहमबाट व्यवसायिक फुटबल खेल्ने २५ वर्षीय रिचार्लिसनले ब्राजिलका लागि ४१ खेलमा २० गोल गरेका छन ।

गोन्सालो रामोस

प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता देखाउन एक खेल नै काफी हुन्छ । यसको राम्रो उदाहरण हुन पोर्चुगलका २१ वर्षीय स्ट्राइकर गोन्सालो रामोस ।

उनले पहिलो रोजाइमा मैका पाएको खेलमै ह्याट्रिक गरेका थिए । टोलीका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको स्थानमा मौका पाएका गोन्सालोले अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्ध ६–१ को प्रभावशाली जित निकाल्दा ह्याट्रिक पूरा गरेका हुन । उनले यही खेलमा राफेल गुरेरोको गोलका लागि अवसर पनि सिर्जना गरेका थिए ।

बेन्फिकाबाट व्यवसायिक फुटबल खेल्ने गोन्सालो कतार विश्वकप २०२२ मा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन । स्विट्जल्यान्डसँगको खेलअघि गोन्सालोले समूह चरणमा घाना र उरुग्वेविरुद्ध  वैकल्पिक खेलाडीको रुपमा मौका पाएका थिए । गोन्सालोले पोर्चुगलका लागि चार खेलमा चार गोल गरेका छन् ।  

 

 

कोडी गाक्पो

डच स्ट्राइकर कोडी गाक्पोले समूह चरणका तीनै खेलमा गोल गरेका थिए । पिएसभी आइन्डहोभनबाट व्यवसायिक फुटबल खेल्ने २३ वर्षीय गाक्पोले सेनेगल, इक्वेडर र कतारविरुद्धका सबै खेलमा गोल गरे ।

गाक्पोले नेदरल्यान्ड्सका लागि १३ खेलमा ६ गोल गरेका छन । विश्वकपका लागि डच फुटबल सिजन स्थगित हुनुअघि उनले पिएसभीका लागि १४ खेमला ९ गोल गरिसकेका थिए । उच्च स्कोरिङ फर्मका साथ कतार आइपुगेका उनी विश्व फुटबलले पाएका नयाँ स्टार हुन् ।

इन्जो फर्नान्डेज

अर्जेन्टिनाका इन्जो फर्नान्डेजले विश्वकप अघि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् । तर कतारमा गरेको उच्च प्रदर्शनले उनलाई लियोनेल स्कालोनीको टोलीको महत्वपूर्ण हिस्सा बनाएको छ ।

२१ वर्षीय मिडफिल्डरले मेक्सिकोविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्दै गोल गरेका थिए । उनले पोल्यान्डविरुद्ध जुलियन अल्भारेजकोे गोलका लागि अवसर सिर्जना गरेका थिए ।

यही वर्ष बेन्फिकामा अनुबन्ध भएका फर्नान्डेजले आफ्नो नयाँ क्लबलाई च्याम्पियन्स लिगमा समूह विजेता बनाउन मद्दत गरेका थिए । मेक्सिकोविरुद्धको गोलले उनलाई लियोनल मेसीपछि विश्वकपमा अर्जेन्टिनाका लागि गोल गर्ने कान्छो गोलकर्ता बनायो ।

जुड बेलिङ्घम

१९ वर्षीय जुड बेलिङ्घम इङ्लिस फुटबलले पाएका नयाँ स्टार हुन् । जारी विश्वकपमा इङ्लिस टोलीको मिडफिल्डमा निकै प्रभावशाली देखिएका उनलाई विश्वकपको युवा खेलाडी अवार्डको प्रमुख दाबेदार मानिएको छ ।

बोरुसिया डर्टमण्डका बेलिङ्घमले इरानमाथि ६–२ को जित हात पार्दा एक गोल गरेका थिए । त्यस्तै उनले अन्तिम १६ मा सेनेगलविरुद्ध जोर्डन हेन्डरसनको गोलका लागि अवसर सिर्जना गरेका थिए ।

बेलिङघमले इङ्ल्यान्डका लागि २१ खेलमा एक गोल गरेका छन ।

जेस्को ग्वार्डिओला

क्रोएसियाका लागि एक उदीयमान खेलाडीको रुपमा रक्षक जेस्को ग्वार्डियोला देखिएका छन् । हाल डिनामो जागरेबबाट लोनमा खेलिरहेका उनले धेरैपटक विपक्षीको प्रहार रोक्दै टोलीलाई हारबाट जोगाएका छन ।

विश्वकपअघिको अभ्यासका क्रममा नाकको हड्डी भाँचिएका कारण माक्स लगाएर खेलिरहेका ग्वार्डियोलाको प्रदर्शनमा कुनै कमी आएको छैन । उनले क्रोएसियाका लागि १६ खेल खेलेका छन ।

यी बाहेक मार्कुस रसफोर्ड, डोमेनिक लिभाकोभिच, एड्रियन राबियो ,ओलिभर जिरौड लगायतका खेलाडी पनि उत्कृष्ट लयमा देखिएका छन् ।