कतार विश्वकप २०२२

ब्राजिल प्रष्ट दाबेदार

काठमाडौं । मध्यपूर्वले पहिलो पटक आयोजना गर्न लागेको विश्वकप विगतका संस्करणभन्दा धेरै अर्थमा फरक र विशेष हुनेछ । तर, मध्यपूर्वको एउटा सानो देशले सधैभन्दा फरक हिउँदको समयमा गर्न लागेको विश्वकपमा एउटा कुरा भने विगतकै जस्तो हुनेछ । त्यो हो, यसपाली पनि उपाधिको दाबेदारका रुपमा विगतकै महारथीहरु स्थापित छन् ।

 र, तिमध्ये पनि ब्राजिल मुख्य दाबेदारका रुपमा कतार भ्रमणमा निस्कँदैछ । जहाँ दक्षिण अमेरिकी टोलीले फ्रान्सबाट उपाधि खोस्दै दुई दशकदेखिको युरोपेली दबदबामा पूर्णविराम लगाउने प्रयास गर्नेछ ।

कतारजस्तो सानो मुलुकलाई विश्वकप आयोजनाको अधिकार विवादास्पद तरिकाले दिइएको विषय र मध्यपूर्वको देशमा भएको भनिएको मानवअधिकार हननका विषयमा हुने चर्चाले नै पछिल्लो एक दशकको पूरा समय बित्यो ।

तिनै राजनीतिक बहसहरुका कारण ८० हजार दर्शक क्षमताको लुसाइल रंगशालामा नोभेम्बर २० मा हुने उद्घाटन खेल तथा डिसेम्बर १८ मा हुने फाइनलमा मैदानको अवस्था कस्तो होला भन्ने विषयमा कमैको मात्र ध्यान गयो । खासमा त्यो समय फुटबलको विषयमा सोच्न मानिसलाई फुर्सत भएन । सरोकारवालाहरु फुटबल भन्दा पनि फुटबल राजनीतिको विषयमा गरम बहसमा केन्द्रित भए ।

युरोपका सीमित धनी क्लबहरुले विश्वभरका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेका छन् । विश्वकप खेल्न विभिन्न ३२ देशको प्रतिनिधित्व गर्दै कतार आउनेमा पनि तिनै युरोपेली क्लबका खेलाडीको बाहुल्य रहनेछ । यही कारण हो, हिउँदमा गरिन लागेको विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्नुभन्दा एक साताअघिमात्र युरोपको क्लब सिजनले विश्राम लिनेछ ।

विश्व खेलकुदकै सबभन्दा आकर्षक महोत्सवको रुपमा स्थापित पुरुष विश्वकप मध्य पूर्वमा पहिलो पटक हुन लागेको हो । यसअर्थमा एसिया र मध्यपूर्वका लागि यो विशेष र विगतको भन्दा फरक छ । तर २२औं फिफा विश्वकपको विशेषता र फरकपना यत्तिमै सीमित छैन ।

वर्षको बीचमा कतारी मरुभूमिको प्रचण्ड गर्मीका कारण विश्वकप गर्नु सम्भव देखिएन र यसलाई हिउँदमा सार्न फिफा सहमत भयो । हिउँदमा सार्ने विषयमा युरोपका ठूला क्लब तथा विभिन्न महादेशीय फुटबल महासंघ र राष्ट्रिय फुटबल संघहरुबीच पनि सहमती जुटाउनु पर्थ्यो । जुन काम पनि फिफा र कतारी आयोजकले बडो धैर्यपूर्वक पूरा गरे ।

यो पहिलो पटक वर्षको अन्त्यमा (हिउँद याम)मा हुँदैछ । यसअघि १९३० को पहिलो संस्करणदेखि नै विश्वकप फुटबल वर्षको बीचमा अर्थात मे देखि जुलाईको बीचमा (वर्षा याम)मा हुने गरेको थियो ।

तर, वर्षको बीचमा कतारी मरुभूमिको प्रचण्ड गर्मीका कारण विश्वकप गर्नु सम्भव देखिएन र यसलाई हिउँदमा सार्न फिफा सहमत भयो । हिउँदमा सार्ने विषयमा युरोपका ठूला क्लब तथा विभिन्न महादेशीय फुटबल महासंघ र राष्ट्रिय फुटबल संघहरुबीच पनि सहमती जुटाउनु पर्थ्यो । जुन काम पनि फिफा र कतारी आयोजकले बडो धैर्यपूर्वक पूरा गरे ।

विश्वकप हिउँदमा सार्ने चुनौती पार लगाए पनि विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुले तयारीका लागि विगतका संस्करणमा जस्तो लामो समय पाएनन् । विगतका संस्करण सबै देशका लिगहरु सकिएर दुई महिने विश्रामको समयमा हुने भएकाले राष्ट्रिय टोलीले तयारीका लागि पर्याप्त समय पाउँथे ।

चोटको चिन्ता

क्लब फुटबलको सिजन चलिरहेकै कारण राष्ट्रिय टोलीले तयारीका लागि एक साताको मात्र समय पाउँदा यसपाली विश्वकपअघि निक्कै कम संख्यामा मात्र मैत्रीपूर्ण खेलहरु हुनेछन् ।

क्लबबाट खेल्दाको थकानमा कतारसम्म पुग्दाको लामो हवाई यात्राको थकाई पनि थपिएपछि खेलाडीहरु विश्वकपमा घाइते हुने सम्भावना उत्तिकै बड्छ । केही दिनपछि विश्वकपका कठिन खेलको थप थकानपूर्ण अनुभव बोक्दै क्लबमा फर्किनुपर्ने भएकाले खेलाडीमा घाइते हुनबाट जोगिनुपर्ने चुनौती हुनेछ । जसका कारण विगतका विश्वकपको तुलनामा यसपाली खेलको रोमाञ्च कम हुने आंकलन पनि गरिएको छ ।

ब्राजिलले १९५८ मा बाहेक युरोपमा अहिलेसम्म भएका ११ संस्करणमा कुनै पनि युरोप बाहिरका टिमले विश्वकप जितेको इतिहास छैन । ठिक विपरित युरोपवाहिर भएका १० संस्करणमा दुई पटक मात्र युरोपेली टिमले उपाधि जितेका थिए । अर्को महादेशमा गएर पनि उपाधि जित्ने युरोपेली टिम स्पेन र जर्मनी हुन् । स्पेनले २०१० मा दक्षिण अफ्रिका तथा जर्मनीले २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उपाधि उचालेका थिए ।

विश्वको सबभन्दा लोकप्रिय खेलमा युरोप विश्वको सबभन्दा बलियो शक्ति हो । २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा गरेको विश्वकप ब्राजिलले जितेयताका सबै संस्करणमा उपाधि युरोपेली टिमले नै उचालेका छन् ।

चार वर्षअघि रुसमा बाजी मारेको फ्रान्स उपाधि रक्षाको लक्ष्यसहित कतार पुग्नेछ । जवकि थुप्रै समस्याहरुसँग जुधिरहेको टोलीले २००२ को जस्तै नियति भोग्नुपर्न सक्नेमा समेत फुटबल पण्डितहरुले सचेत बनाएका छन् । २० वर्षअघि साविक विजेताका रुपमा दक्षिण कोरिया पुगेको टोली पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । समूह चरणमा एउटै गोल समेत गर्न नसकेको फ्रान्स पहिलो चरणबाटै घर फर्किएको थियो ।

फ्रान्सेली टोलीमा प्रतिभाको कमी भने छैन । किलियन एमबाप्पे विद्युतको गतिमा आक्रमण गर्न सक्ने विश्वकै सबभन्दा प्रभावकारी आक्रामक खेलाडी हुन् । करिम बेन्जेमा भर्खरै जितेको बालन डी अरबाट उत्साहित छन् ।

तर १९६२ मा ब्राजिलपछि विश्वकपमा कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेका छैनन् । यो इतिहास फ्रान्सको पक्षमा छैन । साथमा खेलाडीहरुको चोट फ्रान्सेली प्रशिक्षक डिडियर डेशच्याम्पसको ठूलो समस्या हो । चोटकै कारण डेशच्याम्पसले मुख्य मिड्फिल्डरद्धय एनगोलो कान्टे र पाउल पोग्बाको अनुपस्थितीमै विश्वकपमा उपाधि रक्षा अभियानको नेतृत्व गर्नुपर्नेछ ।

युरोपका अन्य परम्परागत महारथीहरु पनि थुप्रै प्रश्नले घेरिएका छन् । युरो २०२० जिते पनि इटाली विश्वकपका लागि छनोट हुनै सफल भएन ।

मेसीको अन्तिम मौका

इङ्ल्यान्ड र जर्मनीको टोलीमा पछिल्लो समय फर्म र फिट्नेसको समस्या छ । तर स्पेनलाई भने रक्षापंक्ति र आक्रमणमा तालमेल मिलाउन सकेको खण्डमा गम्भीर दाबेदार मान्न सकिन्छ ।

पोर्चुगललाई क्रिस्टियानो रोनाल्डोको साथ हुनेछ । तर, ३७ वर्षको उमेरमा उनीबाट ठूलो अपेक्षा गर्नु उचित हुँदैन । बरु उनी आफ्नै टिमका लागि बोझ मात्र सावित हुन सक्छन् ।

युरोपेली टिमको तुलनामा नेइमारको प्रेरणाका साथ कतार पुग्ने पाँच पटकको च्याम्पियन ब्राजिलको सशक्त टोली विश्वकपको बलियो दाबेदार हुन सक्छ । सँगै ब्राजिलको पुरानो प्रतिद्धन्द्धी अर्जेन्टिना पनि उत्कृष्ट तालमेलसहितको संगठित टिमका रुपमा कतार पुग्दैछ ।

‘अर्जेन्टिना र ब्राजिल यसपाली विश्वकपमा सहभागी हुने अरु टिमभन्दा धेरै माथि देखिन्छन्,’ हालै मात्र स्पेनका प्रशिक्षक लुइस इनरिकेले भनेका थिए ।

अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित छ । कतार विश्वकपमा दुवै टोली आ–आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अगाडि बढे अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा मात्र हुनेछ ।

३५ वर्षको उमेरमा रहेका सुपरस्टार लियोनेल मेसीका लागि विश्व फुटबलको सबभन्दा ठूलो उपाधि उचाल्नका लागि यो अन्तिम अवसर हो ।

‘३५ वर्षको भएर पनि विश्वकपमा जान पाउनु भनेको मेरो भाग्यको कुरा हो,’ क्लबका लागि असाधारण फर्म प्रदर्शन गरिरहेका पेरिस सेन्ट जर्मेनका स्टारले भने, ‘म गत वर्षभन्दा अहिले शारीरिक रुपमा राम्रो अवस्थामा छु । फिट छु । तर ब्राजिल र फ्रान्स प्रतियोगिताका मुख्य दाबेदारहरु हुन् ।’