माघ २६, २०८२ सोमबार | १६:०५:१९
शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित
शनिबारको दिन नेपाली क्रिकेट

नेपाली क्रिकेटले किन लय गुमाइरहेछ ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली पछिल्लो समय घरेलु मैदानमै निकै व्यस्त रह्यो । क्यानडासँग एकदिवसीय शृंखला खेलेलगत्तै नेपालले आइसिसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबिया र नेदरल्यान्ड्सलाई आतिथ्यता गर्यो ।

यो शृंखला सकिनेबित्तिकै तिनै टोलीले ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला खेल्यो ।  क्यानडाविरुद्ध क्लिन स्विप गरेको नेपालको  प्रदर्शन दुई शृंखलामा भने पछिल्लो एक वर्षको सफलता हेर्दा घरेलु समर्थकले टोलीबाट जस्तो आस गरेको थियो, त्यसअनुरुप हुन सकेन ।  

मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपछि सुधारिएको नेपाली टिमको प्रदर्शनले क्रिकेटप्रति दर्शकको चासो बढाएको थियो । जति धेरै सफलता, त्यति धेरै आशा हुनु स्वाभाविक पनि हो ।

तर, तीन शृंखलाको प्रदर्शन नियाल्ने हो भने नेपाली क्रिकेट टिम निकै खराब लयबाट गुज्रिइरहेको छ भन्न कुनै गाह्रो छैन । आइसिसी विश्वकप लिग-२ अन्तर्गत फागुन १५ देखि सुरु त्रिकोणात्मक एकदिवसीय शृंखलामा चार खेल खेल्दा नेपालले मात्र एक जित निकाल्यो । त्यसलगत्तै आयोजित ट्वान्टी २० शृंखला पनि नेपालका लागि सम्झनलायक बन्न सकेन ।

पछिल्लो शृंखलामा नेपालले चार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा एकमात्र जित आफ्नो पक्षमा पारेको थियो । ट्वान्टी २० मा नेपालले ५ खेल खेल्दा २ खेल जित्यो ।

‘शृंखलाबाट धेरै कुरा सिक्ने अवसर पाएका छौं । हामीले सुधार गर्नुपर्ने धेरै पक्ष छन् । विशेषगरी डेथ ओभर योजनाअनुसार भइरहेको छैन । आउने दिनमा ती क्षेत्रहरूमा काम गर्ने हो । आशा छ विश्वकपसम्म हामी तयार हुन्छौं,’ मंगलबार ट्वान्टी २० शृंखलाको उपाधि भिडन्तमा नेदरल्यान्ड्ससँग निरास बनेपछि नेपालका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।

नेपालका मुख्य प्रशिक्षक देसाईले पनि यी दुई शृंखलाबाट नेपाली टिमले सुधार गर्नुपर्ने धेरै ठाउँ देखेका छन् । खेलाडीले दबाबमा पनि आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सक्नुपर्छ भन्ने उनको धारणा छ ।

‘आफूमा भएको क्षमता दबाबमा पनि देखाउन सक्नुपर्छ । यो क्षेत्रमा हामीले सुधार गर्न आवश्यक छ,’ देसाइ भन्छन्, ‘वान बल ब्याटलमा खेलाडी कसरी रहन सक्छ र उसले आफ्नो क्षमता दबाबमा पनि कसरी देखाउन सक्छ भन्ने कुराले महत्व राख्छ । पक्कै पनि यसमा अनुभवले ठूलो भूमिका खेल्छ ।’

विश्वकप लिग २ र ट्वान्टी-२० आई शृंखलामा नेपालको नतिजा विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग समान दुईपटक खेल्दा नेपालले एक खेलमात्र आफ्नो पक्षमा पार्न सक्यो । पहिलो खेलमा नेपालले नामिबियालाई ४ विकेटले नतिजा सुम्पिएको थियो । यो नतिजासँगै घरेलु मैदानमा १५ खेलसम्मको एकदिवसीय अन्तर्राष्ट्रियको अपराजित टुंगिएको थियो ।

शृंलाको दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाइ ९ विकेटले हरायो । तेस्रो खेलमा नेपाल पुनः नामिबियासँग २ विकेटले निरास बन्यो । चौथो खेलमा नेदरल्यान्ड्सले पनि नेपाललाई ८ विकेटले हराएको थियो । चार खेलमा २ अंक जोडेको नेपाल लिग–२ को ताजा तालिकाअनुसार पाँचौं स्थानमा छ ।

यी तीनवटै टिमले यसै वर्ष जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकप खेल्ने छन् । यसैकारण विश्वकपअघि राम्रो तयारी हुने भएकाले नेपालले ट्वान्टी २० शृखंलाको आयोजना गरेको थियो । तर, यसमा पनि नेपालको खराब प्रदर्शनले निरन्तरता पायो ।

नेपालले पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा खेलमा नेदरल्यान्ड्ससँग २ रनको हार बेहोरेको थियो । तेस्रो खेलमा नामिबियालाई ६ विकेट र चौथो खेलमा नेदरल्यान्ड्सलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । तर, उपाधि भिडन्तमा डच टोलीसँग ४ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै सीमित बन्यो ।

नेपाल हाल त्रिकोणात्मक ट्वान्टी २० शृंखला खेल्नका लागि हङकङ गएको छ । नेपालले उक्त शृंखलामा घरेलु टोली हङकङसँगै पपुवा न्युगिनीविरुद्ध खेल्नेछ । युवा टोली लिएर हङकङ पुगेको नेपालका लागि यो शृंखला लयमा फर्कने राम्रो अवसर हुनेछ । टोलीले त्यसको भरपुर सदुपयोग गर्न सक्नुपर्छ ।