आइसिसी एकदिवसीय विश्वकप

भारतका १० सहरमा १३औं एकदिवसीय विश्वकप क्रिकेट (यस्ता छन् सहभागी)

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको १३ औं संस्करण यसै वर्ष भारतले आयोजना गर्दै छ । भारतले पहिलो पटक एकल रूपमा विश्वकप आयोजना गर्न लागेको हो ।

तर, यसअघि भारतले सन् १९८७ मा पाकिस्तान, १९९६ मा पाकिस्तान र श्रीलंका तथा सन् २०११ मा श्रीलंका र बंगलादेशसँग मिलेर विश्वकप क्रिकेट आयोजना गरिसकेको छ ।

अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म हुने विश्वकपका खेलहरू १० सहरका १० क्रिकेट रंगशालामा खेलाइने भएको छ ।

आउँदो अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म हुने विश्वकपका खेलहरू १० सहरका १० क्रिकेट रंगशालामा खेलाइने भएको छ ।

प्रतियोगिताका खेलहरू अहमदाबादको नरेन्द्र मोदी, मुम्बईको वाङखडे, कोलकाताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली, हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय, बेङ्लोरको एम चिन्नास्वामी, चेन्नई एमए चिदम्बरम, धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट संघ, लखनउको इकान र पुनेको महाराष्ट्र क्रिकेट संघ रंगशालामा हुनेछन् ।

सधैंजसो यसपालि पनि भारत, पाकिस्तान, अस्ट्रेलिया र इङ्ल्यान्डलाई विश्वकपको प्रमुख दाबेदार मानिएको छ ।

प्रतियोगिताको उद्घाटन र फाइनल खेल नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुुनेछ । १० टिमले एकअर्काविरुद्ध खेलेपछि शीर्ष चार टिम सेमिफाइनलल पुग्नेछन् ।

प्रतियोगितामा ९ टेस्ट र १ एसोसिएट गरी १० टोलीको सहभागिता रहनेछ । टेस्ट राष्ट्रको रूपमा भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड, न्युजिल्यान्ड, बंगलादेश, श्रीलंका, अफगानिस्तान तथा एसोसिएट राष्ट्रका रूपमा नेदरल्यान्ड्सले विश्वकप खेल्दै छन् ।

श्रीलंका र नेदरल्यान्ड्सले छनोट चरण पार गरेर विश्वकपको यात्रा तय गर्दा अन्य राष्ट्रले आइसिसी सुपर लिगको शीर्ष १० भित्र रहँदै सिधै विश्वकपमा सहभागिता जनाउने अवसर पाएका थिए ।

यसपालि वेस्ट इन्डिज भने विश्वकपमा देखिने छैन । छनोट चरण पार गर्न नसकेको दुई पटकको च्याम्पियन वेस्ट इन्डिज पहिलोपल्ट विश्वकपमा अनुपस्थित हुँदै छ । वेस्ट इन्डिज हाल आइसिसी वरीयताको शीर्ष १० भित्र रहेर पनि विश्वकपमा नदेखिने एक्लो टोली हो । पछिल्लो वरीयताअनुसार वेस्ट इन्डिज १० औं स्थानमा छ । 

सधैंजसो यसपालि पनि भारत, पाकिस्तान, अस्ट्रेलिया र इङ्ल्यान्डलाई विश्वकपको प्रमुख दाबेदार मानिएको छ ।

यस्ता छन् विश्वकप खेल्ने १० राष्ट्र

भारत


पछिल्लो वरीयताअनुसार आयोजक भारत शीर्षस्थानमा छ । भारतले सन् १९७४ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा खेल खेलेको थियो । हालसम्मका सबै एकदिवसीय विश्वकप खेलेको भारत सन् १९८३ र २०११ मा च्याम्पियन बनेको थियो । 

यसपालि पनि भारतलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । ब्याटिङको वरीयताको शीर्ष १० भित्र भारतका शुमभन गिल दोस्रो र विराट कोहली नवौं स्थानमा छन् । बलिङतर्फ मोहम्मद सिराज शीर्ष र कुलदीप यादव १० औं स्थानमा रहँदा अलराउन्डरको वरीयतामा हार्दिक पान्डे्य सातौं स्थानमा छन् ।

पाकिस्तान


वरीयताको दोस्रो स्थानमा रहेको पाकिस्तान पनि उपाधि दावेदारमध्ये एक हो । भारतले सन् १९७३ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा खेल खेलेको थियो । हालसम्म सबै एकदिवसीय विश्वकप खेलेको पाकिस्तान सन् १९९२ च्याम्पियन बनेको थियो ।

 ब्याटिङ वरीयताको शीर्ष १० भित्र पाकिस्तानका कप्तान बाबर आजम शीर्ष, इमान उल हक पाँचौं र फखर जमान १० औं स्थानमा छन् । बलिङतर्फ साहिन शाह अफ्रिदी आठौं स्थानमा छन् । अलराउन्डर वरीयतामा कुनै पनि पाकिस्तानी खेलाडी शीर्ष १० भित्र छैनन् ।

अस्ट्रेलिया 


वरियताको तेस्रो स्थानमा रहेको अस्ट्रेलिया विश्वकपको सबैभन्दा सफल टोली हो । विश्वकपको सदाबहार दाबेदार अस्ट्रेलियाले सन् १९७१ देखि नै एकदविसीय अन्तर्राष्ट्रिय खेल्न थालेको हो ।

हालसम्मका सबै विश्वकप खेलेको अस्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व च्याम्पियन बनेको थियो ।  ब्याटिङ वरीयतामा डेविड वर्नर छैटौं स्थानमा छन् । बलिङतर्फ जोस हेजलउड दोस्रो, मिचेल स्टार्क छैटौं र एडम जाम्पा सातौं स्थानमा छन् । अलराउन्डर वरीयतामा कुनै पनि अस्ट्रेलियन खेलाडी शीर्ष १० भित्र छैनन् ।

दक्षिण अफ्रिका


वरीयताको चौथो स्थानमा रहेको दक्षिण अफ्रिकाले सन् १९९१ देखि एकदिवसीय अन्तर्राष्ट्रियमा पाइला चालेको हो । हालसम्म एकदिवसीय विश्वकपको आठ संस्करण खेलेको दक्षिण अफ्रिकाले उपाधि भने जित्ने सकेको छैन । 

दक्षिण अफ्रिकाले सन् १९९२ मा पहिलो सहभागितामै सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । त्यसपछि टोलीले १९९९, २००७ र २०१५ मा सेमिफाइनल खेल्यो । ब्याटिङ वरीयतामा रस्सी भान डेस डुसेन तेस्रो, क्विन्टन डी कक सातौं र हेनरिक्स क्लेसन आठौं स्थानमा छन् । बलिङ र अलराउन्डर वरीयतामा भने कुनै दक्षिण अफ्रिकी खेलाडी छैनन् ।

इङ्ल्यान्ड


क्रिकेटको जन्मदाता इङ्ल्यान्डले सन् १९७१ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलको थियो । वरीयताको पाँचौं स्थानमा रहेको इङ्ल्यान्डलाई उपाधि दाबेदार मानिएको थियो । इङ्ल्यान्ड गत संस्करणको विजेता हो । 

ब्याटिङ, बलिङ र अलराउन्डको वरीयताको शीर्ष १० भित्र कुनै पनि इङ्लिस खेलाडी छैनन् ।  ब्याटिङतर्फ डेविड मालन १४औं, बलिङतर्फ क्रिस वोक्स १२औं र अलराउन्डतर्फ वोक्स नै ११औं स्थानमा रहनु हाल इङ्लिस खेलाडीको उच्च वरीयता हो ।

न्युजिल्यान्ड 


छैटौं वरीयताको न्युजिल्यान्डले सन् १९७३ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो । हालसम्मका सबै विश्वकपमा सहभागिता जनाए पनि न्युजिल्यान्ड च्याम्पियन बन्न भने सकेको छैन । न्युजिल्यान्डले पछिल्ला दुई संस्करणको फाइनल खेलेको छ ।

 ब्याटिङ र अलराउन्डरतर्फ वरीयताको शीर्ष १० भित्र कुनै पनि न्युजिल्यान्डका खेलाडी छैनन् । बलिङ वरीयतामा भने ट्रेन्ट बोल्ट पाँचौं र म्याट हेनरी नवौं स्थानमा छन् ।

बंगलादेश


सातौं वरीयताको बंगलादेशलाई अप्रत्यासित नतिजा ल्याउन सक्ने टोलीको रूपमा हेरिएको छ । बंगलादेशले सन् १९८६ बाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको थियो । बंगलादेशले हालसम्म विश्वकपका ६ संस्करणमा सहभागिता जनाएको छ ।

 सन् १९९९ मा पहिलो पटक विश्वकप खेलेको बंगलादेशका लागि सन् २०१५ मा क्वाटरफाइनसम्म यात्रा तय गर्नु नै उत्कृष्ट प्रदर्शन हो । ब्याटिङ र बलिङको वरीयतामा कुनै पनि बंगलादेशी खेलाडी शीर्ष १० भित्र छैनन् । अलराउन्डर वरीयतामा भने सकिब अल हसन शीर्षस्थानमा छन् ।

श्रीलंका


आठौं वरीयताको श्रीलंकाले सन् १९७५ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । हालसम्मका सबै विश्वकपमा सहभागिता जनाएको श्रीलंका १९९६ को विश्व च्याम्पियन हो ।

 ब्याटिङ र बलिङ वरीयतामा कुनै पनि श्रीलंकन खेलाडी शीर्ष १० भित्र छैनन् । अलराउन्डरको वरीयतामा भने वानिन्दु हसरंगा १०औं स्थानमा छन् ।

अफगानिस्तान


वरीताको नवौं स्थानमा रहेको अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको धेरै समय भएको छैन । सन् २००९ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको अफगानिस्तानको विश्वकपमा यो तेस्रो सहभागिता हो ।

 सन् २०१५ मा पहिलो विश्वकप खेलेको अफगानिस्तानले समूह चरण भने पार गर्न सकेको छैन । ब्याटिङ वरीयताको शीर्ष १० भित्र कुनै पनि अफगानी खेलाडी छैनन् । बलिङमा मुजिब उर रहमान तेस्रो र रशिद खान चौथो स्थानमा छन् । अलराउन्डरतर्फ मोहम्मद नाबी दोस्रो र रशिद खान चौथो स्थानमा छन् ।

नेदरल्यान्ड्स


वरीयताको १४औं स्थानमा रहेको नेदरल्यान्ड्स यो विश्वकप खेल्ने एक्लो एसोसिएट राष्ट्र हो । सन् १९९६ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेदरल्यान्ड्सले हालसम्म चार विश्वकपमा सहभागिता जनाएको छ ।

सन् १९९६ मा पहिलो विश्वकप खेलको नेदरल्यान्ड्सले समूह चरण पार गर्न भने सकेको छैन । ब्याटिङ, बलिङ र अलराउन्डर खेलाडीको वरीयतामा शीर्ष १० भित्र कुनै पनि डच खेलाडी छैनन् । ब्याटिङतर्फ स्कट एडवार्डस ३९औं र बलिङतर्फ लोगन भान बिक ५१औं स्थानमा रहनु डच खेलाडीको अहिलेको उच्च वरीयता हो ।