धेरै ट्याालेन्ट छुटिरहेका छन्ः प्रशिक्षक पुबुदु

काठमाडौं । टुटफुट र गुट-उपगुटको संघारमा पुगेको नेपाली क्रिकेटजगतलाई एक मध्यस्थकर्ताको ठूलो खाँचो थियो । र, त्यसै बेला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेर आएका पुबुदु दसानायके मध्यस्थकर्ता बनेर आइपुगे । आफ्नो पछिल्लो कार्यकालमा नेपाललाई डिभिजन ४ बाट ट्वान्टी-२० विश्वकपसम्म पुर्याएका पुबुदुकै पहलमा नेपाली क्रिकेटले ठूलो भाउँटो टार्यो । सन् २०११ मा पहिलो पटक नेपाल आउँदा र अहिले प्रशिक्षक पुबुदुको योजना र नेपालको आवश्यकतामा आकाश-पातालको फरक छ । र, त्यसका लागि पुबुदुसँग भएका योजना र मध्यमार्गीको भूमिकालगायत विषयमा खेलाडी डटकमका लागि उमेश दाहालले गरेको कुराकानीः

नेपालको प्रशिक्षकको भूमिकामा यो तपाईंको दोस्रो इनिङ हो । पहिले र अहिलेमा के फरक छ त ?

मैले २०११ मा देखेको क्रिकेटभन्दा मलाई लाग्छ यहाँ क्रिकेटमा धेरै सुधार भएको छ । निश्चय पनि नेपालले क्षमतावान् खेलाडी पाएको छ । म जहिले नेपाल आएको थिएँ, नेपाल डिभिजन चारमा थियो । अहिले यो एकदिवसीय मान्यता पाएको देश हो । म त्यो फरक देख्न सक्छु । खेलमा सुधार, ब्याटिङ स्किल, बलिङ स्किल सबै कुरामा सुधार भएको छ । मैले २०११ मा जे गरेको थिएँ, त्यो र अहिले गर्ने फरक हुनुपर्छ । फरक पनि छ । किनभने अहिले नेपाल न्युन स्तरको प्रतियोगितामा छैन ।

एकदिवसीय मान्यता कायम राख्न र ट्वान्टी- २० विश्वकप निरन्तर खेल्नुपर्छ । त्यसका लागि धेरै कार्यहरू गर्नुपर्नेछ । नेपाली टोलीमा देखिएको सुधारबाट म खुसी छु ।

पहिलो इनिङ्समा नेपाली क्रिकेटलाई ‘ट्रान्सफर्म’ गर्नुभएको जस तपाईंलाई छ, अहिलेको तपाईंको लक्ष्य के हो त ?

नेपाललाई ‘फुल मेम्बर कन्ट्री’ बनाउनका लागि आगामी केही वर्षमा धेरै कुरा गर्नुपर्ने छन् । नेपाल पक्कै पनि फुल मेम्बर टोली बन्ने छ, किनभने यो देशमा एकदमै धेरै क्षमतावान खेलाडी छन् । र, उत्तिकै मात्रामा क्रिकेटप्रतिको चासो पनि छ । अन्य एसोसिएट राष्ट्रको तुलनामा नेपाल फरक छ । नेपाल आफ्नै क्षमतामा अगाडि बढ्न सक्छ । अन्य एसोसिएट देशका लागि अनुभवी क्रिकेटरहरू अन्य देशबाट आउनेमा निर्भर हुनुपर्ने अवस्था छ । तर, त्यसका लागि नेपालसँग पर्याप्त मात्रामा भौतिक पूर्वाधार हुनुपर्छ । त्यसो भयो भने हामीसँग भएका प्रतिभालाई उत्कृष्ट क्रिकेटर बनाउन सक्छौं । त्यसका लागि धेरै काम गर्न आवश्यक छ । सोचेजस्तो सजिलो पक्कै छैन ।

एकदिवसीय मान्यता कायम राख्न र प्रत्येक २० ओभर विश्वकपमा पुग्न सहज छैन । त्यसका लाग काम गर्नुपर्छ । हामीसँग त्यसका लागि आवश्यक सबै ‘इन्ग्रिडियन्ट’ छन् । तर, ती सबै कुरालाई हामीले एकै ठाउँमा लगाउनुपर्छ ।

नेपालका लागि तपाईं नै अन्तिम विकल्प हो कि बाध्यता ?

मलाई त्यो त थाहा छैन । तर, सुरुमा म आफैं पनि यो पदका लागि आवेदन दिने कि नदिने भन्ने अन्योलमा थिएँ । तर केही मानिसको सल्लाह र निमन्त्रणामा मैले ठीक छ गर्छु भनेर आवदेन दिएको थिएँ । विगतमा भएका केही कारणले गर्दा मैले कहिल्यै पनि आफू चुनिन्छु भन्ने अपेक्षा गरेको थिइनँ । तर, वर्तमान क्यानका सदस्यहरूले क्रिकेटको विकास गर्न ममाथि विश्वास गरे । र, म त्यसका लागि एकदमै खुुुसी छु ।

उनीहरूसँग भएका केही नयाँ आइडिया र उनीहरू जसरी अगाडि बढ्न खोजेका छन्, त्यसबाट म खुसी छु । मैले पनि क्यानको सहयोगमा फेरि केही फरक गर्न सक्छु भन्ने सोचें । त्यही भएर मैले यो जिम्मेवारी लिएको हुँ ।

म सबैलाई एकै ठाउँमा ल्याउँछु । खेलाडी, संघ र समर्थकलाई पनि एकै ठाउँमा ल्याउँछु । मलाई लाग्छ, सबैलाई एकै ठाउँमा ल्याउने र मिलेर काम गर्ने मौका मसँग छ । म नेपाली क्रिकेटको सुधार गर्न तयार छु, अर्को कुरा म नेपाली क्रिकेटको सम्पूर्ण पक्षमा ‘पोजेटिभनेस’ ल्याउन चाहन्छु र मिलेर काम गर्ने वातावरण मिलाउन चाहन्छु ।

पहिलो पटक तपाईं नेपाल आउँदा क्रिकेट संघ अर्कै स्वरुपमा थियो । अहिले फरक छ, यसले तपाईंलाई सहज हुन्छ कि असहज त ?

यो समयमा क्रिकेट संघ मप्रति एकदम सहयोगी छ । त्यसैले मेरो दिमागमा भएको योजना र मैले गर्नुपर्ने कामका लागि पनि संघ सहयोगी छ । त्यसैले यो नेपाल र मेरा लागि पनि ठूलो अवसर हो । म सबैलाई एकै ठाउँमा ल्याउँछु । खेलाडी, संघ र समर्थकलाई पनि एकै ठाउँमा ल्याउँछु । मलाई लाग्छ, सबैलाई एकै ठाउँमा ल्याउने र मिलेर काम गर्ने मौका मसँग छ । म नेपाली क्रिकेटको सुधार गर्न तयार छु, अर्को कुरा म नेपाली क्रिकेटको सम्पूर्ण पक्षमा ‘पोजेटिभनेस’ ल्याउन चाहन्छु र मिलेर काम गर्ने वातावरण मिलाउन चाहन्छु ।

खेलाडी–क्यान विवादले तपाईंको दोस्रो इनिङ्सको सुरुआत कठिन भयो नि ? खेलाडी नै दुई खेमा जस्तो देखियो ?

मलाई मध्यविन्दुमा पुगेर कठिन हुनुभन्दा सुरुआत नै कठिन हुनु राम्रो हुन्छ जस्तो लाग्छ । र, सबै कुरा मिलिसकेकोमा विश्वस्त छु । अहिले खेलाडीबीच कुनै समस्या छैन । सम्पूर्ण कुरा मिलिसकेको छ । क्रिकेट संघले खेलाडीले चाहेको सम्पूर्ण आर्थिक सहयोग दिइसकेको छ । खेलाडीहरूले संघको सम्मान गर्दै कप्तान परिवर्तन गर्ने निर्णय स्वीकारेका छन् । त्यसैले अहिले सबै कुरा ठीक छ । अब हामी अगाडि बढ्दै छौं । अहिले सन्दीप –लामिछाने) यहाँ छैनन् । उनी आएपछि एउटा ‘स्मुथ रन’मा अघि बढ्न सक्छौं ।

खेलाडी-क्यान विवाद मिलाउन तपाईंको महत्त्वपूर्ण भूमिका रह्यो भनेको सत्य हो ?

हो, कोही कोहीले मलाई अहिले पनि खेलाडीलाई समर्थन नगरेको आरोप लगाइरहेका छन् । तर, जेसुकै भए पनि मैले खराब कुराको समर्थन कहिल्यै गर्दिनँ । चाहे त्यो संघ होस् या खेलाडी । मेरो पहिलो कार्यकालमा पनि मैले खराब कुराको समर्थन कहिले गरिनँ । म त्यो बेला पनि र अहिले पनि सही कुराको पक्षमा उभिएको छु । कसैप्रति अन्यायी भएको छैन । उनीहरूले मेरो कुरा विश्वास गरे । त्यसले समस्याको समाधानमा सहयोग भयो ।

क्रिकेटको विकासका लागि नेपालमा भइरहेका प्रतियोगिता पर्याप्त छन् त ?

निश्चय नै हामीले अझै गर्नुपर्छ । तर, म ५÷६ वर्षअघि र अहिलेमा धेरै परिवर्तन देख्न सक्छु । प्रतियोगिताको स्तर बढेको छ, खेलाडीले पनि तुलनात्मक रूपमा धेरै सुविधा पाइरहेका छन् । तर, यसो भन्दै गर्दा हामी अझै राम्रो गर्न सक्छौं । र, त्यो भिजनका बारेमा हामीले छलफल पनि सुरु गरिसकेका छौं । हामीले सधैं छनोट मात्रै खेलेर हुँदैन, हामी फुल मेम्बर कन्ट्री हुनुपर्छ । हामीमा त्यो क्षमता छ, यदि भिजन छ र त्यसका लागि मार्ग तयार गर्ने हो भने प्रतियोगिताका बारेमा कुरा गर्नुपर्छ । सबै कुरामा परिवर्तन हुनु आवश्यक छ । संघसँग पनि भविष्यमा सबै कुरा खेलमा लगाउन छलफल भएको छ ।

नेपाली टोलीमा धेरै प्रतिभाशाली खेलाडी छन् । यीमध्ये उत्कृष्ट खेलाडीले सन्दीपले जस्तै विदेशमा गएर खेल्ने माध्यम खोज्नुपर्छ । चाँडो विकास गर्नका लागि सन्दीपकै स्तरको नभए पनि कम्तीमा फस्ट क्लास, क्लब क्रिकेट खेलाउनुपर्छ । मेरो दिमागमा भएका केही कुराहरू यिनै हुन् । दुई मुख्य लक्ष्य हुनुपर्छ । एउटा ट्वान्टी-२० विश्वकपमा पुग्ने र एकदिवसीय मान्यता कायम राख्ने । अर्को फुल मेम्बर कन्ट्री बन्न प्रयास गर्नुपर्छ ।

क्रिकेट विकास गर्नका लागि नेपालको स्वरुपमा कस्तो परिवर्तन हुनुपर्छ ?

मुख्य कुरा नेपालले घरेलु प्रतियोगिताका लागि सिजन छुट्याउनुपर्छ । त्यो भयो भने खेलाडीले अब यस्तो हुँदै छ भनेर थाहा पाउँछन् र त्यसका लागि तयार हुन्छन् । नेपालले यू-१९ विश्वकप खेल्नुपर्छ । त्यो गुमाउनु नेपालका लागि ठूलो घाटा हो । युवा खेलाडीको विकासमा विश्वकप खेल्नु र नखेल्नुले ठूलो फरक पार्छ । त्यसो हुँदा उनीहरूले आफ्नो उमेर समूहका विश्वका उत्कृष्ट खेलाडीहरू देख्छन् । नेपालले पछिल्ला वर्षहरूमा त्यो गुमाइरहेको छ । त्यसका लागि कडा मिहिनेत र प्रभावकारी योजना हुनुपर्छ । यस्तै राष्ट्रिय टोलीलाई पनि अझै धेरै ‘एक्सपोजर’ दिनुपर्छ ।

नेपाली टोलीमा धेरै प्रतिभाशाली खेलाडी छन् । यीमध्ये उत्कृष्ट खेलाडीले सन्दीपले जस्तै विदेशमा गएर खेल्ने माध्यम खोज्नुपर्छ । चाँडो विकास गर्नका लागि सन्दीपकै स्तरको नभए पनि कम्तीमा फस्ट क्लास, क्लब क्रिकेट खेलाउनुपर्छ । मेरो दिमागमा भएका केही कुराहरू यिनै हुन् । दुई मुख्य लक्ष्य हुनुपर्छ । एउटा ट्वान्टी-२० विश्वकपमा पुग्ने र एकदिवसीय मान्यता कायम राख्ने । अर्को फुल मेम्बर कन्ट्री बन्न प्रयास गर्नुपर्छ ।

नेपालको सम्भावना ट्वान्टी-२० मा राम्रो छ कि एकदिवसीय ?

अहिले हामी एकदिवसीयमा पनि धेरै राम्रो गरिरहेका छौं । ट्वान्टी–२० मा पनि राम्रो ‘सेप’ गरिरहेका छौं । तर, मलाई लाग्छ हामी दुवै स्वरुपमा राम्रो गरिरहेका छौं । हामी अहिले एसोसिएट राष्ट्र हौं । म लामो स्वरुपको क्रिकेटबारे पनि कुरा गर्नेछु । किनभने हामी फुल मेम्बर कन्ट्री हुने सोचिरहेका छौं ।

हामी ठूला राष्ट्रसँग टेस्ट खेल्न नसके पनि घरेलु लामो स्वरुपका क्रिकेट खेल्न सक्छौं । लामो स्वरुपका क्रिकेटले विकासमा एकदमै धेरै सहयोग गर्छ । सबै तीन स्वरुपका लागि हामीसँग क्षमतावान खेलाडी छन् । र, हामी त्यसमा राम्रो छौं । हामीले खेलाडीलाई धेरै अवसर दिनु मात्रै पर्नेछ ।

लामो स्वरुपको क्रिकेटका लागि तपाईंसँग केही योजना छन् र ?

निश्चय नै त्यो हामीले छलफल गरेको एउटा प्रमुख विषय हो । हामीले त्यसलाई घरेलु प्रतियोगितामा पनि लागू गर्नुपर्छ । त्यस्तै भयो भने हाम्रा खेलाडीले आफ्नो खेल सुधार्ने धेरै समय पाउँछन् । सबै तीनखाले प्रतियोगिता हुनुपर्छ । हामी त्यसका लागि क्यालेन्डर सेट गरेर ६ महिनासम्म ५० ओभर, ट्वान्टी-२० क्रिकेट सेप्टेम्बरदेखि मार्चसम्म खेलाउन सक्छौं । त्यसो हुँदा धेरै युवा खेलाडी अफ सिजनमा तयार हुन्छन् । त्यसले पनि विकास गर्न मद्दत गर्छ । त्यसका लागि हामी पहिलेदेखि नै छलफलमा छौं । त्यससँगै तीनवटा फ्रेन्चाइज लिगले पनि नेपालको क्रिकेट विकासमा सहयोग गर्नेछ ।

कोभिड महामारीले गर्दा तयारीमा कस्तो समस्या छ ?

हामी कठिन परिस्थितिमा छौं । यसबाट अगाडि बढ्न सहज छैन । तर, मलाई थाहा छ हामीले जसरी भए पनि अगाडि बढ्नु नै पर्छ । त्यसैले हामीले ‘बबल’ बनाएका छौं । पहिले जस्तो सहज छैन तर हामी प्रयासरत छौं ।

क्यान-खेलाडीको विवाद देख्नुपर्दा दिक्क लागेको त छैन नि ?

क्रिकेट संघ अहिले नयाँ छ । निलम्बन फुकुवा भएर भर्खरै आएको छ । संघमा पनि धेरै नयाँ अनुहार छन् । सँगसँगै खेलाडी पनि धेरै कुराप्रति सतर्क छैनन् । मलाई लाग्छ यो सबै असमझदारीका कारण भएको हो । मेरा लागि सबै कुरा राम्रोका लागि हुनेछ ।

नेपाली क्रिकेटमा तपाईंले देखेको सर्वकालिन उत्कृष्ट ११ को नाम लिन मिल्छ ?

एघार खेलाडीको नाम भन्न कठिन छ । धेरैजना उत्कृष्ट खेलाडी छन् । धेरैले नेपाली क्रिकेटलाई योगदान गरिरहेका छन् । विशेष गरी पारस (खड्का), उनी उत्कृष्ट लिडरमध्ये एक हुन् । ब्याटिङतर्फ पनि उनको नजिक कोही आउला जस्तो लाग्दैन । ब्याटिङ क्षमतामात्रै नभएर योगदानको हकमा पनि पारसको भूमिका एकदमै महत्त्वपूर्ण रह्यो । उनी एकदमै ‘कन्सिस्टेन्ट’ खेलाडी पनि हुन् । वसन्त रेग्मी, शक्ति गौचन, सञ्जम रेग्मीहरूले पनि नेपाललाई यहाँसम्म पुर्याएर धेरै योगदान गरे । म आउनुभन्दा अगाडि पनि विनोद दास, अझै खेलिरहेका ज्ञानेन्द्र मल्ल, उनीहरू सबै उत्कृष्ट क्रिकेटर हुन् । युवा टोलीको कुरा गर्दा दीपेन्द्रसिंह ऐरीबाट म एकदमै प्रभावित छु । कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, शरद भेषवाकर पनि महत्त्वपूर्ण सदस्य हुन् । निश्चय पनि सन्दीप, उनी अर्कै स्तरमा छन् । करण केसी, सोमपाल कामी पनि....। मलाई थाहा छ मैले धेरै नाम छुटाएँ । मलाई लाग्छ यी खेलाडीले धेरै योगदान गरेका छन् । कसैले विगतमा योगदान गरे... कोहीले अझै योगदान गरिरहेका छन् र भविष्यमा पनि गर्नेछन् ।

मेरो तर्फबाट ज्ञानेन्द्रका लागि पनि एकदमै धेरै सम्मान छ । उनले नेपाली क्रिकेटका लागि एकदमै धेरै गरेका छन् । र, खेलाडीकै आवश्यकताका लागि लड्दै गर्दा उनी अप्ठेरोमा परे । उनीप्रति मेरो सम्मान छ । सन्दीपका बारेमा कुरा गर्दा उनी असल लिडर बन्न सक्छन् ।

सन्दीप लामिछानेलाई तपाईंले स्काउटिङ गरेर ल्याउनुभएको थियो । अहिले उनलाई कप्तान घोषणा गर्दा तपाईंको प्रतिक्रिया कस्तो रह्यो ?

मेरो तर्फबाट ज्ञानेन्द्रका लागि पनि एकदमै धेरै सम्मान छ । उनले नेपाली क्रिकेटका लागि एकदमै धेरै गरेका छन् । र, खेलाडीकै आवश्यकताका लागि लड्दै गर्दा उनी अप्ठेरोमा परे । उनीप्रति मेरो सम्मान छ । सन्दीपका बारेमा कुरा गर्दा उनी असल लिडर बन्न सक्छन् । क्रिकेटिङ नजरले हेर्दा उनी त्यहाँ पुगिसकेका छन् । अब यी सबै कुरालाई उनले कसरी मिलाउँछन्, त्यो हेर्न बाँकी छ । म यसका लागि उनलाई प्रशिक्षण दिन र मार्गनिर्देशन गर्न तयार छु । मैले उनको नेतृत्वमा नेपाली क्रिकेट उज्यालोतर्फ जाने देखेको छु ।

देशभरबाट स्काउट भएर आउने अरू सन्दीप पनि देख्न पाउँछौं त ?

म ढुक्क छु । हाम्रावरिपरि यस्ता धेरै ट्यालेन्ट छन् । छनोट स्वरुप हेर्दा रिजनल टोलीहरूले उत्कृष्ट टोली बनाउन खोजिरहेका छन् । कहिलेकाहीं, उत्कृष्ट टोली बनाउँदा क्षमतावान् खेलाडीहरू छुट्छन् । त्यसो हुँदा ट्यालेन्टभन्दा टोलीको धेरै चिन्ता हुन्छ । त्यसैले हामीले यस्ता ‘र ट्यालेन्ट’लाई सिस्टमसम्म ल्याउने मध्यमार्ग खोज्नुपर्छ । त्यो मैले क्रिकेट संघ र व्यवस्थापक विनोद दाससँग गरिसकेको एक महत्त्वपूर्ण विषय हो ।

त्यसो भए तपाईं उमेर समूहका अझै धेरै प्रतियोगिता हेर्न चाहनुहुन्छ ?

हो । धेरै उमेर समूहका प्रतियोगिता हुँदा धेरै छनोटकर्ताहरू जानु र देशभर भइरहेका साना प्रतियोगिता हेर्दा नयाँ ट्यालेन्टहरूलाई खोजेर ल्याउन सकिन्छ । किनभने टोली पूरा गर्नु र ट्यालेन्ट खोज्नु फरक कुरा हुन् । त्यसैले मलाई लाग्छ, हामीले धेरै ट्यालेन्ट छुटाइरहेका छौं । ती दुवै कोणबाट हामीले हेर्नुपर्छ । अहिले हामी टोली पूरा गर्ने कोणबाट मात्र सोचिरहेका छौं । जिल्ला टोली र प्रादेशिक टोलीमा पनि त्यही भइरहँदा हामीले धेरै ट्यालेन्ट गुमाइरहेका छौं । भविष्यमा हामीले यी दुवै कोणबाट हेर्ने छौं ।

त्यो बेलामा विश्वकप खेल्ने सपना थियो । एकदिवसीय मान्यता पाउने सपना पनि थियो । र, हामीले १० वर्षको अन्तरालमा दुवै लक्ष्य हासिल गरिसकेका छौं । अहिले भनेको त्यो मान्यता कायम राख्दै फुल मेम्बर कन्ट्रीमा उन्नति हुनु हो । त्यसैले हामीले हासिल गर्नुपर्ने धेरै कुरा बाँकी छन् । र, म त्यसका लागि काम गर्न उत्साहित छु ।

अहिले राष्ट्रिय टोलीमा भएका धेरै खेलाडीमध्ये कोही रिटायरमेन्टको अवस्थामा छन्, कोही फेजआउट भएका छन्, त्यसमा तपाईंको प्रतिक्रिया ?

यो जहाँ पनि हुने कुरा हो । अनुभवी खेलाडी वरिपरि हुनु राम्रो हो । तर, महत्त्वपूर्ण कुरा प्रदर्शन हो । यदि कसैले राम्रो प्रदर्शन गरिरहेको छ भने टोलीमा पर्छ र कोही संघर्षरत छ भने टोलीमा पर्न कठिन हुन्छ । त्यसो हुँदा टोलीभित्रै प्रतिस्पर्धात्मक खेल हुन्छ । तर मलाई लाग्छ अहिले अनुभवी र नयाँ खेलाडीको राम्रो संयोजन छ । ज्ञानेन्द्र, शरदहरू अनुभवी छन् । त्यो अनुभव हामीलाई ठूला टोलीहरूसँग खेलिरहँदा आवश्यक हुन्छ । साथै यस्ता धेरै खेलाडी पनि छन्, जसले यो स्तरमा खेलिरहेका छन् । जस्तै, सोमपाल, करण, सन्दीप... सँगै हामीसँग केही नयाँ खेलाडी छन्, जो एकदमै क्षमतावान छन् । त्यसैले मलाई टोलीमा राम्रो समिश्रण छ जस्तो लाग्छ । त्यसैले हामीले भविष्यमा अझै राम्रो गर्न सक्नेमा विश्वस्त छु ।

पहिलो पटक आउँदा र अहिले आउँदाको मुख्य फरक केही देख्नुहुन्छ ?

मेरो लक्ष्य नै फरक छ । त्यो बेलामा विश्वकप खेल्ने सपना थियो । एकदिवसीय मान्यता पाउने सपना पनि थियो । र, हामीले १० वर्षको अन्तरालमा दुवै लक्ष्य हासिल गरिसकेका छौं । अहिले भनेको त्यो मान्यता कायम राख्दै फुल मेम्बर कन्ट्रीमा उन्नति हुनु हो । त्यसैले हामीले हासिल गर्नुपर्ने धेरै कुरा बाँकी छन् । र, म त्यसका लागि काम गर्न उत्साहित छु ।